विचार

प्राकृतिक कमल-फूलको ठाउँमा कृत्रिम फूल ? यो कृत्रिम र कीर्ते विकास

नरेश ताम्राकार |
फागुन १९, २०७७ बुधबार १७:१८ बजे

यो लोकतन्त्र हो कि, गणतन्त्र हो कि या जंगबहादुरको प्रेततन्त्र हो ? 
ठूला चिल्ला सडकहरू विकास हो, बहुतले घर विकास हो भने तपाईंले विकासको परिभाषा बदल्नुहोस् । विकास हेर्ने आँखा बदल्नुहोस् । विकास भनेको संस्कृतिको विकास हो । मानवताको विकास हो । मौलिकताको विकास हो । यहाँको मौलिकता, मानव बस्तीलाई उजाडेर विकास गर्छु भन्नु प्रतिगमन हो । हामी यसको प्रतिरोध गर्छौ । 

राज्यसँग शक्ति छ होला, प्रहरीको लाठी छ होला, बन्दुक छ होला, तर जनतासँग निडर आवाज छ । र यो बन्दुक र लाठी भन्दा बलियो छ । कुनै पनि तानाशाहले यसलाई दबाउन सक्दैन । जनताको आवाज सबैभन्दा ठूलो कुरा हो । र जनता सडकमा आएर आवाज उठाउँदा सुन्नुहोस् । तपाईंहरू बालुवाटारमा बसेर भ्वाइलिन बजाएर नबस्नुस्, जनताले सडकमा के भनिरहेको छ सुन्नुहोस् । 


यो मुलुकमा लोकतन्त्र छ, गणतन्त्र छ, तर आफ्नो मातृभाषाले बोलेको कारण कस्टडीमा परेको छ । यो भन्दा तुच्छ काम कुन हुन सक्छ ? यो जस्तो घृणीत काम अरु कुन हुन सक्छ ? हामी यसको भत्र्सना गर्छौ, खेद प्रकट गर्छौ । मातृभाषा बोलेकै कारण प्रहरीको कस्टडीमा छन् । ती मित्रलाई बिनासर्त रिहा गर्नुपर्छ । 

यहाँ शासकहरू फेरिए, तर शासन गर्ने शैली फेरिएको छैन । हिजो राणाहरूले जनतालाई दमन गर्ने शासनशैली छ, त्यो शासनशैली फेरिएको छैन । यो लोकतन्त्र हो कि, गणतन्त्र हो कि या जंगबहादुरको प्रेततन्त्र हो ? कतै यो प्रेततन्त्र बिउँझिएर आएको हो भने, पञ्चायतको भूत उठेर आएको हो भने त्यसलाई खेदाउन पनि हामी जनता सक्षम छौँ । 

हिजो प्रतिनिधि सभामाथि भएको प्रतिगमन सर्वाेच्च अदालतले सच्याइदियो । तर आदिवासी जनतामाथि भइरहेको प्रतिगमन सच्चिएको छैन । पूर्ण नसच्चिएसम्म हामी चुप लागेर बस्दैनौँ । एउटा नागरिकले यहाँ लोकतन्त्र छ कि छैन भन्ने प्रश्नचिन्ह उठाउने स्थिति रहन्छ, तबसम्म हामी नागरिकहरू सडकमा आइरहनेछौँ । हामी सडकमा आयौँ भनेर तपाईंहरू नडराउनुहोस् । हामी सहयोगी हो । तपाईंले गरेको कालो कर्तुत देखाउन आउछौँ । 

यो मुलुकमा लोकतन्त्र छ, गणतन्त्र छ, तर आफ्नो मातृभाषाले बोलेको कारण कस्टडीमा परेको छ । 

काठमाडौं महानगरपालिकाले कमलपोखरीमा भएको अतिक्रमण हटायो । तर त्यहाँ कमलको फूल फुलाउनुपर्ने ठाउँमा सिमेन्टले ढलान गर्नुभयो । सिमेन्टको कमलको फूल चाहिएको होइन । प्राकृतिक रूपमा नै कमलपोखरी निर्माण गरिनुपर्छ । 

नेवारको संस्कृति नेपालको मौलिक संस्कृति हो । यो मुलकमा नेवार छ त, नेपाल छ, नेपाल छ त नेवार छ । नेवारले गरिआएको संस्कृतिले गर्दा विश्वमा नेपाल चिनिएको छ । आठवटा विश्व सम्पदामध्ये सातवटा नेवारको पुर्खाले बनाएर गएका हुन् । त्यस्तो खालको नेवारको धरोहरलाई विकासको नाममा विनाश गर्दै हुनुहुन्छ । तपार्इंले प्रतिगमनको बाटो रोजिरहनुभएको छ । 
यो प्रतिगमन अविलम्ब सच्चियोस् । यहाँको सम्पत्ति, संस्कृतिलाई मौलिक रुपमा जोगाउन सहकार्य गर्न नेपाल सरकारलाई आह्वान गर्छौ । हिजो जसरी सानो त्रुटिको कारण गुठी विधेयक फिर्ता लिनुपर्‍यो । गुठी भनेको स्वायत्त र स्वशासन हुनुपर्छ । गुठी अधिकार सम्पन्न हुनुपर्छ । हामी भनिरहन्छौं, तर सरकारले नयाँ गुठी विधेयक बनाउने विषयमा सरोकारवालासँग सोधखोज गरिरहेको छैन । अझ पनि दम्भ छ होला, दुई तिहाइको । पुरानैलाई जसरी पनि पारित गराउँछु भनेर । तर त्यो दुई तिहाइ गाडीको चक्काबाट हावा फुस्किएर गएजस्तै जान सक्छ । 

अझ पनि बालाजुमा सडक विस्तारको नाममा तपाईंले दमन गरिरहनुभएको छ, त्यो अबिलम्ब रोक्नुस् । सम्मानित सर्वाेच्च अदातलको आदेशलाई सम्मान गर्नुहोस् । अझै पनि म तानाशाह हुँ, मैले जे भने त्यही हुन्छ भन्नुहुन्छ भने ठूल–ठूला तानाशाहलाई हामीले खेदेर जंगल पठाइसकेका छौँ, अब यी साना तानाशाहलाई खेद्न धेरै दिन बाँकी छैन । हामी खेद्न सक्छौँ । 
हाम्रा अभियन्ता मित्रलाई अविलम्ब रिहा गरियोस् । 
(लेखक नेपाल देय दबुका अध्यक्ष हुन् ।)


Author

थप समाचार
x