विचार

बानी सुधार्न किन गाह्रो हुन्छ ?

अस्मिता अधिकारी |
चैत ९, २०७८ बुधबार १०:२५ बजे

‘पढ्न खोज्यो, मोबाइलमा ध्यान जान्छ, इन्टरनेट चलाउँदा पत्तै हुँदैन कति छिटो समय बित्छ’ धेरैजनाको  गुनासो हुन्छ ।

इन्टरनेट चलाउने विषयमा मात्र होइन, प्राय: कुनै पनि नराम्रो बानी हटाउन निकै गाह्रो हुन्छ भन्‍ने धेरैको अनुभव छ । फेसबुक, युट्युब, फायरफ्री, पब्जी, कोरियन ड्रामा होस टिकटक होस् या यस्तै अन्य । सबै मन हल्का गर्न प्रयोग गरिने मनोरञ्जनका साधनको रूपमा मानिन्छन् । तर यिनैको धेरै उपयोग तनाव, डिप्रेसन, असहिष्णुता लगायत थुप्रै मानसिक समस्याको कारण हुने गरेको छ ।  विद्यार्थीको सन्दर्भमा यिनले अनुशासन, व्यवहार र पढाइमा नकारात्मक परिवर्तन ल्याएको कुरा विद्यार्थी स्वयं र प्राध्यापकहरूले पनि बताउने गरेको पाइन्छ । 


यो त सायद धेरैलाई थाहा भएकै कुरा होला । तर आफ्नो बानी सुधारेर जीवनमा प्रगति गरिरहन चाहने तर त्यसो गर्न असमर्थ भएकाहरूको मनमा प्रश्न होला, ‘आखिर बानी सुधार्न गाह्रो किन हुन्छ र यो कसरी सुधार्न सकिन्छ ?’

यसका लागि हामीले बानी कसरी बस्छ भनेर जान्‍नुपर्छ । हामीले गर्ने प्रत्येक क्रियाकलापहरू मस्तिष्कको एक स्थानमा छाप बनेर बस्छ । ती क्रियाकलापहरू जति धेरैपल्ट गरियो छाप त्यति नै गाढा हुँदै जान्छ । यही छापले नै जीवनमा आउने परिस्थितिप्रति हाम्रो प्रतिक्रिया निर्धारण गर्छ ।

जस्तो : पहिले धेरै नै मोबाइल चलाउने अभ्यासले गर्दा पढाइ या काम गर्दागर्दै बीचबीचमा मोबाइल चलाइरहन मन लाग्‍नु । 

यसरी नै निरन्तर रूपमा गरिएको क्रियाकलापको संग्र्रहले बन्‍ने स्वभावको कारणले गर्दा हामी धेरैजसो नसोचीकनै कार्य गर्छौं । 

ड्युक युनिभर्सिटीको एक खोजले निकालेको निष्कर्षअनुसार प्राय: व्यक्तिले ४० प्रतिशतभन्दा धेरै कार्य पूर्ण सचेत नभएको अवस्थामा गर्छन् ।

यसरी मस्तिष्कमा अंकित छापअनुसार कार्य गर्ने र जे कार्य दोहोराइन्छ त्यही कुरा पुन: मस्तिष्कमा अंकित हुने चक्र चलिरहन्छ । मनुष्य कर्म यही चक्रको अधिनमा भइरहेको हुन्छ । तसर्थ स्वभाव परिवर्तन गर्न यो चक्र तोड्नुपर्ने हुन्छ । यसका लागि विशेष कार्ययोजना बनाएर पूर्ण जागरुकताको साथमा काम गर्नुपर्ने हुन्छ । 
कुनै पनि कार्य ‘गर्न’ सकिन्छ, तर कुनै कार्य ‘नगर्न’ केही कठिन हुन्छ ।
 
जस्तो अहितकर आहार ‘जंक-फूड’ नित्य खाने बानी भएको व्यक्तिलाई भोक लाग्दा ‘जंक-फूड’ नखाइकन बस्न गाह्रो हुन्छ, तर त्यसलाई हितकर आहारले पूर्ति गर्न केही सहज । त्यस्तै नकारात्मक बानी सुधार्नका लागि त्यसलाई सकारात्मक बानीले पुन: स्थापित गर्ने अभ्यास गर्नु बढी उपयुक्त हुन्छ । अब बानी सुधार्ने तरिकाको क्रमबद्ध रूपमा चर्चा गरौं :

पहिचान
आफूले नित्य गरिने क्रियाकलापको विचार गरेर सुधार्नुपर्ने र विकास गर्नुपर्ने बानीहरू पहिचान गर्नुपर्छ । जस्तो सुधार्नुपर्ने: धेरै इन्टरनेट चलाउने, विकास गर्नुपर्ने : धेरै समय पढ्ने । ती सबैमध्ये कुन परिवर्तन गर्नु सबैभन्दा धेरै आवश्यक छ, त्यसको कारणले कति लाभ कति हानी भएको छ, सबै विचार गर्नुपर्छ । 

यसलाई परिवर्तन गर्ने बारे दृढता मनमा ल्याएर कार्य योजना बनाउनुपर्ने हुन्छ । पुरानो बानी छोड्न खोज्दा पनि बारम्बार चिप्लिने (पुन: सुरु गर्ने) स्थिति धेरै आउन सक्ने हुनाले कस्तो परिस्थितिले पुरानै बानीमा फर्कन प्रेरित गर्छ जानेर पहिल्यै सचेत हुनुपर्छ । 

वैज्ञानिक रिपोर्टहरूले बताएअनुसार आफूले गर्न चाहेको कार्यलाई लाभ-हानीको मूल्यांकनसहित कार्य योजना बनाएर नियमित डायरीमा लेख्ने व्यक्तिहरूमध्ये धेरैले पालना गर्ने गरेको हुन्छन । त्यसैले आफ्नो ‘स्वभाव परिवर्तन’ कार्य-योजना लेखेर बेलाबेला मूल्यांकन गरिरहँदा, त्यसलाई पालना गर्ने सम्भावना अझ बढी हुन्छ ।

एकपल्टमा एउटा बानीमा मात्र काम गर्नुपर्छ । एकैपल्ट धेरै कार्य सम्पन्‍न गर्न खोज्दा झनै तनाव हुन सक्छ । त्यसैले एउटामा केही सुधार भएपछि मात्र अर्कोमा कार्य गर्न थाल्नुपर्छ ।  

लामो समय लागेर बनेको स्वभाव एकैपल्टमा परिवर्तन हुँदैन, त्यसैले आफैँलाई समय दिनुपर्छ । कमसेकम ३० दिनको नित्य पालन गरिने कार्य योजना बनाउनु राम्रो हुन्छ ।

हिँड्दा हिँड्दै कहिलेकाहीँ चिप्लिन सकिन्छ । त्यस्तो बेला निराश नभई फेरि उठेर दृढताको साथ अघि बढ्न पर्छ । यदि ३० दिनसम्म अहितकर आहार नखाने योजना छ । पाँच दिनसम्म पालना गरेर अर्को दिन फेरि पुरानै बानीमा फर्किएको छ भने- पाँच दिनको सफलताका लागि आफैँलाई बधाई दिँदै फेरि यो योजनामा अगाडि बढ्नुपर्छ ।

वातावरणमा पनि अलिकति परिवर्तन गर्नुपर्ने हुन्छ । भोक लाग्‍नुभन्दा अघि नै स्वस्थहित आहारहरू जस्तै :  मकै, भटमास, सातु, फलफूल, मेवा, आदिको स्टक राख्ने र आखाको सामुन्‍ने (खास गरी भोक लागेको बेला) अहितकर आहार पर्न नदिने । बेला बेला आफ्नो मनलाई सानो बच्चालाई सम्झाए जसरी प्रेमपूर्वक सम्झाउनुपर्ने हुन्छ कि आफूले यो सबै गर्न किन आवश्यक छ ।

यी सबै गर्दैगर्दा पनि पुरानो बानी छोड्न र नयाँ बानी बसाउन गाह्रो हुँदा के गर्ने ? यसका लागि दुई कुराहरू अति आवश्यक हुन्छन् : जानकारी, प्रेरणा । जानकारी त अरुबाट प्रशस्तै लिन सकिन्छ । तर प्राय:जसोको आन्तरिक प्रेरणाको अभावमा गर्न खोजेको कार्य प्रभावकारी ढङ्गले सम्पन्‍न हुन सक्दैन । यो बाहिरी भन्दा पनि आफैँभित्रको तत्वसँगको युद्ध हो । प्रश्न उठ्छ, कुन तत्वसँगको ? 

भगवत् गीतामा अर्जुनद्वारा सोधिएको छ, ‘मनुष्यले आफूले गर्न नचाहेको, गलत कर्म पनि यसरी गर्छ मानौँ अन्य कुनै शक्तिद्वारा सञ्चालित छ, यस्तो किन हुन्छ ?’ मानौँ आफ्नो रिमोट कन्ट्रोल अरु कोसैको हातमा छ । 
श्री कृष्णअनुसार यो ‘अन्य कुनै शक्ति’ वास्तवमा आफैँभित्रको रजोगुणद्वारा उत्पन्‍न काम तथा क्रोध हुन जसले गर्दा मनुष्य सोच विचारै नै नगरीकन हानी हुने कर्ममा प्रवृत्त हुन्छ । (गीता- २/३७)

त्यसैले योग, ध्यानद्वारा मनमाथि नियन्त्रण गर्ने अभ्यासले पनि राम्रो स्वभावको विकासमा धेरै लाभ मिल्छ । ध्यान साधना तथा अध्यात्मिक ज्ञानले जागरुकताको विकास गर्छ र आफ्नो मनको रिमोट कन्ट्रोल आफ्नो हातमा लिन सहज हुन्छ । 

माथि भनिएका सबै तरिकाहरूको अभ्यास गरेर पनि आफूमा परिवर्तन ल्याउन गाह्रो भएमा सङ्गत/सत्सङ्गद्वारा सहज गर्न सकिन्छ । हामी जस्तो मानिसद्वारा घेरिएर बस्छौँ, त्यस्तै हुँदै जान्छौं । त्यसैले जस्तो बन्‍नु छ, त्यस्तै व्यक्तिको नियमित सङ्गत गर्नुपर्छ । राम्रो व्यक्तिको सङ्गत गर्नु भनेको अर्काले चलाएको डुङ्गामा बसेर नदी पार गर्नु जस्तै हो । आफूले थाहा पाउनुअघि नै आफूमा परिवर्तन आउन सुरु भइसकेको हुन्छ ।

अब वास्तवमै आफ्नो जीवनमा परिवर्तन चाहनुहुन्छ भने लेख पढेर मात्रै हुँदैन, हातमा कापी र कलम लिएर कार्य-योजना बनाउन थालिहाल्नु पर्छ । एकैछिन पछि त सबै कुरा बिर्सिन्छ । आफ्नै विकास गर्ने यस यात्राका लागि, स्वयंसँगको यस युद्धमा विजयको लागि शुभकामना ।


Author

थप समाचार
x