पृथ्वी, खानपिन, स्वास्थ्य र पर्यावरण
महामारीको मार र पछिल्लो समय इन्धनको मूल्यमा भएको वृद्धि तथा युक्रेन लडाइँको कारण संसारमा खाद्य सङ्कट सुरु भएको देखिँदै छ । संसारका विभिन्न ठाउँमा खाद्यान्न पुर्याउन ढुवानीमा समस्याको विषय त पहिले पनि नउठेको होइन । तर, अहिले लडाइँको कारण त्यो समस्या थप जेलिएको छ । संसारभर ठूलो परिमाणमा गुणस्तरीय अन्न उत्पादन गर्न पोषक तत्वको भूमिका सूक्ष्म रूपमा गाँसिएको हुन्छ ।
अन्नबाली नै हाम्रो खाद्य प्रणालीको मूल आधार हो । हामी आफैँ खान होस् वा पशुलाई खुवाउन, अन्नबाली नभई हुन्न । परिमाण र गुणस्तर दुवै हिसाबले मनग्य खाद्यान्न उत्पादन गर्न मनग्य पोषणका साथै पानी, घाम र स्वस्थ माटोको खाँचो पर्छ । आधुनिक कृषि प्रणालीमा यी सबै कुरा रासायनिक मलबाट प्राप्त हुन्छ । यो लेख पढ्दै गर्दा पनि तपाईंले श्वास फेर्दै गर्नुभएको हावामा पनि ७८ प्रतिशत नाइट्रोजन ग्यास छ । अधिकांश नाइट्रोजन आधारित रासायनिक मल उत्पादनको निम्ति हावामा भएको यही नाइट्रोजन ग्यास प्रयोग हुने गर्छ ।
तर, हावाबाट त्यो ग्यास तानेर मलको बोरासम्म ल्याउन ठूलो परिमाणमा ऊर्जाको आवश्यकता पर्छ । नाइट्रोजन र हाइड्रोजनलाई अमोनियामा परिणत गर्ने हबर–बोच प्रक्रिया रासायनिक मल बनाउने महत्वपूर्ण प्रक्रिया हो । केही तथ्याङ्कअनुसार यो प्रक्रियाका लागि संसारभर उत्पादन हुने कुल ऊर्जामध्ये १ देखि २ प्रतिशतसम्म खर्च हुने गरेको छ । फलतः नाइट्रोजनआधारित रासायनिक मलको उत्पादन लागत इन्धनको मूल्यसँग प्रत्यक्ष जोडिएको हुन्छ । त्यसै कारण बेलायतमा अमोनिया नाइट्रेटको मूल्य यो लेख लेख्दै गर्दासम्म प्रतिटन १ हजार पाउन्ड पुगेको छ । जब कि एक साताअघिसम्म त्यसको मूल्य ६५० पाउन्ड मात्र थियो ।
कृषि प्रणालीमा रासायनिक मल खाद्यान्न उत्पादनमा सबभन्दा धेरै भूमिका खेल्ने तत्वमध्ये एउटा हो । रासायनिक मलमा लगानी गर्दा किसानले त्यसमा हुने लगानी र पछि फसल बेचेर आफूले कमाउने पैसाबीच सन्तुलन राख्नुपर्छ । खाद्यान्न उत्पादन थोरै बढाउन किसानले मलमा केही लगानी बढाउँदा उसले फसल बेचेर पाउने पैसा बराबर पनि नहुन सक्छ ।
मलको मूल्य र बालीको मूल्यबीचको हिसाब सामान्यतः अन्नबालीको हकमा ६ः१ को अनुपातमा हुने गर्छ । अर्थात् छ केजी अन्न उत्पादन गर्न एक केजी नाइट्रोजन आधारित रासायनिक मल खर्च हुन्छ । तर, रासायनिक मलको मूल्य बढेसँगै अहिले यो अनुपात पनि बद्लेको छ । अहिले छ केजी अन्न उत्पादन गर्न दस केजी नाइट्रोजन आधारित रासायनिक मलको मूल्य बराबरको खर्च गर्नुपर्छ । कम गरेबापत केही नाफा कमाउन किसानले आफ्नो फसलको मूल्यमा तलमाथिप्रति विशेष ध्यान दिनुपर्छ । लगानीअनुसार नाफा नपाउने अवस्थामा किसानले सकेसम्म कम रासायनिक मल प्रयोग गर्न खोज्छ । तर, मल कम प्रयोग गरे उत्पादन र गुणस्तर दुवै घट्छ । जसले समग्र खाद्य प्रणालीमा अर्को दबाब पार्ने गर्छ ।
बृहत् चित्र
संसारको खाद्य प्रणाली अहिले दबाबमा छ । महामारीकालीन लकडाउनबाट धेरै देश जेनतेन उठ्दैछन् । मानिसका गतिविधि बढेसँगै ऊर्जाको माग पनि बढ्दो छ । ऊर्जाको माग बढेकोे कारण सन् २०२१ मा बेलायतका केही रासायनिक मल कारखानाले मल उत्पादन नै बन्द गरे । जसले मलको मूल्य अझ बढ्यो ।
धेरै किसानले पहिला नै रासायनिक मल किनिसकेको हुनाले अहिले मलमा भएको मूल्यवृद्धिको मारबाट उनीहरू जोगिन सक्छन् । त्यसकारण तत्कालै खाद्य आपूर्ति र मूल्य प्रभावित भइहाल्ने देखिँदैन । तर, अहिले मलको उत्पादन सुरु हुँदा संसारभर इन्धनको मूल्य भने उकालो लागिरहेको छ ।
यही बेला युक्रेनमा द्वन्द्व चर्किरहेको छ । इन्धनको मूल्यमा पछिल्लो चर्को वृद्धिले मलको मूल्यमा प्रत्यक्ष प्रभाव पारेको छ । फेब्रुअरी महिनामा संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि संगठन (एएफओ) ले जारी गरेको खाद्य मूल्य सूचकाङ्क अहिलेसम्मकै सबभन्दा उच्च बिन्दुमा पुग्नुको कारण यही हो । सन् २००८ यताकै यो सबभन्दा उच्च मूल्य दर हो ।
फेब्रुअरी महिनाको अन्त्यतिर मात्र युक्रेनमाथि हमला भएको हुनाले फेब्रुअरीको तथ्याङ्कले आंशिक रूपमा मात्र त्यसको प्रभाव देखाउन सक्छ । त्यसकारण कुनै मूल्यवृद्धि अलि पछि मात्र हुन सक्छ । रासायनिक मलको मूल्य बढ्दा किसानलाई यता त फसलको मूल्य बढाउनुपर्ने हुन्छ अथवा कम मात्र मलको प्रयोग गर्नुपर्ने हुन्छ । फसलको मूल्य उकालो लाग्दा अर्थतन्त्रमाथि मुद्रास्फितिको प्रभाव देखिनेछ किनभने आपूर्ति प्रणालीले प्रकारान्तरले खाद्यान्नको उच्च मूल्यमार्फत उपभोक्तालाई त्यसको भार बेहोर्न लगाइन्छ ।
रुस र युक्रेन संसारका प्रमुख मल र त्यसको उत्पादनका लागि आवश्यक कच्चा पदार्थका उत्पादक र आपूर्तिकर्ता देशहरू हुन् । उदाहरणका लागि युरोपको सबभन्दा ठूलो रासायनिक मल उत्पादक तथा वितरक नर्वेको यारा समूहले आफ्नो अधिकांश उत्पादन युक्रेनमा गर्दै आएको थियो । रुससँग पश्चिमा व्यापार कम गर्ने र युक्रेनमा आपूर्ति प्रणाली बन्द हुँदा मलको उत्पादन र आपूर्तिमा अर्को तहको दबाब पर्नेछ ।
आजको अवस्थाले हाम्रो खाद्य प्रणालीमा रूपान्तरणको आवश्यकता भएको देखाएको छ । हरित उर्जाको प्रयोग बढाउनुपर्ने देखियो । हामीले खाने खानामा अब अन्न खाने पशुका उत्पादन कम गर्ने गरी थप दिगो खाना खानुपर्ने सङ्केत गरेको छ । हामीले पुनःउत्पादनमुखी कृषि प्रणालीको अभ्यास गर्नुपर्छ । जसले हाम्रो माटोको स्वास्थ्य र बालीनालीमा प्रयोग हुने पोषणको प्रभावकारितामा सुधार हुनेछ ।
संसारमा उत्पादन हुने कुल नाइट्रोजन आधारित मलमध्ये झन्डै दस भागको एक भाग रुसमा हुने गरेको छ । फोस्पेट आधारित मल उत्पादनमा रुसको तुलनात्मक रूपमा उल्लेखनीय हिस्सेदारी छ । पोटास उत्पादनमा बेलारुस र रुस मिल्दा संसारकै तेस्रो ठूलो उत्पादक बन्छ । पोटासको मल खेतमा हरेक वर्ष राखिँदैन र त्यसको उत्पादन गर्न ऊर्जाको लागत पनि कम मात्र हुने भएकाले खाद्य उत्पादन र बालीमा पोटास आधारित मलले कमै मात्र प्रभाव पार्न सक्छ ।
भ्लादिमिर पुटिनले प्रस्टै शब्दमा खाद्यान्नको मूल्यवृद्धिलाई रासायनिक मलको व्यापारमा भएको अवरोधसँग जोडेका छन् । रुसले पश्चिमा देशहरूमा मल निर्यात बन्द गर्ने घोषणा गरिसकेको छ । ब्राजिल, चीन र संरा अमेरिका रुसी मलका प्रमुख बजार हुन् । रुसी मल नपठाउँदा अब संसारको खाद्यान्न आपूर्ति प्रभावित बन्ने छ ।
युक्रेन पनि आफ्नो क्षमताअनुसारको ठुलै कृषि उत्पादक देश हो । विश्व बजारमा उसले पनि ठुलो परिमाणमा खाद्यान्न र तेल निकालिने अन्न पठाउँदै आएको छ । संसारको कुल गहुँ उत्पादनमा युक्रेनले १२ प्रतिशत उत्पादन गर्दै आएको छ भने सुर्यमुखी फुलको तेलको सबभन्दा ठुलो निर्यातकर्ता देश पनि युक्रेन नै हो । युक्रेनमा अधिकांश बालीनाली फसल दिने क्रममा रहेको अथवा फल्दै गरेको फसलको लागि रासायनिक मल र किटनाशकको खाँचो परेको छ । यस्तो बेला ती वस्तुको आपूर्ति अवरुद्ध हुँदा यो वर्ष फसल राम्रो नहुने पक्का छ । जसले खाद्यान्नको मूल्य बढाउनेछ । युक्रेन र रुसबाट अन्न आपूर्ति नहुँदा सबभन्दा बढी इजिप्ट, टर्की र ब·लादेश प्रभावित हुनेछन् ।
खाद्य सुरक्षा
यो अवस्थालाई जब हामी महामारी र जलवायु परिवर्तन (असामान्य मौसमसमेत) सँग जोडेर हेर्छौं, तब खाद्य सुरक्षाले खतराको चित्र देखिन्छ । महामारीअघि सन् २०१९ मा समेत खाद्य तथा कृषि संगठनले ६९ करोड मानिस अथवा संसारको कुल जनसङ्ख्याको ९ प्रतिशतले खाद्य असुरक्षा सामना गरिरहेको अथवा भोको रहेको बताएको थियो । त्यसयता खाद्यान्न मूल्य सूचकाङ्क ३९ प्रतिशतले उकालो लागिसकेको छ ।
यो अवस्थामा तत्कालै सरकारहरूलाई हस्तक्षेपको निम्ति आग्रह गर्नु स्वाभाविक हो । यद्यपि, कोभिडयता सरकारहरूका बजेट निकै खुम्चिएको छ जसले कुनै पनि प्रत्यक्ष मौद्रिक सहायता र योगदानको सम्भावनालाई साँघुरो बनाएको छ । रुसबाट तेल र ग्यास आयात बन्द गर्ने पश्चिमा देशहरूको पछिल्लो प्रतिबद्धता सरकार, किसान र उपभोक्ता सबैको लागि फलामको चिउरा चपाउनु जस्तै हुनेछ ।
सारमा आजको अवस्थाले हाम्रो खाद्य प्रणालीमा रूपान्तरणको आवश्यकता भएको देखाएको छ । हरित उर्जाको प्रयोग बढाउनुपर्ने देखियो । हामीले खाने खानामा अब अन्न खाने पशुका उत्पादन कम गर्ने गरी थप दिगो खाना खानुपर्ने सङ्केत गरेको छ । हामीले पुनःउत्पादनमुखी कृषि प्रणालीको अभ्यास गर्नुपर्छ । जसले हाम्रो माटोको स्वास्थ्य र बालीनालीमा प्रयोग हुने पोषणको प्रभावकारितामा सुधार हुनेछ ।
(‘द कन्भरसेसन’बाट नीरज लवजूको अनुवाद ।)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया