फर्र फर्र पखेटा -
आजको दिन अर्को मुखर्जीका भिडियोहरू हेरेर बिताएँ ।
म दिनभरि एउटै काममा अडिन सक्दिनँ । कहिलेकाहीँ कुनै किताबले दिनभर तानिरहन्छ, त्यसलाई अपवाद मानौँ । नत्र छिनमै कम्प्युटर, छिनमै टेलिभिजन, छिनमै सेलफोन र छिनमै खत्र्याङखुत्रुङ ।
तर आज दिनभर अर्कोका नशालु आँखा, लट्टे कपाल र हाउभाउ हेरिरहेँ । दोतारा, युकुलेली, म्याण्डोलिनमा नाचिरहेका उनका औँलासँग अचम्मैसँग तानिएँ म । त्योभन्दा बढी उनलाई सुनिरहेँ ।
नेपाल, भारत, बाङ्लादेश, माली, अमेरिकातिरका लोकसङ्गीत, लोकगायनलाई जोड्दै ‘फ्युजन’ तरङ्ग छोड्ने अर्को-अभियानको नयाँ प्रशंसक भएँ म ।
‘मेरो माया कुन देश मुलुक
कहिले आउला घामजस्तै झुलुक्क
माछी काँडैले नजर लाउँदैमा छेक्यो डाँडैले ।’
हाम्रै लोकभाकाको यो बोललाई बङ्गाली लवजमा गाउँदागाउँदै अर्कोले शास्त्रीय, सुफी सङ्गीत र ताललयका अन्य मिठास घुसाउँछन् नि, त्यसैले हो मलाई भुतुक्कै बनाउने ।
अर्को मुखर्जी आवरणमा हिप्पी जमानाका कुनै जुल्फेजस्तै देखिन्छन् । पहिरन पनि प्रायः उही, उस्तै ल्याङ्फ्याङे । चप्पल, पाइजामा र हुडी । सहकर्मीहरू पनि प्रायः उस्तै । झ्याम्म दारी मन पराउने उनकै गोताका । ढोल, कर्ताल, काहोनमा ताल ठोक्दै आफ्नो दोतारासँग जुगलबन्दी गरिरहेका दौँतरीहरूसामु निर्लिप्त पोखिने उनको कलामा मैले के देखेँ, देखेँ !
‘आज र मैले भातै र खाएँ तिहुन् त काभाको
के माया गर्थ्यौ तिमीले साइली मजस्तो जाबाको ।’
अर्कोले झलकमान गन्धर्वका यस्ता थुप्रै गीतलाई मनैदेखि सुम्सुम्याएर आराधना मात्र गरेका छैनन्; भाषा, भूगोल र ताललयको पुल बाँधेका छन् । नेपाली लोकभाकासँगै बङ्गाली भाका सल्बलाएर आउँछन् र सँगसँगै भेटिन्छ- सुफी, जिप्सी, ज्याज वा हिस्प्यानिक सङ्गीतको सम्मिलन ।
र, उनी भन्छन्, ‘हामी एकै हौँ । सिमानाले छुट्यायो त के भयो ? हामी भाकाले जोडिएका छौँ । त्योभन्दा बढी मानवताले जोडिएका छौँ ।’
हो, सङ्गीतले मानवताको वकालत र उद्घोष गर्न सक्दोरहेछ । प्रमाण यिनै हुन् = इलामपारिका भारतीय गाउँहरूमा तोङ्बा र सुकुटी चपाउँदै नेपाली लोकभाकासँग लहसिएका अर्को मुखर्जी । उनले झलकमान गन्धर्वका गीतलाई नयाँ प्राण दिएका छन् । मित्रसेन, नारायण गोपाल, डेजी बराइली, कृष्णविक्रम थापाले उरालेका लोकभाकालाई आफ्ना रुचिका अन्य आयामहरूमा सम्मिलन गरेका छन् ।
त्यो सङ्गीतको ‘फ्युजन’ मात्रै हैन, मायाको जोगाड पनि हो । यस्ता मायालु प्रस्तुतिहरूले मलाई बारम्बार सम्झाउँछन् -संसार हामीले देखेजस्तो नराम्रो छैन । रमाउनका निम्ति थुप्रै चीज छन् यहाँ । मात्र छान्न जाने पुग्छ, हेर्न जाने पुग्छ ।
हो; कुनै बेला त्यसरी नै छान्ने, हेर्ने उत्कण्ठाले म परदेशिएथेँ ।
लाग्थ्यो, एकबारको जुनीमा घुम्नैपर्छ संसार । हेर्नैपर्छ दुनियाँ । बग्नुपर्छ । ताकिरहनुपर्छ नयाँ नयाँ गन्तव्य । नत्र खुट्टा कुँजिन्छन् । र, कुँजिएका खुट्टा घिसारेर नजिकैको सानो पहाड पनि उक्लिन सकिँदैन ।
म नहिँडेको भए एक ठाउँमा अड्किन्थेँ होला । फुक्थेँ होला आत्मराग । चेलाचपेटा बनाउँथेँ होला । उनीहरूका प्रशस्तिले फुलेल बन्थेँ होला । म पनि बेलाकुबेला उराल्थेँ होला उनीहरूलाई । हामी त्यही सानो घेरालाई संसार सम्झन्थ्यौँ होला । म कुहिन सक्थेँ, सड्न सक्थेँ । वा, धुम्धुम्ती मूर्ति बन्थेँ होला । जम्थेँ होला ।
अर्को परिदृश्य पनि हेरौँ । म बोल्न खोज्थेँ होला, सम्भवतः सुनुवाइ हुँदैनथ्यो । म कुनै प्रयोगमा रमाउन खोज्थेँ होला, सम्भवतः उल्याइन्थ्यो । अव्यावहारिक, असङ्गत मान्यताहरूविरुद्ध चुपचाप विद्रोह गर्ने मेरो स्वभाव धेरैलाई बिझाउँथ्यो होला, सम्भवतः समाजविरोधी कहलिन्थेँ म, दुत्कारिन्थेँ होला । त्यो पीडाले मलाई कहाँ पुर्याउँथ्यो, म भन्न सक्तिनँ ।
मैले त्यो अन्योलबाट आफूलाई बाहिर निकाल्न खोजेँ । मेरो स्वभावले नै मलाई बाहिर निकाल्यो । मेरो अस्थिरता, कहीँ नटिक्ने स्वभाव सम्भवतः मेरा लागि सम्बल बन्यो ।
म हिँड्दा सबै छोडेर हिँडे । नेपाली पत्रकारितामा पन्ध्र वर्ष कमाएको जस-अपजस ‘स्वाहा’ भनेर हिँडे । साथीभाइ वा आफूआवद्ध भइसकेका संस्थाहरूसँग कुनै सम्पर्क-संवाद राखिएन । आग्रह छोडियो, पूर्वाग्रह छोडियो । निकटता, फुस्फुसे सरसल्लाहहरू सबै छोडियो ।
संघसंस्था खोलेर, तिनलाई माध्यम बनाएर परदेशमा स्वदेशको दम्भ देखाउन अभ्यस्त साथीहरूले आ-आफ्ना समूहमा तान्न नखोजेका होइनन् । तर, म निरपेक्ष रहेँ । मलाई त्यसैमा आनन्द मिल्यो । ध्यानशिविरमा बसेजस्तो आनन्द । सबै कुरा छोडेपछि न आग्रहले पिरोल्यो, न पूर्वाग्रहले घोच्यो । नजिकका आफन्तजन वा थोरै साथीभाइसँग रमायो, कतै मनले खायो भने बस्यो, मन छट्पटियो भने पोकापुन्तुरा कस्यो, हिँडिहाल्यो । कत्ति उन्मुक्त !
आखिर यो संसार जति अरुको हो, त्यति मेरो पनि हो । यो भूगोलमा कहीँ कतै कसैको लाहाछाप लागेको हुँदैन । पाँचसय वर्षअघि आदिवासीहरूमात्र बस्ने तत्कालीन ‘न्युवल्र्ड’ (अहिलेको संयुक्त राज्य अमेरिका) मा अहिले हेर्नुस् त- को को छन्, कहाँ कहाँबाट आएका छन् !
तीस, चालीस वर्षपछि यसको स्वरूप अर्कै हुनेछ । अहिले हाम्रो मुलुक भनेर तिघ्रा ठटाउने ‘सेतासेती’हरू त्यतिखेर अल्पमतमा हुनेछन् । प्रवाहशील छ दुनियाँ । कुनै कुरा सार्वकालिक हुँदैन । म त्यस्तै प्रवाह रुचाउँछु । म अस्थिर छु तर यसलाई प्रवाहकै एउटा आयाम भन्न रुचाउँछु ।
प्रमाण नंं. १
बाह्र वर्षपछि सम्पर्कमा आएको साथीले मेसेन्जरमा सोध्यो, ‘अहिले कहाँ छस् ? कुन देश ? कुन सहर ?’
मैले भनेँ, ‘बाटोमा ।’
‘मेरो मतलब बसोबास कहाँ ?’
‘न्युह्याम्सर, अमेरिका ।’
‘कति भयो त्यहाँ बसेको ?’
‘आठ वर्ष ।’
‘अब ढुक्कैले त्यहीँ त होला ?’
‘हैन, म एकै ठाउँ लामो समय बस्न सक्तिनँ । यसलाई बिसौनी भनौँ न ।’
मेरो स्वभाव र त्यसको परिणाम बुझेपछि साथी हाँस्यो । हामीले हाँसेरै वार्ता टुङ्ग्यायौँ । अनि पो अनुभव भयो- यो बसाइ त लामै भएछ ।
म सन् २००८ को अन्त्यतिर छिरेथेँ अमेरिका । लक्ष्य थियो, मेरिल्यान्डको बल्टिमोर । तर त्यहाँ तीन हप्ता पनि बसिएन । छट्पटी भयो । कल्पनामा एउटा अमेरिका थियो । बल्टिमोरको सार्वजनिक यातायातमा अर्कै अमेरिका देखेँ । थोरै आश्चर्य लाग्यो, धेरै संशय ।
साथीभाइका सद्भाव धेरै आएका थिए तर म गुटुङटुङ भागेँ भर्जिनियाको रोनकतिर । तर किनकिन त्यहाँ पनि मन अडिएन । दुई हप्ता नपुग्दै टाप ठोकेँ र भर्जिनियाको स्प्रिङफिल्डमा एक आफन्तकहाँ झोला बिसाएँ ।
अमेरिकालाई प्रारम्भमै अझ बढी छाम्न मन लाग्यो । एमट्र्याक ट्रेन समातेँ र पुगेँ म्यासाचुसेट्स । त्यसपछि न्युह्याम्सर । त्यतै भेटिएका केही आफन्तले काम-बसोबासको तारतम्य मिलाउन खोज्दाखोज्दै म भर्जिनिया फर्किएँ । खल्ती रित्तिँदै थियो । पाँच र अढाइ वर्षका छोरीहरूलाई पत्तै थिएन, अर्को दिन बाबाले कता लाने हो । यात्रा गन्तव्यहीन हुँदै थियो । श्रीमतीको अनुहारमा तनाव देख्नासाथ भर्जिनियाको हर्नडन पुगेर झोला बिसाएँ ।
अमेरिका टेकेको झन्डै दुई महिनापछि हर्नडनको एउटा नेपाली घर मेरो अमेरिकी बसाइको पहिलो बिसौनी बन्यो ।
करिब नौ महिना बसिएछ हर्नडन । कागजपत्र जुटाउनै तीन महिना लाग्यो । जागिर मिल्यो तर मन फिटिक्कै अडिएन । रोजगारदाताहरू फेरिंदै गए । एउटालाई छोड्यो, अर्को समात्यो । छ महिनाभित्रै पाँचौँ जागिरमा पुगेछु म ।
त्यो जागिर राज्य सरकारको थियो । सजिलो थियो । राम्रो सुविधा । सहकर्मीहरूले अत्यन्तै माया गर्थे । तर, जब पैताला चिलाइरहन्छन् नि, त्यस्तो मायाले कहाँ रोक्छ र ? तीन महिनामै म टेक्ससतिर हिँडेँ ।
टेक्ससमा गर्मीले उसिन्यो । काममा मन अडिएन । धेरैतिर उफ्रिएँ । र, अन्ततः एउटा निहुँ बनाएर दुई वर्षभित्रै टेक्ससलाई ‘आदियोस्’ भनेँ । पुगेँ, विस्कन्सिन । त्यो राज्यसँग त झन् नौ महिनामै सम्बन्ध खलास !
अहिले म न्युह्याम्सरमा छु । बाह्र वर्षको समयावधिमा बीसौँ रोजगारदाताका निम्ति काम गरिरहेको छु । मलाई थाहा छ, यो मेरो स्वभावकै परिणाम हो । धेरैका नजरमा दुष्परिणाम होला । तर, म यसलाई अर्को कोणबाट हेर्छु । म मलाई निकै मन परेको नर्दन भर्जिनियामै बसिरहेको भए कहाँ भोग्न पाउँथे ६-६ महिनासम्म एक थोपा वर्षाविनाको टेक्सस ? चिरिक्क तालु तताउने गर्मी ? प्लेनो वा अस्टिन नटेकेको भए टेक्सससँग मेरो सधैँ गुनासो भइरहन्थ्यो ।
घुम्नु, बाहिरिनु पनि एउटा खोजी हो, अन्वेषण हो, गवेषण हो । एउटा महाभिनिष्क्रमण हो । हिँड्नेले नै हो संसार देख्ने । आँट्नेले नै हो संसार भोग्ने । जहाँ टेकिन्छ, त्यो आफ्नै भूमि हो, आफ्नै आर्जन । अलि ठूलो मन बनाउने हो भने त्यहाँ कुनै एउटा देश हुँदैन, कुनै परदेश पनि हुँदैन । संसार कसैको एकलौटी बिर्ता पनि त हैन ।
टेक्सस नछोडेको भए मिडवेस्टका राज्यहरूको ‘लङ ड्राइभ’ त्यति चाँडै जुर्दैनथ्यो होला । विस्कन्सिन नपुगेको भए मिनेसोटाको विशाल ‘मल अफ अमेरिका’ मा छोरीहरूलाई खेलाउन पटकपटक पुगिन्नथ्यो होला । र फेरि, विस्कन्सिनमै मन बाँधिएको भए सिकागो छिचोल्दै इष्टकोष्टतिरको तारान्तर यात्रा गरिन्नथ्यो कि !
नहिँड्नेहरूलाई के थाहा, गाडीको डेकमा सुटकेस कोचेर मोटेल-होटेलहरूमा बास बस्दै टाढा-टाढाका राज्यहरूमा पुग्नुको मजा ? नयाँ कुराको स्वाद चाखे न थाहा हुन्छ । ‘म जे छु जहाँ छु -ठीकै छु’ ले सधैँ ठीकै त राख्ला, तर ठीकै भन्दा पर पनि छ दुनिया । देखेकोभन्दा पर पनि छ संसार । त्यहाँ पनि छ जीवन । आखिर दिनहुँ लाप्पा खेल्नु नै छ भने नयाँ पहलमान किन नखोज्ने ?
मैले रोजेको नयाँ पहलमान थियो, अमेरिका । सोचाइ थियो - म यसैसँग भिड्नेछु । तर, रहँदै बस्दै गर्दा थाहा भयो -अमेरिकाभित्र त सहस्र पहलमान रहेछन् । पौँठेजोरीका लागि तम्तयार अनगन्ती पाखुरा । र, यी पाखुरासँग पञ्जा लडाइरहेकाहरूका जात, नश्ल, बोली, भाषालाई नजिकबाट हेर्न थालेपछि पो थाहा भयो-अमेरिका एउटा देश मात्र रहेनछ, ‘ग्लोबलाइजेसन’को एउटा बिम्ब रहेछ । संसारभरिका सबै जातजाति, भाषाभाषी, दर्शन, साहित्य, सबै चेतनाको अभिव्यञ्जना रहेछ । र, त्यहीँभित्र नजानिंदो पाराले नेपाली चेतनासमेत् टुसाउँदै रहेछ । अमेरिकाभित्र पनि नेपाल रहेछ ।
अमेरिकाभित्रको नेपाल कति समृद्ध वा कति दरिद्र छ ? यहाँको नेपाली चेतना कति वलशाली छ वा कति कमजोर ? यहाँको नेपालीपन कति वास्तविक छ र कति कृत्रिम ? यहाँका नेपाली संघसंस्था कति उपयोगी छन् वा कति निरर्थक ? यी विषयमा ठेलीका ठेली लेख्न सकिएला । तर, एउटा सत्य के हो भने अमेरिकाभित्र नेपाल हुर्किंदै छ । पहिलो पुस्ताका केहीसँग नेपालदेखि बोकिआएका पूर्वाग्रहहरू होलान्, संकीर्णताहरू होलान्, उतै सिकेका बानीबेहोराका दुष्परिणामहरू पनि होलान् । ती आवधिक हुन् । समयसँगै सेलाउँछन्, मासिन्छन् । एउटा प्राविधिक, व्यावसायिक पुस्ताले डोर्याउन थालिसकेको छ यताको नेपाल । र, त्यो नेपालमा भुटानबाट आएका नेपाली; भारत, बर्मा, थाइल्यान्ड वा अरु देशबाट आएका नेपाली पनि मज्जाले अटाएका छन् । त्यो नेपालसँग ठूलो चित्त छ, ठूलो मन छ । विदेश जानेलाई पलायनवादी, देशविरोधी भनेर कुर्लिने स्वघोषित ‘राष्ट्रप्रेमी’हरूले अमेरिका, क्यानडा, अस्ट्रेलियातिर हुर्किंदै गरेको ‘भर्चुअल नेपाल’ हेरिदिऊन् त ! अनि थाहा हुन्छ नेपाल कसरी फैलिँदै छ ।
प्रमाण नं. २
म यता बसेर पनि नेपालीमै लेखिरहेको छु । वजनदार लेखाइको वकालत गरिरहेको छु । नेपाली संघसंस्थाका विसङ्गतिहरूमाथि कुर्लिने गरेको छु । र, जजसले आफू सँगसँगै नेपाल बोकेर हिँडेका छन् नि, तिनलाई मज्जैले धाप मार्ने गरेको छु, थुम्थुम्याउने गरेको छु । लाग्छ, म पनि आफू सँगसँगै धेरथोर नेपाल बोकेर हिँडिरहेको छु । अमेरिका, क्यानडा बसेर नेपालमा बहुउद्देश्यीय पूर्वपश्चिम नहर र जलमार्गको अवधारणा कोरलिरहेका विज्ञहरूले पनि आफू सँगसँगै नेपाल बोकेका छन् । युएस नेपाल पोलिसी रिसर्च सेन्टरका अभियन्ताहरूले यतै बसेर बुनिरहेको समृद्ध नेपालको सपना नेपालभित्रका कतिले देखेका होलान् ? त्यो चेतना नेपाली माटोमा हुर्किएको होइन, नेपाली मनमा हुर्किएको हो । र, त्यस्ता मनहरू कुनै बेला म जसरी नै परदेशिएका हुन सक्छन् । म ढुक्कले भन्छु-उनीहरू जहाँ जहाँ पुगेका छन् नि, त्यहाँ त्यहाँ नेपाल पुर्याएका छन्, नेपाली भावना पुर्याएका छन् । प्रकारान्तरले नेपाल फिँजाएका छन्, बिस्तार गरेका छन् ।
नेपाली बोल्दै, नेपाली लेख्दै, नेपाली गाउँदै म संसार घुम्न पाउँछु भने मैले किन मुठार्नु मेरो पखेटा ?
त्यो बिस्तारको माध्यम हामी हौँ, हाम्रो भाषा हो, नेपाली जातिप्रतिको हाम्रो स्नेह हो । जब हामी नेपालभित्र थियौँ, लेख्थ्यौँ तर स्थानीय थियौँ । पूर्णतः रैथाने । अहिले हामी छरिएका छौँ । र, हामी सँगसँगै फैलिदैछ नेपाली भाषासाहित्यको आयतन । अब नेपाली साहित्यमा मेचीमहाकाली, भाक्सु, भोटाङ, असम वा बर्मा मात्र लेखिंदैनन् । सगरमाथा र लुम्बिनीको बिम्बले अब छेउटुप्पो पनि छुँदैन । रुसमा कसैले नेपाली युनिकोड ठोकिरहँदा अस्ट्रेलियामा अरु कसैले प्रीतिमा लेखिरहेको हुन्छ, क्यानडामा कसैले प्रीतिका तिनै अक्षरलाई मङ्गलमा रूपान्तर गरिरहेको हुन्छ ।
नेपाली आमाहरूले ओहायो-एक्रनमा संगिनी गाउने र बेल्जियममा नेपाली लोकभाकाको भिडियो बनाउने काम सँगसँगै भइरहेको हुन्छ । नेपाल बुझ्न, नेपाल लेख्न भूगोलभित्र खुम्चिनुपर्दैन । सिर्जनशील भाइहरू पोर्चुगल वा यूकेतिर बसेर नेपालभित्रका गुत्थी केलाउन सक्छन्, ‘ब्लकबस्टर’ किताब निकाल्न सक्छन् । त्यसैले साधिकार भने हुन्छ-संसारको जुनसुकै कुनाबाट पनि नेपाल सुम्सुम्याउन सकिन्छ ।
देशभित्रै बसौँ वा बाहिर; राष्ट्रियता, भूगोल जेसुकै होस्, हामी नेपाली पहिचान बोकेका ‘ग्लोबल’ नेपाली हौँ । हामी नेपाली चेतनाका पंखहरू हौँ । उडिरहेछौँ र सुनाइरहेछौँ एउटा विश्वव्यापी उद्वोधन-ग्लोबल नेपाली आवाज । प्रकारान्तरले त्यो आवाज पनि नेपाल नै हो तर भूगोलको हैन, त्यो ‘भर्चुअल’ छ, मन-मनमा छ । त्यसैले व्यापक छ । त्यहाँ सिमानाका संकीर्णताहरू छैनन् । हो, त्यही भावनाको नेपाल नेपालमा मात्र छैन; भुटानमा छ, भारतमा छ, बर्मामा छ, थाइल्याण्डमा छ, फिजीमा छ, मलेशियामा छ । अहिले अमेरिका, अस्ट्रेलिया, युरोप सबैतिर छ ।
अमेरिकावासी नेपालीहरूको घरघरमा नेपालको झण्डा देख्दा तपाईलाई जेजस्तो भावना आउँछ नि, त्यो भावनामा समेत त्यही भर्चुअल नेपालका तालतरङ्गहरू छन् । यताका भुटानी पसलहरूमा नेपाली चाडपर्वलाई चाहिने सामानहरूको ओइरो देख्नुभएको छ ? ती सामान आवश्यकताका चीजबीज मात्र हैनन्, ती त बिम्बहरू हुन् । गुन्द्रुक-मस्यौरासमेत भर्चुअल नेपालका बिम्ब बन्दा रहेछन् । मस्यौराका पोकाहरूमा समेत भाषा दौडिंदोरहेछ । तिहार आसपास पसलहरूमा अचानक आइपुग्ने मखमली मालाहरू सँगसँगै नेपाली संस्कृति चलायमान हुँदोरहेछ । थिम्पु (भुटान) आसपासका गाउँबस्तीमा जोङ्खामा देउसी गाउने ङालोप-सार्चोप भाइहरू हाम्रो संस्कृतिका हितैषी नै लाग्छन् जो भाषालाई हैन, भाकालाई आत्मीय ठान्छन् । प्रकारान्तरले त्यो भाकामा समेत नेपाल छ-भर्चुअल नेपाल ।
हो, माटो आत्मीय हुन्छ । जन्मथलो त झन् आराध्य नहुने कुरै भएन । तर, जन्मेको माटो मात्रै आफ्नो हुँदैन । टेकेको, भेटेको, कमाएको माटो पनि आफ्नै हो । खोजेको, जुटाएको, पर्गेलेको, फैलाएको चेतना पनि आफ्नै हो । सिद्धार्थ गौतम शाक्य गणराज्यलाई सुम्सुम्याएर सिंहासनमै बसिरहेका भए उनले भेट्थे होला त त्यो युगीन चेतना ? उनी परदेश नहिँडेका भए मिल्थ्यो होला त त्यो उद्वोधन, त्यो बुद्धत्व ? उनले खुट्टा तन्काए । जहाँ टेके, त्यो ठाउँलाई स्नेहले आफ्नो बनाए । त्यतिखेर यातायात सहज हुन्थ्यो भने उनी भारत नाघेर पश्चिम-एशिया, युरोपतिर पस्न सक्थे र अहिले नेपाल-भारतले बुद्ध हाम्रा हुन् भनेजस्तै पश्चिमी देशहरूले ‘बुद्ध हाम्रा पनि हुन्, हामी सबैका निधि हुन्’ भन्न सक्थे ।
अल्वर्ट आइन्स्टाइन जर्मनीमै बसेका भए थुनिन्थे, निष्क्रिय बनाइन्थे वा मारिन्थे । उनी अमेरिका आए । आफूलाई अमेरिकी बनाए । भारतले बुद्ध वा तेन्जिङ नोर्गे हाम्रा हुन् भनेजस्तै अमेरिकाले साधिकार आइन्स्टाइन हाम्रा हुन् भन्न पायो । भोलि कुनै नेपाली वैज्ञानिकले अमेरिका बस्दाबस्दै नोबेल पुरस्कार पायो भने त्यसमा नेपालका नेपालीलाई जति गर्व लाग्छ, अमेरिकीहरूलाई पनि उत्तिकै लाग्छ । अमेरिकीहरूले अधिकारपूर्वक हाम्रो विचारक भन्छन् । त्यतिखेर वा उसको कुनै उन्नयनको बेला अमेरिकाले हाम्रो वैज्ञानिक भनेर गर्व गरिरहँदा काठमाडौँका गल्लीहरूमा ‘ऊ नेपाली हो, हाम्रो मात्रै हो’ भनेर जुलुस निकाल्नुको कुनै तुक हुँदैन । जसरी मेरिल्यान्डका विधायक ह्यारी भण्डारी नेपाली हुन् -जातीयताले, चेतनाले, जन्मले । उनी अमेरिकी पनि हुन् -उनको पौरखले, आर्जनले, पखेटा फैलाउन सक्ने उनको सामथ्र्यले । उनको कार्यकक्षमा नेपालको झण्डा र सगरमाथाको तस्बिर देख्नेहरूले अनुमान गर्न सक्छन् उनको नेपालप्रतिको ममत्व ।
म त भन्छु, ह्यारीले मेरिल्यान्डभरि नेपाल फैलाइरहेका छन्, नेपाली चिनारी फैलाइरहेका छन् । नेपाली आप्रवासी र अमेरिकी राज्यसंयन्त्रबीचको सम्बन्धसेतु बनिरहेका छन् उनी । अमेरिकावासी नेपाली युवाहरूका निम्ति प्रेरणास्रोत । भोलि अरु ह्यारीहरू पनि थपिदै जान्छन् । र, उनीहरू अनेक वर्ण, अनेक जाति, अनेक भाषा, अनेक संस्कृतिको नयाँ अमेरिकाका निम्ति आधार बन्नेछन् । उनीहरू सँगसँगै झाङ्गिनेछ नेपाली पहिचान । हामीलाई ‘भगौडा’, ‘भूतपूर्व’ भन्नेहरूले विदेश घुम्न आउँदा जब यता घरघरमा वा टोलटोलमा स-सानो नेपाल देख्छन् नि, त्यतिखेर उनीहरूलाई पक्कै ग्लानि हुनेछ ।
आखिर यो युग नै बसाइसराइको हो । कर्याङकुरुङको हूल जस्तै हो मान्छे । कतै गर्मी भयो भने शीतलता खोज्छ । कतै चिसो भयो भने गर्मीतिर निर्बन्ध उड्न रुचाउँछ । घुम्न चाहन्छ । साँधसिमानाहरू सबै कृत्रिम हुन्, मान्छेले आफ्नै सुविधाका लागि बनाएका । के सयडेढसय वर्षअघि अहिलेका देश यस्तै आकार, यस्तै सिमानामा थिए ? पक्कै थिएनन् । देश जोडिन्छन्, टुक्रिन्छन् । तर, मान्छेको गति रोकिदैन । भाषा, संस्कृति र वर्ण त्यो गतिका बाधक बन्दैनन् । कुनै सीमाभित्रको सम्पत्ति हुँदैन भाषा । साहित्य त झन् निर्बन्ध हुन्छ । संस्कृति चलायमान हुन्छ । सय-डेढसय वर्षअघिका विधिविधान, संस्कारका कुरा हुबहु लागू गर्न खोज्नु समय नचिन्नु हो, मूढता हो । गुगल र युट्युब शिक्षक हुने जमानामा गुरुकुलको पठनशैली खोज्नु तर्कसंगत हुन्छ र ?
कुनै प्रतिभाशाली नेपालीले नासामा गर्ने प्रयोग र परीक्षण नेपालका प्रयोगशालाहरूमा सम्भव छैन भने उसलाई नेपालमै किन रोक्ने ? क्यानडाको मन्त्रिमण्डलमा उभिने क्षमता र सम्भावना भएको नेपालीलाई नेपालमै बस्, त्यहीँका नेताको गुलामी गर् भनेर रोक्नुको औचित्य हुँदैन । अवसर पाउनासाथ उसले क्यानडाबाटै नेपाल चिनाउँछ । नासावाला नेपाली प्रतिभाले अमेरिकालाई मात्र हैन, नेपाल र सारा विश्वलाई फाइदा पुग्ने प्रयोग, परीक्षणहरू गर्छ ।
नृपेश उप्रेती यूके बसीबसी सुमधुर नेपाली गीत बनाउन सक्छन् भने, श्रीभक्त खनाल युरोपतिरैबाट नेपालबारेका अनुसन्धानात्मक कृति निकाल्न सक्छन् भने, गणेश घिमिरे पर्थ-अस्ट्रेलियाबाट हप्तैपिच्छे नेपाली साहित्यका अनेकौँ याम-आयामको चिन्ता र चिन्तन गर्न सक्छन् भने, हेमन्त गिरी जापानबाट दिनहुँ चोटिला कविता कोरल्न सक्छन् भने, हिक्मत थापा लागोस-नाइजेरियाबाट संसारभरिकै नेपाली साहित्यप्रेमीहरूमा हुट्हुटी थप्न सक्छन् भने, मोदनाथ खनाल एडमण्टन(अल्बर्टा)-क्यानडाबाट बसाइँसराइ, पूर्वीय दर्शन र नेपाली चेतनाको चिरफार गर्न सक्छन् भने, प्रगति घिमिरे फ्लोरिडा-अमेरिकाबाट नेपाली मुद्दाहरूमाथिका विचार-बहसहरूको संयोजन, अगुवाई गर्न सक्छिन् भने हामीले शानसँग ‘भर्चुअल नेपाल’ को वकालत गर्न सक्छौँ ।
संसार नाप्ने खुट्टाहरूलाई अरु हौस्याउन सक्छौँ । आखिर हिँड्नेले नै हो संसार देख्ने, आँट्नेले नै हो संसार भोग्ने । हिँड्ने पैताला र हिम्मत दुबैलाई सलाम ! र, ती पैतालामा नेपाल बोकिहिँड्नेहरूलाई अभिनन्दन ! बुद्धलाई सलाम, जसले घर छोड्ने हिम्मत गरे । बलबाहु अरनिकोलाई सलाम ! भृकुटीलाई सलाम ! जङ्गबहादुरलाई सलाम, जसले युरोप टेके र त्यहाँको कारिगरीलाई नेपाल भित्र्याए । जन्मभूमि भारत र कलाकर्मभूमि फ्रान्स त्याग्न सक्ने लैनसिंह बाङ्देललाई सलाम ! अम्बर गुरुङ, गोपाल योञ्जनलाई सलाम ! तुलसी घिमीरेलाई सलाम ! नेपालबाट बाहिर जानेलाई सलाम ! बाहिरबाट नेपाल आउनेलाई सलाम ! त्यो चलायमान नेपाली चेतनालाई सलाम !
बलभद्र कुँवर लाहोर नगएका भए भारतका हिमाचल, उत्तराञ्चलतिर नेपाली भाषा, नेपाली चेतना यति छ्याप्छ्याप्ती हुने थिएन । कृष्णप्रसाद कोइरालाले विद्रोह नगरेका भए, राणाको गुलामी गर्दै पूर्वी तराईमै बसेका भए बीपी कोइराला र उनका दाइभाइहरू विराटनगरकै कुनै व्यापारमण्डीमा थन्किने थिए । अन्य नेपालीहरू पनि थातथलोमै थन्किएका भए भारतको संसद् भवनअगाडि दुर्गा मल्लको सालिक हुने थिएन, शुकबहादुर राईले बर्मेली वीरताको सर्वोच्च सम्मान पाउने थिएनन् । नेपालीहरू भारत, बर्मातिरका स्वतन्त्रतासेनानी हुने थिएनन् । न मलेशिया वा फिजीतिर नेपाली गाउँ भेटिन्थे, न असम-मेघालयतिर नेपाली भाषासाहित्यको उर्लदो उभार भेटिन्थ्यो ।
यताका स्थानीय अस्पताल र सरकारी कार्यालयहरूमा बहुभाषी सूचना र पर्चाहरू भेटिन्छन्, बीचतिर नेपाली अक्षरहरू पनि हुन्छन् । गर्व लाग्छ । यहाँ नेपाली नआएका भए, नबसेका भए कसरी आउँथ्यो नेपाली भाषाको सूचना ? म ती सूचना, ती पर्चाहरूमा पनि बिस्तारित नेपाल देख्छु । यता नजिकै छन् डगलस-केटलिन हल दम्पती । नेपाल बसेका, नेपाल बुझेका र नेपाली भनेपछि मरिहत्ते गर्ने उनीहरू यताका नेपालीहरूकहाँ पुग्नासाथ दालभात खान रुचाउँछन् ।
त्यो पनि हातैले मुछेर नेपाली शैलीमा । पिसकोर्प अन्तर्गत नेपालका गाउँगाउँ घुमेको, दरबार हाइस्कुल र आनन्दकुटीमा विज्ञान र गणित पढाएको सम्झिरहन्छन् डग्लस । र, यता आइपुगेका नेपाली मूलका भुटानीहरूलाई गाह्रोसाह्रो पर्ला कि भनेर सोधिरहन्छन्, कुदिरहन्छन् । उनले नेपाली-अङ्ग्रेजी-नेपाली डिक्सनरी प्रोजेक्ट चलाएका छन्, ‘अमेरिकामा बसोबास’ सहयोगी पुस्तकको सहलेखन गरेका छन् । नेपालीभाषी भन्नासाथ भुतुक्कै हुन्छन् उनी । र, उत्तिकै मन खोलेर साथ दिन्छिन् केटलिन । नेपालीपनप्रतिको उनीहरूको सद्भाव हो त्यो । हल दम्पतीले त्यही ‘भर्चुअल नेपाल’सँग आफ्नो आत्मीयता, सामीप्य देखाइरहेका छन् । केहीअघि एक शुभेच्छुले भने, ‘विदेश बसेर उताको प्रशस्ति गाउँदै नलेख न यार । मेरो भाइले खुट्टा उचाल्न थाल्यो ।’
मैले भनेँ, ‘नरोक्नुस् उचालिएका खुट्टा । खुट्टाले जति दुःख पाउँछ नि, जीवन उति गतिशील हुन्छ । सकेसम्म हिँड्नुपर्छ । घुम्नुपर्छ विश्व । बसाइसराइ चक्र त हो । अहिले विदेशिने लहर होला । कुनै बेला नेपाल फर्किने लहर लाग्न सक्छ । जाँदा पनि उत्तिकै खुसीले बिदाइ गर्नुपर्छ । फर्किंदा पनि उत्तिकै हार्दिकताले स्वागत गर्नुपर्छ ।’ नागरिकता त एउटा औजार मात्रै हो । त्यो त तारतम्य मिलाएर जहाँ बस्यो, त्यहीँ पाइन्छ । एउटा निस्सा मात्रै हो त्यो । नागरिकता हुँदैमा नेपाली बनिन्न । र, त्यो नहुँदैमा अनेपाली हुने होइन । लीलबहादुर क्षत्री, ठाकुरप्रसाद गुरागाइँ, शान्ति ठटाल, पवन चाम्लिङहरूलाई कस्ले भन्छ अनेपाली ? मेरो ठम्याइमा माइकल हट, विलियम वर्क पनि नेपाली हुन् । उनीहरूले भाषामार्फत् नेपाली चेतना सुम्सुम्याए । नेपाली भाषा, चेतनालाई सुम्सुम्याउने सबै नेपाली हुन् ।
राष्ट्रवादको दम्भ बोकेर दिनदिनै देश भत्काउने, निमोठ्ने, निचोर्नेहरू नागरिकताको खास्टो ओढे पनि नेपाली हैनन्, किर्ना मात्रै हुन् । बरु, संसारको जुनसुकै कुनामा बसे पनि बिहानबेलुकै नेपाल सम्झिनेहरू, नेपाली संस्कृति सम्झिनेहरू पक्का नेपाली हुन् । उनीहरूको खुट्टाले भूगोलको नेपाल टेकिरहेको छैन त के भयो ? मन-मनमा नेपाल छ । हो, त्यही हो ‘भर्चुअल नेपाल’, मनमनको नेपाल । त्यसरी मनमनमा नेपाल बोक्नेहरू एक ठाउँमा थलिनैपर्छ भन्ने छैन । उनीहरू घुमिरहन स्वतन्त्र छन् । घुम्नु, बाहिरिनु पनि एउटा खोजी हो, अन्वेषण हो, गवेषण हो । डा. अभि सुवेदीले भनेझैँ एउटा महाभिनिष्क्रमण हो । जो घुम्छन्, नेपाली पहिचान बोकेरै घुमिरहन्छन् ।
आखिर यो युग नै विश्वव्यापीकरणको हो । यहाँ सबै कुरा अन्तर्सम्बन्धित हुन्छन् । त्यसको विरोध गर्ने, राष्ट्रिय सर्वोच्चताको चर्को वकालत गर्नेहरू या त ढोँगी हुन् या अज्ञानी । यस्ता ढोँगीहरू पनि कहिलेकाहीँ ‘हिरो’ देखिएलान् तर समयले तिनलाई ‘जिरो’ बनाउँछ । विश्वब्रह्माण्डलाई घर ठान्नेहरू, सीमाभित्र-बाहिर सबैसबैलाई आफन्त मान्नेहरूले संसारमा जहाँ टेकेपछि प्रेम भेट्छन् । नेपालीहरूको चलायमान गतिलाई म त्यस्तै प्रेमको खोजी भन्छु ।
फेरि पनि भन्छु-हिँड्नेले नै हो संसार देख्ने । आँट्नेले नै हो संसार भोग्ने । जहाँ टेकिन्छ, त्यो आफ्नै भूमि हो, आफ्नै आर्जन । अलि ठूलो मन बनाउने हो भने त्यहाँ कुनै एउटा देश हुँदैन, कुनै परदेश पनि हुँदैन । संसार कसैको एकलौटी बिर्ता हैन । म आज यहाँ छु, भोलि अर्कै देशमा हुनसक्छु । नेपाली बोल्दै, नेपाली लेख्दै, नेपाली गाउँदै म संसार घुम्न पाउँछु भने मैले किन मुठार्नु मेरो पखेटा ?
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया