विचार

नेतालाई किन गाली गर्नुहुँदैन ?

पुष्पराज आचार्य |
बैशाख १२, २०७९ सोमबार १४:५० बजे

राजनीतिक नेताहरूलाई गाली गर्ने हाम्रो साझा संस्कार हो । अलिक अगाडि एकपटकको भेटमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भनेका थिए, ‘मलाई भेट्न आएर बाहिर कुरिरहँदा पनि तिनले गाली गरिरहेकै हुन्छन् ।’ त्यसकारण नेताको अति समीपमा वा आमने–सामने हुँदाबाहेक अलिकति दायाँ–बायाँ हामी नेताको कुरा काटिहाल्छौं ।

काम नलाग्ने, कुरा नबुझ्ने, स्वार्थी, अटेरी, मूर्ख, भ्रष्टाचारी, नातावादी, कृपावादी, दलाल, अक्षम, अस्थिर, काँतर, बेवकुफ...  विशेषण गुथाएर हामी नेतालाई गाली गर्छौं । 


मान्छे स्वभावैले स्वार्थी हुन्छ, धेरैजसोमा एकलकाँटे स्वभाव हुन्छ । अनि नेता पनि यही समाजको उत्पादन न हो, तपाईं–हामी जस्तो छौं, नेता अत्यन्त पृथक् हुन्छ भनेर कसरी सोच्न सकिन्छ र ? हो, एक समय थियो । समाज धेरै पछाडि (ब्याकवार्ड) हुँदा पनि बीपी कोइराला जस्ता कुशाग्र नेता थिए । त्यस्ता नेता त अपवाद हुन्छन् । धेरैजसो नेताहरू औसत हुन्छन् । 

अब म नेतालाई गाली गर्नुको अर्थ किन छैन भन्नेमा केन्द्रित भएर केही कुरा राख्ने अनुमति चाहन्छु । 

तपाईं हामी अक्सर नेतासँग सोर्स–फोर्स खोज्छौं; जागिर, प्रोजेक्ट माग्छौं । अधिकांश डेलिगेसन यस्तै हुन्छन् । त्यो भएन भने नेताको सत्तोश्राप गर्न थालिहाल्छौं । 
हामी आम मान्छेको गल्ती कहाँनिर भयो भने हामीले विधि, पद्धति, प्रणाली, संस्था निर्माणमा भन्दा नेता निर्माणमा धेरै लगानी गरेका छौं । विधि मिचेरै भए पनि नेताले त्यो काम गर्दियोस् भन्ने हामी चाहन्छौं । सबै स्कुल, कलेज, विश्वविद्यालयलाई राम्रो बनाउने होइन; भएका केही राम्रामा नेताका सोर्स लगाएर आफ्ना छोराछोरी भर्ना गराउन पाउनुपर्‍यो । 

राम्रो अस्पतालमा मन्त्रीको सोर्स लगाएर शल्यक्रियाको मिति तुरुन्तै राखिहाल्नुपर्‍यो । नसक्नेले त कुर्दै गर्छन् । सक्नेले त हो लिने भन्दै हामी आफ्नो संलग्नता र गच्छेअनुसार बडे दाइ, बडे कमरेड, छोटे दाइ, छोटे कमरेडकहाँ पुग्छौं । 

अहिले स्थानीय निर्वाचनको माहौल छ । टिकट नपाउनसाथ एउटा पार्टी छाडेर, अर्कोमा पुगिहाल्ने प्रवृत्ति देखापरेको छ । आकांक्षी यस्ता छन् कि तिनका लागि पार्टी भनेको केवल प्लेटफर्म हो– उम्मेद्वारी दिने, आफ्नो आकांक्षा पूरा गर्ने । 

अनि तिनैमध्येको कोहीले सामाजिक सञ्जालमा आएर वा सके १० जना मान्छे जम्मा गरेर भन्छ– शेरबहादुर देउवा, केपी शर्मा ओली, प्रचण्ड ... ले खत्तम पारे । न विचार, सिद्धान्त, नीति मिल्छ; के गठबन्धन गरेको ?  यता टिकट नपाएर उता दौडिने, उता नपाए अर्कोतिर दौडिनेले पनि नेतालाई आदर्श सिकाइहाल्छ । 

निर्वाचनमा मत दिने जनताकै कुरा गरौं, निर्वाचन आयोगले चुनाव प्रचारमा मदिरा प्रयोग गर्न पाइँदैन भनेर रोक लगाउनुपरेको छ । ‘रक्सी र मासु’विना निर्वाचनमा प्रचार अपुरो हुन्छ, सक्नेले नेताबाट नगद पनि थुत्छ । अनि फेरि त्यसले अलि पर्तिर चौतारोमा पुगेर गफ चुट्छ, नेताले बिगारे यार !

चुनावमा आशे जनता र लम्पट कार्यकर्ताकै कारण भ्रष्टाचार यो तहमा बढेको छ । किनकि पैसा बाँड्ने नेतासँग छोटे नेता र कार्यकर्ता टिक्छन्, आदर्श र सिद्धान्त उहिले गोलखाँडी गैसक्यो । ‘सरकारले भ्रष्टाचार गर्छ भन्ने होइन, भ्रष्टाचार गर्नका निमित्त सरकार बनाइन्छु भन्ने स्थापित भैसकेको अवस्थामा दलहरूले मिलिजुली गर्न खोज्नु के नयाँ कुरा भयो र ! आखिर यो वातावरण हामीले नै निर्माण गरेका हौं ।

महँगो निर्वाचन प्रणाली लोकतन्त्रका लागि खतरा हो । सबैलाई थाहा छ । अब क्रमशः लोकतन्त्रको चाबी कुनै यत्न (दलाली, अपराधी, बिचौलियागिरी, दोहनकारी, संदिग्ध कारोबारी) को हातमा पुग्दै छ । धेरैले व्यापारीको हातमा पुग्यो पनि भन्छन्, तर व्यापारीको हातमा वास्तवमै छैन । ती दलाल, अपराधी र बिचौलियागिरीले नै असल व्यापार, व्यवसाय गरेर बसेका पार्टीसँग निकट नै रहेका व्यापारीलाई पनि खुनको आँसु निकालेको तपाईं–हामीले देखेकै छौं । दलाली, अपराधी, बिचौलियागिरी, दोहनकारी, संदिग्ध कारोबारीलाई व्यापारी/व्यवसायी भनेर कृपया ती सज्जन र असल व्यवसायीको मानमर्दन नगरिदिऊँ । 

नेपाली कांग्रेसको महाधिवेशनताका हालका महामन्त्री गगन थापाले दिएको भाषण खुबै मन परेको थियो । ‘बीपी कोइराला, गणेशमान सिंह, महेन्द्रनारायण निधिका सबै अनुयायीको उनीहरूमाथि त्यत्तिकै हक छ, जति तिनका छोराहरूको छ । हाम्रा नेताहरू कसैको निजी सम्पत्ति होइनन् ।’ 

मनमनै ‘क्याबात् ! राजकुमार उपाधिधारीलाई भित्तैमा पुग्नेगरी दिए ।’ पनि भनियो । गगन थापा महामन्त्रीमा विजयी भएपछि विरासतविनाको राजनीतिमा यस्ता सयौं गगन थापाको उदय हुनुपर्छ भनेर कामना गर्ने धेरै थिए । 

श्रीमती, श्रीमान्, छोराछाेरी, बुहारी, मितछोरा, मितछोरी, आफन्त केन्द्रित श्रीस्वस्थानी व्रतकथाको प्रसाद झैं चुनावको टिकट बाँड्ने चलनले सयौं गगन थापा होइन, कतै उनी पनि यो दौडमा ‘वन एन्ड वन्ली’ (एक, केवल एक)मा सीमित हुने त होइनन् भन्ने जोखिम बढाएको छ । 

अहिले गठबन्धन कसलाई चाहिएको हो ? एक्लाएक्लै निर्वाचन लडेको भए यसरी सुविधाजनक ढंगले श्रीमती, भाइ, छोराछोरी कहाँ उठाउन पाइन्थ्यो र ! लोकलाज र प्रतिस्पर्धाकै लागि भए पनि सही र राम्रा उम्मेदवार खोजी गर्न दलहरूलाई बाध्यता हुन्थ्यो । त्यहाँनेर पनि धेरैजसोले गठबन्धनको पक्षमा भारी मत प्रकट गरी नेतालाई मनमौजी उम्मेदवार उठाए पनि जितिहालिन्छ भन्ने सहज अवस्था तुल्याइदिनेहरू दोषी नहुने अनि नेतृत्व दोषी हुने कसरी हुन्छ ? 

हामी सबै अवसर र मौकाको फाइदा उठाउन दिनरात दौडदादौडदै हामीले महत्वपूर्ण कुरा गुमाइसकेका छौं । जनताको भूमिका सबैभन्दा ठूलो हुने लोकतान्त्रिक गणतन्त्रमा पनि हामीले आफ्नो अधिकारलाई चिन्न नसकेर, नेतालाई जवाफदेही र उत्तरदायी बनाउन नसकेर, विधि र प्रणाली निर्माण गर्न नसकेर गुमाएका हौं । लोकतन्त्रलाई भ्रष्ट व्यक्तिहरूको हातमा लगेर सुम्पने कामका दोषी तपाईं–हामी सबै हौं । 

हामीले नेताहरूलाई खबरदारी गरेर सार्वजनिक सुविधामा परिणाममुखी लगानी गर्न बाध्य पारेको, सेवा प्रवाह चुस्त/दुरुस्त बनाउन सम्बन्धित निकायबाट जवाफदेहिता खोजेको, विधिको शासन र अनुशासन पालना गर्नेतर्फ ध्यान दिएको र नेतालाई नेताको स्थानमा राखेको भए, यी सबै समस्या आउने नै थिएनन् । 

कार्यकर्तालाई अनुशासन र कानुनबाट जोगाउन, अपराधबाट उन्मुक्ति दिन राज्यका संस्थालाई पंगु बनाउने, प्रहरीले समाते शक्तिको बलमा छुट्ने, न्यायाधीश मिलाएर फैसला आफ्नो पक्षमा पार्ने यस्तो थितिहीन, प्रणालीविहीन राज्य संरचना बनाउन उद्यत गराउने तपाईं–हामी सबै हौं । अब यस्ता सबै सेटिङ, कुरुप राज्य व्यवस्थालाई ठीक गर्ने अनि विधि, पद्धति र अनुशासन निर्माण गर्ने हो भने निर्वाचनमा राम्रा, इमानदार, कुशल र भिजन भएका उम्मेदवारलाई मतदान गरौं । तिनलाई जवाफदेही बनाऔं ।

सोच्नुस् त, तपाईंले छानेको जनप्रतिनिधिले यहाँकै गाउँठाउँमा बुढानीलकण्ठ जस्ता विद्यालय बनाए, तपाईंको बालबच्चाले राम्रो शिक्षादीक्षा पाए भने उसको करिअरको तपाईंलाई के चिन्ता ? त्यो चिन्ता लिएर नेताको खचाखच मुकाममा तपाईं अर्को एकजना व्यक्ति किन थपिनुपर्‍यो । राम्रो उपचार सेवा दिने अस्पताल तपाईंकै गाउँ–ठाउँमा खुल्यो भने सहर धाउने र पालो पाउन नेतालाई याचना गर्न जाने दरकार नै पर्दैन । 

अपराधी, दलाल, बिचौलिया, संदिग्ध कारोबारीलाई निरुत्साहित गर्दै राम्रो व्यापार, उद्यम र व्यवसाय गर्नेहरूलाई प्रवर्धन गर्न सकियो भने राज्यलाई कर तिर्छन् । त्यो कर नागरिककै लागि पूर्वाधार र अन्य सेवाको गुणस्तर सुधारका लागि खर्च गर्न पाइयो भने हाम्रो देश क्रमशः विकास हुँदै जान्छ । अनि हामीले दक्षिण एसियामा अफगानिस्तान पछिकै गरिब मुलुकको ट्याग भिरिरहनु पनि पर्दैन । विधिको शासन स्थापित हुन्छ, पारदर्शिता कायम हुन्छ, दोहन बन्द हुन्छ । 

राम्रो कार्यसम्पादन गरेर जनताको विश्वास जित्नका लागि नेताले प्रतिस्पर्धा गर्नुपर्छ, अनि राजनीति त्यसै सङ्लो भैहाल्छ । त्यसकारण आम जनताले विवेक प्रयोग गर्न निर्वाचन अभूतपूर्व अवसर हो । आफ्नो लोकतान्त्रिक अधिकार विवेकसम्मत ढंगले प्रयोग गर्दै मुलुकका बेथिति क्रमशः भत्काउँदै जाऔं र मुलुकलाई सुधार्न योगदान गरौं । 

नेतालाई होइन, आफैलाई गाली गर्दै ढंगसँग मतदान गराैं । 


Author

पुष्पराज आचार्य

अर्थराजनीति विषयमा कलम चलाउने आचार्य समाचार प्रमुख हुन् ।


थप समाचार
x