विचार

अमेरिकामा बाइडेनले मार्लान् त बाजी ?

शैलेश श्रेष्ठ |
कात्तिक १२, २०७७ बुधबार १६:१० बजे

अमेरिका : आसन्न अमेरिकी राष्ट्रपतीय निर्वाचन संसारकै लागि चासो अनि रुचिको विषय बनेको छ । यही निर्वाचनकै सार अनि सन्दर्भमा अमेरिकी समाज विचार, रङ अनि वर्णको नाममा अत्यन्तै विभाजित भएको छ । करिब चार सय वर्षभन्दा बढी व्यावहारिक अभ्यास गरिसकेको अमेरिकी द्विदलीय लोकतन्त्रले अनपेक्षित रूपमा विषम परिस्थिति र अन्यौलको सामना गरिरहेको छ ।

निर्वाचन हुन मुस्किलले एक हप्ता मात्र बाँकी रहँदा राष्ट्रिय सर्वेक्षणहरूमा डेमोक्रेटिक पार्टीका उम्मेदवार पूर्वउपराष्ट्रपति जो बाइडेन वर्तमान राष्ट्रपति रिपब्लिकन डोनाल्ड जे ट्रम्पभन्दा ९ देखि १२ प्रतिशतले अगाडि देखिएका छन् भने यो निर्वाचनमा निर्णायक मानिएका प्रायः सबै सुइङ स्टेटहरूमा पनि बाइडेनको अग्रता निरन्तर कायम रहेको छ ।


वर्तमान अमेरिकी डेमोक्रेटिक पार्टीको शक्तिको आधार र स्रोत भनेको नै पूर्वराष्ट्रपति बराक हुसैन ओबामा (अश्वेत बाहुल्य ताकत) र स्वतन्त्र सिनेटर समाजवादी बर्नी स्यान्डर्स (आमूल परिवर्तन पक्षधर) वैचारिक धारहरू हुन् । सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति डोनाल्ड जे. ट्रम्पलाई परास्त गर्ने मूल ध्येयसाथ एकीकृत भएका यी दुई धारको कार्यगत एकताले डेमोक्रेटिक पार्टी साँचो अर्थमा स्थापनाकालमा परिकल्पना गरिएको जस्तो उदार अनि प्रगतिशील धारमा फर्किएको छ ।

राष्ट्रिय सुरक्षा र कैँयन् युद्धहरूका कारण वैचारिक रूपमा दायाँ फर्कन बाध्य भएको डेमोक्रेटिक पार्टी अन्ततः आफ्नो मूल जरामा फर्कंदै छ । डेमोक्रेटिक पार्टीमा पावर हाउसका रूपमा बेला बखत उदाउने गरेका अरु पात्रहरू त तपसिलका मात्र हुन् । 

नयाँ पुस्ताका प्रगतिशीलहरूले नसघाउनुमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनको सम्भ्रान्त वर्गीय चरित्र अनि चिन्तन पनि हो ।

सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा ओबामा खेमा क्रियाशील नभएको अनि बर्नी स्यान्डर्सलाई डेमोक्रेटिक पार्टीको संस्थापनले अन्तर्घात गरेर हराएका कारण उनका वैचारिक कित्ता र धारले एक खाले बहिष्कार नै गरेको अवस्था थियो ।

सन् २०१६ को निर्वाचनमा करिब ४.२ मिलियन रजिस्टर्ड डेमोक्रेट्सहरूले मतदान नै गरेनन् या अझ सानो प्रतिशतले त डोनाल्ड ट्रम्पलाई भोट दिएको समेत आँकलन गरिएको थियो । त्यसरी नयाँ पुस्ताका प्रगतिशीलहरूले नसघाउनुमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनको सम्भ्रान्त वर्गीय चरित्र अनि चिन्तन पनि हो । क्लिन्टन विरासतको भाग्यमानी प्रतिनिधि पात्रका कारण अवसर हत्याएकी हिलारी क्लिन्टन अमेरिकी तन्नेरी पुस्ता र प्रगतिशील खेमामा कहिल्यै उचाइएकी पात्र बन्न सकिनन् ।

यसपालिको परिस्थिति त्यस्तो पटक्कै रहेन । पूर्वउपराष्ट्रपति जो बाइडेन सम्पूर्ण डेमोक्रेटिक पार्टीको ‘युनिटी टिम’कै साझा उम्मेदवार बनेका छन् । त्यसका अलावा अघिल्ला निर्वाचनहरूमा जस्तो यसपालि डेमोक्रेटिक पार्टीको सानै संख्यामा भए पनि मत काट्ने स्वतन्त्र या ग्रीन पार्टीका कुनै उम्मेदवारहरू अहिले मैदानमा छैनन् ।

बाइडेनलाई जिताउन भन्दा पनि अमेरिकी इतिहासकै सबभन्दा खतरनाक राष्ट्रपति (उनकै भतिजी म्यारी ट्रम्पले आफ्नो पुस्तक टु मच एन्ड नेभर इनफ : हाउ माई फ्यामली क्रियटेड दि वल्र्डस् मोस्ट डेन्जरस म्यानमा उल्लेख गरेअनुसार) डोनाल्ड जे. ट्रम्पलाई परास्त गर्न सन् २००८ को ओबामा क्याम्पेनमै जस्तो स्तर र स्थानमा डेमोक्रेटिक पार्टीभित्रको शक्तिशाली प्रोग्रेसिभ पोलिटिकल ब्लक क्रियाशील भएर ग्रासरुट क्याम्पेनमा लागेका छन् ।

उपराष्ट्रपतिको उम्मेदवारमा अश्वेत एसियन कमलादेवी ह्यारिसलाई रोज्नुको कारण बर्नी स्यान्डर्स विचार र टिमलाई थप आश्वस्त पार्नु पनि हो नत्र क्षमता र अनुभवका आधारमा राष्ट्रपति पदकै आकांक्षी सिनेटर एलिजाबेथ वारेन जस्ता राजनैतिक व्यक्तित्व पनि बाइडेनको क्यामको निकटमै थिइन् ।

सामान्यतया अमेरिकी पूर्वराष्ट्रपतिहरू आफ्नो कार्यकाल सकिएपछि राजनीतिमा त्यति सारो रुचि राख्दैनन् तर अपवादकै रूपमा पूर्वराष्ट्रपति ओबामा वर्तमान राष्ट्रपति ट्रम्पको खरो आलोचक बन्दै अमेरिकी लोकतन्त्र र अल्पमत समुदायको हक अधिकार सुरक्षित गर्न पुनः एकपटक अमेरिकी जनता कस्सिएर लाग्नुपर्ने भन्दै आफ्नो अश्वेत बेसलाई तताइरहेका छन् ।

राष्ट्रपति ट्रम्पका प्रशासनिक असफलता र अमर्यादित बानी र व्यवहारका कारण रिपब्लिकन पार्टीकै कैँयन् नेताहरू भड्किएको अवस्था छ । उनीहरूले औपचारिक रूपमै बाइडेनलाई इन्डोर्स गरिरहेका छन् ।

ओबामा कार्यकालमा आफ्ना पतिभन्दा पनि लोकप्रिय रहेकी फस्ट लेडी मिसेल ओबामाले बाइडेनलाई विजयी गराउन भिडियोमार्फत अमेरिकी जनतालाई अपिल गरिसकेकी छन् भने बर्नी स्यान्डर्स र अर्की उदयमान नेतृ आलेकसान्द्रिया ओकासियो कोर्टेज अर्थात् एओसी ब्याटल ग्राउन्ड राज्य (सुइङ स्टेट) हरूको दौडाहामा निस्किसकेका छन् ।

बाइडेन–ह्यारिस क्याम्पेनलाई सम्बोधन गर्ने क्रममा सिनेटर स्यान्डर्सले भन्ने गरेका छन्, ‘जोसँग मेरा अनगन्ती नीतिगत मतमतान्तरहरू छन् तर त्यसलाई हामी पार्टीको प्लेटफर्मभित्रै बसेर सम्बोधन अनि समाधान गर्छौं तर अहिलेको हाम्रो संयुक्त मिसन भनेको अमेरिकी इतिहासकै खतरनाक पात्र डोनाल्ड ट्रम्पलाई मिलेर परास्त गर्नु हो ।’

उनले भने जस्तै बाइडेन अझै पनि बर्नी स्यान्डर्सको सिग्नेचर इस्युहरू ग्रीन न्यु डिल, मेडिकेर फर अल, ट्युसन फ्री एजुकेसन जस्ता अजेन्डाहरूमा पूर्णरूपमा सहमत छैनन् । डेमोक्रेटिक पार्टीमा थुप्रै वैचारिक धार छन्, त्यस अर्थमा त्यहाँ ‘वन फिट्स अल’को नीति लागू हुन सक्दैन । त्यसैका लागि बाइडेन र स्यान्डर्सको सहमतिमा युनिटी टिम बनाइएको हो । अधिकांश प्रमुख अजेन्डाहरूमा निर्णय गर्नुपर्दा यो टिमले अन्तिम निर्णय गर्ने गर्छ ।

सन् २००८ मा बाराक ओबामा ‘होप’ र ‘चेन्ज’को मायावी नारालाई कामयावी गर्दै ठूलो मतान्तरले विजयी भए । अल्पमत र आप्रवासीहरूको आशा र भरोसाको केन्द्र बने । इच्छाशक्ति र चाहना भएको भए ओबामा–बाइडेन प्रशासनले जे जस्ता नीतिगत सुधार र निर्णय पनि गर्न सक्थे किनकि दुवै सदनमा डेमोक्रेटिक पार्टीको बहुमत थियो । तर उनको आठ वर्षीय कार्यकालमा पनि राष्ट्रपति जर्ज डब्ल्यु बुसकै पालादेखि अड्किएर अथवा अड्काएर राखिएको ११ मिलियन कागजपत्रविहिन आप्रवासीहरूको समस्या समाधान भएन बरु आप्रवासीहरूलाई डिपोर्ट गर्नेमा नयाँ मानक स्थापित गरिदिए राष्ट्रपति ओबामाले ।

राष्ट्रपति ओबामाले अहिलेसम्म सार्वजनिक रूपमा रिग्रेट गरेका छैनन् तर राष्ट्रपतिका उम्मेदवार जो बाइडेनले चुनावी क्याम्पेनको दौडाहामा आफूहरूले त्यसो गरेर गल्ती गरेको र अब पुनः निर्वाचित भएको अवस्थामा बृहत् आप्रवासी सुधार विधेयकलाई उच्च प्राथमिकता दिने कुरो बताउने गरेका छन्  । त्यसै मुताबिक युनिटी टिमले आप्रवासी सुधार विधेयकलाई पहिलो प्राथमिकतामा राखेका छन् र आफू निर्वाचित भए पछिको ‘डे वन’मा यो विषयमा काम गर्ने बताएका छन् ।

ट्रम्प प्रशासनको निर्दयी निसानामा परेका डाका (डिफर्ड एक्सन फर चायल्डहुड अराइभल्स) र टीपीएस (टेम्पोरेरी प्रोटेक्टेड स्टाटस) सुविधा प्राप्त लाखौँ आप्रवासी र तिनमा आश्रित परिवार पनि डेमोक्रेटिक पार्टीको निकट पुगेका छन् । डाका सुविधा पाएका आठ सय हजारमध्ये करिब दुई सय हजार दक्ष आप्रवासीहरू अहिलेको कोरोना भाइरस संक्रमणको विकराल अवस्थामै पनि स्वास्थ्य सेवासँग सम्बन्धित काम गरिरहेको रिपोर्ट भर्खर सार्वजनिक भएको छ भने टीपीएस सुविधा पाएका १० राष्ट्रका लाखौँ मानिस यसै पनि बाइडेन–ह्यारिस प्रशासनको भरोसामा बसेका छन् ।

डेमोक्रेटिक पार्टीले रिसाएका भड्किएका आफ्नै मान्छेहरूलाई फकाएर मतदानका लागि ल्याउन सक्नुपर्छ र यसपालि त्यो सम्भावना देखिएको पनि छ ।

डाका र टीपीएसवाहकहरूलाई स्थायी सुविधा दिने ‘ड्रिम एन्ड प्रोमिस एक्ट अफ २०१९’ विधेयक अमेरिकी तल्लो सदन हाउसमा पास नै भइसकेको स्थिति छ । त्यस अर्थमा पहिले भड्किएका रिसाएका सर्वाधिक शक्तिशाली ल्याटिनो इलेक्टोरल ब्लक सन् २०१६ को भन्दा सक्रिय रूपमा बाइडेन–ह्यारिसलाई जिताउन लागिपरेका छन् । सन २००८ को ओबामा क्याम्पेनमा काम गरेका अनुभवी भुक्तभोगीहरू अहिलेको बाइडेन–ह्यारिस टिममा क्रियाशील छन् । उनीहरू ग्रासरुट क्याम्पेनअन्तर्गत मतदाता दर्तादेखि अर्ली भोटिङ गर्न अभिप्रेरित गर्ने हेतुले स्थानीय क्याम्पेनहरूमा क्रियाशील रहेका छन् ।

राष्ट्रपति ट्रम्पका प्रशासनिक असफलता र अमर्यादित बानी र व्यवहारका कारण रिपब्लिकन पार्टीकै कैँयन् नेताहरू भड्किएको अवस्था छ । उनीहरूले औपचारिक रूपमै बाइडेनलाई इन्डोर्स गरिरहेका छन् । बाइडेनका लागि त्यसले प्रचारात्मक मसला र मिडिया स्टन्टबाहेक केही पनि दिँदैन । डेमोक्रेटिक पार्टीले रिसाएका भड्किएका आफ्नै मान्छेहरूलाई फकाएर मतदानका लागि ल्याउन सक्नुपर्छ र यसपालि त्यो सम्भावना देखिएको पनि छ ।

पछिल्ला रिपोर्टअनुसार आजसम्म करिब ६७ मिलियन अमेरिकी मतदाताहरूले अर्ली भोटिङ सुविधामार्फत आफ्नो मताधिकारको उपयोग गरिसकेका छन् । अमेरिकी निर्वाचनमा अर्ली भोटिङमा धेरै मत खस्नु र उपल्लो स्थान आउनु भनेको डेमोक्रेटिक पार्टीका लागि असल सूचकांक हो । आधिकारिक विवरणअनुसार खसेको मतमा ५४ प्रतिशत महिला सहभागिता रहेको छ भने रंगभेदको उद्गम स्थल मानिने अश्वेतहरूको बाहुल्य भएको अमेरिकाको डीप साउथ राज्यहरूमा सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा भन्दा दुई दोब्बर बढी मतदान भएको छ ।

यत्ति भएपछि इमान र नैतिकताको धरोहर जो बाइडेनको जीत हरेक किसिमले सुनिश्चित हुँदै गएको दृश्य आँकलन गर्न कत्ति पनि गाह्रो छैन । ट्रम्पकी भतिजी म्यारी ट्रम्प, ट्रम्पका पूर्वसुरक्षा सल्लाहकार जन बोल्टन, पूर्वकानुनी सल्लाहकार माइकल कोहेनहरूले भने जस्तै राष्ट्रपति ट्रम्पले ‘मर्ता क्या नही कर्ता’को हैसियतमा निर्वाचनलाई आफ्नो पक्षमा पार्न हरेक खाले खेल र धाँधलीहरू गर्न सक्नेछन् । अहिलेको उनको रणनीति भनेको भोटर सप्रेसन, मेल इन भोटिङलाई अमान्य गर्नेदेखि लिएर कन्जरभेटिभहरूको बाहुल्य रहेको सुप्रिम कोर्टसम्ममा राष्ट्रपति निर्वाचनको मुद्दालाई पुर्याउनु आदि इत्यादि हुनेछ ।

उनले निर्वाचनका पराजय भोगिसकेपछि पनि सजिलै ह्वाइट हाउस छाड्ने छैनन् भनेर तर्क गर्नेहरूको संख्या पनि बढ्दो छ । प्रायः त्यस्ता सतर्कताको घन्टी बजाउनेहरूमा उनकै छत्रछायाँ र प्रशासनमा काम गरेका अधिकारीहरू धेरै छन् । तर चार सय वर्ष लामो लोकतान्त्रिक पध्दति र प्रक्रियाको सफल अभ्यास गइसकेको अमेरिकामा अब उनका त्यस्ता हरेक षड्यन्त्रहरूलाई अमेरिकी जनताको अभिमतले परास्त गर्नेछन् ।

ओबामा–स्यान्डर्स पावर हाउसको ताकतका अगाडि श्वेत सर्वोच्चतावादी अनुदार डोनाल्ड जे. ट्रम्पको सर्मनाक पराजय अब अवश्यम्भावी छ । यो स्वाधीन अमेरिकी जनताहरूको मात्र होइन, विश्वमा शान्ति, समृध्दि र भाइचाराको सदिच्छा राख्ने विश्वभरका न्यायप्रेमी जनताहरूको पनि चाहना हो ।


Author

थप समाचार
x