विचार

माओको पूजा

राजाराम बर्तौला |
फागुन १, २०७७ शनिबार ९:९ बजे

चीनमा गएको डिसेम्बर २६ तारिखमा बडो धुमधामसाथ माओको जन्मोत्सव मनाइयो । उनको जन्म डिसेम्बर २६, १८९३ मा चीनको हुनान प्रान्तको साओसान भन्‍ने ठाउँमा भएको थियो । खबरहरूले भनेबमोजिम माओको जन्मस्थलमा स्वर्णिम प्रतिमा स्थापना गरियो र अनावरण गरियो । केही चिनियाँहरू माओलाई जिजस क्राइस्ट भन्दा ठूलो मान्दा रहेछन् भन्‍ने पनि अखबारमा पढ्न पाइयो ।

आआफ्नो वैयक्तिक स्वतन्त्रताको कुरा हो, कसलाई ठूलो र कसलाई सानो मान्‍ने भन्‍ने कुरो । जे भए पनि गरिब र श्रमिक वर्गको मुक्तिका लागि र श्रमिकहरूको शासन व्यवस्था स्थापनाका लागि जीवन संघर्ष गरेका चेयरमेन माओको मृत शरीरलाई अझैसम्म सुरक्षित राख्‍नु र उनको जन्मोत्सवमा स्वर्णिम प्रतिमा स्थापना तथा अनावरण कार्यलाई चीनले गरेको अभूतपूर्व आर्थिक प्रगतिको सांकेतिक महत्वका रूपमा बुझ्‍न आवश्यक छ ।


चीनले केही शताब्दी यतादेखि गरेको अतुलनीय आर्थिक एवं भौतिक विकासलाई महत्व दिएर नहेर्ने मानिस विरलै होलान् । अर्थात् चीनमा भइरहेको विकासको गति विश्वलाई आश्चर्य चकित पार्ने गतिमा अगाडि बढी रहेको छ । पूर्वाधार विकासदेखि लिएर आर्थिक, सामाजिक, वैज्ञानिक, तकनिकी लगायत समाजको सबै क्षेत्रहरूमा चीनमा आएको सम्पन्‍नताको छाप सजिलै देख्‍न सकिन्‍छ ।

समाजमा आएको परिवर्तनको गति एवं विकासलाई राजनीति व्यवस्थासँग तुलना गरेर अध्ययन गरिन्‍छ । बीसौँ शताब्दीमा विश्वमा आएका परिवर्तन र त्यसले समाजमा पारेका असरलाई राजनीतिक सिद्धान्तहरूको प्रयोगले समाजमा पारेको असरलाई तुलनात्मक अध्ययन गरेर विकासका मोडेलहरूको सफलता र असफलताको चर्चा गरिने गरिएको छ ।

सामाजिक उन्‍नयनलगायत आर्थिक तथा भौतिक विकासका लागि लोकतन्त्रको स्थापना र त्यसको सफल सञ्चालन अपरिहार्य रहिआएको भन्‍ने सर्वस्वीकार्य सिद्धान्त र मान्यता रहिआएको सन्दर्भमा विश्वमा परीक्षण गरिएको राजनीतिक सिद्धान्तहरूमध्ये लोकतान्त्रिक पद्धति अवलम्बन गरिएका मुलुकहरूले प्राप्त गरेको सफलताहरूको गहनतम अध्ययनबाट स्वीकार गरिएको तथ्य हो ।

तर चीनले यतिखेर प्राप्त गरेको सफलता भने माथिको तथ्यसँग मेल खाँदैन । विश्वका ५० भन्दा धेरै मुलुकहरूमा रहेको साम्यवादी शासन व्यवस्था नब्बेको दशकमा सोभियत संघको पतनसँगै विश्वबाट पलायन भएको भए तापनि हाल चीन, क्युबा, उत्तर कोरिया, भियतनाम तथा लाओसमा कुनै न कुनै रूपमा साम्यवादी शासन प्रणाली क्रियाशील रहेका छन् ।

लोकतन्त्रको मूल्य-मान्यताभन्दा फरक केन्द्रीकृत शासन विधिबाट शासित यी मुलुकमध्ये विकासमा अग्रगामी छलाङ लगाउँदै विश्वको एकमात्र शक्तिशाली राष्ट्र मानिएको संयुक्त राज्य अमेरिकालाई उछिन्‍ने तरखरमा रहेको छ चीन र उपलब्ध तथ्य र सूचकांकहरूले पनि चीन उदाउँदो शक्ति भएको कुरा स्वीकार्दै आएको पनि छ ।

ऐतिहासिक तथ्यहरूलाई हेर्ने हो भने चेयरमेन माओको समयमा आर्थिक विकासका लागि जग राख्‍ने भन्दा पनि साम्यवादी शासन व्यवस्था टिकाउन आधार निर्माणमा समय सकिएको देखिन्‍छ । सांस्कृतिक क्रान्तिदेखि लिएर प्रतिक्रान्तिकारी दबाउने नाममा दसौं लाख मानिसले ज्यान गुमाएको देखिन्‍छ । लाखौँ मानिस अनिकालको कारणले पनि ज्यान गुमाएका थिए । पुँजीपति र सामन्ती वर्गलाई दिइने राजनीतिक सजायको नाममा एक हजारमा २/३ जनासम्म मारिनुलाई जायज मानिएको थियो भन्‍ने कुराहरू हालैमा प्रकाशित दस्तावेजहरूले लेखेका छन् । एक हिसाबले भन्‍ने हो भने माओको कालखण्ड चिनियाँ जनताका लागि जीवन र मरणबीचको परीक्षणको घडी थियो भन्दा अत्युक्ति नहोला ।

तर चीनको प्रगतिको ढोका भने तेङ सियाओ पेङले १९७९ देखि अवलम्बन गरेको आर्थिक नीतिबाट प्रभावित भएको देखिन्‍छ । तेङले लिएको आर्थिक खुलापनको नीति सेनजेनको घेरा नाँघ्दै चिनियाँ राष्ट्रिय अर्थ नीतिको मेरुदण्ड बन्‍न गएको छ । राजनीतिक फलामे साङ्लो खुकुलो नपारी आर्थिक पक्षलाई मात्र राज्य नियन्त्रणबाट खुकुलो छोडिदिँदा पनि चीनले गरेको प्रगति आशालाग्दो र प्रशंसायोग्य रहेको छ ।

कुनै समय सांस्कृतिक क्रान्तिका नाममा यिनै मन्दिर, मस्जिद र गुम्बा नष्ट गरिएका थिए ।

सर्वहारा वर्गको विश्वासको आधार स्तम्भ चीनले लोकतन्त्रीकरणउन्मुख साम्यवादी शासन व्यवस्थालाई सामाजिक परिवर्तनका विविध पहलुहरूको सूक्ष्म विश्लेषणसहित प्राप्त उपलब्धिहरूको रक्षा गर्दै अग्रगामी चिन्तनसाथ नवीनतम प्रयोग गरिरहेको देखिन्‍छ । द्वन्द्वात्मक भौतिकवादप्रतिको अन्धविश्वास र साम्यवादी केन्द्रीकृत शासन सत्ताबाट निःसृत हुने आदेशात्मक शासन विधिले मानवभित्रको मानवीय समवेदना र भौतिक र पराभौतिक आस्थाप्रतिको विश्वास मेटाउन नसकिने रहेछ भन्‍ने प्रमाण चीनको शासन व्यवस्थामा आएको सामान्य परिवर्तनसँगै लाखौँ करोडौँ मानिसहरूको मन्दिर, मस्जिद र गुम्बाप्रतिको बढ्दो आकर्षणले देखिन्‍छ । कुनै समय सांस्कृतिक क्रान्तिको नाममा यिनै मन्दिर, मस्जिद र गुम्बाहरू नष्ट गरिएका थिए ।

नेपालमा साम्यवादी सिद्धान्त वा शासन व्यवस्थाको प्रभाव राम्रै देखिएको छ । निर्वाचनमा खसेको कुल मतको प्रतिशत हेर्ने हो भने पनि साम्यवादी दलहरूले पाएको कुल मत लोकतान्त्रिक दलहरूले पाएको भन्दा बढी देखिन्‍छ । नेपाल कम्युनिस्ट पार्टी माओवादीले एक दशकसम्म चलाएको आन्दोलनले नेपालमा माओवादको प्रभाव राम्रै पर्न गएको सन्दर्भमा चीनतिर बरालिँदा माओको जन्मथलो हेर्ने उत्सुकता जाग्नु स्वाभाविकै हुन्‍छ ।

फेरि नेपालबाट चीन भ्रमणमा जाने प्रायः नेपाली तियानमेन चोकमा राखिएको माओको समाधिस्थल भ्रमण गर्ने गर्छन् । खास भन्‍ने हो भने यो एउटा पर्यटकीय स्थल नै भएको छ । सुनको प्रतिमा राखिएको खबर आउनुभन्दा धेरै अघि माओको जन्मस्थान हुनान प्रान्तको राजधानी छाङसाबाट करिब सय किलोमिटर पर रहेको साओसानमा राखिएको प्रतिमास्थल पनि पर्यटकीय स्थल नै भएको छ । यहाँको भ्रमण गर्दा सर्वथा साम्यवादको अर्को पाटो देखिन्‍छ ।

माओको प्रतिमा अवलोकन गरिसकेपछि सँगै रहेको संग्रहालयमा लगिन्‍छ, जहाँ माओको तस्बिरलाई धुप-दीप आदिले पूजा गरेको देख्‍न पाइन्‍छ । भित्तामा रहेको माओको प्रतिमा अनावरण गर्दाको तस्बिरको विषयमा रमाइलो कथा छ । प्रतिमा अनावरण गर्दाको अवस्थामा लिइएको तस्बिरमा प्रतिमाको ठीक पछाडि आकाशमा चन्द्र र सूर्य देखाइएको छ । 
वैज्ञानिक दृष्टिकोणबाट यो सम्भव छ वा छैन, तर धार्मिक ग्रन्थहरूमा वर्णन गरिएजस्तै माओको उक्त प्रतिमा अनावरण गर्दा हावाको झोक्काले स्वयं अनावरण भएको र तत् समयमा चन्द्र र सूर्य आकाशमा देखिएको भन्‍ने भनाइ रहेको रहेछ ।

माओ प्रतिभावान महान् राजनीतिक व्यक्ति हुन् भन्‍ने कुरामा कुनै विमति नहोला तर जे होस् यस कथाबाट के पनि बुझिन्‍छ भने महान् भनिएका व्यक्तिलाई महान् बनाउन कथा वा मिथको पनि सहारा आवश्यक पर्ने रहेछ ।

तत्कालीन समयमा सम्पन्‍न परिवारमा जन्मेका माओको सुविधा सम्पन्‍न घरलाई सुरक्षित र संरक्षित गरी राखिएको छ । तत्कालीन समयको झलक दिने दैनिक प्रयोगमा ल्याइएका सामानहरूको समेत संरक्षण गरी राखिएको छ । पहाडको ठीक्कमुनि, घरैछेउमा पोखरी र अन्‍नपातको लागि खेत-खलिहान भएको प्राकृतिक सुन्दरताले युक्त माओको जन्मघर ऐतिहासिक धरोहरका रूपमा र पर्यटकीय रूपमा समेत भ्रमणयोग्य स्थान रहेको छ ।


Author

थप समाचार
x