कृषि होस् वा ऊर्जा, स्टोरेज शतप्रतिशत जरुरी छ
कुन मुलुक कसरी टाट पल्टियो, त्यो विषयमा धेरै ध्यान र चियोचर्चो नगराैँ । हाम्रो अवस्था कस्तो थियो, के भयो र के हुँदैछौँ, यो विषयमा चिन्तन मनन गरौँ ।
मुद्रा अथवा पैसा वस्तु या सेवाका लागि अपरिहार्य हो तर हामी सम्पूर्ण तन र मन पैसाका लागि नै सुम्पियौँ, जुन दिन पैसाको संकट चुलियो अनि ‘टाट’ भन्ने शब्दको उच्चारण हुन थाल्यो, बर्बराउन त बाँकी नै छ । कपडा नेपालको भन्दा खासाको सस्तो, वनस्पती घ्यू, तेल, चामल, गहँु, भारतको नै सस्तो हुँदाहुँदै गुन्द्रुक र जनै चीनबाट ल्याउन सस्तो हुनु अरु कसैको दोष होला ? कृषि होस् या ऊर्जा बजार सुनिश्चित हुनु जरुरी छ, खेर जान्छ भन्ने डरले उत्पादन गर्दा जहिले पनि अपुग हुन्छ, त्यसैले स्टोरज १०० प्रतिशत जरुरी छ ।
हाम्रोमा स्याउ उत्पादन हुन्छ, २ महिनामा बजारबाट गायब हुन्छ, सुन्तलाको हालत त्यस्तै छ । एक त फलफूल भनेको बिरामी भेट्न जाँदा लाने या त्यतिबेला मात्र खाने परम्परा छ, अर्को फलफूलको रस(जुस)को सेवन त विरलै छ, बरु आँखा कोक, पेप्सी अथवा प्याकेज्ड कन्सन्ट्रेटेड जुसमा जान्छ तर फलफूलको रस स्वदेशी बजारमा पाउन टुरिस्ट एरियामा छिर्नुपर्ने बाध्यता छ ।
देश टाट पल्टेको होइन, हाम्रो सोच चाहिँ टाट पल्टेको हो । उकालो, ओरालो परम्परागत प्रविधि, प्राङ्गारिक मलबाट कम उत्पादन, रोप्दादेखि थन्क्याउँदासम्मको घामपानीको हमला, अनावृष्टि, अतिवृष्टि इत्यादी कृषिका विगत र वर्तमानका चुनौती त थिए अब त जनशक्ति नै मुख्य संकट बन्न पुगेको छ किनकि समय नै पैसा भन्ने उक्ति सार्थक भएको छ । त्यही व्यक्ति त्यति नै समय खाडी या मलेसियामामा काम गर्दा कृषि उत्पादनको १० देखि २० गुणा मुद्रा आर्जन हुने हुँदा त्यही खेत बिक्री वा बन्धकी राखेर बाहिरिनु फाइदाजनक देखियो, तत्काल फाइदा देखियो तर खरिद गरिएका खाद्य पदार्थहरू कुन बेला अखाद्यमा परिणत भयो त्यो त अस्पताल धाउँदा र ५० कटेपछि मात्र महसुस हुने भो, कसैलाई सत्यकथा सुनाउन स्रोता पनि नपाइने यथार्थ पनि जिउँदो नै छ ।
जुन बेला अधिकांश जनता कृषिमा आत्मनिर्भर थिए, आफ्नो बारीको ताजा भान्सामा पाक्थ्यो भने किटनाशक औषधीको प्रयोग नै हुँदैनथ्यो । शारीरिक रूपमा फिट देखिन्थे हामीले त्यो रूपलाई दुब्लो भन्ने बुझ्याैँ, अहिले फिटनेस र तन्दुरुस्तीका नाउँमा अभ्यास गर्ने गरिन्छ, त्यो पनि डिजल र पेट्रोल जलाएर निस्केको अशुद्ध आयु निल्नुपर्ने बाध्यता छ, त्यसो त रुख बिरुवा नभएको सहरहरूमा अक्सिजनको पर्याप्तता कहाँ नै होला ।
समग्रमा विगतदेखि वर्तमानसम्मको हाम्रो कृषि कर्मको अभ्यासले के देखाउँछ भने हाम्रोमा खेर जाने डरले उत्पादन काम गर्छौं या सस्तोमा बेच्नुपर्ने बाध्यता छ । मात्र पाँच दिन अगाडि मलाई चीनको एक ठूलो कुखुरा मासु व्यवसायीले महिनाको १० कन्टेनर कुखुराको पन्जा माग गरेको थियो नेपालबाट । नियमित रूपमा ब्राजिलबाट आयात गर्ने व्यापारीले यदि स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गर्न सकिन्छ भने म नेपालबाट कम्तीमा २ वर्षसम्म आयात गर्छु भन्ने बाचासाथ अनुरोध गरेको थिएँ तर त्यो सम्भव भएन ।
नेपालको ठूला भनिने स्लटर हाउसमा बढीमा दैनिक ७ हजार कुखुरा काटिने रहेछन्, त्यो माग पूरा गर्न दैनिक २०० लाख कुखुरा काटिनुपर्ने रहेछ । चीनको मागको कुरा छाडौँ, नेपालमा उत्पादित कुखुरा नेपालमै खेर जान नदिन पनि कोल्ड स्टोरेज मनग्य हुनु जरुरी रहेछ ।
मलको हाहाकारको खबर बेलाबेलामा सुन्न देख्न पाइन्छ, दोपाया र चौपाया नै घटेपछि यो दुर्दशा भएको न हो । दूध बढी भएमा आक्रोशित भएर सडकमा पोखेको पनि देखिन्छ । दूधबाट दही, नौनी, आइस्क्रिम, घ्यू, पनिर बनाएर नेपालभित्र नै बिक्री गर्ने सप्लाई चेन बन्नु बनाउन जरुरी छ र मागको तुलनामा आपूर्ति बढी भएमा स्टोरेज गर्ने वा प्रमोसन वा महोत्सव (फुड फेस्टिवल)आयोजना गरेर पनि खेर नजाने रणनीति अपनाउनु पर्छ । यस्तै सूत्र अण्डा, मासु, माछामा पनि लगाउन सकिन्छ ।
एकछिन पर्यटनका कुरा गरौँ । राजधानी काठमाडौं र पोखरा लेकसाइडको कुरा गरौँ । होटेलबाट बाहिर निस्केपछि एक या दुई जना मात्र सहर घुम्नुपरेमा ट्याक्सी नै प्रयोग गर्नुपर्ने स्थिति छ । पर्यटनमैत्री सिटीबस नै छैन । कोचाकोच माइक्रोबस र मिनिबस त्यो पनि रुट नम्बर नेपालीमा लेखिएको हुन्छ । १० दिन बस्ने सोच भएको टुरिस्ट एक दिनमा आत्तिन्छ ।
जुन बेला अधिकांश जनता कृषिमा आत्मनिर्भर थिए, आफ्नो बारीको ताजा भान्सामा पाक्थ्यो भने किटनाशक औषधीको प्रयोग नै हुँदैनथ्यो । शारीरिक रूपमा फिट देखिन्थे हामीले त्यो रूपलाई दुब्लो भन्ने बुझ्याैँ
होटेल र रेस्टुरेन्टमा मेनु त होला तर अनुगमन छैन । ठगिएको महसुस भयो भने आफ्नो मुलुकमा गएर आफ्नो नजिकको व्यक्तिहरूलाई त यो बेथितिबारेमा त अवश्य बताउँछ नै होला । सुरक्षा र सरसफाइको त कुरै नगरौँ । राजमार्गमा खुला रूपमा मुत्र त्याग गर्न अधिकार मान्ने मुलुकका नागरिक हौँ हामी । यदि पर्यटन उद्योग बनाउने हो भने धेरै पूर्वाधारहरू जरुरी छन, राजमार्गमा सरसफाइ, रेशमी सडक, सफा शौचालय, सभ्य बोली र मुस्कानसहितको सत्कार र अन्तर्राष्ट्रिय स्तरको स्वस्थवर्धक खाना हुनुपर्दछ । माया र आदर लिनु पहिले दिन जान्नुपर्दछ । अतिथि देवो भव ब्यानरले पर्यटन उद्योगमा परिणत नहुने पक्का छ ।
ऊर्जा क्षेत्रको कुरा गरी साध्य छैन । सबैभन्दा पहिले त ऊर्जा भनेको विद्यत् भन्ने बुझाइ छ, त्यो पनि जलविद्युत् मात्र । अन्य स्रोतको त विद्युत् नै होइन भए पनि नेपालमा सम्भव छैन भन्ने बुझिन्छ । डिजल पेट्रोल ग्यास त आयल निगमले बिक्री गर्ने पदार्थ मानिएको छ । जलस्रोतमा विश्वमा नै धनी मुलुक मानिने ब्राजिल जलविद्युत् उत्पादन गर्ने चीन र क्यानडापछिको तेस्रो मुलुकमा पर्दछ ।
जलस्रोतमा प्रचुरता भए पनि आफ्नो आवश्यकताअनुरूप ब्राजिलले सौर्य ऊर्जा पनि उत्पादन सुरु गरेको छ । सन् २०१९ बाट सौय ऊर्जा जडान सुरु गरी मार्च २०२२ सम्ममा १४ गिगावाट जडान गरिसकेको छ । ब्राजिलले वायु ऊर्जा, न्युक्लियर, जैविक इन्धन जस्ता प्रचुर स्रोतहरू पनि छन् र पनि यसले अत्यावश्यक अवस्थामा अर्जेन्टिनाबाट आयात पनि गर्दछ । ब्राजिल दक्षिण एसियाकै बढी ऊर्जा खपत गर्ने मुलुक हो र साथै तेल र ग्यास उत्पादकमा विश्वको आठाँै मुलुक पनि हो ।
हामीसँग न तेल र ग्यासको भण्डार छ न, रिफाइनरी, न त प्रशस्त जलाशययुक्त जलविद्युत् परियोजना, छ त आरओआर टाइपका जलविद्युत् परियोजन र एकाध पिकिङ आरओआर परियोजना । बनेका र बन्दै गरेका कति परियोजनाहरू पनि समयमा सबस्टेसन तयार नबनेर उत्पादित विद्युत्लाई समावेश गर्न नसकिएको समाचार सुनिन्छ । यो परम्परागत पाराले मेरो घरमा सिद्धियो भने छिमेकीसँग पैँचो माग्छु, मसँग भएको बेलामा तिर्छु भन्ने उद्देश्यले घर पनि इज्जतको साथ चल्दैन भने सिङ्गो देश कसरी चल्छ ? झिँगाले झिँगे दाउ हेरेर होइन कि मौरीले जस्तै स्टोरेज गर्न सिकाँै ।
भोलि भारतलाई अत्यावश्यक हुँदा दिन पनि सकियो नत्र हामीसँगै रहन्छ, खेर पनि जाँदैन । स्टोरेज जलविद्युत् र सोलार सबैमा सम्भव छ, सस्तो र व्यवहार उपयोगी पनि छ । पुराना पेट्रोल र डिजल हलुका सवारी साधनलाई विद्युतीय सवारी साधनमा रूपान्तर गरौ र नयाँ यातयातको साधन पनि विद्युुत् या बायो सिएनजीबाट चल्ने प्रकारको आयात गरौँ या नेपालमै असेम्बल गराँै । तेल र ग्यासको प्रयोगलाई नवीकरणीय स्वदेशी ऊर्जाले न्यनीकरण गर्दै शून्यमा झार्ने प्रयत्न गरौँ । आत्मनिर्भरताको लक्ष्यले गरिने उत्पादनले वास्तवमा आत्मनिर्भर हुन सकिँदैन, खेर जाने गरी नै उत्पादन गर्नुपर्छ, त्यो नै स्टोरेज हो, बचत हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया