विचार

‘विद्या’लय मर्दैछ ! मरोस्

दिवाकर उप्रेती |
फागुन २८, २०७७ शुक्रबार ९:४३ बजे

‘शिक्षा सबैभन्दा शक्तिशाली हतियार हो, जुन तपाईं विश्व परिवर्तन गर्न प्रयोग गर्न सक्नुहुनेछ ।’ नेल्सन मन्डेला । माथिको वाक्य हरेक विद्यालयका भवन र कक्षाकोठामा लेखिएको हुन्छ । प्रायः निजी विद्यालयमा त हुन्छ नै । तर, विद्यालयमा लेखिएका यी शब्द र वाक्य न कहिले बुझिए, न त बुझाउने चेष्टा नै गरियो ।

प्रार्थना गर्दा होस् वा राष्ट्रियगान गाउँदा, विद्यार्थीलाई अनुशासनको परीक्षा लिइन्थ्यो र एक एक गरी स्पिचको नाउँमा रटाउन र रट्न अभिप्रेरित गरिन्थ्यो । सायद त्यसकै नतिजा हो फरर अंग्रेजी बोल्दा कडा लाग्‍ने विद्यार्थीलाई आजको परिवेशबारे थाहा छैन । चाहे त्यो राजनीति होस्, आर्थिक होस् वा संस्कृति होस् ।


उसलाई यति जरुर थाहा छ । उसले पढेको शिक्षाले ठूलो मान्छे बनाउँछ । तर कस्तो ठूलो ? अग्लाइमा ठूलो कि योजनामा ठूलो कि सोचाइमा ठूलो कि भौतिक रूपमा ठूलो कि सामाजिक रूपमा ठूलो ? ठूलो मान्छेको आकृतिमा यी विद्यालयमा पढाउने पाठ्यक्रमले हट्टाकट्टा र कालो सुटबुट लगाउनेलाई ठूलो भनेर विदेशी पोसाकलाई नयाँ उपनाम दिएर ‘शैक्षिक प्रोटागोनिस्ट’ बनाएको छ । 

आज त्यस्तै एउटा प्रोटागोनिस्ट म तपाईंलाई बनाउँदै छु । यो कथाको प्रोटागोनिस्ट तपाईं हुनुहुन्छ तर ख्याल गर्नुहोला, प्रोटागोनिस्टको शाब्दिक अर्थ भने नायक हो । अर्थात् तपाईं नायक हुनुहुन्छ र एउटा निहत्था विद्यार्थीहरू माझ उनीहरूका भोगाइ र शैक्षिक बुझाइ मापन गर्नुहुनेछ । तपाईं आजका लागि एउटा विद्यार्थी हुनुहुन्छ । कालान्तरमा भोगाइ मिलेमा तपाईं आफ्नो बाल्यकालसमेत सम्झन सक्नुहुनेछ ।

अब बस् एउटा कलम, कापी समात्नुस् र आफूलाई विद्यालयको ड्रेसमा तयार रहेको मानचित्र बनाउनुस् । आउनुस्, आज म तपाईंलाई निजी विद्यालय पठाउनेछु । तयार हुनुहुन्छ ? प्राइभेट : निजी विद्यालय ! 
तपाईं निजी विद्यालय प्रवेशद्वारमा हुनुहुन्छ । विद्यालयको मेन गेट पस्‍नुअघि तपाईं आफ्ना ड्रेस, कपाल, हातका नङ र टिलिक्क टल्कने जुत्ता छ कि नाइँ हेर्नुस् । यदि तीमध्ये केही पनि गडबडी भए तपाईं तातो धाममा अरु साथीभन्दा फरक लाइनमा बस्‍नुपर्ने हुन्छ र सरको पनिसमेन्ट स्वीकार्नुपर्ने हुन्छ । ध्यान रहोस्, तपाईंले नेपाली उच्चारण गर्न पाउनुहुने छैन र कथम्-कदाचित उच्चारण गर्नु परिहाल्यो भने पनि तपाईंले सानो स्वरमा साथीसँग कुरा गर्नुहोला ।

अन्यथा तपाईंले पाँच सय रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने हुन्छ । यो जरिवाना तपाईंको अंग्रेजी सुधार्न भनी लिइएको हो । अन्यथा नसोच्नुस् है । आउनुस् अब कक्षा कोठाभित्रै प्रवेश गरौँ । तपाईं आफ्नै सिटमा बस्‍नुहोला । तपाईंको शिक्षक आएर तपाईंको हाजिरी उठाउनु हुनेछ । बस्, यसलाई एटेनडेन्स भनिन्छ । प्रेजेन्ट भनेर क्रान्तिको बिगुल फुक्नुहोला ।

शिक्षामा भइरहेको व्यापारीकरणविरुद्ध अब सडक तताउनै पर्छ । विद्यार्थीहरू बोल्नैपर्छ ।

कक्षामा सामाजिक शिक्षा अर्थात् सोसल स्टडिज विषय शिक्षकले बोर्डमा लेख्दै पढाउनु हुनेछ । बस्, तपाईंले पाना पल्टाउँदै जस्ताको त्यस्तै सार्नुपर्ने छ । कुनै पनि बहानामा सार्नु भएन भने तपाईंले शिक्षकको पनिसमेन्ट स्वीकार्नुपर्ने हुन्छ । उहाँले तपाईंलाई कक्षाबाट पनि निकाल्न सक्नुहुन्छ । हुइथ क्याचिङ इयर ! त्यो अफेन्स तपाईं खेप्न सक्नुहुन्‍न । कोही पनि खेप्न सक्दैन्‍न । त्यसैले तपाईं जोगिँदै आफ्ना कापीका पाना भर्नुहोस् । भरिसकेपछि तपाईंलाई याद गरेर आउनू भन्‍नु हुनेछ । तपाईंले पनि त्यस्तै गर्नुपर्ने हुन्छ । अब तपाईंले घन्टी नबजुन्जेल आफ्ना कापीमा सारिएका छुवाछूत र बालश्रमबारे रट्नुपर्ने हुन्छ । तपाईंलाई शिक्षकले के हो छुवाछुत भनेर सोधेको खण्डमा तपाईंले रटेका उत्तर दिए शिक्षक मख्ख अनि शिक्षकको प्रशंसाबाट तपाईं मख्ख ।

त्यसो भए तपाईंले प्रारम्भिक रूपमा छुवाछूत र बालश्रम भन्या के बुझ्नुभयो ? आलु ! हो ! तपाईंले आलु अर्थात् शून्य बुझ्नुभयो । तर तपाईंलाई शिक्षकले समाजमा जीवितै रहेको छुवाछूत अन्त्यका लागि तपाईं हामीले कसरी प्रयास गर्ने, समाजमा उपल्लो तप्काले कसरी छुवाछूत गरिरहेका छन् ? भन्‍ने विषय चैँ कहिल्यै पनि सिकाएका छैनन् । किनकि तिनै प्रिन्सिपलको घरमा छुवाछूत र बालश्रम छ । 

त्यसैले तपाईं के गर्नुस् भने शिक्षकलाई प्रश्न गर्नुस् । सुन्‍नुस ! प्रश्न शालीन र गम्भीर ढंगले गर्नुहोला । सहजै तपाईंलाई शिक्षकले कि त हप्काउनेछन् कि त तपाईंको प्रश्नमा सामान्य उत्तर राख्नेछन् । त्यसो भए तपाईंले कक्षामा के सिक्नुभयो त ? ल ठीकै छ ! मान्‍नुस् तपाईंलाई सामाजिक मुद्दाबारे अवगत रहेको हुनाले त्यसलाई तपाईंले सामान्य अर्थमा व्याख्या गर्दै लेख्नु र बुझ्नु पनि भयो ।

तर त्यसै किताबको सुशासन÷सूचनाको हकबारे शिक्षकले तपाईंलाई त्यसका न्यूनतम मापदण्ड के हुन्, त्यसको आवश्यकता, कस्तो बेलामा कुन ठाउँमा प्रयोग गर्ने भन्‍ने कुरा कहिल्यै सिकाउँदैनन् र सिकाउने चेष्टा पनि गर्दैनन् । बाहेक उक्त पाठको नोट । ‘इट मिन्स’, आम अभिभावकलाई शिक्षकले त्यो पनि रटान शिक्षाको नाममा बलजफ्ती पैसा असुली गर्दै छन् । त्यस्तो किन त भन्‍ने प्रश्न तपाईंले आफैँलाई गर्नुस् त ? उत्तर पनि भेट्नु हुनेछ । 

किनकि तपाईंका विद्यालयका शिक्षक कुनै विषयमा योग्य नभई आफूले पढेको थोरबहुत ज्ञानको प्रयोगमा तपाईं हाम्रो भविष्यसँग खेलबाड गर्दैछन् । यसो सम्झिनुहोस् । तपाईंका घर नजिक कति विद्यालय छन् ? कस्ता विद्यालय छन् ? तपाईंले हरेक पाँच/दश घरपछि निजी विद्यालय नै भेट्नु हुनेछ । त्यस्तो किन थाहा छ ? किनकि अहिले शिक्षाको नाममा अभिभावक जस्तोसुकै कठिनाइ भोगेर भए तापनि निजीलाई नै प्राथमिकता दिने गरेका छन् । जसको फाइदा व्यावसायिक रूपमा खुलेका निजी विद्यालयले क्याप्चर गरेका छन् । तपाईं हाम्रो मस्तिष्कमा निजीले रिजल्ट राम्रो र विद्यार्थीलाई अनुशासित बनाउने ठेक्का जो लिएको छ । जुन असम्भव हो र औचित्यहीन हो ।

किनकि तिनै प्रिन्सिपलको घरमा छुवाछूत र बालश्रम छ ।

अन्ततः निजी विद्यालयले यस्तो प्रोडक्ट निकाल्दै छ । जुन व्यवसायी बजारमा सीमित रूपमा बेचिन्छन् । जस्तैः तपाईंले विद्यालयलाई फ्याक्ट्री मान्‍नुस र ती फ्याक्ट्रीको कामदार शिक्षक । अब म्यानुफ्याक्चर प्रोसेसमा, तपाईंलाई रटाइने सिकाइने र घोकाइने सबै कुरा (रअ) वस्तु हुन् । जसको म्यानुफ्याक्चर डेट र आकर्षक प्याकेटमा फाइन फिनिसिङले मार्केट तताउने निश्चित छ ।

त्यो हो, मार्कसिट । तत्पश्चात् तपाईं जस्तै सबै यो मार्केटमा प्रोडक्टको रूपमा बार्गेनिङ हुन्छ र जसको मोल सस्तो र टिकाउ, उसले नै मार्नेछ बाजी । अर्थात् शिक्षा व्यावहारिकभन्दा सैद्धान्तिक छ । जसको फलस्वरूप व्यावहारिक विद्यार्थी जति हतोत्साहित हुनुपर्छ भने सैद्धान्तिक विद्यार्थी यो मार्केटमा बिक्छन् । यस्तो किन हुन्छ भन्‍ने लागेमा यसलाई यसरी बुझ्दा पनि हुन्छ । तपाईंले सिकेको व्यावहारिक शिक्षाले तपाईंलाई हेप्न र गिराउन सक्दैन र तपाईं अन्यायपूर्ण र आत्मघाती कदमबारे आवाज उठाउनु हुन्छ । जुन यो मार्केटमा तपाईंलाई स्वीकार्न गाह्रो छ ।

हो, यो परिघटनामा तपाईं प्रोटागोनिस्टको रूपमा मात्र सीमित हुनुहुन्‍न । वास्तवमा तपाईं हाम्रो शैक्षिक प्रणालीलाई कसरी व्यापारिक दृष्टिले वस्तु बनाइँदै छ भन्‍ने सापेक्ष उदाहारण मात्र हो । त्यसैले शिक्षामाथिको खल्लो व्यापारीकरणविरुद्ध अब सडक तताउनै पर्छ । विद्यार्थीहरूले बोल्नैपर्छ ।


Author

थप समाचार
x