विचार

विचार

तानाशाहको शल्यक्रिया

प्रधानमन्त्री ओली तानाशाह कि राजनेता ?

डा. कृष्णराज पन्त |
चैत ९, २०७७ सोमबार ९:४९ बजे

प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला अभिव्यक्ति र कदम निक्कै विवादास्पद र चर्चामा छन् । यी कदम र अभिव्यक्तिहरूलाई आधार मानेर प्रधानमन्त्रीका आलोचकहरूले उनलाई एक तानाशाहका रूपमा बुझेका छन् भने उनका समर्थकहरूले उनी एक कुशल चामत्कारिक विकासप्रेमी नेताका रूपमा प्रचार गरिरहेका छन् । 

उनका फोटो बेलाबखत भित्ता-भित्तामा र सडक सडकमा झुण्ड्याइएका छन् । मुलुकको समृद्धिका स्वप्नद्रष्टा राजनेताका रूपमा उनलाई उनका समर्थकहरूले प्रस्तुत गरिरहेका छन् । विपक्षीहरू भने उनलाई विधि र पद्धति नमान्‍ने, लोकतान्त्रित संविधान र कानुन कुल्चने, चरम गुटवाज, अहंकारी, असहिष्णु र सन्की तानाशाहका रूपमा उनको आलोचना गरिरहेका छन् । यस परिवेशमा कैयौँ नागरिकहरूलाई भने उनी साँच्चै कुशल राजनेता हुन् या खराब तानाशाह हुन् भन्‍ने कुरा खुट्टयाउन मुश्किल परेको होला ।


त्यसैगरी, कतिपयलाई लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा तानाशाह किन जन्मिन्छन् र समझदारका रूपमा प्रस्तुत हुन छोडेर मानिस किन तानाशाह बन्छ भन्‍ने जिज्ञासा पनि लागेको होला । केही मनोवैज्ञानिक र ऐतिहासिक खोजको अध्ययनमा आधारित यो आलेख पढिसकेपछि पाठकहरू उक्त जिज्ञासाहरूको सम्बोधन आफैँले गर्न सक्षम हुनेछन् भन्‍ने अपेक्षा गरिएको छ ।

तानाशाहको मन र मष्तिस्क 
२०११ मे महिनामा ओस्लो फ्रिडम फोरममा स्नायुवैज्ञानिक तथा क्यालिफोर्निया विश्वविद्यालयका अवकाश प्राप्त प्राध्यापक डा. जेम्स फालोन ले ‘द माइन्ड अफ अ डिक्टेटर’ नामक प्रवचनमा तानाशाहहरूको मिल्दोजुल्दो विशेषताहरूका साथै मष्तिस्कको बनावटबारे विश्लेषण गरेका छन् । उनले मनोरोगीहरूको मनोविज्ञान, वंशाणुसम्बन्धी र मष्तिस्कको गतिविधिको अध्ययन एवं दीर्घ मनोरोगीहरूको स्नायुविज्ञानमा आधारित आफ्नो १८ वर्ष लामो अनुसन्धान र विश्वका खराब तानाशाहहरूबारे गरिएको संयुक्त अध्ययनको आधारमा विश्लेषण गरी ती निष्कर्ष निकालेका हुन् । 

स्नायुविज्ञ डा. फालोनका अनुसार, तानाशाहहरूमा कलात्मक र आकर्षक रूपमा प्रस्तुत हुनसक्ने क्षमता हुन्छ । उनीहरू भयानक आडम्बरी र आत्मप्रशंसक, स्वार्थी, चमत्कारी, माहिर झुठ, धूर्त र छली-कपटी हुन्छन् । त्यसैगरी, तानाशाहहरू निष्ठुर/क्रुर, संवेदनाहीन र पश्चात्तापमुक्त हुन्छन् । कार्यशैलीको हिसाबले उनीहरू सतही, खास कर्तव्यबाट विचलित, कमजोर आत्मनियन्त्रण शक्ति भएका, आवेगी, गैरजिम्मेवार र अरूलाई पीडा दिन आनन्द मान्‍ने खालका हुन्छन् । तिनीहरूमा अनियन्त्रित महत्वाकांक्षा र उत्कृष्ट स्मरणशक्ति हुन्छ ।

तानाशाहहरू आफ्नो महत्वको बढाइँचढाइ गर्ने, सफलता र शक्तिप्रति तल्लीन, आफूलाई विशिष्ट ठान्‍ने, निरन्तर प्रशंसा खोज्ने, हरेक क्षेत्रमा एकाधिकारप्रतिको मोह राख्ने, असीमित शक्तिप्रतिको भोको, हठी र अरूको कुरा नसुन्‍ने, अरूको चाहना र भावना नबुझ्‍ने, अरूलाई ईष्र्या गर्ने, हिंसात्मक र उद्दण्ड व्यवहार देखाउने खालका हुन्छन् । उनीहरू सपनाको व्यापार गर्न माहिर हुन्छन् । तानाशाहहरू यति स्वच्छन्द हुन्छन् कि उनीहरू आफ्ना आकांक्षाका खिलाफ हुने मुलुकको नियम, कानुन, सामाजिक मान्यता आदिलाई मान्दैनन् । उदाहरणका निम्ति, फालोनले लिबियाका शासक मुअम्मर अल-गद्दाफी, बेलारुसका अलेक्जान्डर लुकासेन्को र स्वतन्त्रता-सेनानीका रूपमा भूमिका खेलेर तानाशाहमा परिणत भएका भेनेजुएलाका ह्युगो चावेज लगायतका थुप्रै वामपन्थी र गैरवामपन्थी शासकहरूलाई लिएका छन् । 

जेम्स फालोनका अनुसार, मष्तिस्कका विभिन्‍न भागहरूले मानिसको क्रिया र प्रतिक्रियालाई नियन्त्रण र निर्धारण गरेको हुन्छ । त्यसकारण, मष्तिस्कको बनावटको आधारमा मानिसको स्वभाव निर्धारण हुन्छ । तानाशाहहरूको मष्तिस्क असाधारण र कुनै न कुनै हिसाबले असन्तुलित हुन्छ । त्यसका तन्तुहरू सामान्य मानिसको भन्दा असामान्य तवरले जोडिएका हुन्छन् ।

तिनीहरूमध्ये कसैको मष्तिस्क जन्मअघि नै वा कसैको जन्मपश्चात् क्षतिग्रस्त भएको हुन्छ । परिपक्व मष्तिस्कमा हुनुपर्ने माथिल्लो ‘कोल्ड कोग्निसन’ र तल्लो ‘हट कोग्निसन’ भन्‍ने भागहरूबीच सन्तुलनको अभावमा मानिसले आफ्नो आन्तरिक र बाह्य परिस्थिति अर्थात् अरूको भावना, संवेदनशीलता र सामाजिक परिवेशको उचित विश्लेषण गरी निर्णय लिन सक्दैन र आत्मकेन्द्रित भई जोखिमपूर्ण निर्णयतर्फ उद्दत हुन्छ । मष्तिस्कको तल्लो अघिल्लो भागका तीन फरक खालका स्नायुपुँजीय आवरणहरूको सर्किट (चक्र) क्षतिग्रस्त वा विकृत भई त्यस क्षेत्रको गतिविधिमा कमी आउँदा इमान, नैतिकता र असल र खराब छुट्याउने विवेकमा कमी आउँछ ।

यस्तो असन्तुलनले विश्वका जनसंख्याको दुई प्रतिशत मानिस कुनै न कुनै खालको मनोरोगी हुन्छन्, यसमध्येका केही थोरै अत्यन्तै बहुमुखी र प्रतिभाशाली व्यक्तिहरू तानाशाह बन्‍न सक्छन् । यसरी मानिस तानाशाहका रूपमा विकास हुनमा मष्तिस्कमा वारियर (आक्रामक) जिन (वंशाणु) को प्रशस्त उपस्थिति, कमजोर फ्रोंटल लोब र एमिगाला (मोटिभेसन र इमोसन जस्ता बानी व्यहोरामा महत्वपूर्ण दख्खल राख्ने भाग) जस्ता संरचनाहरू जिम्मेदार हुन्छन् ।

तानाशाहको मष्तिस्कको विकासको सन्दर्भमा जेम्स फालोनले तयार गरेको मोडेलका अनुसार- मष्तिस्कको विकासको अवस्थामा वातावरणले इपिजिनम (डिएनएमा परिवर्तन) हुँदै जिनमा प्रभाव पार्छ र जिनले मष्तिस्कको बनावट हुँदै व्यक्तिको बानीव्यहोरामा असर गर्छ । त्यसैगरी, विभिन्‍न घटना परिघटना, तनाव, शिक्षा, आदत, संगत, खानपान, औषधोपचार आदि समेतको वातावरणले मष्तिस्कलाई क्षति गरेर पनि मानिसको बानीव्यहोरामा परिवर्तन गर्दछ । यिनै प्रक्रियाहरूको माध्यमबाट मानिस तानाशाहका रूपमा विकसित हुन्छ । यसरी, मानिसको स्वभावलाई प्रभाव पार्ने जिनको बनावट र मष्तिस्कको सन्तुलन नेचर-नर्चर इन्ट्रयाक्सन अर्थात् जिन (प्रकृति) र खानपान रहनसहन (वातावरण) को अन्तक्रियाबाट निर्धारण हुन्छ । तानाशाहहरूमा स्मरण शक्ति र हिंसात्मक चिन्तन प्रदान गर्ने जिनको भने पर्याप्त विकास भएको हुन्छ ।

के गर्छन् तानाशाहहरू ?
विभिन्‍न ऐतिहासिक अध्ययनका अनुसार, तानाशाहहरू आफू अत्यन्तै लोकप्रिय भएको र अत्याधिक जनताबाट समर्थन प्राप्त छु भन्‍ने भ्रम दिन्छन् । त्यसैगरी, आफू नागरिकको सहज पहुँचमा भएको भान पार्छन् । उदाहरणका लागि, मुसोलिनीले आफूले नागरिकहरूबाट दैनिक १५ सय निवेदन प्राप्त गरेको र आफूले त्यसको जवाफ दिएको धाक लगाउँथे । हिटलरले जर्मनीमा आफूलाई सामान्य, अनुशासित, अध्ययनशील र अविच्छिन्‍न रूपमा बृहत् भलाइका निम्ति काम गर्ने नेताका रूपमा प्रचार गर्न लगाएका थिए ।

सन् १९२७ मा उनले आफ्नो समर्थनमा सात लाखको जुलुस निकालेका थिए । सन् १९३३ देखि चार वर्षमा हिटलरको पुस्तक ‘मेइन क्याम्फ’को बिक्री ४० लाख नाघेको थियो । हैटीका तानाशाह दुवेलियरले भने आफू लोकप्रिय देखाउन हज्जारौँ मानिसहरूलाई राजधानीमा झिकाएर आफूलाई नेतृत्वमा रहिरहन अनुनय-विनय गर्न लगाएका थिए र जनमत संग्रहमा ९९.८९ प्रतिशत मत आफ्नो समर्थनमा रहेको देखाएका थिए ।
 
हङकङ विश्वविद्यालयका मानविकी संकायका प्रोफेसर फ्र्यांक डिकोटरले आफ्नो किताब ‘हाउ टु बी अ डिक्टेटर’ (तानाशाह कसरी बन्‍ने) मा विश्वका २० औँ शताव्दीका विभिन्‍न शासन व्यवस्थाअन्तर्गतका आठवटा तानाशाहहरूबारे उल्लेख गरेका छन् । उनका अनुसार, तानाशाहहरूले आफ्नो शक्ति आर्जन गर्न र सत्तामा टिकिरहन आफ्ना समकक्षी/प्रतिस्पर्धीहरूलाई किनारा लगाउने, ‘फुटाऊ र शासन गर’को नीतिअनुरूप उनीहरूलाई विभाजित गर्ने र उनीहरूका बीच सूचना तोडमरोड गर्ने र खेल्ने रणनीति अपनाउँछन् ।

साथै, तिनीहरू व्यक्तिपूजा/भक्ति र आतंक दुईवटा औजारको भरमा बाँचेका हुन्छन् । जसका निम्ति आकर्षक व्यक्तित्व र लोकप्रिय शैली भने अत्यन्त आवश्यक हुन्छ । यस्तो भक्ति वा महिमागानमा लेखक, साहित्यकार, पत्रकार, राजनैतिक कार्यकर्ता, राज्य संयन्त्रका सञ्चालकहरू, व्यवसायी र खासगरी संगठित प्रचारका निकायहरूको भूमिका महत्वपूर्ण हुन्छ । 

तानाशाहहरू यति स्वच्छन्द हुन्छन् कि उनीहरू आफ्ना आकांक्षाका खिलाफ हुने मुलुकको नियम, कानुन, सामाजिक मान्यता आदिलाई मान्दैनन् ।

आफूलाई देवत्वकरण गर्ने उनीहरू फोटो र सालिकको माध्यमबाट आफ्नो प्रचार गर्न लगाउँछन् । व्यक्तित्वको भोक मेट्ने सिलसिलामा तिनीहरूले सहयोगी र समकक्षी दुवैलाई उस्तै हिसाबले पतीत बनाउँछन् र दुवैलाई आफ्नो सहयोगमा दमित भएर लाग्न प्रेरित गर्छन् । आफ्ना अधिकांश नागरिकहरू गरिबीले ग्रस्त हुँदाहुँदै तुर्कमेनिस्तानका आजीवन राष्ट्रपति एस. नियजोवले सुनको जलपसहितको आफ्ना १५ मिटर अग्लो मूर्ति बनाए । 

त्यसैगरी, राजधानीमा एक हिमदरबार र मरुभूमिमा ताल निर्माण गर्न लगाए । युगान्डाका तानाशाह इदी अमिनले आफूलाई ‘स्कटल्यान्डका राजा’ भन्थे र आफैँले आफूलाई कैयौँ पदकले विभूषित गर्थे । यसरी, तानाशाहहरू आफ्नो महत्वाकांक्षा पूरा गर्न लाखौँ रकम खर्च गर्न हिच्किचाउँदैनन् । राज्यको स्रोतलाई पूर्ण रूपमा आफ्नो बढावाका निम्ति खर्चन्छन् । नर्वेजियन पत्रकार तथा लेखक माइकल हेमका अनुसार, तानाशाहहरू आफूलाई असल शासक, साहसी, राष्ट्रवादी, विकासप्रेमी झल्काउने उपनाम र उपाधि दिन्छन् । उनी लेख्छन्- व्यक्तित्वको भक्तिगानले तिनीहरूका विपक्षीलाई तर्साउँछ, तिनलाई जित्न कठिन छ भन्‍ने अनुभूति दिन्छ र सत्ता सञ्चालनको असीमित अधिकारको सृजना गरिदिन्छ ।

मुसोलिनीले आफूलाई इटालीको सर्वोत्कृष्ट कलाकारितासहितको सर्वज्ञानी, सर्वशक्तिमान, अपरिहार्य शासक सम्झन्थे भने हिटलरले आफूलाई युरोपको सबभन्दा ठूलो अभिनेता ठान्थे । आफूलाई सबै नागरिकको समर्थन रहेको भ्रम छर्थे र असहमतहरूलाई डरधम्की, दण्ड-जरिवाना, जेलनेलदेखि हत्यासम्मका सजायको माध्यमबाट दबाएर राख्थे । तानाशाहहरूले ‘पर्याप्त मात्रामा दोहोर्याएपछि अन्ततः झुठ पनि साँचो अर्थात् पत्यारिलो हुन्छ र सत्य राज्यसत्ताको सबभन्दा ठूलो शत्रु हो भन्‍ने हिटलरका प्रचारप्रसार मन्त्री जोसेफ गोयबल्सको प्रचार शैलीलाई अवलम्बन गरेका हुन्छन् त्यसैअनुसार सञ्चार माध्यमलाई नियन्त्रण गर्ने कोसिस गर्छन् । विश्वका तानाशाहहरूले भ्रमको यतिधेरै खेती गरेका छन् कि हरेक व्यक्तिलाई नजानिँदो ढंगले उक्त झुठ प्रक्रियामा सामेल गराएका छन् । उनीहरू आफ्नो शासन भ्रष्टाचार र नातावादको समाप्ति, संविधानको रक्षा, अत्याचारको अन्त्य र लोकतन्त्रका स्थापनाका लागि हो भन्‍ने भ्रम दिन्छन् ।

कस्ता हुन्छन् तानाशाहहरू ?
तानाशाहहरू चरम गुटबाज र सर्वसत्तावादी सोचबाट ग्रस्त हुन्छन् । तिनीहरू प्रणाली, विचार, विधि, पद्धतिभन्दा व्यक्तिप्रतिको बफादारिताको भोका हुन्छन् । जस्तै, मुसोलिनीले विचारको पक्षलाई लत्याउँदै फासीवादलाई लम्ब्याए । दुवै माक्र्सवादी भएर पनि बोल्सेविकका लागि मेन्सेविक सबभन्दा बढी शत्रु ठहरिए । कम्युनिस्ट शासनमा स्टालिन, माओ, किमले व्यक्तिपूजा हाबी गराए र आफ्नो शासनकालमा आ-आफ्नो वादलाई स्थापित गरे । धेरै तानाशाहहरू तिनका त्रासदी मनोवृत्तिका कारण शक्तिमा टिकिरहन सकेका देखिन्छन् ।

तिनीहरू आफ्ना चुनौती र गुप्त योजनाबारे उच्च सतर्क भएर मात्र प्रतिस्पर्धीलाई समाप्त गर्न सकिन्छ भन्‍ने सोचबाट गुज्रिरहेका हुन्छन् । तीमध्ये कतिपयले निर्वाचनका माध्यमबाट शक्ति हत्याएका पाइन्छन् भने कतिपयले  कू (विद्रोह) को माध्यमबाट । उनीहरूले लोकप्रियताका लागि राष्ट्रवादको सहारा लिएका छन् । तानाशाहहरू आफ्नै सहकर्मीहरू, नागरिक र न्यायालयबाट भने त्रस्त हुन्छन् र सजगता स्वरूप राज्यको सम्पूर्ण अंगमा आफन्त र आफ्ना समर्थकहरूलाई भर्ती गर्छन् ।

तानाशाहहरू असन्तुलित र अनौठा बानीव्यहोराबाट ग्रस्त रहेको पाइन्छन् । उनीहरू स्वार्थी सोचाइबाट ग्रस्त हुन्छन् । उदाहरणका लागि, रोमन बादशाह कलिग्युला रिसाहा र सनकी थिए । युनिभर्सिटी अफ कोलोराडोका मनोविज्ञानका प्राध्यापक फ्रेड कुलिजका अनुसार, तानाशाहहरू ‘आफूले गरेको जति सबै ठीक’ भन्‍ने आत्मभ्रममा बाँचेका हुन्छन् । तिनीहरूमध्ये धेरैले अहंकार, आत्मप्रशंसा, मनोरोग र परपीडन जस्ता विशिष्ट र नकारात्मक विशेषता बोकेका पाइन्छन् । उनीहरूमा आफ्नो शासनप्रति नागरिकको समर्थन कति छ भन्‍ने द्विविधा र त्रास रहेको हुन्छ र उनीहरू आफू सधैँ असुरक्षित रहेको महसुस गर्छन् ।

तानाशाहहरू जोखिम मोल्न माहिर हुन्छन् । उनीहरूमा असल होस् या खराब जस्तोसुकै कदम हठात् चाल्नसक्ने महान् खुबी हुन्छ । त्यस्तै, तिनीहरू क्रुर हुन्छन् र तिनले सत्तामा रहिरहन प्रयोग गर्ने अर्को औजार भनेको दमन हो । यसअन्तर्गत उनीहरूले नागरिकहरूलाई सरकारको आलोचना गर्न बन्देज, प्रेस स्वतन्त्रता र मानवाधिकारको हनन, प्रतिपक्षीहरूको राजनैतिक अभियानमा रोक लगायतका कदम चाल्छन् । जस्तै, हिटलरले आफूसँग असहमत हुनेहरू र हज्जारौँ यहूदीहरूलाई जेल हाल्ने, जलाउने र मार्ने काम गरेका थिए ।

यसैगरी, तानाशाहहरूमा सत्ता लम्ब्याउन आवश्यक चातुर्य, कौशल, धूत्र्याइँ जस्ता विशेषता हुन्छन् । प्रतिपक्षीलाई कमजोर बनाउन उनीहरू प्रभावकारी र आफूप्रति बफादार सुरक्षा संयन्त्रको व्यवस्था, सुझबुझ प्रचारबाजी र कुशल दाउपेचका माध्यमको सहारा लिन्छन् । फलस्वरूप, आर्थिक विकासको सपना बाँड्ने र आर्थिक प्रलोभनबाट समर्थकलाई खरिद गर्ने जस्ता उपायहरू पनि आवश्यकता अनुरूप अवलम्बन गर्दछन् । राज्यको सोचको रूपमा विभिन्‍न नाराहरू प्रचारमा ल्याउने, विभिन्‍न अभिव्यक्ति र फण्डाका माध्यमबाट आफ्नो बारेमा लगातार समाचार सिर्जना गर्ने, अनौठा कानुनका निर्माण गर्ने, असाधारण कुराहरू सोच्‍ने, स्वर्णजडित संरचनाको निर्माणमा गर्व गर्ने जस्ता गतिविधिहरू विश्वका प्रसिद्ध तानाशाहहरूले अबलम्बन गरेका पाइन्छन् ।


Author

डा. कृष्णराज पन्त

डा. पन्त नेसनल इन्स्टिच्युट फर रिसर्च एन्ड डेभलप्मेन्टका अध्यक्ष हुन् ।


थप समाचार
x