विचार

किसुनजी स्मृति दिवस

राजदरबारले षड्यन्त्र गर्न थालेपछि पहिल्यै पूरै संविधान गोरखापत्रमा

होमनाथ दाहाल |
फागुन २०, २०७७ बिहीबार ८:१५ बजे

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति दिवंगत कृष्णप्रसाद भट्टराईको जीवनका धेरै पक्ष छन् । त्यसमध्ये एउटा अत्यन्तै समसामयिक, नेपालीहरूले गौरव गर्नुपर्ने सन्दर्भ उल्लेख गरौं ।

प्रसंग १
किसुनजी २०४७ वैशाखमा प्रधानमन्त्री हुनुभयो । त्यतिबेला मलाई गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा नियुक्त गरियो । अध्यक्ष बनेपछि आसियान मुलुकमा गोरखापत्रको आधुनिकीकरण गर्न युनेस्कोले कार्यक्रम गरेको रहेछ । त्यो कार्यक्रममा अध्यक्षले आसियानका चार मुलुकमा पुगेर फाइनल गर्ने भन्‍ने तय भएको रहेछ । त्यही सिलसिलामा म त्यहाँ पुगेँ ।


म थाइल्यान्डको पत्रिका ‘ब्याङ्कक पोस्ट’को कार्यालयमा पुगेँ । पत्रिकामा सहसम्पादक अंग्रेज रहेछन् । म त्यहाँ पुग्नासाथ आफ्नो टेबलमा टाइप गरेर राखेको माटोको सुराई, छाता र ट्यांकाको किताब देखाउँदै यस्ता नेताको नेतृत्वमा तिमीहरूको ‘डेमोक्रेसी’को यात्रा सुरु भएको छ । अब राम्रो हुन्‍छ, शुभकामना छ भने । त्यो समाचार एएफपीले पठाएको जानकारी पनि उनले दिए ।

त्यसपछि म फिलिपिन्स गएँ । त्यहाँका एक पत्रकारले नेपालमा आएर पत्रकारितासम्बन्धी प्रशिक्षण दिइरहने रहेछ । उसलाई नेपालबारे राम्रो ज्ञान रहेछ । भेट्नासाथ उसले भन्यो, ‘मिस्टर दाहाल, अब तिम्रो राइजिङ नेपालमा बडामहारानीको फूल साइज विज्ञापन आउँछ कि आउँदैन ?’ जवाफमा मैले भनेँ, ‘अब आउँदैन । उनीहरू दरबारभित्र सीमित भए । अब जे जति गर्ने हो, जनताले गर्छन् ।’ उसले लन्चका बेला भनेको थियो, ‘तिमीहरू कति भाग्यमानी हेर, हाम्रो डेमोक्रेसी त ठूला व्यापारी र आर्मीबीचको प्रजातन्त्र भयो । यहाँ सर्वसाधारण जनताले प्रजातन्त्रको अनुभव गर्न पाएनौँ ।’ किसुनजीबारेमा त्यहीँ छाता, सुराही र टयांकाबारे कुरा गर्‍यो ।

यी दुई प्रसंगले मलाई गौरव लाग्यो । हाम्रो प्रजातन्त्रको यात्रा यस्तो गौरव बोकेको नेताको नेतृत्वमा सुरु हुने भयो भन्‍ने सन्देश लिएर नेपाल फर्किएँ । यहाँ आइसकेपछि घटनाक्रम अर्कै रूपमा अघि बढ्यो ।

प्रसंग २ 
२०४७ सालमा संविधान निर्माण भइरहेको थियो । विश्वनाथ उपाध्याय संविधान सुझाव आयोगको अध्यक्ष हुनुहुन्थ्यो । किसुनजी र विश्वनाथजीको विषयमा अत्यन्तै ‘वेबलेन्थ’ मिलेको थियो । दुई जनाबीच समझदारी नभएको भए संविधान आउन सक्ने थिएन । विश्वनाथजीले तयार गरेको संविधानको मस्यौदामा राजा वीरेन्द्रले सार्वभौमसत्ता जनतामा हुनुहुन्‍न । राजामा निहित हुनुपर्छ भनिरहेका थिए ।

जनतामा सार्वभौमसत्ता राख्‍ने विषयमा राजाको ठूलो आपत्ति थियो । एकपटक नेपाली सेनाका ४/५ जना जनरलहरूलाई राजाले प्रधानमन्त्री किसुनजीलाई भेट्न टाइम नलिइकन पठाए । जनरलहरूले सर्वाभौमसत्ता त राजामै निहित हुनुपर्छ भने । जवाफमा किसुनजीले भन्‍नुभयो, ‘तिमीहरू कसको अनुमतिले यहाँ आयौ, म प्रधानमन्त्री, रक्षामन्त्री । मसँग तिमीहरूले समय लिएका छैनौ । खुरुक्क यहाँबाट हिँडिहाल्छौ कि पद खोसिदिऊँ ।’ त्यसपछि तिनीहरू हिँडे । तर पनि सार्वभौमसत्ता त कसमा रहने भन्‍ने विषय छँदै थियो ।

त्यो संविधान पढेपछि स्वतःस्फूर्त रूपमा धरहराबाट सुरु भएको जुलुस, सेतो दरबार हुँदै छात्राबास भएर आइसकेपछि दरबार आत्तियो । हामीले यो संविधान जारी गर्‍यौँ भने जनता विद्रोह गर्छन् भन्‍ने निष्कर्षमा पुग्यो ।

राजा वीरेन्द्रले संविधान आफ्नै तरिकाले बनाए । सर्वाभौमसत्ता राजामै रहने, अरु विषय विश्वनाथले बनाएका राखेर संविधान जारी गर्ने भए । त्यसको दुई/तीन दिन अगाडि किसुनजी र विश्वनाथजीको बीचमा कुरा भयो । कुराकानीमा विश्वनाथजीले संविधानमा राजाले संशोधन गर्न चाहेका विषयमा जानकारी गराउनुभयो । त्यो विषय प्रधानमन्त्री किसुनजीले गणेशमान सिंहसँग भन्‍नुभयो, ‘सार्वभौमसत्ता राजामा निहित हुने गरी मात्रै संविधान जारी गर्न राजा तयार छन् । विश्वनाथजीहरूले तयार गरेको संविधान जारी गर्न तयार छैनन् ।’ त्यसपछि गणेशमानजीले किसुनजीसँग भन्‍नुभयो, ‘म राजालाई एक पटक भेट्छु, तुरुन्तै समय मिलाइदिनुस ।’

किसुनजीले समय मिलाएपछि राजाले गणेशमान सिंहसँग तुरुन्तै भेटे । फर्कंदा एउटा संयोग मिल्यो । बाहिर राजालाई भेट्न विश्वनाथजी प्रतीक्षामा हुनुहुन्थ्यो । गणेशमानले बडो मुख लेप्रयाएर ‘विश्वनाथजी राजा त मान्‍नेवाला छैनन्’ भन्‍नुभयो । विश्वनाथजीले इसारा गरेर म मिलाउँछु, नआत्तिनुस भन्‍नुभयो ।

राजालाई भेट्न विश्वनाथ उपाध्याय पुग्दा गणेशमानकै कुराबाट राजा तात्तिरहेका थिए । राजाले गणेशमानसँग जुन प्रश्न गरेका थिए, विश्वनाथसँग पनि त्यही प्रश्न दोहोर्‍याए । त्यसपछि विश्वनाथले यस्तो तर्क गर्नुभयो, त्यो तर्कले राजा नाजवाफ भए । विश्वनाथजीले यो सार्वभौमसत्ता भन्या त सधँैभरि जनतामा हो सरकार, सरकारले राज्याभिषेक गर्दा के भनिबक्स्याथ्यो सम्झनुस् त । ‘आजदेखि जनताको नासो मैले दिएँ,’ भनेर हुकुम भएको होइन सरकारबाट भनेपछि वीरेन्द्र राजा नाजवाफ भए । बडो मुर्मुरिए । केही बोल्न सकेनन् । तैपनि यी कुरा स्वीकार नगरी आफैँले बनाएको संविधान जारी गर्ने भए । यही समयमा किसुनजी र विश्वनाथजीबीच कुरा भएपछि संविधानको मस्यौदाको एक कपी विश्वनाथजीले मलाई दिनुभयो ।

र, यो पनि
- आफ्नै पार्टीको अविश्वासपछि किसुनजीको त्यो राजीनामा मन्तव्य, हात मिलाउँदै केपी ओलीले भनेका थिए- मार्मिक !

मैले गोरखापत्रमा ल्याएर सम्पादक श्रीप्रसाद गौतमलाई दिए । उनी पहिला नेपाल पुकारका सहसम्पादक थिए । त्यसपछि गोरखापत्रका सहायक सम्पादक भएका थिए । बीचमा पञ्चायतले अपमानपूर्वक तरिकाले उनलाई हटाउन लागेका थिए । उनको राजीनामा स्वीकृत भएको थिएन । त्यो राजीनामा पत्र खोजेर मैले गोरखापत्रको प्रधानसम्पादक बनाएको थिए । यो संविधान गोरखापत्रमा सबै निकाल्दिनु पर्‍यो । राजदरबारबाट षड्यन्त्र हुन लागेको छ भनेँ । उनी प्रजातान्त्रिक पृष्ठभूमिका भएकाले विश्वास गरेर उनलाई दिएको थिएँ । उनले अर्को दिनको गोरखापत्रमा सबै संविधान निकाले ।

त्यो संविधान पढेपछि स्वतःस्फूर्त रूपमा धरहराबाट सुरु भएको जुलुस, सेतो दरबार हुँदै छात्राबास भएर यतातिर आइसकेपछि दरबार आत्तियो । हामीले यो संविधान जारी गर्‍यौँ भने जनता विद्रोह गर्छन् भन्‍ने निष्कर्षमा पुग्यो । अर्को दिन राजाले संविधान पढ्दा किसुनजीले मन्त्रिपरिषद्बाट पारित गरेर दिएको संविधान नपढेर, आफ्नो सचिवालयले तयार पारेको पढे । जारी गर्दा भने आत्तिएर, डराएर विश्वनाथजीले तयार गरेकै जारी गर्‍यो । जारी गरेपछि राजाकै अगाडि गणेशमानजीले विश्वनाथजीलाई च्याप्पै बोकेर घुमाउनुभयो र भन्‍नुभयो, ‘नेपाली जनताका लागि उहाँले यति ठूलो देन गर्नुभएको छ कि जुन जति प्रशंसा गरे पनि कम हुन्‍छ ।’ त्यसबेला राजा वीरेन्द्रले बुझेर रातो मुख लगाए । यसरी किसुनजीले ०४७ सालको संविधान जारी गराउनु भएको हो ।

त्यसपछि म निर्वाचन भएर नेपाल पत्रकार महासंघको सभापतिमा निर्वाचित भए । अमेरिकन प्रोफेसरहरू नेपाल आएका थिए । उनीहरूको सम्मानमा मैले कार्यक्रम राखेको थिएँ । उनीहरूले त्यो कार्यक्रममा भनेका थिए, ‘हामीले संसारमा प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्ने संविधान भनेर गौरव गर्थ्यौँ । तिमीहरूको संविधानले त हामीलाई पनि एक कदम जितेर अगाडि गएको छ । लोकतन्त्र कसरी अगाडि बढाउँछौ तिमीहरूको हातमा छ ।’

प्रसंग ३
किसुनजीलाई जुन राजतन्त्रले लगातार १४ वर्ष जेलमा राख्यो, त्यही राजतन्त्र उन्मूलन गर्ने भनेर नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिबाट निर्णय गर्‍यो । त्यसपछि उहाँले पार्टीको साधारण सदस्यबाट समेत राजीनामा गर्दै आजदेखि म नेपाली कांग्रेस पार्टीमा छैन भनी घोषणा गर्नुभयो । कसैले कल्पना गर्दा यस्तो पनि नेता हुन्‍छ, भन्‍न सक्लान् । यस्ता कैयौँ घटना छन् । म किसुनजीसँग सामीप्यमा रहेको हुँदा मैलै उहाँलाई अत्यन्त सरल, अत्यन्तै ठूलो राष्ट्रभक्त, प्रजातन्त्रवादी नेता हुनुहुन्थ्यो उहाँ ।

त्यो राजीनामा पत्र खोजेर मैले गोरखापत्रको प्रधानसम्पादक बनाएको थिए । यो संविधान गोरखापत्रमा सबै निकाल्दिनु पर्‍यो । राजदरबारबाट षड्यन्त्र हुन लागेको छ भनेँ । उनी प्रजातान्त्रिक पृष्ठभूमिका भएकाले विश्वास गरेर उनलाई दिएको थिएँ । उनले अर्को दिनको गोरखापत्रमा सबै संविधान निकाले ।

नसिकिएको पाठ 
राजनीतिमा मुलुकको सबै परिस्थिति हेरेर निर्णय गर्नुपर्ने हुन्‍छ । विश्वेश्वरप्रसाद कोइरालाले किन अन्तिममा मेलमिलापको नीति अवलम्बन गरेर ‘नो कन्फरटेसन विथ किङ, नो सरेन्डर विथ पञ्चायत सिस्टम’ भन्‍नुभयो । त्यसबेलाका कम्युनिस्टका प्रधान शत्रु कांग्रेस र राजा थिए । कम्युनिस्टले जसलाई सिध्याए पनि अर्को पक्ष कमजोर भइहाल्छ भन्‍ने सोचेका थिए । कुनै पनि परिस्थितिको आँकलन गर्न नसक्ने ज्ञानेन्द्र जस्ता राजाको हातमा शासन सत्ता पुग्यो । ज्ञानेन्द्रले परिस्थिति बुझ्न सकेनन् । आखिरमा किसुनजीले भनेका कुरा सत्य भए । १४ वर्ष जेलमा थुने पनि राजतन्त्र उन्मूलन गर्ने कुरामा उहाँको असन्तुष्टि थियो । यस्तै असहमति बीपीको पनि थियो । उहाँमा सिद्धान्तप्रति निष्ठा थियो ।

दुई दुई पटक निर्वाचन हारेर पनि उहाँमा कुनै खिन्‍नता देखिएन । २०५६ मा निर्वाचन जितेर उहाँ प्रधानमन्त्री बन्‍नुभयो । तर, उहाँविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने चलखेल आफ्नै पार्टीभित्रबाट जब सुरु भयो, त्यसबाट केही निराश हुनुभएको थियो । जुन दिन उहाँले संसद्मा प्रधानमन्त्रीबाट राजीनामा दिन्‍छु भनेर घोषणा गर्नुभयो र राजालाई भेट्न जानुभयो । भेटेमा राजा वीरेन्द्रले ‘कांग्रेसले तपाईंलाई नै प्रधानमन्त्री बनाउँछु भनेर चुनाव लड्ने, त्यही आधारमा बहुमत पार्टीको आउने । फ्रान्सबाट जंगबहादुर राणापछि नेपालको प्रधानमन्त्रीलाई औपचारिक भ्रमणका लागि तपाईंलाई निम्ता आएको थियो । फ्रान्सको भ्रमण गरेपछि म राजीनामा गर्छु भन्दाभन्दै मौका पनि नदिने’ भनेछन् । यसो कुरा सुन्दा त राम्रै भनेजस्तो । तर, त्यसबेलाको परिस्थिति हेर्दा, किसुनजीलाई अलिकति छुने तरिकाले राजाले कुरा गरेछन् । अनि त्यहाँबाट मैले राजीनामा दिने निर्णय गरिसकेँ भनी फर्किनुभयो ।

उहाँ राजदरबारबाट बालुवाटारमा फर्केर आउँदा मलाई याद छ, तत्कालीन गृहमन्त्री पूर्णबहादुर खड्का, नेता प्रदीप गिरि र म बसेका थियौं । राजाले भनेको यही कुरा उहाँले हामीलाई सुनाउनु भयो । सुनाउने बेलामा कता कता उहाँमा एक किसिमको विचलन जस्तो मैले अनुभव गरेँ । मैले उहाँलाई भनेँ, ‘किसुनजी जनताको मान्‍छे भएर बस्‍नलाई धेरै वर्ष सत्तामा बस्‍नुपर्दो रहेनछ । बीपी जम्मा डेढ वर्ष प्रधानमन्त्री हुनुभयो । ६ महिना गृहमन्त्री हुनुभयो । जनताको हृदयमा सबभन्दा लोकप्रिय भएर बसेको नेता त बीपी हुनुहुन्‍छ । त्यसकारण सिद्धान्त सबैभन्दा महत्वपूर्ण कुरा रहेछ ।’ त्यसपछि उहाँले तत्कालीन गृहमन्त्री खड्का र नेता गिरिसँग भन्‍नुभयो, होमनाथजीले ठीक कुरा गर्नुभयो । त्यसदिन साँझ परेको थियो । भोलिपल्ट संसद्‌मा गएर राजीनामा पत्र पढेर सुनाउनु भयो । (किसुनजीसँग सामीप्यमा रहेर काम गरेका पूर्वमन्त्री तथा वरिष्ठ पत्रकार दाहालसँग मधुसुधन भट्टराईले गरेको कुराकानी)


Author

होमनाथ दाहाल

दाहाल पूर्वमन्त्री तथा वरिष्ठ पत्रकार हुन् ।


थप समाचार
x