राजनीतिमा लाग्ने यी चार किसिमका मानिस
सबैलाई जीवननिर्वाहका लागि आर्थिक सुरक्षा चाहिन्छ । मानिसको सक्रिय जीवनका अधिकांश गतिविधि आर्थिक सुरक्षाको प्राप्तिमा केन्द्रित भएको हुन्छ । विशेष गरी आर्थिक सुरक्षा वर्तमान र भविष्यको आवश्यकताबाट प्रभावित भएको हुन्छ । आर्थिक सुरक्षा पुँजी र श्रमको भाडाबाट प्राप्त हुन्छ ।
राजनीति भनेको पुँजी लगानी होइन । त्यसकारण यसमा पुँजीको भाडा सम्भव हुँदैन । बरु केही हदसम्म श्रमको लगानी हो । श्रमको भाडा चाहिँ प्राप्त गर्नु उचित हुन्छ । राजनीतिज्ञले आफ्नो श्रमबापत प्राप्त गर्ने भाडा वा पारिश्रमिक राजनीति गर्दाको अवस्थामा उसले आर्जन गर्ने आर्थिक सुरक्षा हो ।
राजनीतिक गतिविधिमा सरिक भएबापत प्राप्त हुने पारिश्रमिकले निजको आर्थिक सुरक्षाको आवश्यकता पूरा गर्न सकेको छ या छैन भन्ने विषयले आर्थिक सुरक्षा आर्जनप्रतिको राजनीतिज्ञको प्रेरणालाई प्रभावित गर्दछ । मूलभूत रूपमा भ्रष्टाचार भनेको आर्थिक सुरक्षा प्राप्तिका लागि गरिने अवैध गतिविधि हो । थप आर्थिक सुरक्षाप्राप्तिको लालसामा लागेको राजनीतिज्ञ त्यसकारण भ्रष्टाचारको गतिविधिमा संलग्न हुने जोखिम बढी हुन्छ । त्यसकारण सार्वजनिक जिम्मेवारीमा (सांसद, राष्ट्रप्रमुख, सरकारप्रमुख, मन्त्री वा अन्य राजनीतिक नियुक्तिका पद) रहेका बेला राजनीतिज्ञको पारिश्रमिक र सुविधाको स्तरले पनि राजनीतिक क्षेत्रको भ्रष्टाचार घटाउने वा बढाउने हुन्छ ।
राजनीतिमा खास गरी चार किसिमका मानिस प्रवेश गर्दछन् । पुस्तौनी रूपमा राजनीति गर्दै आएर आर्थिक आधार बलियो भएका घरानिया व्यक्तिहरू । आर्थिक आधार बलियो बनाएर शक्तिका लागि राजनीतिमा आकर्षित व्यक्तिहरू । राजनीति भनेको सार्वजनिक सेवा हो भन्दै सार्वजनिक सेवाप्रति उत्प्रेरित व्यक्तिहरू । र, पैसाका लागि राजनीति गर्ने पेसेबर व्यक्तिहरू ।
अघिल्ला दुई किसिमका व्यक्तिहरूको आर्थिक आधार बलियो रहेको हुन्छ । यिनीहरूका लागि राजनीतिक गतिविधिबाट प्राप्त हुने पारिश्रमिकले खासै महत्व राख्दैन । आर्थिक आधार नभएर पनि सेवाका लागि प्रवेश गर्ने र राजनीतिलाई पैसा कमाउने पेसा बनाउनेहरूका लागि सार्वजनिक उत्तरदायित्वमा रहँदाको पारिश्रमिक र सुविधा सदाचार कायम राख्न धेरै महत्त्वपूर्ण हुन्छ ।
विकसित मुलुकमा आर्थिक सबलता हासिल गरेपछि राजनीतिमा लाग्ने प्रवृत्ति देखिन्छ भने कम विकसित मुलुकमा सेवा, पुस्तौनी संस्कृति वा पेसाका रूपमा राजनीतिमा लाग्नेहरूको संख्या अधिक हुन्छ । कम विकसित मुलुकमा अन्य पेसा व्यवसाय नभएका बेरोजगारहरू पनि राजनीतिमा उल्लेख्य संख्यामा आकर्षित भएको पाइन्छ ।
राजनीति त्यसै पनि खर्चिलो उद्यम हो । अहिलेको समयमा त यो झन् खर्चिलो बन्दै गएको छ । बढ्दो प्रतिस्पर्धाले यसलाई झन् खर्चिलो बनाउँदै लगेको छ । राजनीतिमा निर्वाचन जित्नमात्र खर्च हुने होइन, निर्वाचनपूर्व र निर्वाचनपश्चात्को राजनीतिक सक्रियताका लागि पनि खर्च आवश्यक हुन्छ ।
निर्वाचनपूर्व आश्वासन बिक्री, पदमा अधिकार बिक्री, निवृत्त भएपछि प्रभाव बिक्री ।
सार्वजनिक उत्तरदायित्वमा बसेको राजनीतिज्ञ पनि राजनीतिक गतिविधिबाट अलग हुँदैन । राजनीतिक गतिविधिमा संलग्न भई नै रहेको हुन्छ । सार्वजनिक उत्तरदायित्व निर्वाह गर्दा प्राप्त गर्ने पारिश्रमिक र सुविधाले व्यक्तिगतलगायत राजनीतिक गतिविधिलाई पनि सहयोग गर्ने हुनुपर्दछ ।
खर्चको दबाबमा रहने राजनीतिज्ञले प्राप्त गर्ने पारिश्रमिक र सुविधा कम भयो भने आर्थिक आधार बलियो भएका व्यक्ति मात्र राजनीतिमा प्रवेश भई राजनीति सम्भ्रान्त वर्गको गतिविधिमात्र हुन जान्छ । आर्थिक आधार बलियो भएको यस्तो वर्ग सार्वजनिक पदले आर्जन गर्ने मान, मर्यादा र सामाजिक प्रतिष्ठाका लागि राजनीतिमा आउँछन् न कि पारिश्रमिकका लागि ।
त्यस्तै मन्त्रीलगायत अन्य पदमा गरिने राजनीतिक नियुक्तिका लागि योग्य र सक्षम व्यक्ति नपाइने अवस्था आउँछ भने सार्वजनिक पदलाई पहुँच र प्रभाव बढाएर पछिल्लो समयमा फाइदा लिने सोच बनाएका अवसरवादी व्यक्तिहरू प्रवेश गर्ने अवस्था आउँछ । अमेरिकाका अर्थमन्त्रीमा जर्ज बुस जुनियरले लगानीकर्ता बैंक गेल्डम्यान साकका प्रमुख कार्यकारी अधिकृत हेनारीपोल्सनलाई नियुक्त गरेका थिए ।
सार्वजनिक पदमा बसेर भ्रष्टाचार गर्न वा अन्य नदेखिने सुविधा दोहन गर्न सकिन्छ भन्ने वर्ग पनि आकर्षित हुन्छ । सार्वजनिक उत्तरदायित्वमा भएका राजनीतिज्ञले कम पारिश्रमिकलाई भरथेग गर्न अन्य गैरआर्थिक सुविधा (निःशुल्क आवास, सवारी साधन, सेवक, भ्रमण खर्च आदि) विस्तार गर्ने प्रवृत्ति देखाउन सक्दछन् ।
इन्डोनेसियाका सम्भ्रान्त वर्गबाट राजनीतिमा आएका सुकार्नोको पारिश्रमिक थोरै थियो तर उनको आवास, सवारी साधन र नोकरचाकरमा ठूलो रकम खर्च हुन्थ्यो । जुनसुकै मुलुकको राजनीतिक व्यवस्थाले पनि राजनीतिलाई आदर्श सार्वजनिक सेवा मान्दछ, पेसा, वा व्यवसायका रूपमा स्वीकार्दैन । फलस्वरूप सर्वसाधारणमा राजनीतिज्ञले मान, मर्यादा र प्रतिष्ठाको बदलामा पारिश्रमिक बलिदान गर्नुपर्दछ भन्ने धारणा बलियो रहेको हुन्छ । मतदाता आफ्ना प्रतिनिधिमा आफूमा भएको कुनै कमजोरी नहोस्, सद्गुणै सद्गुण भएको आदर्श व्यक्ति होस् भन्ने चाहना राख्दछन् ।
प्रतिस्पर्धात्मक राजनीतिमा राजनीतिज्ञको पारिश्रमिक र सुविधा पनि निर्वाचनका बेला राजनीतिक मुद्दा बन्न सक्दछ भनेर राजनीतिज्ञ पारिश्रमिक र सुविधा बढाउनभन्दा सङ्कुचित राख्न मन पराउँछन् । सेवाभावले राजनीतिमा आउने राजनीतिज्ञ अन्य विषयका तुलनामा आफ्नो पारिश्रमिक र सुविधाको विषयप्रति निष्प्रिय रहेको देखाउन चाहन्छन् । त्यागलाई आदर्श मान्ने राजनीतिज्ञ त झन् पारिश्रमिकप्रति अनुदार हुन्छन् । कतिपय कम विकसित मुलुकमा त्यागलाई आदर्श मान्ने संस्कृति रहेको हुन्छ ।
यस्तै राजनीतिक संवेदनशीलताका कारण अधिकांश मुलुकमा सार्वजनिक जिम्मेवारीमा भएका राजनीतिज्ञको पारिश्रमिक उनीहरूको जिम्मेवारीका तुलनामा कम रहेको पाइन्छ । अमेरिकाका राष्ट्रपतिको तलब वार्षिक एक लाख डलरमात्र छ जब कि कुनै पनि संघीय सेवाको कर्मचारी वा निजी क्षेत्रका कार्यकारी प्रमुखले एक लाख डलरभन्दा कम तलब बुझ्दैनन् ।
कम पारिश्रमिकले आर्थिक सुरक्षा दिन सक्दैन, पदमा भएका बेला र निवृत्तिपछि पनि । सार्वजनिक जिम्मेवारीमा बसेर भ्रष्टाचार गर्ने प्रशस्त अवसर पाउने राजनीतिज्ञ त्यागको राजनीतिले मात्र परिचालित हुन सक्दैनन्, यद्यपि केही राजनीतिज्ञमा त्यागको भावना प्रबल हुन सक्दछ । सामान्यतया राजनीतिज्ञ पदमा बसेका बेला र पदबाट बाहिर गएपछि पनि आर्थिक सुरक्षाको खोजीमा रहेका हुन्छन् ।
पदमा बसेर मान, मर्यादा र प्रतिष्ठा आर्जन गरेका राजनीतिज्ञमा पदबाट हटेपछि पनि समान स्तरको आर्थिक सुरक्षाको खोजीमा रहनु अस्वाभाविक हुँदैन । पहिले आर्थिक आधार कमजोर रहेका राजनीतिज्ञका लागि यो झनै संवेदनशील हुन्छ । कम विकसित मुलुकका आर्थिक आधार नभएका राजनीतिज्ञ पदमा भएका बेला र पदबाट हटेपछि पनि बढीभन्दा बढी सार्वजनिक सुविधा लिन अग्रसर हुन्छन् । राजनीतिज्ञलाई आर्थिक स्रोत जुटाउन गाह्रो पनि हुँदैन । लगानीकर्ताका लागि राजनीतिज्ञमाथिको लगानी हिसाब गरिएको जोखिम हो ।
इन्डोनेसियाका सम्भ्रान्त वर्गबाट राजनीतिमा आएका सुकार्नोको पारिश्रमिक थोरै थियो तर उनको आवास, सवारी साधन र नोकरचाकरमा ठूलो रकम खर्च हुन्थ्यो ।
निर्वाचनपूर्व राजनीतिज्ञको आश्वासन बिक्री हुन्छ, पदमा भएका बेला अधिकार बिक्री हुन्छ भने पदबाट निवृत्त भएपछि प्रभाव बिक्री हुन्छ । आर्थिक सुरक्षा नभएको राजनीतिज्ञको भ्रष्टाचार नाजुक हुन्छ । आर्थिक सुरक्षाका लागि भौंतारिने राजनीतिज्ञ जनताप्रति समर्पित हुन पनि सक्दैन ।
सदाचारी र योग्य मानिस राजनीतिमा प्रवेश गर्न रुचाउँदैनन्, योग्यताको प्रदर्शन गरेर निजी क्षेत्रमा सफलता प्राप्त गरेका व्यक्तिहरूलाई कम पारिश्रमिक र सुविधाका कारण राजनीतिक पदमा नियुक्ति गर्न पनि सकिँदैन । कम नगद पारिश्रमिकमा काम गर्ने राजनीतिज्ञहरू नजानिँदो किसिमले गैरआर्थिक सुविधाका रूपमा सरकारी कोषमा झन् बढी दायित्व थप्दछन् भने निवृत्त भएपछि पनि सरकारले धान्नै नसक्ने भौतिक सुविधा दोहन गर्दछन् ।
न्यून पारिश्रमिकका कारण उत्पन्न हुने यसप्रकारको विकृति रोक्न सार्वजनिक उत्तरदायित्वमा रहँदा राजनीतिज्ञको औचित्यपूर्ण खर्च धान्ने गरी र निजी क्षेत्रको कार्यकारी अधिकृतका तुलनामा धेरै असमान नहुने गरी पारिश्रमिक दिनुपर्दछ । गैरआर्थिक सुविधा कटौती गरी त्यसको सट्टा लेखामा स्पष्ट देखिने गरी एकमुष्ठ पारिश्रमिकमै थपेर दिनु उचित हुन्छ । सिङ्गापुरका मन्त्रीहरूले र अन्य राजनीतिक नियुक्ति हुने पदमा नियुक्ति हुनेले निजी क्षेत्रसँग असमान नहुने गरी एकमुष्ट पारिश्रमिक पाउँछन् भने अरू गैरआर्थिक सुविधा केही पनि पाउँदैनन् ।
सेवाबाट निवृत्त भएपछि अन्य आर्थिक आधार नभएका राजनीतिज्ञहरूलाई गैरआर्थिक सुविधाका रूपमा आवास, सवारी साधन, चालक आदि दिनुभन्दा एकमुष्ठ नगद भत्ताका रूपमा दिनु उचित हुन्छ । सिङ्गापुरमा दुईपटक सांसद भएका व्यक्तिलाई पेन्सन दिने व्यवस्था छ । नेपालका पूर्वराष्ट्रपतिलाई सरकारले आवास, सवारी साधन, तेल, चालक र प्रशासकीय खर्च उपलब्ध गराएको छ । यसबाट राष्ट्रको ढुकुटीमा अनन्त कालसम्म स्पष्ट रूपमा लेखामा नदेखिने दायित्व रहिरहनेछ ।(पूर्वसचिव पौडेलको पुस्तक ‘भ्रष्टाचार : कारण, परिणाम र नियन्त्रणका उपाय’बाट । यो पुस्तक सांग्रिला बुक्सले बजारमा ल्याएको हो ।)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया