गठबन्धन : राजनीतिक इमानदारीको धर्म निर्वाह
स्थानीय तह निर्वाचन वैशाख ३० मै गर्नुपर्ने बाध्यकारी अवस्थामा रहेको निर्वाचन आयोग र नगरे ठूलो दुर्घटना हुने भनी चेतावनीका शब्द निर्वाचन आयुक्त दिनेश थपलिया मुखबाट बारबार आइरहेको अवस्थामा वर्तमान नेका सभापति तथा सरकार प्रमुख शेरबहादुर देउवालाई आफ्नै दलका नेता कार्यकर्तालाई व्यवस्थापन गरी वैशाखको महासंग्रामको मूलधारमा ल्याउन सकस भएको छ । ओली नामक उग्रवामपन्थी ट्याग भिडेका घमन्डी, दम्भी तत्वहरूलाई रोक्न पनि ३.५ वर्षे कार्यकालमै पूर्णविराम लगाउन सफल भएको ५ दलीय गठबन्धन वर्तमान चुनावी माहौलमा आएर शंका उपशंकाको बीच विन्दुमा गएर फसेको छ ।
नेपाली काँग्रेसका नेता स्व. गिरिजाप्रसाद कोइरालाको एक भनाइ प्रायः हामी काँग्रेसीहरू उच्चारण गर्ने गरेको छौँ । ‘नेपाली काँग्रेसले जे भन्छ त्यो गर्छ, जे गर्छ त्यो भन्छ,’ आज गठबन्धनको सवालमा नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई हामी कुन रूपमा हेर्न चाहेका छाँै । त्यो प्रश्न पनि हामी बीचबाट नै उठान हुन जरुरी छ । हिजो लगभग दुई तिहाइ प्राप्त नेकपा एमालेको सरकार ढलेको बेला केपी ओलीले संसद् विघटन गरेको बेला यिनै शेरबहादुर देउवाले चुनावमा जाऔँ भनेर अह्वान गरिराख्दा हाम्रै नेता कार्यकर्ताहरूको चर्को विरोध देउवाले सुन्न पाएका थिए ।
तिनै नेता कार्यकर्ताको भावनालाई कदर गरेर देशको अवस्थालाई मध्यनजर गर्दै गठबन्धनमार्फत देउवा प्रधानमन्त्री भएका हुन् निःसन्देह गठबन्धन दलको घटकहरूको विभिन्न प्रस्तावहरू होला, एजेन्डाहरू होला, उद्देश्यहरू होला ती तमाम सर्तहरूको पालना गर्दै शेरबहादुर देउवा प्रधानमन्त्री भएका होलान् आज हामी र हाम्रो काँग्रेसले गठबन्धन दलका घटकहरूलाई धोका दिन मिल्छ ? के हामी हाम्रा नेताहरूलाई धोखेबाजको संज्ञा, बिल्ला भिडाउन खोजेका हाँै त ?
२०६३ मंसिर ५ गते स्व. नेता गिरिजाप्रसाद कोइरालाले माओवादीसँग विस्तृत शान्ति सम्झौता हस्ताक्षर गरी ऐतिहासिक रूपमा हिंसा र आतंकको राजनीति समाप्त भएको घोषणा गरेका थिए यसबाहेक २०६३ मंसिर १२ गतेदेखि गिरिजाप्रसाद कोइराला सरकारको संयुक्त राष्ट्र संघको प्रत्यक्ष निगरानीमा नेपाल कम्युनिस्ट पार्टी माओवादीको जनसेना समायोजन तथा हतियार नियन्त्रण सम्झौता व्यस्त भएको थियो ।
२०६४ साल भदौ १३ गते मधेस आन्दोलन मधेस विद्रोहको रूप लिएर मधेसमा आगो बलिरहँदा स्व. गिरिजाप्रसाद कोइरालाको निर्देशन र तत्कालीन गृहमन्त्री तथा गिरिजाबाबुको विश्वासपात्र कृष्णप्रसाद सिटौलामार्फत मधेस आन्दोलनलाई सम्झौतामार्फत व्यवस्थापन गर्न एक कुशल नेतृत्व गरी नेपाल र नेपाली काँग्रेसको साख बचाउन सफल भए ।
२०७२ नेपालको संविधान असोज ३ मा जारी बखत नेपाल सरकारको प्रधानमन्त्री स्व. नेता सुशील कोइरालाले गठबन्धन सरकारको नेतृत्व गर्दै गर्दा विभिन्न बाधा अवरोधलाई वास्ता नगरी नेपाली काँग्रेस र देशप्रतिको इमानदारी प्रस्तुत गर्दै नेपाली जनताको सहादतबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न पनि नेपालको संविधान घोषणा गरियो ।
माथि उल्लिखित घटनाहरू धेरै इतिहासलाई केलाएर निकालिएको कथाहरू होइन तपाईं हाम्रो उमेर समूहकै अगाडि घटेको हो इतिहासको पन्नालाई हेर्ने हो भने २००७ साल तिरको क्रान्ति २०१७ र २०४६ सालतिरको क्रान्तिको अगुवाइ गर्ने काँग्रेस र काँग्रेसमाथि विश्वास गर्ने आमजनता अभावको बेला सहयोगका लागि तयार रहने काँग्रेसलाई शेरबहादुर देउवा कसरी धोखेबाज साबित गराउन सक्छन् यो प्रश्नप्रति सोच्ने जिम्मेवारी पनि हाम्रै दायित्वमा पर्न जान्छ ।
कम्युनिस्टहरूको एकताबाट प्राप्त सत्ताको दौरान नेपाली जनताले भोगेका दुःख, अवहेलना, महँगी, भ्रष्टाचार, मजाकिया भाषण सपनाबाहेक आन्दोलनमा होमिएका कम्युनिस्ट नेताहरूको अवहेलना केपी ओली सरकारको गर्यो जसको परिणाम स्वरूप बन्न गएको गठबन्धन मात्र नभई एक सन्की, मूर्ख, विवेकहीन जनता तर्साउने र परिकल्पनाको सागरमा लगेर पौडी खेल्न लगाउन नेता एवं यिनका जमातहरूलाई राजनीतिक चेतनअनुसार र २१ औ शताब्दीका जनता अब चलाख भए त्यसको उदाहरणका लागि भए पनि गठबन्धनमार्फत प्रचण्ड, माधव, उपेन्द्र र जनमोर्चाका साथीहरूलाई इमानदारीसाथ सँगै लग्ने आवश्यकता देखिन्छ ।
अर्कोतिर नेपाल अन्तर्राष्ट्रिय राजनीतिको एउटा खेल मैदान पनि हो रे कारण उत्तर र दक्षिणको मौसमी बेगले पनि नेपाललाई फरक पारेको हुन्छ । एकथरीको आँकलन हिजो केपी ओली, प्रचण्ड, माधव अर्थात् सबै कम्युनिस्ट घटकहरूलाई एक सूत्रमा बाँध्न उत्तरी ध्रुवले भरमजदुर प्रयास गरेको थियो रे साथै शेरबहादुर देउवाको सरकारलाई दक्षिण ध्रुवको आशीर्वाद प्राप्त छ भनी एक थरीको सोचाइ छ ।
इतिहास साक्षी छ नेपाली काँग्रेस हिजोदेखि आजसम्म कम्युनिस्टहरूसँग एक्लै लड्दै आएको छ र लड्ने पनि छ नेपाली काँग्रेसका नेता कार्यकर्ताहरूको इमानदारी र निष्ठाका कारण हामीले जित हात पारेको छाँै आउने दिन पनि हाम्रा लागि सरल छन् तर धोकेबाजको बिल्ला भिडेर होइन, यस चरण चुनाव हामी गठबन्धनमार्फत लड्ने आउने चुनावहरूमा गठबन्धन घटकका दलहरूलाई सुरुवाती दिनमै आआफ्नो बाटो अंगिकार गर्ने गरी भद्र सहमतिको आधारमा अगाडि बढे नेपाली काँग्रेस र शेरबहादुर देउवामाथि सत्ता गठबन्धनको विश्वास कायम हुने र नेपाली काँग्रेसको साख पनि बरकरार रहनेछ ।
समग्रमा अहिलेको राजनीतिक अवस्थालाई नेपाली काँग्रेसको आस्थावान कार्यकर्ताको हैसियतले भन्नुपर्दा हामी शेरबहादुर देउवाको पक्षमा उभिन जरुरी देखिन्छ । आफ्नो प्रधानमन्त्रीका कुर्सी बचाउन, नेपाली काँग्रेसलाई डुबाउनै लागेको भनी आरोपहरू देउवामाथि लगाउँदै आएका छौँ तर सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा राजनीतिक इमानदारिताको धर्म निर्वाहमा केन्द्रित हुनुहुन्छ र यसले वर्तमानमा हामीलाई फाइदा र घाटा देखाउन नसके पनि आउने दिनले प्रमाणित गर्नेछ तसर्थ हामी हाम्रो नेतालाई सत्ता गठबन्धनको सकसबाट बाहिर निस्किन मद्दत गर्नुपर्ने आवश्यक देखिन्छ ।
( लेखक नेपाली काँग्रेस पर्साका युवा नेता हुन्)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया