विचार

मनोरञ्जन क्षेत्र : गर्व गर्ने वातावरण बनाऔँ

शुभेच्छा विन्दु तुलाधर |
चैत २८, २०७८ सोमबार ६:३९ बजे

अहिले २३ वर्ष पुगेकी अनिता (नाम परिवर्तन) त्यतिबेला जम्मा १५ वर्षकी थिइन्, जब उनी पहिलोपटक काठमाडौँ प्रवेश गरिन् । धुम्बाराहीको चण्डोलस्थित दिदीको कोठामा बसेकी अनितालाई काठमाडौँ कति महँगो सहर हो भन्‍न कुरा बुझ्‍न त्यति धेरै समय लागेन । काठमाडौँमै बसेर एसएलसी दिने उद्देश्यले गाउँ छोडेर आएकी उनी दिदीले नै लगाइदिएको एउटा दोहोरी रेष्टुरेन्टमा जागिरे भइन् । उनको लागि सहरजस्तै आफू काम गरेको ठाउँ र त्यहाँ आउने मानिसहरू पनि नौला थिए ।

साथै त्यहाँ गरिने व्यवहार पनि । सुरु सुरुमा उनलाई लागेको थियो कि सहरमा गर्ने काम र त्यहाँ हुने व्यवहार भनेको यस्तै हुन्छ । ग्राहकहरूले इशारा गरेर बोलाउने, सँगै बस्‍न दिने, घर व्यवहारको कुरा गर्ने, खानेकुरा खान दिने, साथमा बियर खुवाउने, मात चढ्दै गएपछि शरीरमा छुने गर्छन् । 


सुरुमा यी सबै सहजजस्तो लागे पनि पछि असहज हुँदै जान थाल्यो किनभने रेष्टुरेन्टमा आउने ग्राहकले उनीमाथि गर्ने व्यवहार क्रमशः भारी हुँदै जान थालेको थियो । उनले यसबारे घरमा दिदीसँग कुरा गरिन् । दिदीले रेष्टुरेन्ट मालिकसँगै कुरा गर्ने सल्लाह दिइन् । उनले मालिकसँग कुरा गरिन् । तर मालिकले सम्झाउँदै भने कि काठमाडौँमा यो सबै सामान्य हो, जहाँ पनि हुने यस्तै हो, काम गर्दै गएपछि तलब पनि बढ्दै जान्छ र यस्ता व्यवहारहरू पनि सामान्य हुँदै जान्छ । 

यसै क्रममा एक दिन रेष्टुरेन्टमा विश्वास नेपाल संस्थाका केही महिला प्रतिनिधिहरू आएर यदि आफू काम गर्ने ठाउँमा यस्ता-यस्ता व्यवहारहरू गरिन्छ भने त्यो दुर्व्यवहार हो, त्यसलाई सहेर बस्‍नु हुन्‍न भनी बुझाए । त्यो सुनेर अनिता झसङ्ग भइन् । पछि उनै दिदीहरूको सल्लाहमा उनले रेष्टुरेन्टको काम छोडिन् र केक बनाउने एउटा पसलमा काम गरिन् । अहिले ज्यूँत्यूँ परिवार चलिरहेको छ । कसैको दुर्व्यवहार सहन नपरेकोले उनलाई सन्तोष लाग्छ ।

काठमाडौँमा सञ्चालित मनोरञ्जन क्षेत्रका रेष्टुरेन्टहरूमा काम गर्ने महिला मजदुरहरूमाथि गरिने यौन दुर्व्यवहार र त्यसपछि काम छोड्न बाध्य हुनुपर्ने यथार्थको यो सानो चित्रण मात्र हो । खासगरी राति अबेरसम्म सञ्चालन हुने यी दोहोरी, गजल, डान्सबारजस्ता रेष्टुरेन्टहरूमा कला र संगीत बाहिर देखाउने मनोरञ्जन, आवरण मात्रै हुने र भित्री मनोरञ्जनचाहिँ त्यहाँ वेटरका रूपमा काम गर्ने महिला कामदारहरूमाथि ग्राहकहरूले गर्ने यौन शोषण नै मुख्य हुने गरेको देखिन्छ । ती रेष्टुरेन्टहरूमा काम गर्ने महिला कामदारहरूलाई ग्राहकले गाला सुमसुम्याउने, चिमोट्ने, शरीरका संवेदनशील अङ्गहरू छुनेजस्ता दुर्व्यवहार गर्ने गर्दछन् ।

धेरैजसो ग्राहकले त्यसरी यौनजन्य व्यवहार गर्न दिएबापत कामदारलाई केही पैसा (टिप्स) पनि दिने गर्छन् । रेष्टुरेन्टमा महिला कामदारलाई यस्तो व्यवहार गर्न पाइने भएकै कारणले ग्राहकहरू महँगो पैसा तिरेर भए पनि त्यहाँ जाने गर्छन् । रेष्टुरेन्ट मालिक र कामदारका लागि ती ग्राहकहरू नै कमाइको मुख्य स्रोत हुन् । त्यसैले उनीहरूलाई कसैले केही भन्दैनन् र भन्‍न पनि सक्दैनन् । यस्ता रेष्टुरेन्ट मालिकहरूले त झन् यस्तै गरी ग्राहक खुसी पार्नुपर्छ भनी आदेश दिन्छन् । 

रेष्टुरेन्टभित्र गरिने यस्ता दुर्व्यवहारबाट कतिपय महिला कामदारहरू आजित भएका हुन्छन् । तैपनि अर्को आयस्रोत र अरु कामको लागि आवश्यक सीप र योग्यता नभएको कारण उनीहरू दुर्व्यवहार सहेर भए पनि बाध्यतावस काम गरिरहेका हुन्छन् । राम्रो काम भेट्टाए भने रेष्टुरेन्ट छोडेर नयाँ काममा लागिहाल्छन् । तर धेरैजसो मामिलामा उनीहरूले भेट्टाउने त्यो ‘नयाँ काम’ वास्तवमा कुनै पनि अर्थमा नयाँ हुँदैन । त्यो त उनीहरूलाई एउटा दुष्चक्रबाट निकालेर अर्को दुष्चक्रमा फसाइदिने एउटा खेल मात्र पनि हुनसक्छ ।

रेष्टुरेन्टमा गरिने यस्ता दुर्व्यवहारबाट आजित भएका महिला कामदारहरूलाई अर्को राम्रो काममा लगाइदिन्छु भनी प्रलोभन दिने मानिसहरू पनि त्यहाँ ग्राहककै भएर आइरहेका हुन्छन् । सुरुमा उनीहरूले महिला कामदारसँग सम्पर्क बढाउँछन् । उनीहरूको सुख-दुःख बुझ्छन् । कुरैकुरामा धेरै पैसा कमाउने भए वैदेशिक रोजगारीमा जानु राम्रो हो, आफूले पनि विदेश गएरै पैसा कमाएर आएको हुँ भनी प्रलोभनको जाल फ्याँक्न सुरु गर्छन् । त्यसपछि जाने हो भने आफूले मिलाइदिन्छु, यति पैसा लाग्छ, यसो गर्ने, उसो गर्ने भन्दै फसाउँदै लान्छन् ।

विदेशमा केही मानिससँग उनीहरूको सम्पर्क त भएको हुनसक्छ, तर ती मानिस आधिकारिक वा भरपर्दा भने हुँदैनन् । यदि महिला कामदार जालमा फसिन् र विदेश जान तयार भइन् भने उनीहरूले कुनै वैदेशिक रोजगारी संस्था (म्यानपावर एजेन्सी)सँग सम्पर्क नगरी व्यक्तिगत तवरमै सिधा विदेश पठाइदिने गर्छन् । विदेश पुगेपछि भने ती महिलाको दुःखको दोस्रो चक्र सुरु हुन थाल्छ । हचुवाका भरमा विदेश पुगेपछि त्यहाँ उनीहरूले राम्रो काम पाउन सक्दैनन् । तर काम जतिसुकै नराम्रो भए पनि गुनासो गर्ने व्यक्ति वा ठाउँ भेट्टाउँदैनन् । काम गर्ने ठाउँमा श्रम शोषण मात्र होइन, आर्थिक, यौन, मानसिक र शारीरिक शोषणसमेत सहनुपर्ने हुन्छ ।

त्यसपछि उनीहरूसँग काठमाडौँको रेष्टुरेन्टमा भन्दा पनि भयानक शोषण सहेर बस्‍ने वा फसेको पैसा त्यसै छोडेर स्वदेश फर्कनेबाहेक अर्को विकल्प हुँदैन ।वैदेशिक रोजगारीको बेला यौन शोषणमा परेका कतिपय महिला कामदार गर्भवती हुन्छन् र नागरिकतालगायतका झनै ठूलो झमेला र समस्यामा पर्छन् । 
यसरी यहाँका मनोरञ्जन क्षेत्रका रेष्टुरेन्टहरू आफैमा महिला कामदारहरूमाथि शोषण गर्ने थलो त भएकै हुन्छन्, साथसाथै रेष्टुरेन्टभित्र पीडित भएका महिलालाई असुरक्षित तवरले विदेश पठाइदिने अघोषित सम्पर्क केन्द्रसमेत बन्दै गइरहेको पाइन्छ ।

गरिबी, अशिक्षा, बाध्यता आदि जस्ता कारणहरूले गर्दा अवोध किशोरीहरू र युवतीहरू मनोरञ्जन क्षेत्रका त्यस्ता रेष्टुरेन्टहरूमा काम गर्न पुगेका हुन्छन् । मनोरञ्जन क्षेत्र भन्दैमा सबै रेष्टुरेन्टहरू खराब हुँदैनन् । स्वस्थ मनोरञ्जन दिने रेष्टुरेन्टहरू पनि धेरै छन् । त्यसैले मनोरञ्जन क्षेत्रका रेष्टुरेन्टहरूमा काम सुरु गर्नुभन्दा पहिले आफूले काम गर्न लागेको रेष्टुरेन्टबारे राम्ररी बुझ्नु आवश्यक हुन्छ । त्यो कस्तो खाले रेष्टुरेन्ट हो, त्यहाँ आफूलाई दिन लागेको काम के हो, त्यो काममा आफूले गर्नुपर्ने काम के के हो, कति बजेदेखि कति बजेसम्म बस्‍नुपर्ने हो, तलब सुविधा कस्तो हो, सो रेष्टुरेन्ट कुनै निकायमा दर्ता गरिएको छ वा छैन आदि जस्ता कुराहरूको जानकारी लिनु आवश्यक हुन्छ ।

वैधानिक रुपमा दर्ता भएको रेष्टुरेन्टमा मात्र काम गर्नुपर्छ र श्रमबारे आधिकारिक करार-पत्र बनाउनुपर्छ । यसो गर्दा ठगिने तथा दुर्व्यवहार र शोषणमा पर्ने जोखिम कम हुन्छ । साथै, आवश्यक पर्दा कानुनी सहयोग लिन सजिलो हुन्छ ।

काम सुरु गरिसकेपछि दुष्चक्रमा फस्नुभन्दा पहिल्यै त्यसबारे जानकार हुनु राम्रो हुन्छ । यदि त्यो काम आफूलाई मन नपर्ने खालको हो भने नगर्नु वेश हो । केही गरी त्यसमा फसिसकेको छ भने सतर्कतापूर्वक त्यसबाट बाहिर निस्कनु नै सबैभन्दा राम्रो उपाय हो । त्यसको लागि सबैभन्दा पहिले रेष्टुरेन्ट मालिकसँग कुरा गर्ने, त्यसबाट पनि भएन भने प्रहरीमा उजुरी गर्ने वा यससम्बन्धी काम गर्ने संघ-संस्थाको सहयोग लिने ।

रेष्टुरेन्टमा काम गर्दागर्दै त्यहीँ भेटिएको अर्को व्यक्तिले वैदेशिक रोजगारीमा पठाउँछु वा यस्तै अर्को मनोरञ्जन क्षेत्रको रेष्टुरेन्टमा काम लगाइदिन्छु भने पनि त्यसलाई पत्याएर पछि लाग्‍नु हुँदैन ।

मनोरञ्जन क्षेत्रका रेष्टुरेन्टहरूले ग्राहकलाई कला र सङ्गीतबाट मनोरञ्जन दिनुका साथै धेरै युवाहरूलाई रोजगारी पनि उपलब्ध गराउँदै आइरहेको छ । रेष्टुरेन्ट व्यवसायी संघमा हाल करिब ८ लाख मजदुरहरू सूचीकृत छन् । त्यसमा मनोरञ्जन क्षेत्रका श्रमिकहरूको संख्या नतोकिए पनि यसको संख्या पनि लाखको हाराहारीमा रहेको अनुमान गर्न सकिन्छ ।

त्यसैले विकृति छ भन्दैमा यो व्यवसायमाथि प्रतिबन्धै लगाउनु पनि उचित हुँदैन । बरु यसमा आवश्यक सुधार गरी मर्यादित व्यवसाय बनाउनु आवश्यक छ । यसका लागि राज्यले आवश्यक कानून, नीति, नियमावलीहरू तर्जुमा गरी कडा रुपमा लागू गर्नुपर्छ । साथै व्यवसायीहरूले आफ्नै संस्थामा काम गर्ने मजदुरहरूलाई अमर्यादित, अपमान हुने खालको क्रियाकलाप नगर्ने, नगराउने भनी सामूहिक निर्णय गरी पालना गर्न सके आफ्नो व्यवसायकै मर्यादा बढ्छ भन्‍ने बुझ्‍न जरुरी छ ।  

मनोरञ्जन क्षेत्रको एउटा रेष्टुरेन्टमा क्यासियरका रुपमा काम गर्ने एक युवाका अनुसार पुरुषहरू नै पनि अहिले डान्सबार, गजल, दोहरी रेष्टुराँमा काम गर्छु भनी कसैलाई गौरवपूर्वक भन्‍न सक्ने अवस्था छैन । ब्याङ्कमा काम गर्ने कर्मचारीले म ब्याङ्कमा काम गर्छु भनी सगर्व भनेझैँ, शिक्षकले म शिक्षक हुँ भनी सगर्व भनेझैँ दोहोरी, डान्स रेष्टुरेन्टमा काम गर्ने महिला र पुरुष मजदुरहरूले पनि म दोहोरी रेष्टुरेन्टमा काम गर्छु वा म डान्स रेष्टुरेन्टमा काम गर्छु भनी गर्वसाथ भन्‍न सक्ने दिन आयो भने यो क्षेत्रको मर्यादा उच्च हुने आशा मजदुरहरूले लिएका छन् ।

(यो लेख अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)मार्फत् अमेरिकी जनताको र संयुक्त अधिराज्यको युके एडमार्फत् बेलायती जनताको सहयोगका कारण सम्भव भएको हो । यस लेखभित्रका विषयवस्तु र सामग्री लेखकको एकल जिम्मेवारी हुन् र तिनले यूएसएआईडी वा अमेरिकी सरकारको वा युके एड वा संयुक्त अधिराज्य सरकारको विचार प्रतिविम्बित गर्छन् भन्‍ने जरुरी छैन ।)


Author

थप समाचार
x