विचार

सम्पादकीय

के बिजुली निर्यात सम्भव छ ?

इकागज |
फागुन २, २०७७ आइतबार १०:२४ बजे

अहिलेको जमाना सूचना-प्रविधिको हो । सामान्यतया साक्षर र निरक्षर व्यक्तिहरूले पनि मोबाइल चलाउँछन् । निरक्षरहरूले आवाज सुनेर र भिडियो हेरेर पनि सूचनाको जानकारी राख्छन् । देश विदेशमा कतिखेर के भइरहेको छ, तत्काल थाहा हुन्छ । सूचना-प्रविधिले विश्वलाई नै एउटा गाउँ बनाइदिएको छ, जहाँ प्रत्येक खबर अद्यावधिक रूपले मानिसहरूले थाहा पाउँछन् । कसैले कसैलाई गफ लगाएर, धाक लगाएर क्षणिक आत्मरति गर्लान् तर त्यो झूट हुनेछ । 

यही सिलसिलामा प्रधानमन्त्री केपी ओलीले सार्वजनिक भाषण गर्दै आइरहेका छन्- अब नेपाल बिजुली निर्यात गर्ने अवस्थामा पुगेको छ । ओलीको यो भाषण केवल जनतालाई विभ्रम तुल्याउने उद्देश्यले प्रेरित छ । उनले विभिन्न ठाउँमा पुगेर भारत र बंगलादेशलाई अब नेपालको बिजुली बेचिनेछ भनी भाषण गरिरहँदा मुलुकले भने झन्डै साढे सात सय मेगावाट बिजुली आयात गरिरहेको छ । 


ओलीलाई लाग्दो हो, उनले भनेपछि जनताले पत्याइदिनेछन् । किनभने उनीभन्दा पनि उनको पदको गरिमाको हिसाबले जनताले पत्याउँछन् भन्ने विभम्र उनमा देखिन्छ । उनले यसरी दिएको गफ साँच्चिकै यथार्थमा रूपान्तरण हुने हो भने त मुलुकको कायापलट हुनेछ । तर क्षणिक आत्मरति र जनतालाई भ्रम छर्न ओली कुशल मानिए पनि यथार्थ भने त्यो होइन ।

कोभिड-१९ का कारण विद्युत् प्राधिकरणले चुहावट नियन्त्रणलाई लयमा राखिरहन सकेन । फलतः मुलुकको दक्षिणी क्षेत्रमा चुहावट बढ्यो, जसले गर्दा विद्युत् माग पनि बढायो । त्यसबाहेक उपत्यकामा दैनिक साढे तीन सय मेगावाटको खपत हुन्छ भने राति केवल ८० मेगावाट ।

अब माथिल्लो तामाकोसीसहितका आयोजना सम्पन्न भएपछि प्राधिकरणको प्रणालीमा यो वर्ष करिब आठ सय २५ मेगावाट बिजुली थपिँदै छ । प्रणालीको जडित क्षमता करिब २३ सय मेगावाट पुग्दै छ । तर माग भने साढे १५ सय मेगावाटभन्दा बढी हुनेछैन । यो अवस्थामा बर्खायाममा करिब ६ सय मेगावाट बिजुली जगेडा हुने देखिन्छ । त्यही बिजुलीलाई ओलीले बेच्ने भनेका होलान् । तर कसरी ? 

भारतले अहिलेसम्म नेपालको बिजुली लिन्छु भनी सम्झौता गरेकै छैन । नेपालमा जगेडा भएका बखत इनर्जी बैकिंङमार्फत भारतलाई बर्खायाममा बिजुली दिन हरसम्भव प्रयत्न गरिएको हो । तर भारत अनेक बहाना बनाउँदै गरिएका सहमति पालना गर्दैन । नेपालले प्रयास नगरेको होइन, तर प्रतिस्पर्धी नभएका कारण सफल हुन सकेन । यो अवस्थामा अब कसरी नेपालले बिजुली बेच्ने त्यो प्रधानमन्त्रीले जनतालाई जवाफ दिनुपर्छ । के उनले भनेका सबै कुरा जनताले पत्याइदिनुपर्ने ?

नेपालको बिजुलीको अन्तर्राष्ट्रिय बजार भनेको भारत र बंगलादेश हो । बंगलादेश नेपालको बिजुली लिन तयार छ तर बीचमा भारत आइदिन्छ । उसको अनुमतिबिना नेपालले बंगलादेशसम्म आफ्नो बिजुली पुर्याउन सक्दैन । यसका लागि भारतले कि त आफ्नो भूभाग (करिब २१ किलोमिटर खण्ड) मा प्रसारण लाइन बनाउन दिनुपर्याे, कि त उसको प्रणालीमा नेपालको बिजुली हुलेर सीमाबाट निर्यात गर्नुपर्याे । यी दुवै विकल्पमा भारत सहमत छैन । 

अब भारतको कुरा गरौं । भारतले अहिलेसम्म नेपालको बिजुली लिन्छु भनी सम्झौता गरेकै छैन । नेपालमा जगेडा भएका बखत इनर्जी बैकिंङमार्फत भारतलाई बर्खायाममा बिजुली दिन हरसम्भव प्रयत्न गरिएको हो । तर भारत अनेक बहाना बनाउँदै गरिएका सहमति पालना गर्दैन । अघिल्लो महिना एउटा भारतीय कम्पनीले प्रतिस्पर्धाका आधारमा बिजुली लिन टेन्डर गर्याे ।

नेपालले प्रयास नगरेको होइन, तर प्रतिस्पर्धी नभएका कारण सफल हुन सकेन । यो अवस्थामा अब कसरी नेपालले बिजुली बेच्ने त्यो प्रधानमन्त्रीले जनतालाई जवाफ दिनुपर्छ । के उनले भनेका सबै कुरा जनताले पत्याइदिनुपर्ने ?

प्रधानमन्त्री सत्तामा पुगेको भोलि ठ्याक्कै तीन वर्ष पुग्दै छ । यो अवधिमा उनले भ्रष्टाचारजन्य कृत्यबाहेक अरु केही गर्न सकेनन् । अन्ततः प्रतिनिधि सभाको विघटन नै गरिदिए । यी तीन वर्षमा ओलीले भारत र बंगलादेशलाई बिजुली निकासी गर्ने बन्दोबस्त मिलाउन सकेको भए उनी नेपालको इतिहासमै नायकका रूपमा चित्रित हुने थिए । 

किनभने यी दुई देशमा बिजुली निकासी हुनु भनेको नेपालको आर्थिक र सामाजिक रूपान्तरण हुनु हो । यो मुद्दा केवल प्रधानमन्त्री तहमा मात्र समाधान हुन सक्छ । यस्तो अवसर ओलीले गुमाए । बरु उनको अकर्मण्यताका कारण विद्युत् प्राधिकरणले अबको वर्षायाममा करिब १५ अर्ब रुपैयाँको बिजुली खेर फाल्दै छ । सत्य चाहिँ यो हो । 
 


Author

थप समाचार
x