विचार

‘कूटनीतिक राहदानी चोरी भएपछि...’ लेखको जवाफमा

राजाराम बर्तौला |
फागुन २९, २०७७ शनिबार १६:५१ बजे

पूर्वराजदूत मोहनकृष्ण श्रेष्ठद्वारा लिखित ‘कूटनीतिक राहदानी हराएपछि...’ शीर्षकको संस्मरण लेख अघिल्लो साता इकागजले प्रकाशित गरेपछि पढेँ । अनि, मनमा केही खसखस लाग्यो । किन चुप लागूँ भनेर लेख्‍ने जमर्को नै गरेँ । संस्मरण आलेख सरर बगेको सुरुचिपूर्ण छ । हराउनु, चोरी हुनु मानवीय कमी-कमजोरीका साधारण पक्ष हुन् तर कूटनीतिक राहदानी त्यो पनि प्रधानमन्त्रीले नेतृत्व गरेको सरकारी प्रतिनिधिमण्डलको राहदानी नै चोरी हुनु भनेको अकल्पनीय घटना हो ।
 
सोहीकारण पनि यससम्बन्धी संस्मरण लेखिएर आउँदा पाठकहरूको ध्यान विशेष रूपले आकर्षण हुन्छ नै । यस्ता लेख प्रकाशन गृहले पनि रुचिसाथ बाहिर ल्याउनु धर्म पनि हो । तर यस्ता आलेखमा घटनाका साक्षीहरूसँग पनि सोधेर तयार गरेको भए राम्रो हुने थियो र पाठकलाई न्याय हुने थियो । 

आलेखलाई आद्योपान्त पढिसकेपछि जुन घटनालाई केन्द्रविन्दुमा राखेर आलेख तयार गरिएको छ, त्यसको पात्र, प्रवृत्ति, घटना र परिवेशलाई अलि न्याय भएन कि भन्‍ने लागेकाले यो आलेख केलाउने प्रयास गरेको हुँ । हुन त पुस्तकसमेत लेखेर प्रकाशित गरिसक्नु भएका सिद्धहस्त लेखकका लेखमा समीक्षा गर्ने हैसियत त मैरो छैन । तैपनि त्यहाँ भएको यथार्थ घटना मात्र राख्‍न खोजेको हुँ ।  


हुन त म लेखक, कवि, कथाकार, नाटककार वा उपन्यासकार कुनै दर्जामा पनि पर्दिनँ । लेखन मेरो वृत्ति पनि कहिल्यै रहेन । त्यसैले समीक्षाको सैद्धान्तिक पक्षमा मेरो कुनै ज्ञान छैन । ब्रह्‍मले देखेको र चेतनाले बोल्नु भनेको कुरालाई राख्‍नेसम्मको मेसो गरेको हुँ । भावना हुने, संवेदनशील र लेखन कला पनि हुने व्यक्तिले आफ्ना भावना जुन कुनै रूपमा अभिव्यक्त गर्न सक्छ, कथा, कविता वा कहानी लेखेर । यी आत्मपरक हुन्छन्, भावप्रधान वा दर्शन अभिप्रेरित पनि हुन सक्दछन् । 

फिक्सन भन्छन्, सायद जो कुनै घटनालाई देखेर, महसुस गरेर, कल्पना गरेर लेखिन्छ । भावको अभिव्यक्ति कथ्यमा कलात्मक रूपमा प्रस्तुत गरिन्छ । भोक्ताभन्दा प्रत्यक्षदर्शी भएर, संवेदनालाई आत्मसात् गरेर लेख्छन्, कवि, कविता, कथाकार कथा, उपन्यासकार उपन्यास । तर अर्को विधा छ निबन्धको, जो अलि क्लिष्ट छ । निबन्ध, परिबन्ध, संस्मरण, यात्रा वृत्तान्त, नियात्राजस्ता लेख घटना विशेष, पात्र विशेष, विषय र विचार विषयक विवरणात्मक, विश्लेषणात्मक, संश्लेषणात्मक हुन सक्छ । त्यसैले संस्मरण लेख्दा घटनाप्रधान र पात्रप्रधान हुने गर्दछ र पात्र केन्द्रमा रहेर संवाद गर्दछ । 

‘कूटनीतिक राहदानी हराएपछि...’ भन्‍ने लेखमा घटनासँग प्रत्यक्ष सरोकार राख्‍ने प्रमुख पात्र शिष्टाचार अधिकृत राजाराम बर्तौला भन्‍ने देखियो । भनेपछि यो कथा बर्तौलाको पनि हो । पृष्ठभूमिमा अनेक व्यक्ति रहेका भए पनि ती सबै देखिजान्‍ने र सुनिजान्‍ने मात्र हुन्, प्रमुख पात्र हैनन् । यही घटनालाई लिएर ‘कूटनीतिमा तीन दशक’ नामक पुस्तकको प्रथम अध्यायमा नै प्राथमिकतासाथ उल्लेख गरेर यस संस्मरणका लेखक मोहनकृष्ण श्रेष्ठले लेख्नुभएको छ ।
 
त्यसैगरी अर्का इजिप्टका लागि नेपाली पूर्वराजदूत श्री गोपीकृष्ण दवाडीले पनि विष्णु रिजालले सम्पादन गर्नुभएको कितावमा सगर्व उल्लेख गर्नुभएको पढेको थिएँ । उहाँहरू दुवैजना दक्षिण अफ्रिकाको डरवान सहरमा आयोजना हुने असंलग्‍न आन्दोलनको एघारौँ शिखरको प्लेनरी मिटिङहरूमा सहभागिताका लागि अग्रिम रूपमा त्यसतर्फ जानुभएको हो र फर्कंदा पनि राजदूत दवाडी प्रतिनिधिमण्डलका सदस्यहरूसँग हुनुहुन्थेन । तर श्रेष्ठ भने दुबईसम्म सँगै हुनुहुन्थ्यो । उहाँ राहदानी चोरी भएको घटनाको देखिजान्‍ने साक्षी भने हो । उहाँहरू कसैको पनि राहदानी चोरिनेमा परेको थिएन । 

यसै विषय र घटनालाई लिएर हाल दिवंगत भइसक्नुभएका नेपाल टेलिभिजनका तत्कालीन महाप्रबन्धकले, जो प्रतिनिधिमण्डलका सदस्यसमेत थिए, भ्रमणबाट फर्केलगत्तै कान्तिपुर दैनिकमा लामो लेख लेख्नुभएको थियो । त्यो लेख यथार्थपरक र विवेचनायोग्य रहेको छ । घटनाको प्रत्यक्षदर्शी मात्र नभएर सोही घटनामा उहाँको हाते झोलासमेत चोरी भएको हुँदा उहाँ पनि मुख्यपात्र भएकाले यस विषयलाई आत्मसात् गर्ने, आवेग र संवेगको भोगाइ भोगेको व्यक्ति भएको हुँदा उहाँको लेखले घटनाको चोट एवं मर्मलाई समेट्न सक्षम रहेको छ । 

संस्मरण दीनहीन व्यक्तिलाई बाटोमा देखेर द्रब्रित भएर लेखेको कविता होइन, भावनामा बग्‍ने । यो त वास्तविकता हो जीवनको, जगत्को र सत्यको । 

चोरिएको राहदानीसम्बन्धी लेखमा घटना जोहानेसबर्गमा भएको भनिएको छ, जुन गलत छ । यो घटना डरवान अन्तर्राष्ट्रिय विमानस्थलको चेकइन काउन्टरमा भएको हो । राहदानी नभएका व्यक्तिहरूलाई कसरी डरवानदेखि जोहानेसबर्गसम्म उड्न दिइयो भन्‍ने विषयमा लेख अन्योलमा छ । त्यसैगरी जोहानेसबर्गमा प्रतिनिधिमण्डलका सदस्यलाई भीभीआईपी कक्षमा राखिएको कुरासम्म उल्लेख छ तर प्रधानमन्त्रीलाई प्रिटोरियामा होटलमा राखिएको कुरा खुल्दैन । फेरि हामीले यात्रा अनुमतिपत्र बनायौँ भन्‍नुभएको छ । हो, यात्रा अनुमतिपत्र बनाइएको हो तर त्यो कसरी भयो, कसले गर्‍यो लेखमा खुल्दैन । 

लेखकले प्रतिनिधिमण्डलले कतारको आधिकारिक भ्रमण गर्ने कार्यक्रम भएकाले दुबईबाट छुट्टियौँ भन्‍नुभएको छ तर त्यो भ्रमण कसरी सम्भव भयो, राहदानीबेगरको प्रतिनिधिमण्डलको सदस्यहरूलाई कसरी प्रवेश अनुमति मिल्यो भन्‍ने विषय लेखमा खुल्दैन । साथै चोरिएका राहदानी प्राप्त गरी दक्षिण अफ्रिका सरकारले कसरी उहाँको नाममा पठाएको भन्‍ने व्यहोरा पनि खुलाइएको छैन ।
 
चेकइन काउन्टरबाट राहदानी चोरिएपछि कसरी दक्षिण अफ्रिकी सम्पर्क अधिकृतले समस्यालाई डिल गरिन् र नेपालको शिष्टाचार अधिकृत र तत्कालीन शाखा अधिकृत रमेश खनाल दुईजना मिलेर असहज र अभर परेको समयमा पनि नआत्तीकन समस्यालाई हल गर्ने कोसिस गरे भन्‍ने कुरा कतै पनि खुलेको छैन । कसरी राहदानी चोरी भएको जानकारीसहित सोको खोजीका लागि अनुरोध गर्दै नेपाल सरकारको तर्फबाट दक्षिण अफ्रिकी सरकारलाई निवेदन लेखियो, त्यो विषय पनि लेखकले खुलाउन छुटाउनु भएको छ ।
  
प्रतिनिधिमण्डल कतारको आधिकारिक भ्रमणमा आइपुग्‍न ८/१० घण्टा बाँकी छँदा प्रतिनिधिमण्डलका सबै सदस्यहरूको राहदानी चोरिएको जानकारीसहित भ्रमणको तारतम्य मिलाउन साउदी अरबमा आवासीय र कतारका लागि तत्कालीन राजदूत बद्री खनाललाई कति सकस पर्‍यो होला भन्‍नेतर्फ लेखले कोट्याउनेसम्म पनि जाँगर चलाएको देखिँदैन ।  

लेखकले राहदानी चोरी भएको विषयलाई महत्वसाथ उठाए पनि प्रतिनिधिमण्डलले चेकइन गरेको ४४ थान लगेजमध्ये प्रधानमन्त्री, मन्त्रीलगायत अन्य ६ जनाको लगेज जोहानेसबर्ग पठाएन । त्यो कसरी प्राप्त गरियो होला भन्ने विषय पनि छुटेकाले लेख अधुरो अधुरो लाग्छ । समग्रमा लेख आम पाठककका लागि चाखलाग्दो रहे पनि यसको अन्तर्यमा धेरै कुरा छुट्न गएका छन् । त्यो किन पनि भने यो उहाँको कथा नै होइन ।

संस्मरण लेख्दा त्यस्तो लेख प्रमुखपात्रको सेरोफेरो, उसको भोगाइ, आवेग र संवेगसापेक्ष हुनुपर्नेमा प्रस्तुत लेख मूलभूत यथार्थभन्दा बाहिर गएको र पाठकहरूको ध्यान तान्‍ने उद्देश्य प्रेरित रहेको हुँदा यस्तो हुनगएको हो । 

उहाँले लेखको अन्त्यमा भन्‍नुभएको छ, ‘यस घटनामा कारबाही हुन्छ कि ?’ त्यस्तो किसिमको कुनै कारबाही भएको भए कसलाई हुने थियो ? उहाँ त पक्कै होइन । खुकुरीको चोट अचानोलाई भने जस्तै त्यसको मार पर्ने त सबैको राहदानी, सामलतुमल, मालमत्ता बोकेर हिँड्ने त्यही शिष्टाचार अधिकृत न हो । या त उहाँ यस किसिमको कारबाही होस् भन्‍ने मनसायले प्रेरित गरिरहनुभएको थियो र जवाफमा ‘तपाईं चुप लाग्‍नुस्, यस्तो कुरा नगर्नुस्’ भनेर जवाफ पाउनुभएको थियो कि ?

लेखमा साखुल्य पल्टन त सजिलै छ नि । यथार्थ भोग्‍नेलाई न थाहा हुन्छ । किनभने यस विषयमा गृह मन्त्रालयमा लामै बहस भएको थियो । घटनाका विभिन्‍न आयाम र पाटामाथि छलफल गरिएको थियो । परराष्ट्र मन्त्रालयभित्रकै केही मित्र घटनालाई बढाइचढाइ गर्नमा नै व्यस्त थिए । 

अतः यो मेरो कथा हो र संस्मरण पनि मेरै हुन्छ । संस्मरण बाटामा देखेको दीनहीन व्यक्तिलाई देखेर द्रब्रित भएर लेखेको कविता होइन, भावनामा बग्‍ने । यो त वास्तविकता हो जीवनको, जगत्को र सत्यको अन्वेषण, यात्रा हो अँध्यारोबाट उज्यालोतर्फ । 


Author

थप समाचार
x