ट्याटुभित्रको अजम्बरी प्रेम
हामी सबैले देखेकै छौं कि ट्याटु कस्तो हुन्छ । आजकाल त सहरका कुनाकुनामा कलात्मक रूपमा शरीरमा ट्याटु भर्ने दक्ष कलाकारहरूले दोकानहरू खोलेका छन् । शरीरको बाहिरी देखिने भागमा खोपेर बनाइने चित्रकला या लेखनक्रियालाई ट्याटु भनिन्छ ।
यो शिल्पकारिताको ऐतिहासिकता पनि मानवीय सभ्यता जत्तिकै पुरानो छ । मानिसभित्रको सौन्दर्यबोधको प्रस्तुति र उसभित्रको सिर्जनशीलता चित्रकारिताको माध्यमबाट बाहिर आएको हो, विभिन्न माध्यमहरू खोज्दै । आफ्नो कलाकारिता आफ्नै शरीरमा सोन्दर्यको परिधान कलाकारितामा रूपान्तरित भएर ।
कलाकारहरूले प्राचीन सभ्य सहरमा पनि समाजको माथिल्लो स्थान ग्रहण गर्न सकेन, जसरी अहिले पनि संघर्षरत रहेका छन् । पौराणिक कथाहरूले निर्देश गरेको समाजमा समाजको उपल्लो जातिहरूले शरीरमा ट्याटु बाउन हुँदैन भन्ने मान्यता राख्दथ्यो भने वैश्य, शुद्र र जनजातिहरूमा ट्याटु बनाउने चलन उहिल्यैदेखिको हो । प्रायः हातमा, पाखुरामा, चिउँडोमा वा खुट्टामा अर्थात् भनूँ जहाँ मानिसको नजर सजिलै पर्दछ त्यस्ता स्थानहरूमा ट्याटु बनाउने चलन पुरानो हो, जो अद्यावधिक कायमै छ । यो जातजाति वा सम्प्रदायको घेरा नाघेर विश्वव्यापी बनिसकेको अवस्था छ । किन्तु, मानिसहरूको पुरातन सोच र मान्यताबाट धेरै टाढा गई नसकेको पनि प्रतीत हुन्छ ।
आजकाल बनाइने ट्याटु हरू भने यसको रूपरंग, आकार र प्रकारमा विविध ढाँचा र आयामसमेत थपिएर आधुनिक भएका छन् । हाम्रो मौलिक परम्परामा ट्याटु खोप्दा देवी देवताहरूका नाम वा आफ्नै नाम वा पशुपन्छीका चित्रहरू, धार्मिक चिन्हहरू खोपिने गरिआएकामा आधुनिक तकनिकी र पश्चिमी कलाको प्रभावले यसमा तात्विक भिन्नता ल्याएको छ । अब यो धार्मिक र सांस्कृतिक विम्ब भन्दा पनि कलाको विम्को रूपमा स्थापित हुँदै गइरहेको छ ।
प्राचीन परम्परालाई हेर्दा समाजको बहिष्करणमा परेका महिलाहरूले आफूलाई पतीतका रूपमा देखाउन ट्याटु लाई विम्बका रूपमा प्रयोग गरेका हुन भनिन्छ । तसर्थ, नेपालको वादी जाति महिलाहरू वा मन्दिरमा चढाइएकी बालिकाहरूमा ट्याटु खोप्ने चलन यसैको प्रतीक हो भन्दा अन्यथा हुनेछैन । अरु निम्न कोटिका महिलाहरूले आफूलाई दासीका रूपमा प्रस्तुत गर्न ट्याटु खोपाउने चलन थियो भनिन्छ । देवदासीका रूपमा आफूलाई समर्पण गरेको वा सेविका हुँ भन्ने सन्देश सम्प्रेषण गर्नका लागि चिउँडोमा चित्र कोर्ने चलन रहेको थियो भनिन्छ ।
सामन्ती युगमा जजस्तोे रूपमा यस्को प्रयोग भएको भए तापनि सूक्ष्मरूपमा हेर्दा मानिसभित्रको सौन्दर्य चेत र सिर्जनशीलताको उद्बोधन हो भन्ने लाग्दछ ट्याटु । पुरुषमा भन्दा पनि महिलामा यसको बृहत् प्रयोग देखिँदा सौन्दर्य नै यसको प्रयोजन देखिन आउँछ । धर्म, संस्कृतिभन्दा पनि भावप्रधान देखिन्छ यसमा । साथै निष्ठा, त्याग, समर्पण र भक्तिभाव समेत अन्तर्निहित रहेको देखिन आउँछ ।
त्यसैले होला मानिसहरू कि त भक्ति भावमा लिप्त भएर आफ्नो शरीरमा देवीदेवताको प्रतीक चित्र लेखाउँछन् कि त प्रेमी पे्रमिकाको नाम । प्रेमी प्रमिकाहरू किन एकअर्काको नाम आफ्नो शरीरमा लेख्न उद्यत हुन्छन् ? केले प्रेरित गर्दछ यस किसिमको अग्घोर निष्ठाको कठिन परीक्षण गर्न ? भन्न त भनिन्छ प्रेममा विश्वास हुन्छ । तर लाग्छ प्रेममा विश्वास भन्दा धेरै विश्वास परीक्षणका आयामहरू हुन्छन् ।
परोक्ष वा अपरोक्ष, व्यक्त वा अव्यक्त, चेतन, अर्धचेतन वा अवचेतन मनको तहभित्रबाट पनि प्रेमहरू परीक्षण भइरहेका हुन्छन् । कहिलेकाहीँ लाग्छ, सबैभन्दा वढी अविश्वास, आशंका र त्रास प्रेमभित्र नै हुन्छ । यो किन हुन्छ भन्दा मानिस प्रथमतः आफ्नो भौतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक सुरक्षाको प्रत्याभूति चाहन्छ । त्यसैले प्रेममा धेरै परीक्षा हुन्छ ।
छातीमा ट्याटु लेखेर प्रेमिकाको अगाडि उभिँदै कति गौरवका साथ छाती खोलेर उसको नाम देखाएको थियो होला र भनेको थियो होला, ल हेर प्रिय, यहाँ छातीभित्र र बाहिर तिम्रै नाम छ ।
प्रेममा समर्पण र त्याग त चाहिन्छ नै । त्यसैले होला कोमलाग्नी सुन्दरी प्रेमिकाको अगाडि प्रेमी आफूमा भएको सबै चिज समर्पण गर्न राजी हुन्छ । पौरुषत्वको अहंले फुलेर आकाशको तारा टिपेर ल्याउनेसम्मको असाध्य वचन दिन पुग्छ । प्रेमभाव प्रदर्शनमा आफू श्रेष्ठ भएको देखाउन प्रेमिकाको नाम छातीमा लेखाउन अघि बढ्छ मानिस । छातीमा र हातमा प्रेमिकाको नाम लेखाउने मामिलामा पागल प्रेमीहरू नै अग्रस्थानमा रहेका देखिन्छन् ।
छातीभित्रको मुटुमा अंकुराएको प्रेमो टुसोलाई दुनियाँले देख्ने गरी छातिबाहिर ट्याटु खोपेर प्रदर्शन गर्दछन् प्रेमीहरू । तर प्रेमिकाहरू त्यति हतारो गर्दैनन् । अर्थात् प्रेमका निर्णयहरू भावावेशमा आएर गर्दैनन् महिलाहरू । काटी, छाँटी, तौली, नापी, जोखी, हेरेर, र बुझेर मात्र निर्णय गर्दछन् महिलाहरू । कोही कोही महिलाहरू आफ्नो प्रेम प्रदर्शन गर्न प्रेमीले आफ्नो नामको ट्याटु लेखेर प्रदर्शन गरोस् भन्ने पनि चाहन्छन् । त्यो भनेको पे्रमीको पे्रमको गहिराइको परीक्षण नै हो ।
प्रेमिकाको नामको ट्याटु बनाएर हिँडेका युवाहरू धेरै देखेको छु । मानिसहरू पनि कति स्वार्थी हुँदा रहेछन् भने प्रेम गर्न लायक वयस्क बनाउने माता पिताको नामको ट्याटु बनाउन पे्ररित हुँदैन, तर क्षणिक भावावेशमा आएर, भर्खर परिचय भएर केही दिन हात समाएर हिँडेको भरमा एउटा सुन्दरीको कोमल स्पर्शले उसको नाम आफ्नो छातीमा लेखाउन यसरी आतुर हुन्छ कि ऊ आफ्नो छालालाई कोतरी कोतरी विभिन्न रङ्ग भरेर अजम्बरी प्रेमी बन्न आतुर रहन्छ ।
यो लेखिरहँदा आँखा अगाडि एउटा प्रेम रोगी छ । हिजै देखेको एउटा ट्याटु दोकानमा पुरानो ट्याटु मेटाउन आएको । पाखुरामा प्रेमिकाको नाम, छातीको एउटा कुनामा पनि उसैको नाम । ‘बैगुनीले छोडेर गै हाली’ भनेकै जस्तौ चाला भएछ । कालोपाटीमा सेतो चकले लेखेको अक्षर मेटिएला डस्टरले । सेतो कपडामा नै सही पोखिएको चियाको दाग मेटियला एरियल पाउडरले । तर न मनभित्रको दाग मेटिएला, न छालामा लेखिएको ट्याटु को दाग । कठै बिचरा पागल प्रेमी !
छातीमा ट्याटु लेखेर प्रेमिकाको अगाडि उभिँदै कति गौरवका साथ छाती खोलेर उसको नाम देखाएको थियो होला र भनेको थियो होला, ल हेर प्रिय, यहाँ छातीभित्र र बाहिर तिम्रै नाम छ । कास ! छातीमा ट्याटु खोप्नुभन्दा अगाडि एकपटक उनैलाई सोधेको भए उनको मनभित्रको कुरा थाहा हुने थियो । प्रेममा अतिविश्वास कति घातक हुने रहेछ । ऊ आज पछुताउँदै छ । दोष आफ्नै थियो । उसलाई लागेको थियो, छातीमा ट्याटु खोपेपछि प्रेम अजम्बरी हुन्छ । तर उसको प्रेम अंकुराए पनि नफक्रँदै ओइलाएर झर्यो थपक्क भुइँमा ।
आवेशका निर्णयहरू र बेहोसीमा गाइएका गीतहरूको सुर, ताल र राग मिल्दैन । दुरुह काम पनि गर्न सक्छु भन्दै प्रेमिकालाई प्रभावमा पार्न जति प्रयत्न गरे पनि चतुर प्रेमिकाहरूको नजरमा पुरुषको नालायकी लुक्न सक्दैन । यो प्रकृतिप्रदत्त उपहार हो कि प्रेमी पत्थर हो या पारस त्यसको परीक्षण गर्न सिपालु हुन्छन् नारीहरू । पागल प्रेमीहरू भने आवेश, जोस र वासनाले वशीभूत हठात पराधीन बन्न पुग्दछ । आवेशकै परिणाम छातीमा ट्याटु खोप्न पुग्दछ र पछुतोमा एक्लै चिच्याउँछ । कालजयी त ट्याटु मात्र हो । जीवन यथार्थको विम्ब बोकेर विचरण गर्दछ । अतः ट्याटु खोप्ने निर्णय गर्दा विचार पुर्याएर पछि पछुताउन नपर्ने गरी काम गरौं ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया