सुरेल : के सडकको धुलो खानु मात्रै विकास हो ?
२०७८ साउन अन्तिम हप्तामा जीवन लामाले पुस्तक विमोचनमा निम्ता गरे । चौसठ्ठी वर्गमिटर रहेछ, पुस्तकको नाम । पुस्तकको नाम सुन्दा लाग्यो कोरोना भोगाइबारेको पुस्तक होला । २०१९ डिसेम्बरमा चीनको वुहानमा सबैभन्दा पहिला देखा परेको कोरोना छोटो अवधिमै विश्वव्यापी महामारी भएको थियो । उनले कोरोनाको अनुभवबारे मसँग लेख पनि मागेका थिए । पहिलो चरणमै कोरोना पोजेटिभ भएको हुँदा एउटा लेख मैले पनि लेखेको थिएँ । कोरोनाले विश्व अत्याएको थियो । संक्रमणको फैलावट रोक्नका लागि लगभग सबै देशका सरकारहरूले बन्दाबन्दी (लकडाउन) गरेका थिए ।
यसले मानिसहरूलाई आफ्नै कोठामा खुम्च्याएको थियो । आफ्नै घरका पर्खाल र कोठाका चार भित्तामा मानिसको दैनिकी सीमित गरिदिएको थियो । यसकै संकेतका रुपमा यो पुस्तकको नाम जुराइएको होला भन्ने लाग्यो । विमोचन समारोहमा पुग्दा कुरा अर्कै भो । उनको कवितासंग्रह रैछ ६४ चौसठ्ठी वर्गमिटर । र यो रैछ, दोलखाको सीमान्तीकृत, दोलखा मात्रै नभई नेपालकै सीमान्तीकृत सुरेल समुदायका बारेमा । आफ्नो छुट्टै भाषा, संस्कार र संस्कृति भएको सुरेलहरूको संख्या मात्र २३० भएको पुस्तक दाबी गर्छ । यो सम्भवत: २०६८ को जनगणनाको तथ्यांक हो । २०७८ मा देशभरकै जनसंख्याको वृद्धिदर ऋणात्मक भएका बेला सुरेलहरू पक्कै बढेनन् होला !
साउनको २५ गते सम्पन्न विमोचन समारोहमा सुरेल समुदायका विनोद सुरेल पनि उपस्थित थिए । उनले परम्परागत जीवनशैलीमा बाँचिरहेका सुरेलहरूलाई आधुनिकताले कसरी असर गरिरहेको छ भनेर आफ्नो भनाइ राखेका थिए । सुरेलका विषयमा भनिए पनि ३५ वटा कविता समावेश संग्रहमा अन्य जातजाति र अन्य विविध सामाजिक विषयमा आधारित कविताहरू पनि समावेश छन् । तिनले प्रत्यक्ष अप्रत्यक्ष रुपमा सुरेलहरूलाई प्रभावित पार्छन् नै ।
कवितासंग्रहको दैलो राङराङथली कविताबाट उघ्रन्छ । राङराङथली थामीहरूको उत्पत्तिस्थल । यो भूमिमा थामीहरूको संस्कार संस्कृति जोडिएको छ । यहाँ थामी उत्पत्तिका अनेकन् कथा जोडिएका छन् । यसमा अहिले स्थानीय सरकारले विकासका काम गरिरहेको छ । यहाँ पर्यटकीय संरचना निर्माण भएका छन्÷ हुँदैछन् । कवि यस स्थलमा पर्यटकहरू रमाएको देख्छन् र लेख्छन्:
कोही सेल्फीमा रमाउँछन्
कोही टिकटकमा
मनले जसरी शान्ति पाउँछ
उसै गरी रमाउँछन् ।
कोरोनाकालमा हुर्कंदै गरेकाले हुन सक्छ । धेरै कविताहरूमा कोरोनाको कुरा परेको छ । लकडाउनको कुरा परेको छ । अब म सहर फर्किन्नँ आमा !, कोरोना कहरमा मेरा बा, म मर्छु रोगले होइन भोकले, धर्तीपूजकको गीत कविताहरूमा कोरोनाले आमजीवनमा पारेको प्रभावका कुरा छन् । अभावका कुरा छन् । कवि मनले अँध्यारोमा उज्यालो र उज्यालोमा अँध्यारो देख्छ । सारा संसार अस्तव्यस्त बनाएको कोरोनाले समस्यासँगै सम्भावना लिएर आएको छ भन्ने कुराको पनि वकालत गर्छ । यसले वर्षौंदेखि सुनसान रहेका गाउँमा चहलपहल बढाएको र बाँझा खेतहरूमा खेतीपाती सुरु भएकामा खुसी व्यक्त गरेको छ । लकडाउनको स्वागत गरेको छ ।
तिम्रो बाटो हेरिरहन्छु
तिम्रो बाटो कुरिरहन्छु
लकडाउन तिमी फेरि आऊ बस्तीहरूमा
असार रोपेर मंसिर फलाउनु छ
निर्धक्क जीवन चलाउनु छ । (धर्तीपूजकको गीत)
कवितासंग्रहमा अहिले हाम्रो समाजमा हुर्कंदै गरेको पाखण्डपनको कुरा छ । मानिसमा बढ्दै गएको द्वैध चरित्रको कुरा छ । जीवनभर आलोचना गरिरहने र मरेपछि गुणगान गाउने प्रवृत्तिको आलोचना छ । इमानदारीतापूर्वक बाँच्नेहरूले अपराधीको व्यवहार खप्नुपर्ने र अपराधीहरूको जयजयकार हुने प्रवृत्तिलाई उनले कवितामार्फत जोडदार आलोचना गरेका छन् । मानवीय स्वभाव कवितामा कवि लेख्छन् :
मेरो समाजमा
मर्दा सबै प्रिय हुन्छन्
बाँच्दा सबै काँडा लाग्छन् ।
सुरेलका बारेमा केन्द्रित रहेका चौसठ्ठी वर्ग मिटर र सुरेलका सुस्केरा कवितामा उनले हालको सुरेलको अवस्थालाई चित्रित गरेका छन् । ६४ वर्गमिटर सुरेलको नाममा रहेको जग्गाको क्षेत्रफल हो । यही क्षेत्रफल उसको सर्वस्व हो । यसैमा उसले जन्मदेखि मृत्युसम्मका संस्कार गर्नुपर्ने हुन्छ । यही क्षेत्रफलमा विकास पनि थेग्नुपरेको छ । भर्खरै खनिएका सडक यसै क्षेत्रफलमै आफ्नो हिस्सा लिएर गएका छन् । यी विकासले सुरेलको जनजीवनमा कस्तो असर गर्यो ?
सुरेलहरू ६४ वर्गमिटरबाट खुम्चिएर एउटा भाडाको कोठामा बस्न राजी भए भने विकास हुने कि नहुने ?
हामीले खोजेका छैनौं । खोज्न आवश्यक पनि ठानिएको छैन । आश्वासनकै भरमा सुरेलहरूले राणा, पञ्चायत, बहुदल लगायतका शासन भोगिसके । तैपनि उनीहरूको स्तर बढेको छैन । विकासको यस अवस्थामा कविले कवितामार्फत प्रश्न गरेका छन् के सडकको धुलो खानु मात्रै विकास हो ?
बिहानै भालेले कुखुरी काँ नभन्दै
सुरु हुन्छ मोटरसाइकलको जुलुस
साँझसम्मै दौडिरहन्छन्
बोलेरोका धुनहरू
कोही सुरेल भन्दै आउँछन्
सुरेल नछोएरै जान्छन् (चौसठ्ठी वर्ग मिटर)
अन्त्यमा, के विकास हो, के होइन ? त्यसको निर्क्यौल भएको छैन । यही निर्क्यौल नभएका कारण विकासको बहस लगातार जारी छ । विकसित ठानिएका समाजमा पनि समस्या छन् । समस्याग्रस्त भएका ठाउँमा पनि विकास छ भन्ने बुझाइ छ । सुरेलहरूका बारेमा लेखिएको पुस्तक अझै सुरेलहरूसँगै केन्द्रित हुन सकेको भए सुनमा सुगन्ध हुने थियो । सुरेलहरू ६४ वर्गमिटरबाट खुम्चिएर एउटा भाडाको कोठामा बस्न राजी भए भने विकास हुने कि नहुने ? आफ्नो भाषा-संस्कृति छाडेर अन्य भाषा संस्कृतिमा रमाए भने विकास हुने कि नहुने ? विश्व नै एउटा गाउँ भइसकेको अवस्थामा यी प्रश्न ज्यादै नै अप्ठ्यारा छन् नै । यिनीहरूलाई बेवास्ता गरेर अगाडि जाने कुरा पनि त गाह्रै छ नि !
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया