सबै पापीहरूलाई झुन्ड्याउने हो भने शव व्यवस्थापन गर्ने मान्छे पाइँदैन
हामीकहाँ संस्था दुरुपयोग गर्ने खतरा प्रवृत्ति देखापरेको छ । भर्खरै कानुन परिवर्तन गरेरै जसरी संवैधानिक अंगमा नियुक्त गर्ने काम भयो, यसले मुलुकमा भयावह भद्रगोलको लक्षण देखाउँछ । त्यसले के देखाउँछ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता रणनीतिक संस्थालाई कसरी बलियो पार्नेभन्दा परेको बेलामा आफूलाई जोगाउने र आफ्ना विरोधीलाई फसाउने खालको पात्र चयन गर्ने प्रवृत्ति देखापरेको छ । त्यसरी नियुक्त पात्रले नियुक्तिकर्ताप्रति बफादारीपन प्रदर्शन गर्ने चरित्र प्रदर्शन हुँदै छ ।
अब अर्को संवेदनशील पाटो हो, जसमा शरदचन्द्र पौडेल पनि एउटा ‘विम्ब’ हुन् । उनी जस्ता इमानदार पात्र पनि समस्यामा पर्छन् यहाँ । अमेरिकामा बीसौं शताब्दीमा यस्तै दृश्य मञ्चन भएको रहेछ । त्यहाँ जतासुकै भ्रष्टाचार, अपराध, अवैध क्रियाकलाप व्याप्त हुन थाल्यो । जसले जहाँ जेसुकै दुष्कर्म गर्दा पनि पाच्य हुने अवस्था देखियो ।
एकजना अमेरिकी लेखक क्लेरेन्स ब्यारो जो मुद्दा पनि हेर्ने कानुन व्यवसायी थिए । उनले त्यो समाजको चित्रण गर्दै व्यंग्यात्मक शैलीमा लेखेका थिए, ‘सबै पापीहरूलाई गोली हान्ने र झुन्ड्याउने हो भने यो मुलुकमा यतिखेर झुण्ड्याइएका लासहरूको व्यवस्थापन गर्ने मानिस पाउन पनि गाह्रो हुन्छ ।’
मलाई लाग्छ, अमेरिकाको त्यतिखेरको अवस्था र यतिखेरको हाम्रो नेपालको अवस्थासँग मेल खाँदै छ । त्यसमा म गलत हुन पनि सक्छु । राज्यले न्याय गर्न सक्दैन, सबैलाई समान प्रकृतिबाट हिँडाउन सक्दैन भने स्थिति फरक बन्छ । त्यसमा अझ आफ्ना र परायाको व्यवहार हुँदा अर्कै परिणाम आउँछ । समाजले देख्छ, ‘उसले पनि बदमासी गरेको छ, त्यसले पनि बदमासी गरेको छ । चारैतिर बदमासी मात्र देख्छ ।’ यस्तो मञ्चनको क्रम बढ्दो छ ।
एउटा सवाल, तर शब्द हेर्दा ‘छिचरो’ लाग्ला । यद्यपि समाजमा यो शब्द छ्याप्छ्याप्ती छ । त्यो हो, यो मुलुक यतिखेर ‘सेटिङ’मा चलिरहेको छ । सबभन्दा ठूलो खतरा भनेको ‘सेटिङ’ कहाँ छ ? कहाँ छैन ? भन्ने हो । त्यो आफ्नो ठाउँमा होला ।
तपाईंहरूले पदमा बस्दा के गर्नुभयो ?— जवाफ दिन असाध्यै गाह्रो हुन्छ
मैले भन्दै आएको छु कि जब ‘नन् स्टेट एक्टर’हरू राज्यमा हाबी हुँदै जान्छन्, त्यसपछि यस्तो किसिमको अराजक स्थिति बढ्दै जान्छ । यतिखेरको शासनसत्तामा तिनीहरू हाबी भए जस्तो लाग्छ । जसले राज्यद्वारा तोकिएको कानुनी शपथ खाएका हुँदैनन् र कानुनी दायरामा पर्दैनन् । तिनै ‘नन् स्टेट एक्टर’ले राज्यका सबै अंगलाई प्रभाव पारेको स्थिति छ । यो असाध्यै डरलाग्दो अवस्था हो ।
भ्रष्टाचार त जहिलेदेखि समाजको उत्पत्ति भयो, त्योसँगै जोडिएर आएको मानिन्छ । कहाँ घटी, कहाँ बढी फरक कुरा होला । संसारमा के देखिएको छ भने राजनीतिक भ्रष्टाचारलाई सबै प्रकृतिका भ्रष्टाचारको ‘आमा’ भनिन्छ । यदि नेतृत्वमा रहनेहरू जुनसुकै संस्था या निकायका हुन्, तिनले भ्रष्टाचार नगर्ने हो भने त्यसमा स्वतः न्यूनीकरण आउँछ ।
अर्कातिर म पनि सार्वजनिक जीवनमा धेरै लामो समय संलग्न रहेँ । हामीले पनि पदमा रहँदा अनगन्ती निर्णय लिएकै हुन्छौँ । कति निर्णय त गलत पनि भए होलान् । कहिलेकाहीँ बोल्दा प्रश्न गर्छन्, ‘तपार्इंहरूले चाहिँ पदमा बस्दा के गर्नुभयो ? आफ्नो पालामा कस्तो काम गर्नुभयो ?’ यसको जवाफ दिनु असाध्यै गाह्रो हुन्छ ।
राज्य सञ्चालन गर्ने सवालमा बदमासी देखेपछि सर्वसाधारणको चाहना हुन्छ— कारबाही भइदिए हुन्थ्यो । तर बदमासीमा संलग्नहरूलाई कारबाही गर्ने विधि-प्रक्रिया र संस्था हुन्छन् । हामीकहाँ कानुनी पद्धति, समाजले खोजेको कारबाही र राज्यका अंगहरूद्वारा सम्पादित काममा भने निश्चित पनि ‘ग्याप’ छ ।
समाजले देख्छ, ‘उसले पनि बदमासी गरेको छ, त्यसले पनि बदमासी गरेको छ । चारैतिर बदमासी मात्र देख्छ ।’ यस्तो मञ्चनको क्रम बढ्दो छ ।
त्यो हुँदाहुँदै पनि म गृहसचिव हुँदाका अनुभव सुनाउँछु, ‘जुन जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख बदमासी-भ्रष्टाचारविरुद्ध कडा रुपमा प्रस्तुत हुँदै कानुनी विधिमै लाग्छु भन्ने अठोट लिएको हुन्छ, त्यो जिल्लालाई उसले अर्कै रुपमा लैजान सक्दो रहेछ । अर्कातिर अनेकन् सरकारी संस्थाका कर्मचारीहरू एकले अर्कालाई भन्छन्, ‘तैँले यति खाइस्, मलाई यति चाहियो ?’
त्यस्ता किसिमका मानिस परेको जिल्लाको अर्कै रूप हुन्छ । त्यसकारण हामीकहाँ प्रणाली, प्रक्रिया एकातिर हुन्छ भने व्यक्तिका क्रियाकलापले फरक माहौल सिर्जना गर्छ । जुन ‘एक्टर’ जुन किसिमको काम गर्न राखिएको छ, उसले मुलुक र कानुनलाई आफ्नो उद्देश्य प्राप्तिका लागि छल्ने खालका पात्र-प्रवृत्ति ती ठाउँमा पठयौं । त्यसैको परिणति हो । २०६४ को निर्वाचन गर्ने क्रममा आयोगले अबौँको खर्च गर्नुपर्यो । त्यो चुनावका निम्ति खर्च गर्नुपर्ने बाध्यता थियो ।
तर आयोगका सचिव र सहसचिवप्रति कृतज्ञ छु कि त्यो चुनाव उहाँहरूले पार लगाइदिनुभयो । त्यत्रो खर्च भयो, त्यसमा कहीँ पनि निर्वाचन आयोगबाट यो बदमासी भयो भन्ने सवाल आएन । महालेखा परीक्षकको प्रतिवेदन हेर्दा पनि कुनै किसिमको ‘ड्यामेजिङ’ तथ्य भेटिएन । त्यसकारण पात्र राम्रो भएपछि समस्या कम आउँदो रहेछ ।
यसमा सवाल के जोडिन्छ भने कसले, कति जिम्मेवारी बोध गर्छ भन्ने हुँदो रहेछ । उसको नियत के छ ? जोसँग ‘इन्टिग्रिटी’ छ, त्यसबाट आशा गर्न सक्नुहुन्छ । नत्र भने यसरी ‘सेटिङ’का कुरा आउँछन् ।
(पूर्वसचिव शरदचन्द्र पौडेलद्वारा लिखित ‘भ्रष्टाचार : कारण, परिणाम र नियन्त्रणका उपाय’ पुस्तक सार्वजनिक समारोहमा पूर्वप्रमुख निर्वाचन आयुक्त तथा सुशासनविद् पोखरेलको मन्तव्य-सार ।)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया