विचार

नेपालमा कम्युनिस्ट आशा सधैँलाई समाप्त भएको छ

सञ्‍जीवबल्लभ भट्टराई | हरीशप्रसाद भट्ट |
माघ २३, २०७७ शुक्रबार १३:१३ बजे

आफ्नो राजनीतिक दर्शन ‘समय–सापेक्ष सुधारवाद’ राखेर स्थापित तत्कालीन विवेकशील नेपाली दलको स्थापना कालदेखि हालसम्म हामीले एउटै प्रश्‍नको आवृत्ति भोग्यौँ— तिमिहरूको ‘वाद’ के हो ? 

हामीले कहिले वादका कुरा नगरौँ भन्यौँ, कहिले ‘यो वाद त्यो वाद, देश भयो बर्बाद’ भन्यौँ । कहिले हाम्रो वाद ‘धन्यवाद’ भन्यौँ । हामीले हामी नेपाल केन्द्रित, नागरिक केन्द्रित, लोकतान्त्रिक दर्शन बोकेको पार्टी हो भनेर बुझाउन नै सकेनौँ । 


अहिले हामीले हाम्रो वाद शिक्षा नभएका ठाउँमा शिक्षावाद, पानी नभएका ठाउँमा पानीवाद, अस्पताल र स्कुल गुणस्तरीय र सुलभ नभएका ठाउँमा स्कुलवाद, अस्पतालवाद, रोजगारीवाद.... । 

यी सबै वादलाई परिभाषित गर्न ‘लोककल्याणवाद’ भनिने र लोकतन्त्रको जगमा उभिएको लोककल्याणवादी राजनीतिक व्यवस्थालाई ‘कल्याणकारी लोकतन्त्र’ भन्‍ने गरेका छौँ । यसैलाई हाम्रो वाद भनेर बुझाउन खोजिरहेका छौँ । तर, यो लेखमा हामी नेपालमा हालै सतहमा आएको तर दशकौँदेखि जकडिएर बसेको ‘नाटकवाद’ र ‘नौटंकीवाद’को चर्चा गर्नेछौँ ।

उत्तर कोरियाको शासन राजतन्त्र हो कि साम्यवाद ? थाइल्याल्डको शासन साम्यवाद हो कि राजतन्त्र ? बर्माको सैनिक तानाशाहीले के प्रजातन्त्र स्वीकारेको रैछ त ? ‘संसद् पुनःस्थापना’का लागि संघर्षरत प्रचण्ड कति संसदवादी ? ठोरीमा रामको जन्मस्थान खोजिरहेका केपी ओली कति हिन्दुवादी ? निर्वाचित संसद् विघठन गर्ने महाराज महेन्द्र र सोही काम गर्ने कमरेड ओलीमा के फरक ? एउटै सपना छ महाराज र कमरेडको । त्यो हो— सर्वसत्तावाद । 

प्रधानमन्त्री बीपी कोइरालाको काराबास र संसद् विघठनको बेला अत्तालिएका ‘कम्युनिस्ट’ महाराज महेन्द्रसँग सहकार्य गर्ने भनेर पञ्चायतको शरणमा परे । अहिले अत्तालिएका ‘राजावादी’ कम्युनिस्ट कमरेड ओलीसँग सहकार्य गर्न भनेर उनको शरणमा पुगेका छन् ।

नेपालमा कम्युनिस्ट आशा सधैँलाई समाप्त भएको छ । अब पनि कुनै बहानामा कुनै कम्युनिस्ट गुटलाई क्षमा दिने, पुनः अनुमोदन गर्ने भुल हामीले गर्नु हुँदैन । 

 

माओवादी युद्धमा पनि महाराज–कमरेड सहकार्यका यथेष्ट प्रयास भएका थिए । संसारभर फरक कित्ताका सर्वसत्तावादीहरूबीच सहकार्य हुन्छ । सहकार्य सत्ता प्राप्तिको दैलो नपुगुन्जेलसम्म रहन्छ र कुनै रक्तपातमा गएर टुंगिन्छ । त्यस्तो दुईथरी सर्वसत्तावादीले सँगै वा फरकफरक समयमा के त मुक्तिकामी जनताको उपयोग गर्छन् के त सस्कृतिप्रेमी वर्गको । त्यस्ता निर्णायक संघर्षहरूमा जनता सचेत भएर विजयी भए भने देशमा अग्रगमन हुन्छ, नत्र अर्को रूपमा पश्‍चगमन हुन्छ नै । 

आजीवन ईश्वरको नाममा शपथसमेत नखाएका कम्युनिस्ट प्रधानमन्त्रीले पशुपतिनाथमा लक्ष्यदीप किन बाले, किन दिगम्बरी उमाशंकरलाई लाखौँको जलहरी चढाए ? किन जनसत्ताको लक्ष्य बोकेका कमरेड प्रचण्ड संसदीय व्यवस्थाका हिमायती भएर सडकमा आए ? कसैलाई ओली राष्ट्रवादी–हिन्दुवादी लाग्‍न सक्छन् । कसैलाई प्रचण्ड लोकतान्त्रिक लाग्‍न सक्छन् । यी दुवै कुरा भ्रम हुन् भन्‍ने कुरा कमरेडद्वयलाई थाहा छ । त्यसैले त एकार्कालाई दाह्रा किटेर उनीहरूले सत्य बोलेका छन्— यो राष्ट्रवाद–संस्कृतिप्रेम पनि नाटकै हो । यो लोकतन्त्र र संसद्को माया पनि नौटंकी नै हो । 

कम्युनिस्टहरूलाई राम्रोसँग थाहा छ, नेपालमा राजतन्त्रको राजनीतिक मूल नष्ट भैसकेको छ तर सांस्कृतिक आधार जिउँदै छ । नेपालमा बहुसंख्यक हिन्दु जनसंख्याको ‘हिन्दुत्व’प्रति सहानुभूति र बहुसंख्यक आदिवासी जनजातिमा पहिचानको प्रेम छ । यी दुवै सोच मतमा हिसाबले शक्तिशाली छन् भन्‍ने कमरेडहरूलाई थाहा छ । यो कम्युनिस्ट प्रोपोगान्डाले सानै भए पनि राजतन्त्रको सांस्कृतिक आधार र बहुसंख्यक नागरिकमा रहेको सांस्कृतिक–पहिचान प्रेम ध्वस्त पार्ने प्रपञ्‍च गरिरहेको छ ।

पुरानो सत्तामात्र हैन, संस्कृतिको पनि पूर्णतयाः ध्वस्त नगरी नयाँ (कम्युनिस्ट) सत्ता जन्मिँदैन भन्‍ने उनीहरूलाई थाहा छ । फेरि एकपटक बालक राजा ल्याएर कहिल्यै नफर्किने गरी राजतन्त्रको समूल अन्त्य गर्ने र संस्कृतिप्रेमी जनताको सहानुभूतिमा टेकेर बलियो अराजकता र सर्वसत्तातिर जाने कम्युनिस्ट खेल अहिले उपयोग भइरहेकाहरूलाई थाहा नहुनु दुःखद् छ । कम्युनिस्टहरूको उपयोगशास्त्रको चर्चा त यहाँ असम्भव हुन्छ ।
 
समाजमा जब आधुनिक चेतनाको उभार आउँछ, उसले प्राकृतिक रूपमै सामन्तवादविरुद्ध संघर्ष गर्छ । कम्युनिस्टहरूले सधैँ सबैतिर त्यस्ता स्वाभाविक संघर्षलाई आफ्नो सर्वसत्तावादको चाहना पूर्तिका लागि उपयोग गर्छन् ।
 
पछिल्लो समय नेपालमा माओवादीले गरेको पनि त्यही हो । कम्युनिस्टहरूले संसारभरि स्वयं मार्क्सवादको दार्शनिक पक्षको पनि उपयोग मात्र गरेका छन् । अहिले कार्लमार्क्स जीवित हुन्थे भने यी कम्युनिस्ट हुन्थेनन् । मार्क्सको घोषणापत्रमा कानूनविहीनता, राज्यविहीनताको परिकल्पना गरिएको छ । त्यहाँ अमानवीय, असामाजिक, अराजकतावादी संगठनको परिकल्पना छैन । लेनिनको संगठन प्रारूप र स्टालिनको सत्ता सञ्चालन शैली कम्युनिस्टहरूको आदर्श हो । मार्क्सवाद कम्युनिस्ट उपयोगवादको पहिलो शिकार मात्र बन्यो । 

कम्युनिस्ट प्रपञ्‍चमा कुनै व्यवस्था टिक्न सक्दैन किनकि यो प्रपञ्‍च नै अव्यवस्था र अराजकतामा टिकेको हुन्छ ।

संसारभरि जसरी शक्ति र सत्तामा पुगेका बेला साम्यवादी प्रपञ्‍चको पराजय भयो र लोकतन्त्रको उदय हुँदै गयो त्यो निरन्तरता नेपालमा पनि हुनुपर्छ । कुनै पनि सांस्कृतिक संस्थाको समर्थक, कुनै पनि अग्रगामी लोकतन्त्रको समर्थकले साम्यवादी प्रपञ्‍च बुझ्नु अति आवश्यक छ । अहिले न त ओलीले नेपालको सांस्कृतिक पहिचानको रक्षा गर्नेवाला छन् न त प्रचण्डले संसदीय लोकतन्त्रको रक्षा गर्ने वाला छन् । केपी ओलीले ल्याउने राजा पनि कम्युनिस्ट तानाशाह हुन्छ, प्रचण्डले ल्याउने कार्यकारी राष्ट्रपति पनि निरंकुश राजा जस्तै हुन्छ ।
 
कम्युनिस्ट प्रपञ्‍चमा कुनै व्यवस्था टिक्न सक्दैन किनकि यो प्रपञ्‍च नै अव्यवस्था र अराजकतामा टिकेको हुन्छ । अहिलेको नेपाली चेतनाले थुप्रै संघर्षबाट प्राप्त गणतन्त्र लगायतका उपलब्धिहरूको रक्षा गर्दै समृद्धि, राजनीतिक स्थायित्व, बहुलतामा आधारित राष्ट्रिय संस्कृति र पारम्परिक पहिचानको रक्षा गर्न चाहन्छ । नागरिकका यी वैध चाहनाहरूलाई हाइज्याक गरेर आफ्नो सर्वसत्तावादी सत्ता चलाउने कम्युनिस्ट प्रपञ्‍च जारी छ ।

अब सबै लोकतन्त्रवादी, मुक्तिकामी, अग्रगामी शक्तिहरू मिलेर साम्यवादी प्रपञ्‍चलाई चुनौती दिने समय आयो । स्वेच्छिक रूपमा साम्यवादको प्रपञ्‍चबाट अलग हुने र यी कम्युनिस्ट गुटहरू विघठन गर्ने विकल्प नेतृत्वकर्ता कम्युनिस्टहरूसँग बाँकी नै छ । हामीलाई थाहा छ कि यी कम्युनिस्टहरूलाई एकार्काको नौटंकी थाहा छ । हामीलाई थाहा छ, पश्चात्तापले पिरोल्ने विगत हुन्थेन भने जनवादको नाममा सर्वसत्ताको सपना देख्नेहरूलाई यदि जुत्ता खाने र जनताको बीचमा आक्रमण हुने डर हुन्थेन भने विलासिताका पर्याय जुद्धशमशेरको जस्तै जीवनको अन्त्यमा जोगी भएर बस‍्‍न मन छ । तसर्थ यो प्रपञ्‍चको स्वेच्छिक विघठन नगरेमा नयाँ पुस्ताले सजिलै विघठन गर्नेछ ।

नयाँ पुस्तालाई अपिल
हामीले कल्याणकारी लोकतन्त्रको जगमा बसाल्न खोजेको राज्यव्यवस्था सारभूत रूपमा प्रगतिशील राज्यव्यवस्था हो । यसलाई हामीले ‘कोर्स करेक्सन’भन्दा पनि ‘कोर्स कन्ट्युनेसन’ भनेका छौँ । नेपालीहरूले आफैँ असान्दर्धिक भएर पतन हुनुअघि विगतमा राजसंस्थालाई पटकपटक काँध थापिसकेका छन् । 

राणाहरूलाई फालेर उनीहरूले दबाएर राखेका राजालाई जनताले जोगाएकै हो । सात सालमा कम्युनिस्टबिना जनताले राणा फालेर आफ्ना हक स्थापित गरेर राजालाई अभिभावकीय जिम्मेवारी दिए । भागेर भारत गएका राजा ल्याएर स्वदेशमा पुनःस्थापना गरेकै हो । तर जसरी राजसंस्थाको छत्रछायाँमा अर्को अधिनायकवाद हुर्कियो त्यसविरुद्ध मुक्तिकामी जनताले संघर्ष गरे । जनताको संघर्षले राजतन्त्रको छायाँमा हुर्केको सामन्ती सत्ता त २०४६—६३ सालमा फाले तर त्यही बेला साम्यवादी प्रपञ्‍च सुरु भयो । 

नेपाली कांग्रेस जुन अनिर्णय र शक्तिहीन अवस्थामा छ, यसले गैरलोकतान्त्रिक साम्यवादी प्रपञ्‍च कसरी तोड्ने भन्‍ने चिन्ता अझै बढेको छ ।

लोकतन्त्रवादीका लागि टाउको दुखाइको विषय साम्यवादी अभीष्ट बोकेका कम्युनिस्टहरूको उदय हुनु हो । २०६३ सालदेखि अहिलेसम्म उन्नत लोकतान्त्रिक शक्तिको उपस्थिति नहुनाले कम्युनिस्टहरूले जुन स्पेस पाए त्यसको परिपूरण गर्ने लोकतन्त्रवादी शक्ति अबको आवश्यकता हो ।

अहिले जनताको निराशाका कारण दलहरूले निम्त्याएको भद्रगोल हो । जनताले यो भद्रगोलको विकल्प खोजेका हुन् तर जनताले एकताको प्रतीक मानेर, माटोको रक्षक मानेर पुनःस्थापना गरेको राजा नागरिकहितमा नदेखिएको विगतले देखाइसकेको छ । 

राजनतन्त्रलाई विकल्प मान्ने वा राजनतन्त्रको त्रास देखाएर साम्यवादी सर्वसत्ता लाद्ने दुवै थरीले लोकतन्त्रको रक्षा गर्न सक्दैनन् । जनताले ४६ सालमा लौ भो संवैधानिक राजा भएर बस भनेर राखेकै हुन् । तर औचित्य र सान्दर्भिकता नै समाप्त भइसकेपछि र आफ्नै कमजोरीले नैतिक रूपमा राजा महेन्द्रसँगै, राजनीतिक रूपमा वीरेन्द्रसँगै र वैधानिक रूपमा ज्ञानेन्द्रसँगै राजतन्त्र सधैँलाई अन्त्य भइसक्यो । यो सत्य हो । यसमा आफ्नो खुसीले खुसी हुने या दुःखी हुने अधिकार सुरक्षित नै छ । अबको विकल्प भनेको कम्युनिस्ट लगायतका अतिवादलाई समाप्त पार्ने र उन्नत लोकतन्त्रको अभ्यास गर्दै प्राप्त उपलब्धिहरूको रक्षा गर्ने नै हो ।
 
नेपाली कांग्रेस जुन अनिर्णय र शक्तिहीन अवस्थामा छ, यसले गैरलोकतान्त्रिक साम्यवादी प्रपञ्‍च कसरी तोड्ने भन्ने चिन्ता अझै बढेको छ । तर विकल्प छ । विगतको आत्मग्लानिको बोध नभएको नयाँ पुस्ता अहिलेको राजनीतिक प्रतिस्थापनको विकल्प हो । नयाँ पुस्तालाई आँट चाहिएको छ, उसले देशलाई के चाहिएको छ र के चाहिएको छैन भन्ने बुझेको छ । यदि आउटडेटेड कांग्रेस–कम्युनिस्ट नेतृत्वले स्वेच्छिक बहिर्गमन रोज्ने सजिलो बाटो रोजेनन् भने असजिलो बाटो रोजेर नयाँ पुस्ताले यो प्रपञ्‍च प्रतिस्थापन गर्नेछ । 

नयाँ पुस्तालााई हाम्रो अपिल पनि के हो भने, प्रथमतः साम्यवादी अभीष्ट बोकेका लगायतका गैरलोकतान्त्रिक र छद्मलोकतान्त्रिक शक्तिहरूको प्रतिस्थापन हाम्रो मूल चुनौती हो । नयाँ लोकतान्त्रिक विकल्प नआएसम्म हाम्रा उपलब्धि रक्षा हुँदैनन् र डेलिभर गर्ने लोकतन्त्र आउँदैन । 

नेपालमा कम्युनिस्ट आशा सधैँलाई समाप्त भएको छ । अब पनि कुनै बाहनामा कुनै कम्युनिस्ट गुटलाई क्षमा दिने, पर्ख र हेर भन्ने, पुनः अनुमोदन गर्ने भुल हामीले गर्नु हुँदैन । हामीले कहिल्यै सच्चा लोकतन्त्रवादी पाएका छैनौँ । अब लोकतन्त्रप्रति निष्ठावान र क्षमता र इच्छाशक्तिले भरिएको विकल्प खोज्नुपर्छ । त्यतातर्फ ध्यान केन्द्रित गरौँ ।    

विगतमा जो राम्रा लोकतन्त्रवादी प्रयत्न थिए उनीहरू के त सामन्तवादी सत्ताको चेपुवामा परे के त साम्यवादी अभीष्ट बोकेका अतिवादीको । सामन्तवादी शक्ति त अब दृश्यमा छैन । यद्यपि, अतिवादीहरूले विगतमा काँग्रेस बिटुले, राजसंस्था बिटुले र अबको वैकल्पिक र प्रतिस्थापक शक्ति बिटुल्न सक्छन् । 

एउटा भनाइ छ, ‘तपाइँलाई थाहा छ भने अन्यायविरुद्ध बोल्नुस्, नत्र इतिहास दोहोरिन्छ ।’हामीलाई थाहा भइसक्यो,यी गैरलोकतान्त्रिक विचार–संगठनको नौटंकी र नाटक । सबै लोकतन्त्रवादीहरूलाई हाम्रो पहिलो अपिल छ, मुक्तिकामी आन्दोलनमा सहभागीहरू र विधिको शासन तथा अग्रगामी परिवर्तनको जगमा शान्ति र समृद्धि  चाहने सबैलाई पनि हाम्रो अपिल छ । जागौँ— अब सबै किसिमका अतिवाद उन्मूलनको बेला आयो ।
(भट्टराई र भट्ट विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य हुन् ।)


Author

थप समाचार
x