विचार

तानाशाह जब डराउँछ...

खगेन्‍द्र संग्रौला |
फागुन ७, २०७७ शुक्रबार २०:२२ बजे

आन्दोलनमा आएका एकजना भाइले भन्‍नुभयो ‘आज नागरिकहरूको उपस्थिती यति पातलो किन ?’ मैले भने, ‘नागरिक आन्दोलनको शक्ति नागरिकहरूको टाउको गनेर नापिँदैन । नागरिक आन्दोलनको शक्ति प्रहरी भाइबहिनीहरूको टाउको गनेर नापिन्छ ।’ 

आज यो सभामा जति नागरिकहरूको सहभागिता छ, त्योभन्दा बढी प्रहरी भाइबहिनीहरूको सहभागिता छ । तसर्थ, तानाशाह जब डराउँछ, नागरिकहरू समक्ष आफूसँग भएको सबै शक्ति पठाउँछ । प्रहरी पठाउँछ । सेना पठाउँछ । ट्याङ्क पठाउँछ । तोप पठाउँछ । 


नागरिक आन्दोलनमा नागरिकको आवाज सुन्‍न उपस्थित हुनुभएका सुरक्षाकर्मी भाइ बहिनीहरूलाई मेरो सलाम । यो काठमाडौँ सहर हो । यो सहर मुलुकको राजधानी हो । राजधानी सहरका केही विशेषता हुन्छन् । खास अर्थमा त्यसका केही गुणहरू हुन्छन् । प्रत्येक सभ्य सहरमा एउटा पेटी हुन्छ । जहाँ नागरिकहरू एक अर्कालाई नछोइकन हिँड्न सक्छन् । 

प्रत्येक सभ्य सहरमा साइकल चलाउने लेन हुन्छ । जहाँ मानिसहरू साइकल चलाउन सक्छन् । प्रत्यक सभ्य सहरमा सडकको दाँया बाँया रुखहरू हुन्छन् । रुखले सहरलाई सोभा दिन्छ, नागरिकको स्वास्थ्य बढाउँछ । प्रत्येक सभ्य सहरमा पुष्पबाटिका हुन्छ । पार्क हुन्छ । जहाँ मानिसहरू आराम गर्छन् । मनोरञ्‍जन गर्छन् । प्रत्येक सभ्य सहरमा व्यवस्थित किसिमको पुस्तकालय हुन्छ, नाट्य गृह हुन्छ । तर, काठमाडौँ सहरमा यी कुनैपनि कुरा छैनन् । यहाँ जे-जे हुनुपर्ने त्यो छैन । जे-जे हुनु नपर्ने त्यो छ । 

हुनु नपर्ने एउटा के हो भने राजधानी सहरको बाक्लो बस्तीको बीचमा जङ्गे अड्डा छ । कुनैपनि सभ्य सहरको बाक्लो बस्तीको बीचमा जङ्गे अड्डा हुँदैन । जङ्गे अड्डामा बारुदको थुप्रो हुन्छ । जिलेटिन हुन्छ । बम हुन्छ । तोप हुन्छ । मेसिनगन हुन्छ । जसले विनाश गर्छ । संसारैभरी तनाशाहहरू जनतासँग डराउँछन् । तानाशाह जब जनतासँग डराउँछन् तिनले आफ्नो दरबारको बलेसीमुनि सेनाहरूको जमात लगाउँछन् । जङ्गे अड्डा बनाउँछन् । नेपालको सेना शाह राजाहरूले आफ्नो नोकरको रुपमा पालीपोसी हुर्काएको सेना हो । अहिले त्यो सेनाको नाम ‘नेपाली सेना’ भएको छ ।  

सैनिक जवानहरू बिहान बिहानै ‘आइ लभ यू’ भन्दै सहरमा कुद्दैनन्

सेना बस्तीभन्दा धेरै टाढा बस्छ । सेना सामान्यतया नागरिकले देख्नेगरी काहिँ पनि आउँदैनन् । सिवाय दुई अवस्था-एक, ठूलो प्राकृतिक विपत्ती आउँदा राहात र सुविधाको निम्ति । दुई, गृहयुद्ध वा सिमाना युद्ध भयो भने । अन्यथा, सैनिक जवानहरू बिहान बिहानै ‘आइ लभ यू’ भन्दै सहरमा कुद्दैनन् । 

सेना प्रतिकात्मक रुपमा देशको लागि आवश्यक छ । तर, सेनालाई जहाँ राखिएको छ त्यो सेनाको ठाउँ होइन । टुँडिखेलबाट जङ्गे अड्डा पन्छिनुपर्छ । पन्छिएन भने जङ्गे अड्डालाई टुँडिखेल बाट लखेटिनेछ । यो सेना नेपालका शासकहरूको बर्बरताको प्रतिक हो । यो सेना सहरको असभ्यताको प्रतिक हो । 

यही बेला टुँडिखेलभरि कुकुरहरू स्वच्छन्द रुपले विसर्जन गरिरहेका छन् । हामी नागरिकहरूलाई यो राज्यले कुकुरको जति पनि इज्जत दिएन । 

यो सेनाले नागरिकहरूले खेल्ने, डुल्ने टुँडिखेल कब्जा गरेको छ । टुँडिखेल नागरिकको हो । नेपालीको हो । तर, हामीलाई टुँडिखेल पस्‍न दिइएन । यही बेला टुँडिखेलभरि कुकुरहरू स्वच्छन्द रुपले विसर्जन गरिरहेका छन् । हामी नागरिकहरूलाई यो राज्यले कुकुरको जति पनि इज्जत दिएन । टुँडिखेलमा पस्‍न दिएन ।

हाम्रो डरले बालुवाटारको आदेशमा टुँडिखेलका सबै ढोकाहरू बन्द भएका छन् । तर, यो विश्वमा एउटा मात्र नागरिक रहदासम्म पनि नागरिक आन्दोलन रहिरहन्छ । आज हामीले टुँडिखेल नागिरकको हो भनेर उद्घोष गरेका छौँ । टुँडिखेल नागरिकको हुनेछ ।

आज टुँडिखेलको ढोका हाम्रो लागि खोलिएन । टुँडिखेलको ढोका सधैँ बन्द भयो भने टुँडिखेलको ढोका फोरिनेछ । त्यो नागरिकहरूले फोर्नु पर्दैन । यो सहरमा बसेका सभ्य नागरिकहरूले टुँडिखेललाई पार्क, पुष्प बाटिका, वृद्धवृद्धा र केटाकेटीले आराम र मनोरञ्जन गर्ने ठाउँ बनाउनका निम्ति टुँडिखेल कब्जा गर्नेछन् । प्रहरी भाइबहिनीहरूलाई धन्यवाद तपाईँहरूको टाउकोको संख्याले हाम्रो शक्ति देखिएको छ । तानाशाह जब डराउँछ, आफूसँग भएको सबै सैनिक सडकमा निकाल्छ । तिनै कुरासँग बुमर्‍याङ भएर तानाशाह धुलिसात हुन्छ । हाम्रो तानाशाहको पनि नियती त्यही हुनेछ ।  

(बृृहत नागरिक आन्दोलनले शुक्रबार गरेको टुँडिखेल मार्चमा , लेखक संग्रौलाको मन्तव्य) 


Author

थप समाचार
x