सरकार ! भोकले मर्ने सूर्यबहादुरहरू बढे इज्जत जोगिने हो ?
काठमाडौं महानगरपालिका भर्खरै ब्युँझेछ । जीवन निर्वाहमा कठिनाइ हुनेले एक थाल भात के खाएका थिए, महानगरको निद्रा खुल्यो । महानगरभित्र उसको खासै इज्जत छैन भनेर उसले अहिले हैन वर्षौं अघि बुझ्नुपर्थ्यो । जब पछिल्लो चुनाव भयो र नयाँ नेतृत्व सत्तामा आयो महानगरको इज्जत झन्झन् धरापमा पर्न थाल्यो । यो कुरा पंक्तिकारको मिथ्या आरोप वा निराधार चिया गफ हैन ।
एकान्तबासमा रहँदा महानगर प्रमुख स्वयंले गम खानुभयो होला कि जे भनेर चुनाव जितेको थियो त्यो त गरेकै छैन । देशको केन्द्रीय सत्ता, कर्मचारीतन्त्र र महानगर आफैँले निम्त्याएका क्रिया र त्यसको प्रतिक्रिया दुवैबाट यो महानगरको बेइज्जत भइरहकै छ ।
खुलामञ्चमा भोकाहरूले खान पाएको दृश्य हेरेर आफ्नो इज्जत गएको देख्नु महानगरको दृष्टिदोष मात्र हैन । त्यो हाम्रो महानगरको भावी चित्र पनि हो । त्यहाँका कुर्सीमा विराजमान जनप्रतिनिधि र कर्मचारीको समाजवादतर्फको लम्काइ पनि हो । महामारीमा भोकाले खान पाए । जीवन निर्वाह गर्न कठिन हुनेले दुई गाँस मीठोले पेट भरे । आफूसँग केही र आफ्ना कोही नभएकामा केही दिन बढी बाँच्ने हिम्मत बढ्यो पनि होला । यस्तो देख्दा महानगर प्रमुखलाइ खुसी लाग्नुपर्ने हो ।
आफ्नो काम अरुले सहज बनाइदिएकामा खान दिनेलाई स्याबासी दिनुपर्थ्यो । नागरिकको होस्टेमा उसको सरकार हैँसे गर्न आउनुपर्थ्यो । तर जे सुनियो र पढियो सबै कुरा छर्लङ्गै थियो । महानगर हाँक्नेहरूले इज्जत र बेइज्जतको भेद थाहा पाउँथे भने महामारीले गाँस खोसेकाहरूको थालमा उनीहरूले नै दालभात राखिरहेका दृश्य हेर्न पाइन्थ्यो । हाँसो लुटिएका अनुहारबाट आँसुु पुछिइरहेको देख्न सकिन्थ्यो । कोसौँ परदेशका बाराक ओबामाले मतदातालाई फोन गरेको भिडियो हेरेर मुटु फुलाउँदै हाम्रो पनि यस्तै नेता भइदिए हुन्थ्यो भन्दै महानगरवासीले सामाजिक सञ्जाल रंग्याउनुपर्ने थिएन । कीर्तिपुरको सडकमा जस्तै खान नपाएर मर्न बाध्य सूर्यबहादुरहरू काठमाडौँको टुँडिखेल वा वसन्तपुरतिर ढलेका भए महानगरको इज्जत जोगिन्थ्यो कि ?
महानगरलाई वर्षौंदेखि बेइज्जत गराइरहेका कैयौँ कारणहरूको गहिराइमा पुगी तीनको निराकरण गर्न ढिलो भइसक्यो । महानगरको ध्यान भोकाहरूका गाँस खोस्न नभै त्यस्ता विषयमा जानुपर्थ्यो, जुन कुराले महानगरको बेइज्जत भइरहेको छ ।
समाचारमा पढिन्छ÷देखिन्छ÷सुनिन्छ अन्य देशका नगरप्रमुखहरू महासंकटलाई काम गर्ने अवसर ठान्छन् । महामारीले आफूलाई अति नै प्रभावित नगरेसम्म अहोरात्र काम गर्छन् । जनताको सेवामा खट्छन् । हाम्रा महानगर प्रमुख त महामारीको बेलामा कता थिए, पत्तै पाउन मुस्किल थियो । एकाएक समाचारबाट थाहा भयो, सामान्य लक्षण देखिनेबित्तिकै उनी पाँचतारे होटलको महँगो एकान्तबास भेटिए ।
कोभिड महामारीको रापले नागरिकहरू उपचार नपाएर अस्पताल अस्पताल भाँैतारिइरहँदा महानगर प्रमुखको सोल्टी होटलको आरामदायी एकान्तबास सर्वत्र आलोचनाको विषय भयो तर महानगरको इज्जत गएन । अस्पतालमा उपचारको पालो पर्खिरहेका बिरामीका लामालामा लाइनले महानगरको बेइज्जत हुने कुरै भएन । महँगो उपचार खर्च धान्न नसकेर लास उठाउन नपाएका परिवार र आफन्तका रोदनले महानगरलाई कहिल्यै लाज भएन ।
सुनिन्थ्यो, काठमाडौँ महानगर देशको राजधानी भएकाले शक्ति र समृद्धिको उदाहरण पनि हो । ठूला मान्छे हिँड्ने हुनाले यहाँका सडक फराकिला र चिल्ला हुन्छन् । किनकि ती शासकले कोरेको मार्गरेखामा समृद्धिका सूचक हुन् । तर यहाँ भर्खरै पिच गरेको, सफा, फराकिलो र चिल्लो सडक त देख्नै हुन्न । राज्यकै कुनै न कुनै निकाय सडकमा खाल्डो खन्न अघि सरिहाल्छन् । खनेको खाल्डो महिनौँसम्म पुरिन्न । पुरिइहालेमा झारा टारिन्छ ।
बटुवाका खुट्टादेखि सवारीका चक्का तीनै खाल्डामा अल्झिन्छन्, पछारिन्छन्, थचारिन्छन् र ठूलै दुर्घटनाको साक्षी हुन्छन् । तर जनतासँग सडक र सवारी कर लिने महानगरलाई टुटेफुटेका सडक र सडकका खाल्डाखुल्डीले बेइजत गर्यो भनेको आजसम्म सुन्नुभएको छ ? सडक, खानेपानी र बिजुली बाँड्ने राज्यका तीन निकायबीच समन्वय नहुँदा नागरिकले झेल्ने भुक्तमान महानगरको चासोको विषय पनि त हैन नि । हो र ? यदि हुन्थ्यो भने महानगरले लाज मान्थ्यो नि ।
हरेक वर्ष असारको आसपास यहाँ नबन्नुपर्ने ठाउँमा पनि सडक बन्न थाल्छन् । कालोपत्रे गरिएको राम्रै सडकमाथि फेरि अर्को पत्र थपिन्छ । सवारी साधन र बटुवा दुवैलाई सजिलो हुने गरी बनाइनुपर्ने सडकमा सँगसँगै के पनि गरिन्छ भने ठाउँ–ठाउँमा अग्लो पारेर बीच बाटोमा ढलको मंगाल राखिन्छ । ती अग्ला स्थानमा कुनै संकेत राखिन्न । ढकन खुल्ला राखिएका तीनै मंगालमा परेर साइकलयात्रीको ज्यान जाँदासमेत महानगरको इज्जत टसको मस हुँदैन ।
प्रदूषणरहित हरियाली सहरलाई प्रतिष्ठाको प्रतीक मानिन्छ । विद्युतीय सवारी, साइकल र बटुवामैत्री सडक, पर्याप्त खुला स्थान र खेल्ने ठाउँ हरित सहरका प्रतिनिधि सूचक हुन् । यिनले महानगरको गरिमा बढाउँछन् । सहरले इज्जत कमाउने यस्ता कार्यको प्रवर्धन गरेर पनि हो । तर हामीकहाँ यस्ता कुरामा महानगरले कमै चासो दिएको छ । उल्टो भएका खुला ठाउँ मास्ने, कंक्रिटका ठूलठूला भवन बनाउने र अतिक्रमण टुलुटुलु हेरिबस्ने गरेको देखिन्छ । भोकाहरूले अहिले भात खान पाइरहेको खुलामञ्च आफैँ अतिक्रमणको चपेटामा छ । इज्जत त तब हुन्थ्यो, जब महानगर आफैँ विशाल टुँडिखेललाई अतिक्रमण मुक्त बनाउन अहोरात्र लाग्थ्यो ।
हाम्रा महानगर प्रमुख त महामारीको बेलामा कता थिए, पत्तै पाउन मुस्किल थियो । एकाएक समाचारबाट थाहा भयो, सामान्य लक्षण देखिनेबित्तिकै उनी पाँचतारे होटलको महँगो एकान्तबास भेटिए ।
महानगरबासीले अहिलेसम्म यहाँका प्रमुखको शिलस्वभाव थाहा पाउन सकेका छैनन् । उनले गरेका राम्रा काम देख्न पाएका छैनन् । चुनावका बेला गर्छु भनेका काम नगरेर उनी असफल नै भइसकेका छन् । यस्तो बेलामा पुरातात्विक र सांस्कृतिक दुवैमा अब्बल महानगरको सम्पदा जोगाउने अभियानको नेतृत्व गर्दा गुमेको साख जोगिन मद्दत पुग्छ । तर त्यसो गर्नु त कता हो कता अलिक अघि उनी ऐतिहासिक सम्पदा रानीपोखरी मासेर त्यहाँ स्विमिङ पुल बनाउन कस्सिए । त्यसो गर्दा उनलाई लाज भएन । जब लाजै हुन्न त इज्जत जाला भन्ने केको डर ?
देख्ने वा भोग्नेकै दोष हो कि के हो महानगरका अधिकांश खोलामा पानी हैन, फोहोरको लेदो बग्छ । खोला डुङडुङ्ती गन्हाउँछ । यहाँका वडा सदस्यदेखि महानगर प्रमुखसम्मको नाकै फरक खालको छ कि कसो ढल मिसिएको लेदो उनीहरूलाई पटक्कै गन्हाएको जस्तो लाग्दैन । गन्हाउनलाई त नाक हुनुपर्छ । लाज जोगाउनु भनेको नाक जोगाउनु पनि हो रे । नाकैमुनि गन्हाउँदा पनि गन्ध नियन्त्रणका लागि दीर्घकालीन पहल भएको थाहा छैन । सम्पूर्ण नगरबासीलाई असर गर्ने यस्ता कुराले महानगरको इज्जत नजाने भएर नै त होला यस्तो ।
रातबिरात काम गर्नेका लागि महानगरका प्रायः सडक सवारीमैत्री छैन । बटुवामैत्री हुने कुरै भएनन् । सडक बत्तीबिनाका मुख्य सडकहरूमा हुने दुर्घटनामा परेर दिनैपिच्छै कसै न कसैको ज्यान जान्छ । सडकमा बत्ती नहुँदा मर्न बाध्य नागरिकका परिवारका आँसुले महानगरलाई पोल्दैन । पोल्थ्यो भने त सडकमा झलमल्ल बत्ती राख्न कुन कति नै गाह्रो थियो र ? त्यसमाथि बिजुली फालाफाल हुने दिन आइरहेका बेलामा । शक्ति र सामर्थ्य दुवै हिसाबले यो काम महानगरले गर्न सक्छ । अझै पनि त्यसो गर्ने हो भने गुमेको इज्जत फर्काउन सकिन्छ ।
दुनियाँले भन्छन् कि काठमाडौँ संसारकै पर्यटकका लागि आकर्षक स्थान हो । प्रदूषणरहित सहरले पर्यटक आकर्षित गर्छ । झन् महामारीका बेला त सडक सफा राख्न र फोहोरमैला व्यवस्थित गर्न दैनिक बिहान र बेलुका सहर सफा राख्नुपर्छ । तर जथाभावी फालिएको फोहोरमैलाले दिनहुँ सहर दुर्गन्धित हुँदा महानगरको बेइज्जत भयो भनेर कुनै जनप्रतिनिधिले बोलेको सुन्नुभएको छ त ? अहँ त्यसमाथि जहाजबाट ओर्लेर एक पाइला हिँड्न नपाउँदै ट्याक्सीको लुटमा पर्ने पर्यटकले भोग्ने दिक्दारीले महानगरको इज्जत कहिलेसम्म बचाइराख्लान् र ?
यस्ता उदाहरण हजारौँ भेटिन्छन् जसले महानगरलाई दिनदिनै लज्जित बनाइरहेको छ । बेइज्जत भइरहेको छ । समय तिनलाई साँच्चिकै चिन्ने र काम गर्ने हो । महामारीले काम खोसिएका, आफन्त कोही नभएका, दैनिक ज्यालादारी गरेर पनि खान नपुग्ने, भाडा तिर्न नसकेर बसिरहेको डेराबाट निकालिएका, जाने ठाउँ नभएका र मगन्तेहरूले पाएको एक छाक खाना खोस्ने हैन । यस्ता कुराले महानगरको बेइज्जत गरेको भनेर कसले पत्याउला र ? बेइज्जत त तब हुनुपर्ने हो, जब तीनै मजदुर, गरिबको भोटले सत्तामा पुगेर उनीहरूको पेटमा लात हानिन्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया