हाम्रो चाबी हामीसँगै होस्
मुलुकले आर्थिक र सामाजिक रूपमा कायापलट भएको हेर्ने प्रतीक्षा गर्दा गर्दै पाँच दशक बित्न आँट्यो, दिन २ गुणा, रात ४ गुणा दुर्गतिको पथमा लम्केको देखिन्छ। विलासिताको जीवन बिताउने तहमा पुगेकाहरूको पनि अनुहारमा मौलिक चमक र ओठमा प्राकृतिक मुस्कान हराउँदै गएको यत्रतत्र भेटिन्छ । डर, त्रास र प्रश्नवाचक चिन्ह देखिन्छन्, हाउभाउ र व्यवहारमा ।
बाँदर र कागलाई पात्र बनाइएको धेरै उखानहरू सुनियो र यथार्थमा नेपाली जनजीवन त्यही पात्रहरू बनेको भान हुन्छ । हामीले हामीलाई नै चिनेनाँै । भुइँको टिप्न खोज्दा पोल्टाको खसिरहेको छ । हाम्रो सम्पत्ति जनशक्ति र जाँगर हो त्यो बेच्न बाध्य छौँ, संक्षिप्तमा प्रत्यक्ष अप्रत्यक्ष बेचिने, बाहिरिने बहानाहरू बाक्लिँदै छन् र साइबर झ्यालहरूबाट मुलुक परिवर्तन हुन नसकेको रोषको बमबारी चलिरहेको छ । मुलुकको माया विश्वभरि छरिएर बस्ने जो कसैले मार्न सकेको छैनन्, यो घाम जस्तै छर्लङ्ग छ । जल, जङ्गल, जडिबुटी, जनशक्ति, खानी, खनिज आदि, इत्यादि जे सम्भावना छन्, यिनीहरूलाई तपसिलमा राखेर हामीले पोल्टाको जोगाउनु छ । त्यो हो, कृषि उत्पादन तथा कृषि पर्यटन, ऊर्जा उत्पादन तथा ऊर्जा पर्यटन ।
नेपालमा नै उच्च उत्पादन हुने समयमा (पिक प्रोडक्सन सिजन)मा विदेशी सुन्तला र स्याउ त बजारमा देख्नुभएकै छ । कारण अनेक छन् । मुख्य त भण्डारण र ढुवानी नै हुन आउँछ । यो दुःखद् हो । शीत भण्डारणका लागि करोडौँ खर्च लाग्छ र ढुवानीले निश्चित दूरी पार गर्दा विदेशी स्याउ सजिलै प्रतिस्पर्धा गर्न सक्छन् हाम्रो उत्पादनसँग । हाम्रो कृषि क्षेत्र निर्वाहमुखी मात्र हुनु, उद्योगमा परीणत हुन नसक्नु कारण यस्तै यस्तै विविध तत्व हुन् । एउटा विरहरूको देश नेपाल जहाँ बच्चादेखि नै नेपाल कृषिप्रधान देश हो भनेर घोकाइन्छ, त्यसले मानव निर्यात गर्छ, आफ्नो भूमि अस्तित्व रक्षा गर्न हम्मेहम्मे छ, अर्को वीरहरूको देश इजरायल जहाँको जमिन ३० प्रतिशत कृषिका लागि योग्य छैन, फलफूल निर्यात गर्दछ, आफूलाई विस्तार गर्दै बलियो अस्तित्वमा राखेको छ । हामी भने पहिचान गुमाउँदै गएका छाँै । पाहुनालाई देउता मान्ने जनताहरू पर्यटन धरापमा छ र कृषिमा आश्रित जनता खेत बेचेर या बाँझो राखेर कुनै न कुनै बहानामा बाहिरिएका छन् । न त सिस्टम बन्न सक्यौँ, न मेसिन नै हामी त विश्व बजारमा सस्तो औजार बन्दैछौ । अब कति वर्षसम्म बन्ने ?
मैले पटकपटक भन्दै आएको छु, ऊर्जा भनेको विद्युत् मात्र होइन, पेट्रोलियम पदार्थहरू डिजल, पेट्रोल, कोइला, ग्यास हुन् । बेलायतले भारत कब्जा गर्नेबित्तिकै रेल सञ्जाल विस्तार गर्नुका कारण त अवश्य छ । सुरुआतमा बाष्प इन्जिन (कोइला) नै इन्धन थियो बिस्तारै भारतमा नै प्रशोधनशाला (रिफाइनरी) स्थापना हुन थालेपश्चात् डिजल, पेट्रोल पनि सस्तोमा उपलब्ध हुन थालेको हो । आजको मितिमा भारत वायु प्रदूषण न्यूनीकरण गर्ने दौडमा कोइलाको प्रयोग शून्यमा झार्ने लक्ष्यका साथ अगाडि बढिरहेको छ । रेल मात्र होइन, कोइला प्लान्टलाई विस्थापित गर्न गिगावाट स्केलमा सौर्य ऊर्जा केन्द्रहरू द्रुततर गतिमा स्थापना गर्दै छ भने बस, ट्रक, कारहरू सिनएनजी त्यो पनि जैविक, बायो सिएनजी र विद्युत्बाट सवारी साधनहरू चलाउने लक्ष्यका साथ अगाडि बढेको छ ।
सीएनजी के हो ?
सिएनजी (कम्प्रेस्ड न्याचुरल ग्यास) संकुचित प्राकृतिक ग्यास पेट्रोल, डिजल, पेट्रोल र एलपिजी जस्तै इन्धनका रूपमा प्रयोग गर्न सकिने एक प्रकारको ग्यास नै हो । यो ग्यास जल्दा या ऊर्जामा परिणत हुने प्रक्रियामा माथि उल्लिखित भन्दा इन्धनहरू (डिजल, पेट्रोल) भन्दा कम अवाञ्छनीय ग्यासहरू उत्पादन गर्दछ । अन्य इन्धनको तुलनामा प्राकृतिक ग्यास कम खतरा हुन्छ किनभने यो हावाभन्दा हल्का हुन्छ र स्रोतबाट छोडिँदा छिटो फैलन्छ । बायो मिथेन– एनारोबिक पाचन वा ल्यान्डफिलबाट परिष्कृत बायोग्यास प्रयोग गर्न सकिन्छ । सीएनजी प्राकृतिक ग्यासलाई संकुचन (कम्प्रेस) गरेर बनाइएको हो, जुन मुख्यतया मिथेन (सीएच)) बाट बनेको हुन्छ, यो वायुमण्डलीय दबाबमा समाहित आयतनको १ प्रतिशतभन्दा कममा हुन्छ । यो २० देखि २५ एमपीए (२९०० देखि ३६०० पीएसआई) को दबाबमा हार्ड कन्टेनरमा भण्डारण र वितरण गरिन्छ, सामान्यतया बेलनाकार वा गोलाकार आकारहरूमा । सीएनजी परम्परागत पेट्रोल/आन्तरिक प्रज्ज्वलन इन्जिन भएका सवारी साधनहरूमा प्रयोग गरिएको हुन्छ पछिल्ला दिनहरूमा केही परीमार्जित गरिँदै आएको छ ।
सीएनजी प्रयोगका लागि विशेष रूपमा निर्मित सवारीहरूमा या त एक्लो सिएनजि इन्जिन, पेट्रोल प्रणालीको साथ दायरा विस्तार गर्न दुई फरक खालको (डुअल) इन्धन वा अर्को इन्धनको साथ संयोजनका रूपमा प्रयोग गरिन्छ । डिजल (द्वि–इन्धन) प्राकृतिक ग्यास सवारी साधनहरू इरान, विशेष गरी पाकिस्तान, एसिया–प्रशान्त क्षेत्र, भारतीय राजधानी दिल्ली र अन्य ठूला सहरहरू जस्तै अहमदाबाद, मुम्बई, पुणे, कोलकाता साथै लखनउ, कानपुर, वाराणसी जस्ता सहरहरूमा बढी प्रयोग भइरहेको छ । यसको प्रयोग दक्षिण अमेरिका, युरोप र उत्तर अमेरिकामा पनि बढ्दो पेट्रोलको मूल्यका कारण बढ्दै छ । उच्च इन्धनको मूल्य र वातावरणीय सरोकारको प्रतिक्रियामा, अटो–रिक्सा, पिकअप ट्रक, ट्रान्जिट र स्कूल बसहरू र ट्रेनहरूमा पनि प्रयोग हुन सुरु भएको छ । सिएनजी एलपिजी जस्तै खाना पकाउन, बिजुली उत्पादन गर्न र पेट्रोल पम्प जस्तै ग्यास स्टेसन स्थापना गरी ठूला ठूला गाडी चलाउन प्रयोग गर्न सकिन्छ । त्यति मात्र होइन, बिजुली उत्पादन हुँदा यसले ताप पनि पैदा गर्छ जुन घर तथा भवनहरू तताउन प्रयोग हुन्छ । हिमाली क्षेत्र जहाँ माइनसमा तापक्रम हुँदा जीवन कठिन हुन्छ, त्यो ठाउँमा यो ग्यासबाट बिजुली निकाल्दा दोहोरो फाइदा हुन्छ । युरोपमा यो प्रविधिको व्यापक प्रयोग छ । पर्यटनका लागि उचित पूर्वाधार र व्यवस्थापन नहुँदा हिमाली भेग एक मरुभूमि जस्तै भएको छ, जाडोमा बसाइ सर्ने र न्यानो भएपछि उक्लने चलन यद्यपि छ । यहाँ हामीले सिएनजी मात्र होइन, हामीले नै बनाउन सक्ने बायो सिनजी (जैविक ग्यास)को चर्चा गर्दैछौ अनि अनि जोडिन्छ कृषि र ऊर्जा ।
हरेक कृषकलाई परिचयपत्र, कार्यसम्पादन र बदमासीको आधारमा सम्मान, सजाय र पेन्सन हुनु जरुरी छ किनकि उनीहरू आँखाले देखिने भगवान् हुन् ।
बायो सिएनजी विभिन्न पदार्थहरूबाट बन्छ । गाई या भैंसी त ग्रामीण क्षेत्रमा पालिएकै छ तर निर्वाहमुखी ढङ्गले, पुरानो पुस्ताले कृषिलाई उद्योगमा परिणत गर्न सकेन, नयाँ पुस्ताले खाद्य पदार्थ सुपरमार्केट या किराना पसलमा पाइन्छ भनेर पढ्यो, माटो छोएन । उदाहरणलाई सरलीकरण गरेर प्रस्तुत गर्न चाहन्छु । एक घरले ५ गाई या भैंसी पाल्न सक्छ । ५ वटा गाई÷भैंसीको गोबरले एउटा सवारी साधन चल्छ । ४० टनको प्लान्ट स्थापना गर्न ३ हजार गोठ भए पुग्छ । यो मुलुकमा कृषि मन्त्रालय, कृषि सहकारी, कृषि विकास बैंकहरू छन् । दुग्धजन्य खाद्य पदार्थ (युरोप र अमेरिका जस्तै) लाई प्रवर्धन गर्न हरेक गाउँपालिका र नगरपालिकामा दूधडेरी स्थापना गरी कृषिलाई एक वर्षमै उद्योगमा परिणत गर्न सकिन्छ । विद्युतीय ऊर्जाबाट पनि सवारी साधन चल्छन्, सीएनजीबाट पनि । जीप, कार मात्र होइन, अन्तरसहर यातायात बसहरू, क्षेत्रीय ट्रकहरू, फोहोर बोक्ने ट्रकहरू, नगरपालिका सफा गर्ने बढार्ने विशेष गाडीहरू, एअरपोर्ट सटल बसहरू, ट्याक्सीहरू, स्कूल बसहरू, कुरिअर भ्यानहरू, विद्युत् र टेलिकम भ्यानहरू अन्य थुप्रै खालका गाडीहरू । नयाँ किन्नु पर्दैन, पुरानो गाडीहरूलाई रूपान्तर गर्न सकिन्छ ।
कृषकको आम्दानीको सीमा नै छैन । माथि उल्लिखित गोबर मात्र होइन, बाली भित्र्याएपछि रहने उब्रेको फ्याँकिने जलाएर नष्ट गरिने चिजहरू, नगरपालिकको जैविक फोहोरहरू सुकेका पातपतिङ्गर सबै बायो सिएनजीका लागि स्रोतहरू बन्न सक्छन् । गाई या भैंसी एक उदाहरण मात्रै हो, पशु पक्षी, दोपया, चौपया, मानव मलमुत्रलाई पनि स्रोतका रूपमा लिन सकिन्छ । अतिरिक्त आम्दानी साथै फाइदाहरू: फोहोरबाट मोहर, सफासुग्घर वातावरण, प्रांगारिक मल (ठोस र तरल), स्वच्छ ऊर्जा, प्रत्यक्ष रोजगारी । दूध, दही, घ्यूको चीज पनिर आदिको त महोत्सव नै आयोजना गर्दा हुन्छ । विदेशमा जुनसुकै काम गर्दा सम्मान हुने, तर नेपालमा मान सम्मान नपाइने विडम्बना छ । कृषक पनि शिक्षक नै हुन् । वर्तमानका दिनहरूमा शिक्षकहरूलाई पनि सम्मान कम मिलिरहेको आभास हुन्छ तर यी सबै रेमिट्यान्सले धमिल्याएको सामाजिक विकृति हुन् । पसिना र प्रयोगात्मक शिक्षाले कुदिएको विवेकले मात्र कृषकको हक र भविष्यको हितमा काम गर्न सक्छ । हरेक कृषकलाई परिचयपत्र, कार्यसम्पादन र बदमासीको आधारमा सम्मान, सजाय र पेन्सन हुनु जरुरी छ किनकि उनिहरू आँखाले देखिने भगवान् हुन् ।
निर्यातमुखी वैज्ञानिक कृषि उत्पादनले मात्र मुलुक कृषिप्रधान बन्छ । मुद्रा बलियो भएपछि मात्र मुलुक धनी बन्नेछ । स्विट्जरल्यान्डको पहिचान घडी, जर्मनी मेसिनेरी र सवारी साधन, जपान इलेक्ट्रोनिक्स, नेपालको पहिचान जनशक्ति निर्यात छ । अब बदलाँै । जीवन मात्र होइन, गुणस्तरीय जीवन खोजौँ । कति ब्यारेल रगतसँग कति ब्यारेल पेट्रोल तथा डिजल साट्ने ? हाम्रो चाबी हामीसँगै राख्न मिल्छ कि मिल्दैन ?
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया