विचार

बीपी, उर्मिला र गुलाबको फूल

सञ्जय पन्थी |
कात्तिक १५, २०७७ शनिबार १२:२९ बजे

बीपी कोइराला सुन्दरीजल जेलबाट छुटेर क्यान्सरको उपचारका लागि अमेरिका पुगे । बीपी जेलमा रहँदा पेरिसमा रहेकी उर्मिला गर्गसँग बीपीको पत्र-संवाद थियो । उर्मिला सन् १९७० को दशकमा पेरिसबाट नेपाल फर्किएकी थिइन् । त्यसअघिको एउटा स्मरण उनलाई अझै ताजा छ । ०१६ सालमा प्रधानमन्त्री रहँदा बीपीले काठमाडौंमा  उनको ‘सोलो पेन्टिङ एक्जिविसन’ (एकल कला प्रदर्शनी) पेन्टिङको प्रदर्शनी उद्घाटन गरेका थिए । त्यो क्षण उनी कसरी बिर्सन सक्थिन् र ?

बीपी उपचारका लागि अमेरिकाको न्युयोर्क पुग्दा उनी पेरिसमा पेन्टिङ कै विद्यार्थी थिइन् । उर्मिला पेरिसबाट बीपीलाई अमेरिकाको न्युयोर्क भेट्न पुगिन् । त्यसका लागि उनले पेरिसमा पेन्टिङको प्रदर्शनीबाट भएको आम्दानीले खर्च जोहो गरेकी थिइन् । बीपी बन्दी अवस्थाबाट उपचारका लागि अमेरिका पुगेको उनलाई थाहा थियो । उनी बीपीसँग अमेरिका अस्पतालमा रहेको जानकारी दयारामभक्त माथेमाले आफ्नो जीवनीमा उल्लेख गरेका छन्, ‘म अमेरिकामा बीपीलाई भेट्न पुग्दा एक महिला बाहिर आईन र कसलाई भेट्न आउनु भएको ? भनेर सोधिन् ।’ माथेमालाई सोध्ने ती महिला उनै उर्मिला थिइन् ।


त्यसो त माथेमाले बीपीसँग शैलेजा पनि रहेको उल्लेख गरेका छन् । बीपीको आग्रहमा उनी अमेरिका पुगेकी थिईन् । बीपीले आफ्नो अवस्थाबारे पत्रमा जानकारी गराउँदै उर्मिलालाई सम्भव भए अमेरिका आउन आग्रह गरेका थिए । बीपीसँग अमेरिका बस्दा उनलाई आफ्नै अभिभावक भेटेजस्तै लाग्यो । भन्छिन्, ‘उहाँलाई जसले भेट्यो, आफ्नै अभिभावक हो जस्तो लाग्थ्यो ।’ न्यूयोर्कको अस्पतालमा उनले करिब चार महिना बीपीसँग बिताइन्, बिहान ८ देखि साँझ ८ बजेसम्म । उनका पतिसमेत बीपीलाई भेट्न अमेरिका पुगेका थिए । भारतीय मूलका उनका श्रीमान् मी.गर्ग क्यानडामा गणित विषयका प्रख्यात प्राध्यापक थिए । जसलाई बीपीले असाध्यै मन पराउँथे । अहिले उनी प्यारालाईसिसले थलिएको अवस्थामा सिकिस्त छन् ।

त्यति बेला उहाँ स्नेही स्वरमा भन्नुहुन्थ्यो, तिमी त महाबेइमान रहिछ्यौ,’ उर्मिलाले विगत सम्झदैं भनिन् ।

अस्पतालमा बीपीलाई भेट्न अनेकौं मानिस आउँथे । तिनलाई चियापानी सोध्ने जिम्मा उर्मिलाले उठाउँथिन् । ‘भेट्न आउने मानिस गएपछि म बीपीसमक्ष पुग्थें । त्यति बेला उहाँ स्नेही स्वरमा भन्नुहुन्थ्यो, तिमी त महाबेइमान रहिछ्यौ,’ उर्मिलाले विगत दिनहरु सम्झदैं भनिन् ।

अस्पतालमा बीपीकी छोरी र उनी पालैपालो बस्थे । अमेरिकामा नेपालीको अहिलेजस्तो पहुँच थिएन । सीमित मात्र त्यहाँ बस्थे । त्यीमध्ये विचार र आस्था मिल्नेहरू बीपीलाई भेट्न आउँथे । देशको राजनीतिक व्यवस्थाबारे घण्टौं छलफल गर्थे । ती क्षण अहिले पनि उनको मानसपटलमा ताजै छन् । अहिले मन्त्री भएका कांग्रेस नेताको आम्दानी र फुर्ती देख्दा उर्मिलालाई विरक्त लाग्दो रहेछ । भन्छिन्, ‘बीपी युगपुरुष थिए’

बीपी काठमाडौं फर्किएपछि पनि उनी भेट्न गइन् । उनका बुबा रत्नमणि पनि बीपीकहाँ गइरहन्थे, घरमा फुलेको गुलाब लिएर । बीपीलाई गुलाबको फूल निकै मन पर्ने गरेको उनी बताउँछिन् । दुखःद् कुरा के छ भने उनले संकलन गरेका बीपीका तस्बीर र तस्बीरका छाँया चित्र केही छैन् । कोही नजिकका आफन्तजनलाई सुरक्षित संग्रह राखिदिन आग्रह गरेर क्यानडा गएका बेला ती सबै हराए । त्यसैले उनीसँग बीपीका कुनै तस्बीर संग्रहमा छ्रैनन् । त्यो सङ्गतको स्मरण स्वरुप अहिले उनीसँग बीपी पत्नी सुशीलाले साधना गर्ने गरेको हार्मोनियम भने सुरक्षित छ । उनी भन्छिन्  ‘ बाचुञ्जेल यो हार्माेनियम कसैलाई दिन्न् ।’   

सन् १९३९ मा धनुषामा जन्मिएकी उनको पूरा नाम उर्मिला गर्ग उपाध्याय (पौडेल) हो । पछि उनको परिवार काठमाडौंमा स्थानान्तरण भयो । राणाशासनका बखत हुनेखाने परिवारमा जन्मिएकी उर्मिलाको जीवन-कहानी रोचक छ । यी नेपाली चेलीले भारतीय मूलका क्यानडेलीलाई जीवनसाथी बनाइन् । उनीहरूको बिहे पेरिसमा भएको थियो । रत्नमणिका चार सन्तानमध्ये उर्मिला जेठी हुन् । उनको प्राथमिक शिक्षा बनारसमा भएको हो । कक्षा ५ पढ्न काठमाडौं आइन् ।

डिल्लीबजार कन्या स्कुलमा पढ्दापढ्दै सन् १९४८ मा उनी गान्धीवादी समाजसेवी तुलसी मेहर श्रेष्ठसँग गान्धी आश्रम, बर्धा पुगिन् । महाराष्ट्रमा पर्ने बर्धा गान्धीको अन्तिम आश्रम हो । त्यति बेला श्रेष्ठले नेपालका १६ बालिकालाई अध्ययनका लागि त्यहाँ लगेका थिए । तिनैमध्येकी एक हुन्, भद्र घले । उनीहरू करिब ५ वर्ष अध्ययनपछि म्याट्रिक तहको शिक्षा (विनीता) कोर्स पूरा गरेर नेपाल फर्किए । त्यसपछि आआफ्नै कर्ममा लागे । उर्मिला भने काठमाडौं किलागलका चन्द्रमान मास्केसँग पेन्टिङको कक्षा लिन पुगिन् ।

काठमाडौंमा ‘सोलो पेन्टिङ एक्जिविसन’ 
त्यसपछि उनी फेरि ‘कोलम्बो प्लान’अन्तर्गत बम्बईको जेजे स्कुल अफ आर्ट गइन् । उनी त्यहाँ अध्ययन गर्ने पहिलो नेपाली छात्रा थिइन् । उनको कला, सभ्यता र लगनशीलता अब्बल भएकाले कलेजले अतिरिक्त अवसर उपलब्ध गराइरह्यो । ७ वर्षको अवधिमा उनले ५ वर्ष डिप्लोमा र २ वर्ष म्युरल डेकोरेसन अध्ययन गरिन् ।

नेपालमा त्यो विषय अध्ययन गरेका लैनसिङ वाङ्देल मात्र थिए । उनका आर्टिकल पढ्नु उर्मिलाको दैनिकी हुन्थ्यो । त्यस अवधिमा उनले काठमाडौंमा पेन्टिङको ‘वान मेन शो’ गरिन् । उनका लागि त्यो नै टर्निङ प्वाइन्ट बन्यो । बीपी कोइराला प्रधानमन्त्री थिए । उक्त प्रदर्शनीको कोइरालाले उद्घाटन गरे । भोलिपल्ट राजा महेन्द्र आएर सबै पेन्टिङ खरिद गरे । अघिल्लो दिन उक्त चित्रमध्ये केही भारतीय, इजरायल, बिट्रिस राजदूतहरूले बुक गरेका थिए ।

युनिभर्सिटीमा फाइन आर्टकै प्राध्यापक
प्रो. गर्ग क्यानडाबाट केही कोर्सका लागि पेरिस आएका थिए । फेरि उनी क्यानडा नै फर्किए । क्यानडाको अल्बर्टा युनिभर्सिटीमा अध्यापनरत गर्गसँग उर्मिला पनि क्यानडा गइन् । उक्त युनिभर्सिटीमा फाइन आर्टको डिपार्टमेन्ट रहेछ । पेरिसमा विलियम हेटरको विद्यार्थी भन्नेबित्तिकै युनिभर्सिटीले उनलाई डिपार्टमेन्टकै जिम्मा दियो । उर्मिला पनि अल्बर्टा युनिभर्सिटीमा फाइन आर्टकै प्राध्यापक भइन् । त्यस अवधिमा उनले नेपाल र क्यानडा आऊ-जाऊ गरिरहिन् । बीपी कोइरालासँगको पत्र-संवाद चली नै रहेको थियो ।

समाजसेवी पहिचान
नेपाल फर्किएर उर्मिलाले तुलसीमेहर महिला आश्रममा स्वयंसेवी भएर काम गरिरहिन् । उनको जीवनमा अवसरको बहार ल्याइदिने व्यक्ति थिए,  तुलसीमेहर श्रेष्ठ । त्यसैले उनको नामको संस्थामा आफूलाई समर्पित गरिन् । आफैं पनि गान्धीवादी भएकाले श्रीमान् गर्गलाई समेत आफ्नो पारिश्रमिकबाट केही रकम आश्रममा सहयोग गर्न मञ्जुर गराइन् । केही वर्ष दुवै जनाले उक्त आश्रममा समय मात्र नभएर पैसा पनि खर्चिए । हजारौं महिलालाई सिलाइ-बुनाइ, कटाइ, पेन्टिङलगायत विभिन्न सीप प्रदान गर्दै रहे ।

उनले त्यहाँ पेन्टिङ सिकाएका करिब ३ दर्जन छात्र-छात्रा अहिले फ्रान्स, अमेरिका र क्यानडालगायत देशमा रहेको उनी बताउँछिन् । यसअघि ललितकला प्रतिष्ठानकी कुलपति बनेकी रागिनी उपाध्याय ‘ग्रेला’ समेत उनकी शिष्य हुन् । उर्मिलाले त्यस अवधिमा उद्योग मन्त्रालयको सहकार्यमा महिलालाई सीपमूलक तालिम सञ्चालन गर्दै रहिन् । समाजसेवाको उनको लत छुटेन । ८० को दशकमा प्रा. गर्ग पनि ३० वर्षको अध्यापनपछि सेवानिवृत्त भए । पूर्वसर्तअनुसार दुवै जना नेपाल बस्न थाले । नेपालमा तुलसी मेहर महिला आश्रमका अतिरिक्त आफ्नै ‘सिर्जनात्मक कला गुठी’ नामको संस्था पनि संचालनमा ल्याए । त्यहाँबाट पनि रचनात्मक कामलाई निरन्तरता दिइरहे । गर्गको पेन्सनबापतको वार्षिक करिब ३० लाख रुपैयाँ क्यानडाबाट आउने रकम सबै गुठी सञ्चालनमा खर्चिरहे । अहिले पनि उनीहरूले आफ्नो अम्दानी गुठीकै काममा खर्च गरिरहेका छन् ।

सगरमाथा आरोहणको रजत महोत्सव वर्ष मनाइरहँदा करिब १ सय जनालाई उनले आफैंले बुनेका स्कार्फ लगाइदिएर बिदाइ गरेकी थिइन् ।

पछिल्ला दिन पति प्यारलाइसिसले थलिएका छन् । उनको सेवा गर्नु उर्मिलाको दैनिकी भएको छ । गर्गको पैत्रिक थलो भारतको लखनउ हो । तर पत्नीसँगको वाचा निभाउँदै क्यानडामा सेवानिवृत्त भएपछि नेपाल हानिए । धोबीघाटमा करिब ३ रोपनी जग्गामा उनीहरूको कला गुठी छ । उक्त जग्गा पिताले दिएको उर्मिला बताउँछिन् । उनले त्यहाँ क्यानडाको कमाइ खर्चिएकी छिन् । तुलसीमेहर महिला आश्रम, सरकारसँगको साझेदारी, संयुक्त राष्ट्रसंघीय विकास कोष (यूएनडीपी) सँगका कार्यक्रममार्फत नेपालमा करिब २० हजार महिलालाई आयमूलक सीप दिएको उर्मिलाको भनाइ छ । उनको समाजसेवा अहिले पनि जीवन्त छ । साना ग्राम-उद्योगमार्फत देशको अर्थतन्त्रमा परिवर्तन ल्याउन सकिने विश्वास राख्छिन् ।

सगरमाथा आरोहणको रजत महोत्सव वर्ष मनाइरहँदा करिब १ सय जनालाई उनले आफैंले बुनेका स्कार्फ लगाइदिएर बिदाइ गरेकी थिइन् । सरकारले सन् १९९८ मा पर्यटनवर्ष मनाउँदा अतिथिहरूलाई चिनो उनकै गुठीमा तयार गरिएको थियो । आफूले बनाएको कला सबैले मन पराइदिँदा उनलाई आनन्द लाग्छ । खास गरी उनले ज्याकर्ड कपडामा गर्ने डिजाइन धेरैले रुचाएका छन् । राजा महेन्द्रदेखि अमेरिकी, भारतीय, इजरायली, बिट्रिस, फ्रेन्च राजदूतसम्म उनको कलाका सोखिन थिए ।

उनी आफूलाई गान्धीवादी भनेर चिनाउन गर्व गर्छिन् । उनले हालै मात्र बिदा भएका भारतीय राजदूत मन्जिभसिंह पुरीलाई गान्धीको आकृतिसहितको बुनिएको कपडाको चित्र दिइन् । उक्त उपहार ग्रहण गर्दै पुरीले भने, ‘दिदी ८१ वर्षको उमेरमा पनि यति निपुण हुनुहुन्छ । म बापुको यो चित्र मेरो सुत्ने कोठामा राख्नेछु ।’

बीपीदेखि जेपीसम्मको संगत 
केही व्यक्ति यस्ता हुन्छन् जो केवल कर्म गर्छन् । अरूले बुझोस्-नबुझोस् वास्ता गर्दैनन् । फलको आस नगर्ने कर्मयोगी बन्छन् । तिनैमध्ये हुन् उर्मिला । चार-बीस काट्दा पनि उनलाई समाजसेवाको हुटहुटी छ । समाजकल्याण परिषद्का अन्तर्राष्ट्रिय समन्वय महाशाखामा कार्यरत अधिकृत खगनाथ रेग्मी उर्मिला अद्वितिय समाजसेवी भएको बताउँछन् । रेग्मीले कामका सिलसिलामा धेरै संघसंस्था अनुगमन गरे । तर उर्मिलाजत्तिकै सच्चा समाजसेवी अन्त भेटेनन् । उर्मिला संस्थापक रहेको सिर्जनात्मक कला गुठी धोबीघाट, ललितपुरमा छ । गान्धीको सर्वसेवासंघको सिद्धान्तमा आधारित उक्त संस्थामार्फत उनले धेरै काम गरेकी छन् । तर उर्मिला प्रचार चाहन्नन् । न त आफ्नो कर्मबापत केही पाऊँ भन्ने लालसा राख्छिन् ।

विनोबाको भूदान यज्ञका क्रममा धेरै स्थानमा मञ्च सजावट गरेको उनको अनुभव  र स्मरण छ । उनको अनुभव र योगदानका आधारमा नेपाल स्थित भारतीय दूतावासमा आउने राजदूत सम्भव भएसम्म उनकै निवासमा भेट्न आइपुग्छन् ।

नारायणभाइ देसाई महात्मा गान्धीका स्वकीय सचिव महादेव देसाईका पुत्र हुन् । उनले सन् १९४८ सम्म आफ्नो जीवनका २४ वर्ष गान्धीसँग बिताए । उनले सन् १९३९ मा जर्मनीका शासक हिटलरलाई गान्धीले लेखेको पत्र टाइप (टंकन) गर्ने सौभाग्य पाएका थिए । सन् २०१५ मा निधन हुँदा उनको परिचय प्रसिद्ध गान्धीवादी अभियन्ताका रूपमा थियो । उनीसँग गान्धीवादी अभियन्तता भएर केही वर्ष व्यतीत गरेकी भाग्यमानी हुन्, उर्मिला गर्ग । उनले तत्कालीन भारतमा सामाजिक न्यायका पक्षपाती जयप्रकाश नारायण, विनोवा भावेजस्ता मूर्धन्य व्यक्तिहरूसँग निकट रहने अवसर पाइन् ।

नेपालमा बीपी, मातृका, भद्रकाली मिश्रा, महेन्द्रनारायण निधि, मोहम्मद मेहिसनलगायत व्यक्तित्वसँग उनको नजिकको सम्बन्ध रह्यो । भारतमा विनोबा भावेको भूदान यज्ञमा सहभागी भएर समाजवादी नेता जेपीसँगसमेत संगत गर्न पाएको उर्मिला बताउँछिन् । यिनै संगतले उनलाई आजीवन समाजसेवी बनाइदियो । त्यतिखेर उनी भारतमै अध्ययनरत थिइन् । विनोबाको भूदान यज्ञका क्रममा धेरै स्थानमा मञ्च सजावट गरेको उनको अनुभव  र स्मरण छ । उनको अनुभव र योगदानका आधारमा नेपाल स्थित भारतीय दूतावासमा आउने राजदूत सम्भव भएसम्म उनकै निवासमा भेट्न आइपुग्छन् । नभए उनलाई दूतावासमा बोलाएर भेट गर्छन् । भारतीय दूतावासमा उनको पहिचान यतिवेला ‘गान्धीवादी उर्मिला दिदि’ बनेको छ ।
 


Author

थप समाचार
x