समूहवाद वा समाजवाद भनेकै सत्यको अन्त्य हो
अमेरिकी या बेलायती फासीवादी व्यवस्था इटाली वा जर्मनीको भन्दा फरक हुन्छ र यदि फासीवादतर्फको संक्रमण अहिंसात्मक भयो भने हामीले अझ राम्रो नेता पाउन पनि सक्छौँ- यसमा कुनै शंका नहोला । तर यसको मतलब हामीकहाँ आएको फासीवादी व्यवस्था इटाली र जर्मनीको भन्दा ज्यादै फरक र सहज हुन्छ भन्ने चाहिं होइन । सर्वसत्तावादी व्यवस्थाका केही त्यस्ता दुर्गुण छन् जुन ढिलोचाँडो हामीसामु अवश्य देखापर्छन् ।
आर्थिक क्रियाकलापको योजना बनाउन अघि सरेका लोकतान्त्रिक नेताले कुनै न कुनै बेला अधिनायकवादको बाटो या योजनाको असफलता मध्ये एकलाई छान्नुपरे जसरी नै सवर्सत्तावादी नेताले पनि कुनै न कुनै बेला असफलता या नैतिकताको अवहेलनामध्ये एकलाई छान्नैपर्छ । यही कारणले गर्दा सर्वसत्तावादीतर्फ उन्मुख समाजमा अनैतिक व्यक्ति निकै सफल हुन्छन् । यो तथ्यलाई नकार्नेहरूले अहिलेसम्म पनि सर्वसत्तावाद र पश्चिमा सभ्यताको व्यक्तिवादबीचको ठूलो भिन्नतालाई बुझेका छैनन् ।
सर्वसत्तावादी नेताले आफ्नो वरिपरि दमनको बाटोलाई स्वेच्छाले स्वीकार्ने एउटा जमात तयार पार्नुपर्छ, जसले बाँकी जनतामाथि दमन लाद्छ । विगतमा अधिकांश समाज सुधारकहरूले समाजवाद लागू गर्न समाजवादी स्वयंले स्वीकार गर्न नसक्ने उपाय अपनाउनुपर्ने रहेछ भन्ने पाठ सिकिसके । पुराना समाजवादी पार्टीहरू लोकतान्त्रिक आदर्शबाट निर्देशित थिए ।
उनीहरू आफूले रोजेको उद्देश्य कार्यान्वयन गर्न क्रूरता अपनाउन तयार थिएनन् । जर्मनी र इटाली, दुवै मुलुकमा समाजवादीहरूले सरकारको यो क्रूरतापूर्ण दायित्व सम्हाल्न अस्वीकार गरेपछि नै फासीवादको जन्म भएको हो । वास्तवमा, आफैंले इङ्गित गरेको बाटो हिँड्न उनीहरूले अस्वीकार गरे । बहुमतले स्वीकारेको कुनै विशेष योजना समाजका सबै तप्कालाई स्वतः स्वीकार्य हुन्छ भन्नेमा उनीहरूको विश्वास थियो । तर ‘योजनाबद्ध’ समाजमा बहुमतले केमा सहमति जुटाउँछ भन्ने प्रश्न होइन, सबै कामलाई एकात्मक रूपले एउटै दिशामा कसरी अघि बढाउने भन्ने प्रश्न चाहिँ महत्वपूर्ण हुन्छ भन्ने पाठ अरूले सिकिसकेका थिए ।
सर्वसत्तावादी सोचबाट निर्देशित नेताले तयार पारेका समूह मूलतः गलत उद्देश्य बोकेका व्यक्तिहरूका जमात बन्न पुग्छन्, जसका तीन प्रमुख कारण रहेका छन् : पहिलो, व्यक्तिको शिक्षा र विवेक जति जति बढ्दै जान्छ, उनीहरूको विचार या सोचमा उति उति भिन्नता आउन थाल्छ । एकैनासको सोच या विचार खोज्नका लागि नैतिकता र विवेकको तल्लो तहमा झर्न आवश्यक पर्छ जहाँ जङ्गली प्रवृत्ति हावी हुन्छ । यसको आशय बहुमत जनताको नैतिकता तल्लो स्तरको हुन्छ भन्ने होइन । यसको आशय त मूल्य र मान्यता मिल्ने सबैभन्दा ठूलो समूहका सदस्यको चाहिं नैतिकतामा प्रश्नचिन्ह लाउन सकिन्छ भन्ने हो ।
दोस्रो, आफ्ना प्रयासहरूलाई वैधानिकता दिलाउन पर्याप्त रूपमा ठूलो समूह उपलब्ध नभएपछि, नेताले लहैलहैमा लाग्नेहरूको भीड बढाउन खोज्दछ । सर्वसत्तावादी नेताले पनि आफ्नो सोच तथा अडान नभएका र अरूको लहैलहैमा सजिलै लाग्नेहरूको जमात भेला गरी उनीहरूबाट सहमति जुटाउन थाल्छ । यस क्रममा, आफ्नो अडान नभएकाहरू र विवेकमा भन्दा पनि आवेशमा बहकिनेहरू छिट्टै सर्वसत्तावादी पार्टीका ठूलठूला ओहोदामा पुग्छन् ।
सर्वसत्तावादीतर्फ उन्मुख समाजमा अनैतिक व्यक्ति निकै सफल हुन्छन् ।
तेस्रो, यसरी भेला गरिएको जमातलाई एउटा साझा उद्देश्यमा बाँध्नका लागि उनीहरूमा रहेको नकारात्मक प्रवृत्तिको भरपूर उपयोग गरिन्छ । तिनलाई सकारात्मक भन्दा नकारात्मक कार्यक्रमका लागि सहमतिमा बाँध्न सजिलो हुन्छ । यस क्रममा नेताले सबैको साझा शत्रु औंल्याइदिन्छ र त्यसको आलोचना र घृणामा उनीहरूलाई व्यस्त बनाइदिन्छ । यस्ता शत्रु आन्तरिक (जस्तै जर्मनीका यहुदीहरू वा रुसका कुलाकहरू) पनि हुन सक्छन् र देश बाहिर खोजिएका (जस्तै, साम्राज्यवादी आदि) पनि हुन सक्छन् ।
सर्वसत्तावादी पार्टी या समूहमा कुनै पनि व्यक्तिले कत्तिको अनैतिक काम गर्नसक्छ भन्ने कुराले उसको प्रगतिलाई निर्धारित गर्दछ । साध्यले साधनको औचित्य सिद्ध गर्छ भन्ने अनैतिक अवधारणा नै त्यस्तो पार्टी वा समूहको नैतिकताको प्रमुख सिद्धान्त बन्न पुगेको हुन्छ । त्यसको सदस्यले ‘सबैको भलाइका निमित्त’ जे पनि गर्न तयार हुनुपर्छ किनभने उसको राम्रो कामको मापन गर्ने एकमात्र आधार नै ‘सबैको भलाइ’ बन्न पुग्छ ।
समाज वा राष्ट्र नै सर्वोपरि हो र उसको साध्यलाई पूरा गर्न व्यक्ति एउटा साधन मात्र हो भन्ने मान्न थालिएपछि सर्वसत्तावादका भयावह पक्ष र रूपहरूले क्रमैसँग हामीलाई पछ्याउन थाल्छन् । समाजवादीको दृष्टिकोणमा उनीहरूका विपक्षमा कुरा राख्नेलाई दबाउनु, त्यस्ता व्यक्तिको जीवन र खुसीलाई अनादर गर्नु, तिनलाई छलकपट गर्नु अनिवार्य र अपरिहार्य कार्य हुन् । बन्धक बनाइएका निरीह मानिसको हत्या, बूढापाका वा बिरामीको हत्या जस्ता हामीलाई सुन्दै आङ सिरिङ्ग हुने कार्यहरू उनीहरूका लागि आन्दोलन दु्रत गतिमा अघि बढाउने रणनीति मात्र हुन्छन् । यसैगरी, लाखौंको संख्यामा रहेका मानिसहरूलाई जबर्जस्ती आफ्नो बासस्थान छोड्न बाध्य पारिएका घटनाहरू ती पीडित बाहेक सबैलाई स्वीकार्य उत्कृष्ट काम भएको उनीहरू ठान्दछन् ।
कुनै पनि सर्वसत्तावादी राज्यमा कसैले पनि आफूलाई उपयोगी व्यक्ति साबित गर्न र राज्यबाट फाइदा लिन मानवीय नैतिकतालाई पूरै बिर्सेर काम गर्न तयार हुनुपर्छ । क्रूर र अनैतिक व्यक्तिका लागि सर्वसत्तावादी राज्यमा धेरै विशेष अवसर हुन्छन् । यस्ता राज्यमा कुनै यातनागृह वा बन्दी शिविरको व्यवस्थापन अथवा प्रचार-प्रसार मन्त्रालय वा गुप्तचर निकायका काममा मानवीय संवेदनाको कुनै स्थान हुँदैन । सर्वसत्तावादी पार्टीमा यस्तै ठाउँमा काम गरेको अनुभवले सबैभन्दा उच्च पदमा पुर्याउँछ ।
प्रख्यात अमेरिकी अर्थशास्त्री प्रा. फ्रेंक एच. नाइटले लेखेका छन्, ‘समूहलाई महत्व दिने (समाजवादी) राज्यका पदाधिकारीहरूले यी कामहरू चाहेर होस् वा नचाहेर, गर्नैपर्छ । यस्तो राज्य व्यवस्थामा शक्ति नचाहने या यसलाई दुरुपयोग गर्न नचाहने कुनै भलादमी व्यक्ति सत्ता सम्हाल्न पुग्छ भन्ने कल्पना गर्नु भनेको ‘दासहरूलाई कुट्ने व्यक्ति कमलो हृदयको हुन्छ’ भनेर आस गर्नु जस्तै हो ।
अझ बिर्सन नहुने कुरा त के हो भने, समूहवाद वा समाजवाद भनेकै सत्यको अन्त्य हो । सर्वसत्तावादी व्यवस्थालाई सफल पार्न सत्तामा भएकाहरूको आदेशअनुसार बाँकी सबैलाई जबर्जस्ती काम गर्न लगाएर मात्र पुग्दैन । सम्पूर्ण जनताले सत्ताधारीहरूको उद्देश्य नै आफ्नो पनि साध्य हो भन्ने सोच विकास गर्न समेत अपरिहार्य हुन्छ । यसका निम्ति सूचनाका सम्पूर्ण स्रोतलाई नियन्त्रणमा लिइन्छ र सत्ताधारीका उद्देश्यलाई एकतर्फी रूपमा धुवाँधार प्रचार गरिन्छ ।
सत्ताधारीका मूल्य र मान्यता सबै जनतालाई आत्मसात् गराउने सबैभन्दा प्रभावकारी तरिका भनेको यी उनीहरूका पहिलेदेखिकै मूल्य-मान्यता हुन् र अहिलेसम्म यिनलाई राम्ररी बुझिएको रहेनछ भन्ने विश्वास दिलाउनु हो । र, यसो गर्ने सबैभन्दा प्रभावकारी उपाय चाहिं पुरानै महत्वपूर्ण शब्दको प्रयोग गरेर ती शब्दको अर्थ फेरिदिनु हो । सर्वसत्तावादका यस्ता केही चरित्रहरू सतही विश्लेषकहरूका लागि एकदम अनौठा लाग्न सक्छन् । तर, भाषालाई यसरीे विकृत बनाउनु नै सर्वसत्तावादमा बुद्धिजीवी वर्गको एक प्रमुख चरित्र पनि हो ।
सर्वसत्तावादमा सबैभन्दा बढी दुरुपयोग हुने शब्द ‘स्वतन्त्रता’ नै हो । सर्वसत्तावादी राज्यमा यसलाई अत्यधिक प्रयोग गरिन्छ । वास्तवमा, जहाँ स्वतन्त्रताको सबैभन्दा बढी हनन भएको छ, त्यहाँ यो काम जनतालाई नयाँ स्वतन्त्रता दिलाउने नाममा भएको छ । हामीबीच पनि यस्ता धेरै योजनाकारहरू हुन सक्छन् जसले हामीलाई सामूहिक स्वतन्त्रताको आश्वासन दिन्छन् तर यो सर्वसत्तावादी राजनीतिज्ञहरूले आश्वासन दिने ‘स्वतन्त्रता’ जस्तै भ्रामक हुन्छ । ‘सामूहिक स्वतन्त्रता’ भनेको समाजका हरेक व्यक्तिको स्वतन्त्रता होइन । यसको अर्थ योजनाकारलाई जनताका नाममा मनपरी गर्ने स्वतन्त्रता मात्रै हो । यो स्वेच्छाचारी रूपमा गरिने शक्ति प्रयोगको चरम उदाहरण हो ।
शक्ति दुरुपयोग गर्न नचाहने कुनै भलादमी व्यक्ति सत्ता सम्हाल्न पुग्छ भन्ने कल्पना गर्नु ‘दासहरूलाई कुट्ने व्यक्ति कमलो हृदयको हुन्छ’ भनेर आस गर्नु जस्तै हो ।
बहुमतलाई स्वतन्त्ररूपमा सोच्नबाट रोक्न त्यत्ति गाह्रो हुँदैन । तर आलोचना गर्ने अल्पसंख्यकहरूलाई चुप लगाउनु पनि जरुरी हुन्छ । राज्यविरुद्ध सार्वजनिक रूपमा आलोचना गर्ने या राज्यको कामलाई शंकाको दृष्टिले हेर्ने सबैलाई दबाउन जरुरी हुन्छ किनभने यस्ता अभिव्यक्तिले राज्यमा सत्ताधारीको पकड कमजोर गराउन सक्छन् । सिड्नी र वियाट्रिस वेबले रुसका उद्योगको स्थितिसम्बन्धी प्रतिवेदनमा उल्लेख गरेका छन्, ‘काम हुँदै गर्दा, सार्वजनिक रूपमा, कसैले पनि सम्बन्धित योजनाको सफलताबारे प्रश्न उठायो भने उसलाई काममा इमानदार नभएको देखि राष्ट्रद्रोहीसम्मको आरोप लगाइन्छ, जसको अभिप्राय काम गरिरहेका अन्य व्यक्तिहरूले उसको भनाइलाई सदैव गलत ठानून् र उत्तिकै तन्मयतापूर्वक काम गरिराखून् भन्ने हो ।’
राजनीतिक रूपमा खासै महत्व नरहेका विषयवस्तुमा पनि क्रमशः नियन्त्रण गर्न थालिन्छ । उदाहरणका लागि, सापेक्षताको सिद्धान्तलाई ‘इसाई र नोर्डिक भौतिक विज्ञानको मूल सिद्धान्तमाथिको प्रहार’ मानिन्छ किनभने यो द्वन्द्वात्मक भौतिकवाद र मार्क्सवादी चिन्तनविरुद्ध छ । प्रत्येक कार्यको औचित्य सामाजिक उद्देश्यबाट निर्धारित हुन थाल्छ । स्वतःस्फूर्त रूपमा जनचाहना अनुसारको काम हुन दिइँदैन किनभने यसले अनपेक्षित नतिजा ल्याउँछ र यस्तो कार्यलाई योजनाले समेटेको हुँदैन ।
बौद्धिक स्वतन्त्रताको दमन सर्वसत्तावादी व्यवस्था स्थापना भएपछि मात्र हुन थाल्छ भन्नु पनि गलत हुन्छ । सबैभन्दा त्रासदीपूर्ण कुरा त, यस्तो दमन समूहवादमा विश्वास राख्ने सबैखाले व्यवस्थामा पाइन्छ भन्ने तथ्य हो । समाजवादको नाममा गरिएको कुनै पनि दमनलाई क्षम्य मानिन्छ र फरक मतप्रतिको असहिष्णुताको गुणगान गाइन्छ । समूहवादी विचारको विडम्बना नै के हो भने, यसले विवेकको श्रेष्ठतालाई स्थापना गर्न खोज्दा विवेकलाई नै नष्ट गर्न पुग्छ ।
समूहवादको विकाससँगै हाम्रो नैतिक मूल्य र मान्यतामा आएको एउटा परिवर्तनलाई यहाँ विशेष रूपमा उल्लेख गर्न आवश्यक छ । कुनै बेला अंग्रेज जातिले न्यायोचित रूपमा गर्व गर्ने कतिपय मूल्य र मान्यता अचेल अमेरिका र बेलायतमा दिन प्रतिदिन अवमूल्यन हुँदैछन् । यस्ता मूल्य-मान्यताहरू हुन् : स्वतन्त्रता र आत्मनिर्भरता, व्यक्तिगत पहलहरू र स्थानीय जिम्मेवारी, पारस्परिक निर्भरता, छरछिमेकमा अहस्तक्षेप, विविधताप्रति सहिष्णुता, शक्ति तथा अधिकारप्रति सकारात्मक सन्देह । अमेरिका र बेलायतको नैतिक चरित्र निर्धारण गर्दै आएका यी मूल्य-मान्यता, परम्पराहरू र यससम्बन्धी संस्थागत व्यवस्था समूहवादी चिन्तन र केन्द्रीकरणको चलनले बिस्तारै ध्वस्त बन्दै गइरहेका छन् ।
(समृद्धि, द प्रोस्पेरिटी फाउन्डेसनबाट प्रकाशित । फ्रेडरिक ए. हाएक (सन् १८९९-१९९२) को जन्म भियनामा भएको थियो । उनले भियना विश्वविद्यालयबाट कानुन र राजनैतिक अर्थशास्त्र गरी दुई विषयमा विद्यावारिधि हासिल गरेका थिए । उनले लुडविग वन मिसेसको मातहतमा रहेर अस्ट्रियन इन्स्टिच्युट फर बिजनेस साइकल रिसर्चमा काम गरे । सन् १९२९ देखि १९३१ सम्म उनले भियना विश्वविद्यालयमा लेक्चररका रूपमा काम गरे । सन् १९२९मा उनको पहिलो किताब : Monetary Theory and the Trade Cycle प्रकाशित भयो । उनलाई सन् १९३१ मा लन्डन स्कूल अफ इकोनोमिक्समा अर्थशास्त्र तथा तथ्यांकशास्त्रको प्रोफेसरका रूपमा र सन् १९५० मा सिकागो विश्वविद्यालयमा सामाजिक तथा नैतिक विज्ञानको प्रोफेसरका रूपमा नियुक्त गरियो । सन् १९६२ मा उनी फ्रिबर्ग विश्वविद्यालयमा राजनैतिक अर्थशास्त्रका प्रोफेसरका रूपमा नियुक्त भए र सन् १९६७ मा उनले त्यहाँको प्रोफेसर इमिरिटसको पद हासिल गरे । सन् १९४४ मा हाएक ब्रिटिस एकेडेमीमा सदस्यका रूपमा निर्वाचित भए र १९४७ मा उनले स्वीट्जरल्यान्डमा एक सम्मेलनको आयोजना गरे जसको फलस्वरूप मोन्ट पेलेरिन सोसाइटीको सिर्जना भयो । उनी सन् १९७४ मा अर्थशास्त्र तर्फको नोबेल पुरस्कार प्राप्त गर्न सफल भए र उनले सन् १९८४ मा कम्पानियन अफ अनर्सको उपाधि पनि हासिल गरे । सन् १९९१ मा जर्ज डब्लु बुसले उनलाई प्रेसिडेन्सियल मेडल अफ फ्रिडमको ताज प्रदान गरे । उनीद्वारा लिखित चर्चित पुस्तकहरुमा द प्योर थ्योरी अफ क्यापिटल (The Pure Theory of Capital), १९४१, द रोड टु सर्फडम (The Road to Serfdom) १९४४, द काउन्टर रिभोल्युसन अफ साइन्स (The Counter-Revolution of Science), १९५२, द कन्स्टिच्युसन अफ लिबर्टी (The Constitution of Liberty), १९६०, ल लेजिस्लेसन एन्ड लिबर्टी (Law, Legislation and Liberty) १९७३-९, द फ्याटल कन्सिट (The Fatal Conciet), १९८८ आदि छन् ।)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया