यो श्रीपेचको दुनियाँ
यो महल, यो सत्ता, यो श्रीपेचको दुनियाँ
यो मानिसको दुश्मन, ढोंगी समाजको दुनियाँ
यो पैसाको भोको, खोक्रो रवाफको दुनियाँ
के नै हुन्छ मिल्यो भने पनि यो स्वार्थी दुनियाँ ?
कवि शाहिर लुधियानवीले माथिको चतुष्पदीबाट सुरु हुने कालजयी कविता उनकी आमाले निर्दयी परिवार र ढोंगी समाजबाट भोग्नुपरेको दुःखको मसीमा चोपल्दै सृजना गरेका थिए ।
आफ्नै परिवार, कुटुम्ब, समाज र दुनियाँप्रति किन दिक्क एवं उदास हुँदै जान्छ मानिस ? के मानिस समाजले दिन सक्नेभन्दा बढी स्नेह र सामीप्यको आशा राख्छ, जुन प्राप्त नभएपछि उसमा बेचैनी र वैराग्य भरिँदै जान्छ ? वा हामी बस्ने समाज नै दोषपूर्ण छ, जसले सामान्यभन्दा पनि सामान्य आकांक्षा भएका मानिसलाई सरल एवं अर्थपूर्ण जीवन बाँच्न पनि अप्ठेरो पारिदिन्छ ?
शाहिरको परिवारका सन्दर्भमा उनका पिताले उनकी आमालाई बेवास्ता गरी अर्कै महिलासँग दोस्रो बिहे गरेपछि परिवार र समाज जसरी उनकी आमामाथि भएको अन्यायप्रति उदासीन रह्यो त्यसरी नै उनको कवि हृदयमा स्नेहरहित खोक्रो समाजप्रति वैराग्य र उदासीनता बढ्दै गएको हुनुपर्छ ।
तर प्रसिद्ध अमेरिकी लेखक जे.डी. शालिन्जरको हकमा यो तथ्य पटक्कै लागू हुँदैन । ‘क्याचर इन द रे’का ती विश्वविख्यात लेखकलाई त समाजले सुरुदेखि नै प्रेमपूर्वक आँखाको नानीमा राख्यो र सधैँ हृदयमा पूजिरह्यो । जसरी फोटो पत्रकारहरूले अविरल रूपमा बेलायतकी दिवंगत राजकुमारी डायनालाई पछ्याइरहन्थे । त्यसरी नै न्युयोर्कका सिर्जनशील पत्रकारहरूले शालिन्जरलाई अनवरत तर असफल रूपमा पछ्याइरहे । अचम्म त के भने उनले त्यति माया गर्ने समाजलाई चटक्कै त्यागेर न्युयोर्कभन्दा अलिक परको न्यु ह्याम्पशायर राज्यस्थित कोर्निश नामक सानो पहाडको ढाडमा एक्लै बसेर बाँकी जिन्दगी समाजविनै बिताइदिए । फोटो एवं सिर्जनशील पत्रकारहरूले उनको एक दृश्य खिच्न वा एक वचन सुन्न दिन, हप्ता र महिना मात्र होइन, वर्षौं कोर्निशमा बिताए तर केही पाएनन् ।
धेरैजसो अवस्थामा समाजले विभिन्न व्यक्तिहरूलाई देखाउने द्वेषयुक्त एवं दुष्टतापूर्ण व्यवहारले मानिस विक्षिप्त भई वैराग्यमा प्रवेश गर्छ जसरी शाहिरले सानै उमेरमा वैराग्य झेल्नुपर्यो । समाजको त्यही (अव)गुणको कारण नै शाहिर त्यो व्यक्तित्व बने जुन समाजको त्यो निर्दयी व्यवहारविना सायद सम्भव थिएन । लेखेर राख्नुहोला, समाज यदि क्रुर वा निर्दयी भएन भने मान्छेको मस्तिष्क लुलो हुन्छ । हामी वरिपरिको समाज एक त्यस्तो काँडाघारी हो जसले सर्जकहरूलाई फुल्न दिने मात्र होइन, उनीहरूलाई सुरक्षा पनि दिन्छ । यसमै त छ काँडाको अतुलनीय एवं अनुपम सुन्दरता !
मान्छेले आइसक्रिम खाएको अनुभूतिबारे त्यति दमदार कथा वा कविता वा निबन्ध लेख्न सक्दैन जति आइसक्रिम खान नपाएको अनुभूतिबारे लेख्न सक्छ ।
शालिन्जर सायद समाज आफूप्रति क्रुर होस् भन्ने चाहन्थे । समाज आफूप्रति स्नेही हुनाले उनले आफू स्वयंलाई एक्ल्याएर सजाय दिन चाहे र त्यसको पीडा एवं वैराग्यबाट साहित्य सृजना गर्ने कोसिस गरे । आगोमा खारेर सुनको शुद्धताको परख गरे जस्तै कुनै पनि असली साहित्यको सृजना पनि मनमा हुने वैराग्यबाट हुन्छ । शालिन्जरले ‘क्याचर इन द रे’ दोस्रो विश्वयुद्धमा आफूले देखेको नरसंहार र भोगेको दुःखबाट खारिएर सृजना गरेका थिए । ग्लास परिवारको कथाबाहेक उनले जीवनको कालान्तरमा सिर्जेका आफ्ना रचना दुनियाँलाई पढ्ने लायक सम्झेनन् र नै प्रकाशन गरेनन् भनिन्छ । समाजशास्त्री एवं समालोचकहरूका अनुसार मानिसको व्यक्तित्व विकासका लागि समाज एक ‘आवश्यक शत्रु’ हो, जसको अनुपस्थितिमा मानिस सृजनशील बन्न सक्दैन ।
अठारौँ शताब्दीमा कलरिजसँग मिलेर विश्व साहित्यमा रोमान्टिसिज्म भित्र्याउने प्रसिद्ध कवि विलियम वर्डस्वर्थ बेलायतको राजकविका रूपमा सात वर्षसम्म रहँदा एउटा सानो कविता पनि सिर्जना गर्न सकेनन् । सुखले सायद मस्तिष्कको सिर्जनशीलतालाई पक्षघातको करिब पुर्याउँदो होला । बंगालको घरानियाँ परिवारमा जन्मेको भए तापनि नोबेल पुरस्कार विजेता कवि रवीन्द्रनाथ टैगोरले आफू सानै हुँदा आमा गुमाएर एक्लो महसुस नगरेको भए सायद हामीले उनका कालजयी कृति आज पढ्न पाउँदैनथ्यौँ । आरामदायी फलैँचामा बसेर विश्वले पढ्ने साहित्य कमै सिर्जना भएका छन् ।
म नाम कमाएको सर्जक होइन तर कहिलेकाहीँ लेख्न बस्दा समाजले मलाई दिएको पीडा कोट्टिएन भने वा म मनभित्रै बाट दुखिन भने वा मैले दुःखको आहालमा फसेको अनुभूतिमा आफूलाई अडाउन सकिनँ भने वा मनमा वैराग्य भरिएन भने वा मैले अरुको दुःख अनुभूत गर्न सकिनँ भने मेरो कलमको नीबले सेता कागजमा आफू हिँडेको अमीट छाप छोड्न नसकेको अनुभव गर्छु ।
मान्छेले आइसक्रिम खाएको अनुभूतिबारे त्यति दमदार कथा वा कविता वा निबन्ध लेख्न सक्दैन जति आइसक्रिम खान नपाएको अनुभूतिबारे लेख्न सक्छ । जाबो एक कोन आइस्क्रिमको मजा लिन पाएन भने उसले आफ्नो कमजोरी, समाजको कमजोरी, राज्यको कमजोरी, अर्थ व्यवस्था, मानव अधिकार, खाद्य गुणस्तर, भ्रष्टाचार सबैलाई दोषी देखी सबै कुरा समेटेर एक गज्जबको साहित्य सिर्जना गर्न सक्छ ।
नपत्याए हेर्नुहोस् सबै प्रेमसम्बन्धी पुस्तक, आफूले मन पराएर सँगै जीवन बिताएका जोडीबारे भन्दा मन पराएको मानिससँग समय वा जीवन बिताउन नपाएको मानिसको पीडामा लगभग सबै प्रेम ग्रन्थ अडिएका छन् । विलियम सेक्सपियरदेखि सीएम ह्यारिसदेखि अमान्डासम्मको शिल्पबारे बुझ्नुहोस्, उनीहरू सबै आफ्ना कमजोरी र सामाजिक विसंगतिहरूको आडविना साहित्यको क्षेत्रमा एक पाइलो अगाडि बढ्न सकेको इतिहास पढ्न पाउनु हुनेछैन ।
हाम्रा आफ्नै नेपाली नाट्यसम्राट् बालकृष्ण समलाई सम्झौँ न । सायद उनले ‘दुःखीको घरमा मात्र तेरो बास हुने भए, हे ईश्वर, दया राखी मलाई अझ दुख दे ।’ भनी पाठकहरूबाट सहानुभूति लिन मात्र लेखेका त थिएनन् होला । समाजले दुःख दिएन भने अमेरिकी लेखक जे.डी. शालिन्जरदेखि तत्कालीन समाजका कुलीन एवं शासक वर्गका बालकृष्ण समसम्म सृजनाका लागि कति व्यग्र हुँदा रहेछन् भन्ने स्पष्ट हुन्छ ।
जसरी करोडौँ कोस टाढाका तारा देख्न रात नै चाहिन्छ वा भनौँ मूर्तिकारले आफ्नो सिर्जना राम्रो पार्न पटक पटक पाँच–सात कदम पछाडि हटेर गम खानैपर्छ त्यसै गरी सृजनशीलताका लागि मानिस क्रुर समाज नामको दुःखको गहिरो नदीमा खसेर डुबुल्की मार्दै तर्न सिक्नैपर्छ । गहिराइमा गोता खाएर नै शाहिर वा कालीप्रसादले कालजयी गीत हामीसामु ल्याउन सके । अन्यथा हामी सदाबहार टल्किरहने दुःखका मोतीमा आफ्ना आँसुका मोती झार्दै कसरी साझा महसुस गरी गुन्गुनाउन पाउथ्यौँ ? दोहोर्याएर सुन्न मन लाग्ने गीत कसरी सुन्न पाउँथ्यौँ ? उनीहरूका सिर्जनासँग आफ्ना दर्दलाई कसरी भिजाएर निचर्न पाउँथ्यौँ ?
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया