विचार

उज्यालो आयो

नीलाम्बर आचार्य |
चैत २८, २०७८ सोमबार ८:३४ बजे

जीवनको के ठेगाना ? मानिसको जीवन केही दशकको हो । सय वर्ष बाँच्‍ने आशीर्वाद हाम्रा पुर्खाहरूले दिने गर्थे । नेपालीको औसत आयुभन्दा बढी उमेर भइसकेको छ मेरो । समयले कसैलाई पर्खदैन । तपाईंलाई भन्‍न चाहेको कुरा भन्‍न भ्याउनुपर्दछ मैले । गर्न चाहेको कुरा गर्न भ्याउनुपर्छ मैले । जीवनको प्रत्येक क्षण बाँच्‍नुपर्दछ मानिस, हरेक मानिसको समयको प्रत्येक अंश उसको जीवनको अंश हो, बाँच्‍नुको अर्थ हो ।
००००
म प्रायः बिहान सबेरै उठ्छु । काठमाडौँ मध्यबानेश्वर मिलनचौक नगिचै त्रिनेत्रमार्गमा घर छ जहाँ सुष्मा र म बस्छौँ । छोरीहरू आ–आफ्ना परिवारसित आ–आफ्नै ठाउँमा बस्छन्, कोही विदेशमा कोही स्वदेशमा । छोरा विदितको विवाह भएको छैन । ऊ अस्ट्रेलियामा पढ्न गएको छ । म बिहान उठ्दा उज्यालो भइसकेको हुँदैन । एकछिनको नित्यकर्मपछि म छतमा उक्लन्छु र हिँड्न थाल्छु । म हिँड्दै छु भन्‍ने चेतनाको निरन्तरतासहित हिँड्न खोज्छु, तर सक्दिनँ ।

मेरो हिँडाइको गतिसित मेरो मनको गतिको तालमेल के मिल्थ्यो ? म हिँडिरहेको छु भन्‍ने बिर्संदै सम्झँदै हिँड्छु । मेरो मन अकल्पनीय गतिमा विचरण गर्न थाल्छ नेपाल र विश्वमा, हजारौं वर्षको इतिहासमा, अनि अरबौँ वर्षको ‘बिग ब्याङ’मा । म हिँड्दा र नुहाउँदा बढी सोच्‍ने गर्दछ समयबारे र समयले प्रस्तुत गरेका समस्याबारे । म छतबाट पूर्वतिर हेर्छ, सूर्योदयको निकटताको आभास देख्छु । सूर्योदयको अवलोकनले समयको अनुभूति गहन पारिदिन्छ ।


अँध्यारो थियो अघिसम्म, तर उज्यालो बढ्दै जान्छ । जब पूर्वको आकाशमा सूर्य देखिन्छ तब काठमाडौँ पूरै उघ्रिन्छ । चारैतिरका पहाडहरू उभिएर स्वागत गरिरहेका हुन्छन् नयाँ दिनलाई, नयाँ दिनको आगमनको उपलक्ष्यमा हामी सबै काठमाडौँबासीलाई । उज्यालो आउँछ, मलाई अङ्कमाल गर्दछ, तपाईंलाई अंकमाल गर्दछ । तपाईंलाई र मलाई घच्घच्याउँछ, झकझक्याउँछ । केही न केही गर्न र अर्थपूर्ण जीवन बाँच्‍न अभिप्रेरित गर्दछ ।

उज्यालो आउँछ, समयचेतना दिन्छ । जीवनको अर्थ बचाउँछ । जीवन बाँच्‍नका लागि हो । बाँच्‍नु भनेको सक्रियता हो । खुशी छर्न हो,– परिवारमा, समाजमा, देशमा । वर्तमानका दौंतरीहरूमा र भविष्यका सन्ततिहरूमा । आनन्दित हुनु हो आफैंमा ।

अप्ठेराहरूसित जुध्नु र तिनलाई जित्नु हो । सजिलो बेला अधिकतम परिणामशील हुनु हो । सङ्कटमा नआत्तिनु र सफलतामा नमात्तिनु हो । समयलाई साथी बनाइराख्नु हो, सुखमा पनि दुःखमा पनि । ऊर्जाशील हुनुपर्दछ बचाइ, ऊर्जाशील हुनुपर्दछ समय र जीवनको अंश ।

म जन्मेको सल्यानमा र हुर्केको दाङमा हुँ, तर सन् १९६७ देखि काठमाडौँमा बस्दै आएको छ । त्यसले पनि मलाई समयको अनुभूति गराउँदछ । म दाङ सल्यानबाट काठमाडौँ सरें । सुषमा र मेरा तीन छोरीमध्ये जेठी छोरी नवोदिता परिवारसहित अमेरिकामा छिन् र माहिली छोरी शुभोदिता परिवारसहित अस्ट्रेलियामा । कान्छी छोरी बानोदिता नेपालमै छिन् परिवारसहित । मेरो परिवारले पनि बदलिँदो समयलाई केही हदसम्म अभिव्यक्त गरेको छ । 

संसार साँघुरो सम्पर्कको दायरामा आएको छ । अस्ति २१ अक्टोबर २००८ मा नाति जन्म्यो कान्छी छोरीबाट । त्यसको फोटो इन्टरनेटमार्फत् त्यसै दिन शिकागोमा मेरा जेठी छोरी, ज्वाइँ र नातिले तथा मेलबोर्नमा मेरा माहिली छोरी, ज्वाइँ र छोराले पाइसकेका थिए । इन्टरनेट हाम्रो समयको नयाँ पहिचान हो । गजबको समयमा हामी छौँ, कम्प्युटर क्रान्तिले संसारलाई विचित्रसित जोडिदिएको छ । बिहानको औषधि र चिया मैले छतमा लिएँ । त्यही चक्कर लगाएँ, आफ्ना सोचाइलाई स्वतन्त्रता दिएँ र त्यहींबाट अवलोकन गरें उदाउँदो सूर्य तथा समयको गतिलाई ।

यो समय चिन्तनका लागि अत्यन्त उपयोगी पाएको छु मैले । धेरै समस्याहरूको समाधान म यसै समयमा खोज्दछु । साँझ सुत्दा सोच्‍न छोडिदिएको छु मैले । अनावश्यक रूपले कुराहरू खेल्न थाल्ने हुँदा यसले निद्रा बिथोल्छ । जसबेला सोचे पनि केही विचार टिपोटयोग्य लाग्यो भने तुरुन्तै टिप्दछ । त्यसैले फुच्चे टिपोटकापी र कलम राखेको हुन्छ साथमा । हिँडाइ र सोचाइको समयपश्चात् छतबाट कोठामा ओर्लन्छु । श्रीमतीसँगै बिहानको हल्की खाजा खान्छु र लेख–पढका लागि कम्प्युटर खोल्छु ।

खुशीरामले बिहानका अखबार ल्याइपुरÞ्याउँछ, म शीर्षक हेर्छ, छेउमा राख्छु कम्प्युटरको किबोर्डमा फर्कन्छु । १७ दिन भयो मैले बिहानबिहान लेख्न थालेको । पहिले अनियमित थियो लेखाइपढाइ । जहिले जहाँ, जति बेला मन लाग्यो त्यति बेला लेख्ने वा पढ्ने । अब बिहान नियमित लेख्ने विचारमा छु । यो क्रम चलोस् भन्‍ने अहिलेको चाहना छ मेरो ।

जीवनको के ठेगाना ? मानिसको जीवन केही दशकको हो । सय वर्ष बाँच्‍ने आशीर्वाद हाम्रा पुर्खाहरूले दिने गर्थे । नेपालीको औसत आयुभन्दा बढी उमेर भइसकेको छ मेरो । समयले कसैलाई पर्खंदैन । तपाईंलाई भन्‍न चाहेको कुरा भन्‍न भ्याउनुपर्दछ मैले । गर्न चाहेको कुरा गर्न भ्याउनुपर्छ मैले । जीवनको प्रत्येक क्षण बाँच्‍नुपर्दछ मानिस, हरेक मानिसको समयको प्रत्येक अंश उसको जीवनको अंश हो, बाँच्‍नुको अर्थ हो ।

(जगदम्बा प्रकाशनबाट २०६५ मा प्रकाशित आचार्यको पुस्तक समय चेतनाबाट) 
अक्टोबर २४, २००८ (कार्तिक ८, २०६५) शुक्रबार

 


Author

थप समाचार
x