विचार

सामाजिक–सांस्कृतिक सवाल राजनीतीकरण गरौँ

दिपेश घिमिरे | कृष्ण सादगी |
फागुन १८, २०७७ मंगलबार ६:१० बजे

नेपाली राजनीति अत्यन्तै तरल छ । यो तरलताले राजनीति मात्र बिग्रिएको छैन, देशको सामाजिक, आर्थिक, सांस्कृतिक लगायतका हरेक तह र तप्कामा प्रत्यक्ष रूपमा असर पारेको छ ।

अनि यी सबैको समग्र असर चाहिँ देशमाथि परेको छ । जसको प्रत्यक्ष असर चाहिँ हाम्रो सामाजिक तथा सांस्कृतिक सवालमा परेको देखिन्छ । राजनीति जहिल्यै सत्ता र शक्तिको बार्गेनिङमा अल्झिरहँदा सामाजिक, आर्थिक तथा सांस्कृतिक क्षेत्रमा रहेका समस्या जहाँका त्यहीँ छन् । यस्ता क्षेत्रमा रहेका विकृति, विसंगति तथा समस्याहरू राजनीतिको केन्द्रीय विषयवस्तु कहिल्यै बन्न सकेका छैनन् । बरु सत्ता र शक्तिका लागि बार्गेनिङ गर्ने सवाल बनेका छन् ।


एक जना सानी नानी बलात्कृत हुन्छिन्, हाम्रो राजनीति मौन रहन्छ । बलात्कारपछि हत्या हुन्छ, राजनीति चुपचाप रहन्छ । दाइजोका कारण नारीमाथि हिंसा हुन्छ, कुटपिट हुन्छ, हत्या हुन्छ । राजनीतिले कहिल्यै यो आफ्नो क्षेत्र हो भन्दैन ।

यस्ता कुरालाई राजनीतिक दल, त्यसका नेता तथा कार्यकर्ताका लागि समाधान गर्ने विषयवस्तु बन्दैन । रोजगारीका लागि विदेश गएका युवा बाकसमा फर्किंदा राज्यलाई दुख्दैन । राजनीतिक दल र त्यसका नेता–कार्यकर्तालाई यो आफ्नो विषय हो भन्ने कहिल्यै लाग्दैन । बरु यस्ता समस्या गैरसरकारी संस्था तथा विकासका साझेदारले काम गर्ने क्षेत्र हो भन्दै पन्छिएको जस्तो देखिन्छ ।

परिणामतः यस्ता समस्या एकपछि अर्को गर्दै दिनदिनै बढ्दै गइरहेको छ । सामाजिक, सांस्कृतिक तथा आर्थिक समस्याले गर्दा देशको समग्र अनुहारमै कालो पोतिँदा पनि राजनीतिको केन्द्रविन्दुमा यस्ता सवाल आउन सकेको देखिन्न ।

यसै सन्दर्भमा भर्खरै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक विषयवस्तुलाई केन्द्रमा राखेर एक कार्यक्रम सुरु गरेका छन्, ‘ऐना’ । अहिलेसम्म प्रसारित भएका कार्यक्रमहरूलाई मिहिन रूपमा विश्लेषण गर्ने हो भने यसलाई अत्यन्तै सकारात्मक रूपमा हेर्न सकिन्छ । एउटा राजनीतिज्ञले उठाएका सामाजिक विषयवस्तुहरूका सम्बन्धमा गरेको कामलाई नेपालको राजनीतिको नयाँ घुम्तीका रूपमा हेर्न सकिन्छ । यसका केही कारण छन् जसलाई विस्तारमा वर्णन गरिनेछ ।

सामाजिक सञ्जालमा कतिपयले विश्वप्रकाश शर्माले सुरु गरेको ‘ऐना’ले उठाएका सवालमा भन्दा पनि उनले यस्ता कार्यक्रम गर्नुहुन्थ्यो या हुन्नथ्यो भनेर बहस गरिरहेका देख्न सकिन्छ । राष्ट्रिय राजनीतिमा गम्भीर संकट आइरहँदा विश्वप्रकाश टेलिभिजनमा बूढाबूढीका पीडा ओकल्न लगाएर बस्ने हो ? भन्ने जस्ता प्रतिक्रिया देख्न सकिन्छ । आफैँ सुधार गर्ने जिम्मेवार निकायको प्रतिनिधि भएर यो भएन या त्यो भएन भन्दै गुनासो गर्ने हो ? भन्ने प्रतिक्रिया धेरै देखिन्छन् ।

निश्चय नै नेपालको राजनीति यतिबेला विषम परिस्थितिबाट गुज्रिरहेको छ । संविधानकै निरन्तरतामा गम्भीर प्रश्न उठेका छन् । भलै सर्वोच्च अदालतको फैसलाले तरलतालाई एक तहको दिशानिर्देश गरेको छ । तथापि पछिल्ला दुई महिनामा भएको राजनीतिक उथलपुथलको पराकम्पन अझै लामो समय गइरहने निश्चित छ ।

यसलाई सही मार्गमा लैजानका लागि देशमा विश्वप्रकाश जत्तिको राजनीतिज्ञको भूमिका स्वतः बढी हुन्छ । यसमा धेरै बहस आवश्यक नै देखिँदैन । तथापि विश्वप्रकाश शर्मा जत्तिको राजनीतिक नेतृत्वबाट सामाजिक सवालमा बनाइएका प्रभावकारी कार्यक्रमकै सन्दर्भमा केन्द्रित भएर ठीक या बेठीक भन्नेबारे आवश्यक बहस गर्नु जरुरी छ । यो ठीक या बेठीक भन्ने कुरा गर्दै गर्दा तीनवटा पक्षलाई महत्वसाथ हेर्नु जरुरी छ ।

पहिलो, समय । गत माघ ७ गतेबाट कान्तिपुर टेलिभिजनबाट प्रसारण भइरहेको ‘ऐना’ करिब एक वर्ष अगाडिदेखि तयारी सुरु भएको थियो । अर्थात् यो पुस ५ गते केपी ओलीले संसद् विघटन गरेसँगै विश्वप्रकाशले टेलिभिजन कार्यक्रमको तयारी गरेका होइनन् । यस कार्यक्रमबारे शर्माले लामो समयदेखि तयारी गरिरहेका थिए । कार्यक्रमको प्रस्तुतकर्ताका रूपमा विश्वप्रकाशले महिनौँ अगाडि अनुबन्धित भइसकेका थिए ।

यसको तयारीका लागि देशका विभिन्न स्थानमा पुग्ने र कार्यक्रमको सुटिङ गर्ने काम भइसकेको थियो । विश्वप्रकाशले ‘ऐना’को तयारी गरिरहँदा प्रायः सबैको बुझाइ नेपाल राजनीतिक रूपमा एउटा ट्रयाकमा आइसक्यो, अब आर्थिक विकास र समृद्धिको काम बाँकी हो भन्ने बुझाइमा थिए ।

पानी जहाजदेखि मनोरेलसम्म फास्ट ट्रयाकदेखि केवलकारसम्मका बहस चलिरहँदा समाजमा कहीँ कतै छुटेका र राजनीतिको मूलधारमा पर्न नसकेका, विपन्न, गरिब, वृद्धवृद्धा, परदेशिएका व्यक्तिहरू, बालबालिकाहरूका सवाललाई राजनीतिको मूलधारमा ल्याएर आम नागरिकबीच मात्र नभई राजनीतिक दलभित्रै पनि बहस र छलफलको केन्द्रीय विषयवस्तु बनाउन अग्रसर भएका थिए ।

यसबीचमा राजनीति सोचे जस्तो बाटोमा अगाडि बढेन । करिब दुई तिहाइको बहुमतलाई व्यवस्थित रूपमा ह्यान्डिल गर्ने नेतृत्व भएन । सरकारको नेतृत्व गरिरहेको दल र त्यसका नेताहरू बहुमतलाई सही रूपमा नेतृत्व दिन नसकेर देशलाई नै भड्खालोमा हाल्न अग्रसर भए । यसर्थ यो कार्यक्रमबारे टिप्पणी गरिरहँदा यस बीचको करिब एक–डेढ वर्षको अवधिलाई पनि भुल्नु हँुदैन ।

दोस्रो कुन विषय राजनीतिक र कुन विषय अराजनीतिक ? यसमा प्रस्ट हुन जरुरी छ । राजनीति केका लागि ? गरिब विपन्न, मूलधारबाट बाहिर पारिएका व्यक्तिहरूको उन्नति प्रगतिका लागि न हो । समाजमा पछाडि पारिएकाहरूको मुद्दालाई संगठित रूपमा राजनीतिले मात्र अगाडि ल्याउन सक्छ । वास्तवमा भोकमरीको अन्त्य, बालविवाहको अन्त्य, वृद्धवृद्धाका दुःखमा मलमपट्टी, बोक्सी प्रथा उन्मूलन, दाइजोको अन्त्य जस्ता सवाल गैरसरकारी संस्थाका मात्र मुद्दा होइनन् । यी सवाल हाम्रो देशकै आम सवाल हुन् । केन्द्रीय विषय हुन् । यस्ता सवाललाई निराकरण गर्न राजनीतिक दलको भूमिका अत्यन्तै धेरै हुन्छ ।

वास्तवमा विश्वप्रकाशले मूलधारको राजनीतिले जहिल्यै अविषय ठानिरहेका गम्भीर सामाजिक विषयलाई विवेकपूर्ण ढंगबाट राजनीतीकरण गरिरहेका छन् । देशको ठूलो समस्या भनेका यस्ता गम्भीर विषयलाई राजनीतीकरण नगरिनु हो ।

पछिल्लो समय विश्वमा धेरै नेताहरू यस्तै सामाजिक सवालहरूको जगमा उठेर आएका छन् । युक्रेनमा केही समय अगाडि यस्तै सामाजिक सवालमा तिखो व्यंग्य गर्ने एकजना कमेडियनले राष्ट्रपतिमा निर्वाचित भए । नजिककै भारतमा यस्तै सामाजिक विषयवस्तुलाई संस्थागत रूपमा उठान गर्ने अरविन्द केजरीवाल नयाँ दिल्लीको मुख्यमन्त्री बनेका छन् ।

अर्थात् पछिल्लो समय यस्ता विषयमा राजनीति गर्ने राजनीतिज्ञहरूको संख्या बढ्दै गइरहेको छ त्यस्ता व्यक्तिले चुनावमा यस्तै सामाजिक मुद्दा लिएर उठ्ने र जित्ने गरेका घटनाक्रमको संख्या बढ्दो छ । यसबाट के बुझ्न सकिन्छ भने राजनीतिले जे आफ्नो विषय नै होइन भन्दै आइरहेको छ खास राजनीति गर्ने विषयवस्तु तिनै हुन् । जुन हाम्रो गलत राजनीतिक स्कुलिङका कारण कहिल्यै विषय बन्न सकेनन् ।

यतिबेला विश्वप्रकाशले विगतमा राजनीतिक दल तथा तिनका नेताले गरेको गल्तीको कोर्स करेक्सन गरेका हुन् । वास्तवमा विश्वप्रकाशले मूलधारको राजनीतिले जहिल्यै अविषय ठानिरहेका गम्भीर सामाजिक विषयलाई विवेकपूर्ण ढंगबाट राजनीतीकरण गरिरहेका छन् । देशको ठूलो समस्या भनेका यस्ता गम्भीर विषयलाई राजनीतीकरण नगरिनु हो । यसलाई राम्रोसँग बुझेका विश्वप्रकाशको प्रयासमा अबको केही समयमा यस्ता सामाजिक सवालको राजनीतीकरण हुनेछ ।

अब बिस्तारै यस्ता अविषय राजनीतिक दलका मुद्दा बन्नेछन् । अनि आउनेछ सामाजिक र सांस्कृतिक परिवर्तन । अनि बिस्तारै रोकिनेछ मरिणीदेवीहरूलाई बोक्सीको आरोपमा मलमूत्र ख्वाउन । अनि रोकिने छ, बालविवाहको नाममा बालिकामाथि जघन्य अपराध हुन् । अनि रोकिनेछ, दाइजोका नाममा हाम्रा दिदीबहिनीहरू मृत्युवरण गर्न । माने पनि, नमाने पनि या अहिल्यै स्वीकारे पनि नस्वीकारे पनि यसको नेतृत्व विश्वप्रकाश शर्माले लिएका छन् ।

तेस्रो राजनीतिक दलका नेताको गुजाराको सवाल । यतिबेला सम्पूर्ण राजनीतिक दलका अधिकांश नेताहरूको पेसा नै राजनीति छ । राजनीतिलाई नै जीविकोपार्जनको पेसा बनाएका नेताहरूले त्यही राजनीतिकै बुई चढेर काठमाडौँ तथा अन्य सहरी क्षेत्रमा घर घडेरी जोडेका छन् । गाडी बंगाला छ ।

ऐस–आरामको जीवन बाँचिरहेका छन् । राजनीतिमा लागेपछि जायज या नाजायज तवरबाट स्रोत संकलन गर्ने र त्यसरी संकलन गरिएको पैसा आफ्नो निजी स्वार्थमा प्रयोग गर्ने नेताहरूको संख्या बढ्दै जाँदा राजनीति बदनाम हुँदै गएको छ ।

यसबाट राजनीतिक दलका नेताहरू एकातर्फ भ्रष्ट हँुदै गएका छन् भने अर्कोतर्फ ठेकेदार, दलालहरूले चन्दा दिएर नेतालाई आफ्नो कब्जामा पार्दै लगेका छन् । अनि देशमा भएका अनेकौँ अध्ययनले राजनीतिक क्षेत्र सबैभन्दा धेरै भ्रष्ट भएको देखाएका छन् ।

यो दुष्चक्रबाट राजनीतिलाई बाहिर ल्याउने भनेको भविष्यको आशालाग्दा नेताहरूले राजनीतिलाई पेसा नबनाएर हो । आफ्नो गुजाराका लागि निश्चित समय गुजारा गर्ने पेसा तथा व्यवसायलाई समय दिने हो भने यस्ता समस्याबाट राजनीतिलाई मुक्त गर्न सकिन्छ । विश्वप्रकाशले अविषयलाई राजनीतिको केन्द्र भागमा ल्याउँदै मात्रै छैनन्, यससँगै आफ्नो परिवार तथा बालबच्चाको रोजिरोटीका लागि समेत केही आम्दानी गर्दैछन् ।

आफ्नो मेहनत, परिश्रमको जगमा उनले गरेको आम्दानीले उनलाई भोलिका दिनमा गुजाराकै लागि भ्रष्टाचार गर्नुपर्ने या ठेकेदार या दलालको अगाडि भिख माग्दै उनीहरूको नाजायज माग पूरा गर्नुपर्ने बाध्यताबाट मुक्ति मिल्नेछ ।

के नेपालमा कुनै राजनीतिक दलका नेताले जीविकोपार्जनका लागि आफ्नो योग्यता तथा विशेषज्ञतालाई परिचालन गरी कमाई गर्नु नाजायज हो ? भ्रष्टाचार र दलाली मात्र उपयुक्त हो ? के कुनै नेताले म निष्ठापूर्वक इमानदारीसाथ मेहनतको कमाइले परिवार पाल्दै राजनीति गर्छु भन्दा त्यो गलत हुन्छ ? आम नेपालीले यसको जवाफ दिनैपर्छ ।

अतः यतिबेला नेपालको राजनीतिले कोर्स करेक्सनको बाटो खोजिरहेको छ । देशमा हरेक क्षेत्रमा रहरलाग्दो गरी युवा हस्तक्षेप भइरहेको छ । कर्मचारीतन्त्र, पेसा व्यवसाय, पत्रकारिता, पर्यटन, शिक्षा, स्वास्थ्य, गीतसंगीत तथा मनोरञ्जन लगायतका हरेक क्षेत्रमा युवाको रचनात्मक र प्रभावकारी हस्तक्षेप देख्न सकिन्छ ।

युवाको हस्तक्षेपसँगै यी क्षेत्रहरूले काँचुली फेर्दै गएका छन् । तर राजनीति अहिले पनि ७० को वरिपरि घुमिरहेको छ । यो उमेरको सवाल होइन, सिर्जनशीलताको सवाल हो । नेपालका सम्पूर्ण राजनीतिक दलका शीर्ष नेता पटक–पटक देश निर्माणको परीक्षामा फेल भइसकेका छन् । र पनि उनीहरूकै वरिपरि राजनीति घुमिरहेको छ । यसै कारणले विश्व २१ आँै शताब्दीमा पुगिसक्दा पनि हामी १९ औँ शताब्दीको जीवनचर्या बिताउन विवश छौँ ।

राजनीतिमा युवा पुस्तालाई स्थापित गर्ने कुरा समकालीन समयमा सबैभन्दा महत्वपूर्ण सवाल हो । यो उमेरको मात्र होइन, सोचको युवा र कार्यशैलीको युवाको पनि कुरा हो । विश्वप्रकाशले यतिबेला सामाजिक तथा सांस्कृतिक सवाललाई बडो संयमतासाथ राजनीतीकरण गरिरहेका छन् । यो देशको सांस्कृतिक रूपान्तरणको लागि महत्वपूर्ण कार्य हो । आगामी दिनको लागि विश्वप्रकाशलाई शुभकामना ।


Author

थप समाचार
x