विचार

सदाका लागि सक्दै छौँ, यी अत्यावश्यक र अमूल्य वानस्पतिक स्रोत

डा. लीलानाथ शर्मा |
चैत ५, २०७७ बिहीबार ८:० बजे

नेपालको दक्षिणी समथर भूभागको सात दशक अगाडिको अविछिन्‍न र घना जंगल आज धेरै मासिएको र खण्डित छ । यसरी खण्डित भूभागको एउटा टुक्रा हो, नेपालको दक्षिणपूर्वी सीमावर्ती जलथल वन । मुख्य वन क्षेत्रबाट छुट्टिएको लगभग छ हजार हेक्टर क्षेत्रफलको यत्रो आकारको प्राकृतिक वन नेपालको तराईको नक्सामा अन्यत्र छैन । नेपालकै होचो भूभाग केचनासँग जोडिएको यो वन खोला, खोल्सी, सिमसार, पोखरीहरू, केही उच्च र सुख्खा भूभाग, खोला तट, खुला चौर र विभिन्‍न अवस्थाको वनको कारणले पारिस्थितिकीय प्रणालीको विविधतायुक्त छ ।

भौगोलिक अवस्थिति र आकारको हिसाबले भन्दा बढी महत्व छ । यो वनको जैविक विविधता र यस वन वरिपरिको सांस्कृतिक विविधता महत्वपूर्ण छ । मध्य तथा पश्चिम तराईमा नपाइने कतिपय वनस्पतिले जलथलको वनको विशेषता झल्काउँछन् । 


लटहरको वन जलथलबाहेक तराईमा अन्यत्र देखिएको छैन । जलथलमा लटहरको अस्तित्व एक दुईवटा रुख आकस्मिक रुपमा मात्र नभई वन नै भन्‍न मिल्ने अवस्थामा छ । स्थानीयहरूले थाकल भन्‍ने दुर्लभ साइकस पनि जलथलबाहेक नेपालको तराई क्षेत्रबाट अभिलेख गरिएको छैन । चुरे र मध्य पहाडी क्षेत्रका वनस्पतिका रुपमा चिनिने ढाल्ने कटुस, मुसुरे कटुस एवम् पाँचपाते जस्ता वनस्पतिले जलथल जंगलको प्रजाति समिश्रण अलि फरक बनाउँछन् ।

जलथलको प्राकृतिक वन ।

लेखकसमेत संलग्‍न एक अध्ययनको प्रारम्भिक नतिजाअनुसार नेपालमा हालसम्म अभिलेख नगरिएका छवटा रुखका प्रजाति जलथलमा भेटिनुले यो वनको विशिष्टता झल्काउँछ नै । त्यसै गरी सुपारी नरिवल वर्गमा पर्ने हिमालयन पिनांगा भन्‍ने वनस्पति पनि जलथलबाहेक अन्यत्र अभिलेख गरिएको छैन । नेपालमा पाइने सबै खाले गलेनीका प्रजातिहरू जलथल वनभित्रै पाइन्छन् । यो वन सालक, सुनगोहोरो र हात्ती जस्ता संरक्षित एवं संकटापन्‍न वन्यजन्तुको वासस्थान मात्र होइन, लगभग एक लाख हाराहारी जनसंख्याले यहाँको काठ दाउरा, घाँस, सोत्तर, च्याउ, निउरो, कन्दमुल र जंगली फलफूल जस्ता वन पैदावार प्रत्यक्ष उपयोग समेत गर्दछन् । 

थाकलको भाले र पोथी कोन ।

लटहर, थाकल र लाली जस्ता पूर्वी एसियामा घनत्व बढी भएका प्रजाति समेत भएको र प्रजाति समिश्रण नेपालको अन्यत्रको सालको वनको भन्दा फरक भएको हुँदा जलथलको वन पृथक् छ भन्‍ने कुरा एक लेखमार्फत कमल मादेनले केही वर्ष पहिले उल्लेख गरेका छन् ।

जलथल मुख्य रुपमा सालकै वन भए तापनि यसको प्रकृति वा प्रजाति समिश्रण नेपालको अन्य वनसँग भन्दा भारतको पश्चिम बंगाल, आसामसँग बढी मिल्ने हुनाले नेपालका अन्य वनभन्दा केही पृथक् भन्‍न सकिन्छ । यो वन र जैविक विविधताको महत्वबारे लेखक कमल मादेनले विभिन्‍न माध्यमबाट प्रकाश पारेको सन्दर्भमा यो लेखमा जलथलको वनको परिवर्तन र संरक्षणका चुनौतीबारे छलफल गर्ने प्रयास गरिएको छ ।

लटहरको रुख ।
 
मिचाहा प्रजातिको दबदबा छ जलथलमा 
जलथल वनको आधाआधी भाग मिचाहा प्रजातिहरूबाट प्रभावित छ र पछिल्लो दुई दशकमा यो समस्या क्रमशः बढ्दो छ । वन समूह र उपभोक्ताहरूको हैरानी र वन व्यवस्थापनमा टाउको दुखाइ बनेको छ मिचाहा प्रजातिको अतिक्रमण ।

प्याँग्री लहरा माइकेनियाले ढाकेको क्षेत्र ।

त्यस क्षेत्रमा पाइने १७ वटा मिचाहा प्रजातिमध्ये प्याँग्री लहरा भनिने लहरे वनमारा, प्रमुख समस्या हो भने सेतो वनमारा पनि वन व्यवस्थापनमा कम चुनौतीपूर्ण छैन । झापा र मोरङमा मात्र देखिएको घोप्टे काँडा वा उल्टा काँडा भनिने अर्को एउटा मिचाहा प्रजाति पनि जलथलमा देखिन थालेको छ । 

सिमसारहरूमा जलकुम्भी लगायतका मिचाहा प्रजातिको अतिक्रमण बढ्दो छ । रुख पातलो भएको र चिस्यान बढी भएका ठाउँहरू र बाटो तथा खोलाकिनारमा मिचाहा प्रजातिको विशेष गरी माइकेनियाको घनत्व उल्लेखनीय छ भने अलि सुख्खा ठाउँमा सेतो वनमाराले समस्या पैदा गरेको छ । माइकेनियाले ढाकेको क्षेत्रमा रुखको पुनरुत्पादनमा गम्भीर समस्या देखिन्छ भने सर्पगन्धा, कुरिलो, मधु, देउले च्याउ लगायतका महत्वपूर्ण वन पैदावारको उपलब्धतामा गिरावट आएको छ । यी मिचाहा प्रजातिको नियन्त्रणमा उपभोक्ता समूहहरूले वर्षेनि लाखौं रुपैयाँ र श्रम खर्च गरे तापनि आशातीत उपलब्धि हासिल गर्न सकिएको छैन ।

संकटमा छ महत्वपूर्ण जैविक विविधता 
जलथल वन वरिपरि हुर्केका स्थानीयहरूसँग कुरा गर्दा उनीहरूले आफ्नो आँखा अगाडि नै महत्वपूर्ण जैविक विविधता गुमाउँदै गएको साबिती दिन्छन् । वनस्पति, चरा, वन्यजन्तु, खाद्य कन्दमूल र मौरी लगायतका प्रजातिहरू निरन्तर घट्दै गएको कुरा धेरैले अनुभव गरेका छन् । जंगलमा पाइने सादन, सतिसाल, खन्यु, निवारो, कुसुम, वन सुपारी, जंगली अमला जस्ता प्रजाति स्थानीय रुपमा लोप हुने क्रममा छन् । केही दशक अघिसम्म लावरको एउटै रुखमा दर्जनको संख्यामा मौरीका घार हुन्थे भन्‍ने कुरा अहिले पत्याउन गाह्रो हुन्छ । 

भौगोलिक, पर्यावरणीय र जैविक विविधताको दृष्टिकोणले विशेष र स्थानीय समुदायको जीविकोपार्जनका लागि महत्वपूर्ण जलथल वनको जैविक विविधता संकटमा छ ।

हालै मात्र एउटा लेखमा कमल मादेनले नेपालबाट लोप भएको ठानिएको मुसे मृग जलथलमा हुन् सक्ने सम्भावनाबारे चर्चा गरेका छन् । नेपालका लागि हालसम्म अभिलेख नगरिएका र दुर्लभ वनस्पतिहरुको घनत्व कम देखिनुले पनि धेरै प्रजातिहरू संरक्षणको पर्खाइमा छन् भन्‍ने कुरा बुझ्‍न सकिन्छ । वन्यजन्तु चोरी शिकार र अवैध कटान विगतको तुलनामा घटे तापनि वन संरक्षणमा चुनौतीकै रुपमा छन् । 

संरक्षित जीव सुन गोहोरो र सालकको संरक्षण चुनौतीपूर्ण छ । मानव हात्ती द्वन्द्व व्यवस्थापन अर्को चुनौती छ । अहिले एउटा प्रजाति लोप हुँदा प्रजातिको संख्या एकले घट्ने मात्र नभई त्योसँग सम्बन्धित आनुवंशिक स्रोत, त्यसबाट हुने प्रत्यक्ष फाइदाहरू, त्यससँग सम्ब्न्धित परम्परागत ज्ञान र सीपसमेत गुम्ने जोखिम हुन्छ त्यसै गरी उक्त प्रजाति प्रजातिमा आश्रित अन्य जीवजन्तु र वनस्पतिहरू पनि लोप हुने जोखिम बढ्छ नै । 

पुनरुत्पादन समस्या छ रुखहरूमा 
 केही सानो क्षेत्रबाहेक समग्रमा सालको पुनरुत्पादन सन्तोषजनक नै छ चरिचरण र आगलागी नियन्त्रणमार्फत सहजै सालको पुनरुत्पादन वृद्घि र संरक्षण गरिएका धेरै उदाहरण नेपालभित्रै छन् । जलथलमा सालबाहेक अन्य धेरै प्रजातिको पुनरुत्पादनमा गम्भीर समस्या छ भन्‍ने कुरा वन घुम्‍ने जो कोहीले सहजै बुझ्‍न सक्छन् । 

हालै मात्र गरेको एक सर्वेक्षणमा हर्रोको एउटा पनि बिरुवा र लाथ्रा भेटिएन । हर्रोको बिउ अंकुरणमा समस्या छ भन्‍ने तथ्य ब्रिटिसहरूले १०० वर्ष अगाडि गरेको अध्ययनबाट थाहा भए तापनि प्राकृतिक वनमा यसको पुनरुत्पादन संवर्धनका लागि पहल भएको देखिँदैन ।

पुनरुत्पादन नभएको वन क्षेत्र ।

जलथल चिनाउने एउटा महत्वपूर्ण प्रजाति लटहरको पुनरुत्पादन अपेक्षित छैन । साउन भदौतिर बिउहरू अंकुरण भई उम्रिएका लटहरका लाखौँ बेर्ना दोस्रो तेस्रो वर्ष पुग्न पाउँदैनन् तसर्थ वनमा बूढा रुखहरू प्रशस्त भए तापनि साना उमेर समूहका रुख र लाथ्राहरू निकै कम देखिन्छन् । 

संकुचित हुँदै छ, जलथल वन
पछिल्लो पाँच दशकमा कहिले पुनर्बासको नाममा, कहिले मसलाको वृक्षरोपणको सट्टा भर्ना त कहिले सहुलियतको काठको नाममा जलथलको घना जंगल आफ्नै आँखा अगाडि निरन्तर खुम्चिएको देख्ने स्थानीयहरू आज पनि प्रशस्तै छन् । निरन्तरको बस्ती विस्तार र जंगल फँडानीको प्रक्रियाबाट गुज्रिँदै बचेको जलथल वनको क्षेत्र नजानिँदो तरिकाबाट संकुचित र अतिक्रमित हुँदै छ तर अतिक्रमणको स्वरूप भने फरक छ । अतिक्रमण भन्‍नेबित्तिकै वन मासेर आवादी विस्तार गर्ने वा सार्वजनिक सम्पत्तिलाई निजी बनाउने भन्‍ने बुझिन्छ तर मानिसले प्रकृति र वन अतिक्रमण गर्ने विभिन्‍न स्वरुपहरू छन्, भलै तीमध्ये कतिपय अतिक्रमण जस्तो देखिँदैनन् ।

यहाँ उल्लेख गर्न खोजेको अतिक्रमणले वनको भूगोलभन्दा प्रकृतिको अतिक्रमणतर्फ बढी संकेत गर्दछ । वनभित्र पछिल्लो दुई दशकभित्र विभिन्‍न भौतिक संरचनाहरू बनेका छन् । सामुदायिक वनका कार्यालय भवन, सभाहलहरू घाटगद्दीहरूले जंगलको छेउछेउका भूभागहरू ओगटेका छन् । धार्मिक क्षेत्रहरूको बिस्तार पनि नजानिँदो तरिकाले बढ्दै छ र खेलमैदान र पिकनिक स्पटहरू पनि वन क्षेत्रभित्र नै देखिन्छन् । वनको प्राकृतिक पुनरुत्पादन क्षमता उच्च हुँदाहुँदै टिक, मसला, मलेसियन सालजस्ता बाह्य प्रजातिहरुको वृक्षारोपणले पनि प्रजाति मिश्रित वनको एक खाले अतिक्रमण नै गरेको मान्‍न सकिन्छ । 

पुग नपुग दश किलोमिटर लम्बाई र पाँच किलोमिटर चौडाइको वनलाई विद्यमान उत्तर दक्षिण बाटोले दुई खण्डमा बिभाजन गर्छ र यो बाटो स्तरोन्‍नति र कालोपत्रे हुने प्रक्रियामा छ । सँगै वन क्षेत्रलाई घेर्ने गरीकन चक्रपथ पनि बन्दै छ । विद्यमान बाटोको समानान्तर हुने गरी उत्तर दक्षिण अर्को नयाँ बाटो बन्‍ने प्रक्रिया पनि अगाडि बढेको सुनिन्छ । प्रस्तावित बाटोको पूर्वमा वनक्षेत्र भित्रबाट अर्को एउटा बाटोको अपेक्षा पनि सुनिन्छ । नयाँ बाटोको निर्माणसँगै वनको खण्डीकरण बढ्ने, वन्यजन्तुको वासस्थानमा चुनौती थपिने, मिचाहा प्रजातिको अतिक्रमण अझ बढ्ने कुरामा कुनै शंका छैन । यी सबै विकास निर्माणहरूले खुद वन क्षेत्र संकुचित पार्ने मात्र नभई वनको संरचना र जैविक विविधतालाई दीर्घकालीन असर पार्दछन् ।

घट्दो समिश्रण, बढ्दो एकरुपता 
जलथलको जंगलको प्रकृतिलाई नजिकबाट नियाल्दा प्रस्ट हुन्छ, यो सालको प्राकृतिक, बहु प्रजातीय र प्रजातिको संयोजन उच्च रहेको विविधतायुक्त वन हो तर वनको यो प्रकृति बिस्तारै हराउँदै छ र सालको अति प्रभुत्व भएको र प्रजाति समिश्रण पातलिँदै गएको प्रस्टै देखिन्छ । वनमा हर्रो, कुसुम, कुम्भी, टाँटरी, खन्यु, वन सुन्तला, गुयेंलो, लाटी करम, खाकर आदि थुप्रै वनस्पतिहरू निरन्तर घट्दै गएका छन् र नयाँ पुनरुत्पादन भएको ठाउँमा सालको एकात्मकता बढ्दै गएको देख्‍न सकिन्छ ।

सालको अति प्रभुत्व भएको पुनरुत्पादन ।

केही प्रजाति आर्थिक दृष्टिकोणले महत्वपूर्ण र अन्य रुखहरू कम महत्वका वा कुकाठ हुन् भन्‍ने दृष्टिकोणले विगतमा वन व्यवस्थापन प्रभाव पारेको बुझिन्छ र यो खाले समस्या जलथलको मात्र नभएर व्यवस्थापन गरिएको सालको वनको साझा समस्या मान्‍न सकिन्छ । फडानी गरिएको र उजाड हुँदै गरेको वनमा सालको पुनरुत्पादन हुनु पक्कै सकारात्मक कुरा हो र यो आफैँमा एउटा उपलब्धि हो नै तर धेरै प्रजातिहरूको पुनरुत्पादनको उच्च सम्भावना भएको जंगलमा एकल प्रजातिको अति प्रभुत्व स्थापित हुनु दिगो व्यवस्थापनको दृष्टिकोणले उपयुक्त हैन । प्रकृतिको गुण एकात्मकता नभई विविधता हो र यही विविधताले गर्दा नै हामीले प्रकृतिबाट अमूल्य वातावरणीय सेवा प्राप्त गर्न सकेका छौँ ।

पुरिँदैछन् ताल र सिमसार 
जलथल वन नेपालकै होचो स्थानमा रहेको वन हो । पोखरी र सिमसार यसका विशेषता हुन् भन्दा हुन्छ । पर्यटनका लागि कतिपय सिमसार व्यवस्थापन भए तापनि वनभित्रका सिमसारहरू पुरिने क्रममा छन् । वनको बीचमा अवस्थित, कुनै बेला पौडीसमेत खेल्न मिल्ने र वन्यजन्तु र चराचुरुंगीका लागि निकै नै महत्वपूर्ण झिल्का पोखरी निरन्तर पुरिँदै छ र आज अस्तित्वकै संकटमा छ ।

पुरिँदै गएको झिल्का पोखरी ।

झिल्का पोखरी एउटा प्रतिनिधि मात्र हो भन्दा अत्युक्ति नहोला । सिमसार वा ताल संरक्षण पानीको सञ्चिति र सुख्खा याममा पानीको उपलब्धताका लागि अत्यन्तै महत्वपूर्ण छ भन्‍ने कुरा स्थानीयहरूले महसुस गरिसकेका छन् । कतिपय ठाउँमा सिमसारको स्वरुपमा नै परिवर्तन हुने गरी निर्माण हुने संरचना बनाउँदा सचेत हुनुपर्ने देखिन्छ । 

संरक्षण पहल 
वन फँडानी, खण्डीकरण अतिक्रमण र चोरी शिकारीको लामो शृंखला पार गरेर आएको जलथल वन संरक्षणमा हाल स्थानीय समुदाय सक्रिय छ । जलथलको वन क्षेत्र हाल २२ वटा सामुदायिक वन समूहबाट व्यवस्थित छ । वन व्यवस्थापन कार्ययोजना बनाई वन समूहहरूले वन व्यवस्थान र वन पैदावार वितरण र वन संरक्षणसम्बन्धी कार्य गरेका छन् । उपभोक्तालाई संगठित गर्न, वनको सुरक्षा गर्न, आगलागी नियन्त्रण गर्न, वन पैदावार वितरण गर्न, वनको प्रयोगलाई व्यवस्थित गर्ने कार्यमा वन समूहहरूको प्रयास सकारात्मक भए तापनि जैविक विविधता संरक्षण गर्न गरिएका पहल यथोचित छैनन् । 

चोरी शिकारी नियन्त्रण उपभोक्ताको पहलले मात्र पूर्ण नियन्त्रण सम्भव नहुन सक्छ यसका लागि अलि बृहत् पहल र व्यापक राजनीतिक प्रतिबद्घताको आवश्यकता पर्छ । हरेक सामुदायिक वनले वनको बीच भागलाई कोर क्षेत्र भनी निर्धारण गरिनुलाई एउटा सकारात्मक पहल मान्‍न सकिन्छ । त्यसै गरी बाह्य प्रजाति बिस्तारै हटाउने र प्राकृतिक पुनरुत्पादन संरक्षण गर्ने भन्‍ने समूहहरूको प्रतिबद्घताले पनि केही सकारात्मक परिणाम दिन सक्छ । मुख्य चुनौतीका रुपमा रहेको प्याँग्री लहरा नियन्त्रणलाई दीर्घकालीन बनाउन थप पहल गर्नुपर्ने देखिन्छ । 

ऊष्ण प्रदेशीय वनस्पति अध्ययनको केन्द्र बन्‍न सक्छ जलथल 
प्राकृतिक विज्ञान अध्ययनमा वन क्षेत्र आफैंमा एउटा महत्वपूर्ण स्रोत हो र बूढा रुखहरू त जलवायु अध्ययनको एउटा सानोतिनो  पुस्तकालय नै भन्दा अत्युक्ति नहोला । प्राकृतिक र पुरानो वन अन्य वन्यजन्तु र चराचुरुंगीको वासस्थानको दृष्टिकोणले महत्वपूर्ण हुने हुँदा समग्र जैविक विविधताको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्छन् । प्रजाति समिश्रण राम्रो, प्रजातीय विविधता उच्च र दुर्लभ वनस्पतिका प्रजाति प्रशस्त भएको हुँदा प्रकृति, वनस्पति र वन प्रेमीहरूको आकर्षणको केन्द्र बन्दै छ, जलथल । 

जलथलमा विकास र संरक्षणलाई कसरी सन्तुलनमा राख्‍ने भन्‍ने बारेमा गम्भीर बहस सँगै वन व्यवस्थापनका चुनौती सम्बोधन गर्न स्थानीय समुदायसँग हातेमालो गर्दै, सबै सरोकारवालाको साझा पहलका लागि जति ढिलो हुन्छ, त्यति नै हाम्रा अमूल्य वनस्पतिक स्रोत गुमाउने जोखिम बढ्दै जान्छ । 

नेपालमा पाइने ‘चिस्यानयुक्त ऊष्ण प्रदेशीय वन’ अध्ययनका लागि जलथल एक महत्वपूर्ण गन्तव्य हुन सक्छ । भाले र पोथी बोट फरक फरक हुने आधा दर्जनभन्दा बढी रुखका प्रजातिले पनि वनस्पतिको प्रजननसम्बन्धी अध्ययनमा अवसर प्रदान गर्दछन् । वन व्यवस्थापनमार्फत जैविक विविधता संरक्षण र दिगो उपयोग कसरी गर्न सकिन्छ र मिचाहा प्रजातिको अतिक्रमणबाट वन कसरी पुनःस्थापना गर्न सकिन्छ भन्‍ने उपयुक्त ढाँचाको सिकाइ पनि विकास गर्नसमेत उपयुक्त स्थान हुनसक्छ, जलथल । सानो क्षेत्रमा धेरै विविधता भएको हुनाले जलथलको वन नेपालका लागि एउटा स्वस्थानीय प्राकृतिक संग्रहालय र वनस्पति अध्ययनको केन्द्र हुन सक्छ ।

प्रकृति र संस्कृति जोडन 
व्यवस्थापन गरिने वनमा प्रकृति संरक्षणमा पर्यापर्यटन जस्ता कार्यक्रमहरूले उल्लेख्य योगदान गर्न सक्छन् यदि व्यवस्थित रुपमा यसलाई अगाडि बढाउन सकियो भने ।  हाल पर्यापर्यटनको विकासलाई सामुदायिक वन, स्थानीय सरकार र प्रदेश सरकार समेतले उच्च महत्व दिएको र पर्यापर्यटनसम्बन्धी केही पूर्वाधार निर्माण र प्रयाससमेत भएका छन् ती प्रयासहरूले स्थानीय संस्कृति र प्रकृतिलाई जोड्न पहल गर्नुपर्दछ अनि मात्र पर्यटन दिगो बन्‍न सक्दछ । 

प्रकृतिको अमूल्य सम्पदा जलथल वन आफैँ मात्र विशेष छैन यसको वरिपरि बस्‍ने स्थानीयको संस्कृति पनि निकै महत्वपूर्ण छ । नेपालको अल्पसंख्यक मेचे लगायतका आदिवासी समुदायको संस्कृतिलाई प्रचारप्रसार गर्दै पर्यापर्यटनमा उपयोग गर्न सके स्थानीयको आय आर्जन बढ्ने प्रकृति र संस्कृति संरक्षण मात्र नभई त्यस्ता सम्पदामा अपनत्व समेत बढ्न सक्छ । 

जलथल वनमा काठ दाउराको अत्यधिक चाप छ र त्यसलाई सम्बोधन गर्न कृषि वन र स्वच्छ ऊर्जा प्रवर्धन गर्न जरुरी हुन्छ । सामुदायिक वनले आफ्नो वनक्षेत्र व्यवस्थापन गर्न स्वतन्त्र छन् नै तर सबै सामुदायिक वनमा एउटा एकीकृत कार्यक्रमको छाताभित्रका कार्यक्रम लागू गर्न सकियो भने निश्चित रुपमा वनको व्यवस्थापन दिगो बनाउन सकिन्छ । एकीकृत व्यवस्थापनका केही पहल नभएका हैनन् तर तिनले जलथल वनको आफ्नोपन बचाउन र बहुसरोकारवाला चुनौती सामना गर्न पर्याप्त छैनन् ।

अन्त्यमा,
जलथलको वन व्यवस्थापनमा स्थानीय पहल सह्रानीय छ तर स्थानीय पहललाई नतिजामुखी बनाउन हालसम्म उपलब्ध तथ्यांक र प्रजातिको अवस्थाअनुसार योजना बनाउन ढिलो गर्नु हुँदैन । स्थानीय समुदायको वन व्यवस्थापन र अनुगमनको क्षमता बढाउनुका साथसाथै उपभोक्ता शिक्षालाई व्यापक बनाउन आवश्यक छ । व्यवस्थापन गर्दा वनको प्राकृतिक अवस्था र संरक्षणका चुनौतीहरूको उचित व्यवस्थापन गर्नुपर्छ र व्यवस्थापनलाई स्थानीय समुदायको गरिबी निवारणसँग जोड्न सकिएन भने दीर्घकालीन संरक्षण हासिल गर्न सकिँदैन भन्‍ने धेरै उदाहरण छन् । त्यसै गरी वन क्षेत्रमा भौतिक पूर्वाधार निर्माण गर्दा प्रकृतिमा कम क्षति पुग्ने गरी मात्र गरिनु पर्दछ । 

जलथलको वन विशेष छ, यो नेपालकै अमूल्य सम्पदा हो यसको विनाशसँग हामीले महत्वपूर्ण वानस्पतिक सम्पदा गुमाउनेछौँ भन्‍ने कुरा मनन गर्न सक्यौं भने मात्र हामीले यो प्रकृतिको महत्वपूर्ण कोसेलीको यथोचित व्यवस्थापन र संरक्षण गर्दै लाभ लिन सक्छौं । 
 


Author

थप समाचार
x