विचार

प्रतिबन्धित आत्मकथाको अंश

भारतीय टोली चारपटक चर्किएपछि, पाँचौँपटकमा हाम्रो मण्डल उत्तेजनामा आयो

इकागज |
कात्तिक २२, २०७७ शनिबार १२:११ बजे

यत्तिकैमा चैतको तेस्रो हप्ता आयो । भारत-नेपाल वाणिज्य सन्धि संशोधनको विषयमा वार्ता गर्न भारत सरकारबाट प्रतिनिधि मण्डल दिल्ली पठाउन अनुरोध गरी पत्र लेखी आयो । परराष्ट्र-सचिव नरप्रताप थापाको नेतृत्वमा अर्थ सचिव रामप्रसाद जोशी, उद्योग-वाणिज्य सचिव विश्वशंकर शुक्ल र म सदस्य-सचिव भएर प्रतिनिधिमण्डलले दिल्ली प्रस्थान गर्‍यौँ ।

साथमा हामीले थपनाका लागि मात्रै भए पनि हाम्रा कानुनी सल्लाहकार लिनान्डरलाई पनि लगेका थियौँ । भारतीय राजदूत हरीश्वर दयाल पनि हामै्र साथमा दिल्ली गएका थिए । हामीलाई ठूलो अतिथि सत्कार गरेर सब कुराको बन्दोबस्त गरी अशोक होटेलमा राखे । पुगेको भोलिपल्टदेखि वार्ता सुरु भयो ।


चार दिनसम्म दिनको चार-चार घण्टाको हिसाबले कुरा चल्यो । भारत सरकार हाम्रा लागि बार्सिलोना कन्भेन्सको आधारमा पारवहन सुविधा नदिनमा अडिग रह्यो । एक दिन हाम्रो सम्मानमा एउटा ठूलो प्रीतिभोजको आयोजना भयो । त्यसमा मदिरापान चलिरहेको बेलामा मैले भारत सरकारका तर्फका प्रतिनिधि मण्डलका नेता वाणिज्य सचिव के. बी. लाललाई एक छेउमा लगेर भनेँ, 'तपाईंहरू नेपाल सरकारले अनियमित तस्करी व्यापार गरी भारत सरकारको वाणिज्य नीति खलबलिन्छ भन्ने आशंकाले नेपाललाई निर्बाध पारवहन सुविधा दिन चाहनुहुन्न । नेपाल सरकारसँग भएजति वैदेशिक मुद्रा लगेर तस्करी व्यापार गरियो भने पनि तपाईंहरूको कलकत्ताको समुद्रमा एक थोपा पानी थपिएजस्तो मात्र हुन्छ ।'

मैले यस्तो तर्क पेस गरेपछि के. बी. लालले आफ्नो बडेमानको भुँडी सुम्सुम्याउँदै भने, 'हामीलाई पनि श्री ५ को सरकारसित कति वैदेशिक मुद्रा छ भन्ने कुराको अन्दाज छ । हामीलाई डर श्री ५ को सरकारसित होइन । हेर्नोस्, यस बेला हाम्रा हिन्दूस्थानी बन्धुहरू हङकङ र सिंगापुरमा डटेर बसेका छन् ।

चारपटक जति कुराकानी भएपछि भारत सरकारको प्रतिनिधि मण्डलको हाम्रो मागमा रतिभर सहानुभूति नभएको टड्कारो देखियो । पाँचौँपटक कुरा हुँदा पन्ध्र मिनेटजतिमा नै हाम्रो प्रतिनिधि मण्डलमा उत्तेजना आयो ।

नेपालले पूरा पारवहन सुविधा पाएको खबर सुन्नेबित्तिकै तिनीहरू नेपालमा वैरिनेछन् अनि नेपालको राष्ट्रिय हित पनि खतम, हाम्रो राष्ट्रिय हित पनि खतम !' मैले भनेँ, 'त्यस्ता तस्करी व्यापार गर्ने मानिसहरूको नाम-नामेसी हामीलाई दिनोस्, हामी तिनीहरूलाई नेपालमा टेक्न पनि दिँदैनौँ ।' लालले भने, 'त्यसो नभन्नोस् तुलाधरजी, ती आफैँ नेपाल नआउलान्, तिनका साला, ससुरा आउँछन् । तपाईंहरूले कतिलाई प्रवेशमा रोक लगाउने ? सम्भव हुँदैन ।' यस्तो धारणामा भारतीय पक्ष अडिग रहेपछि वार्तालाप वाणिज्यकै विषयमा मात्र केन्द्रित रह्यो । पारवहनसम्बन्धी हाम्रो मस्यौदामा विचार भएन ।

मंसिर महिनामा काठमाडौँमा फेरि वार्ता सुरु भयो । शीतल निवासको बैठकमा वार्ता चल्यो । मैले विन्धेश्वरी मल्ललाई साथ लिएर प्रतिनिधि मण्डलका जुन-जुन सदस्यले जे-जति बोल्छन्, ती सबै एक-एक बुँदा गरी टिप्न लगाएँ । मलाई शंका थियो, यसपटक पनि हामीलाई पारवहन सुविधा दिन भारतका तर्फबाट आएका प्रतिनिधि मण्डलले स्वीकार गर्नेछैन ।

यसपालि हाम्रो प्रतिनिधि मण्डल पारवहन सुविधा नलिई नछाड्न कटिबद्ध थियो । चारपटक जति कुराकानी भएपछि भारत सरकारको प्रतिनिधि मण्डलको हाम्रो मागमा रतिभर सहानुभूति नभएको टड्कारो देखियो । पाँचौँपटक कुरा हुँदा पन्ध्र मिनेटजतिमा नै हाम्रो प्रतिनिधि मण्डलमा उत्तेजना आयो । हाम्रा प्रतिनिधि मण्डलका नेताले अब अनिश्चितकालका लागि वार्ता स्थगित भयो भनेर घोषणा गर्दै टेबिल ठटाए ।

हामी आफ्ना-आफ्ना घर गयौँ । एकछिन सुतौँ भनेर ओछ्यानमा पल्टेको मात्रै थिएँ, त्यत्तिकैमा मलाई यौटा कुरा याद भयो, 'ओहो ! भरे साँझ त श्री ५ महाराजाधिराज सरकारबाट गद्दी बैठकमा अस्ट्रेलियाको राजदूतको प्रमाणपत्र ग्रहण गरिबक्सिने !' जर्‍याकजुरुक उठेर एउटा पाइन्ट र बुसर्ट भिरेर साइकल कुदाई म परराष्ट्र सचिवको घर पुगेँ । परराष्ट्र सचिव ओछ्यानमा पल्टिएर किताब पढ्दै रहेछन् । मलाई देख्नेबित्तिकै उनले भने, 'यतिका दिन हैरान खाइसकेपछि घरमा आराम नगरीकन किन यहाँ आउनुभयो ?'

मैले भनेँ, 'ए राजा, भरेको प्रमाणपत्र पेस गर्ने समारोहमा ती धोतीहरूलाई पनि ल्याएर बैठकमाथिको बरण्डामा राखी देखाऔँ न । तिनीहरू अहिले शीतलनिवासमा नरमाइलो मानेर बसिरहेका होलान् ।' नरप्रतापले भने, 'क्या दमन दाइ, तपाईं पनि नचाहिने कुरा गर्नहुन्छ, पर्दैन । मलाई त ती गधाहरूको मुख पनि हेर्न मन लागेको छैन ।' मैले भनेँ, 'के गर्नु राजा, ती धोतीहरू नै भाले भएका छन् । मलाई कता-कता महाराजाधिराज सरकारको दर्शन पाएपछि तिनीहरूको मन पनि पग्लिन्छ कि भन्ने लागेको छ ।' नरप्रतापले भने, 'तपाईं जे गर्नुहुन्छ, गर्नोस्, मलाई वास्ता छैन ।'

मैले भनेँ, 'तपाईं चुप लाग्नोस्, मलाई काम गर्न दिनोस् ।' मैले टेलिफोन उठाएर शीतल निवासमा घण्टी गरेर साढे चार बजे मेरो घरमा गाडी पठाउन अह्राएँ । गाडी आयो र शीतल निवास गएँ । लालको कोठाको ढोका ढकढक्याएँ । भित्र पस्ने अनुमति पाएपछि पसेँ । लाल एउटा लुङ्गी लगाएर ओछ्यानमा पल्टिरहेका रहेछन् । मलाई देखेर लाज माने । मैले भनेँ, 'आज म तपाईंहरूलाई हाम्रो पुरानो दरबारमा राजदूतले प्रमाण-पत्र पेस गरेको समारोह देखाउन तपाईंलाई लिन आएको छु ।' उनले खुब बेस गर्नुभयो भन्दै साथीहरूलाई बोलाएर लुगा लगाउन अह्राए ।

हामी गद्दी बैठकमा पुग्दा सवा पाँच बजिसकेको थियो । मैले पनि उनीसँगै बरन्डामा बसेर समारोह हेरेँ । एकछिनमा श्री ५ को सवारी भयो । त्यस दिन मौसुफ सरकारबाट सेतो जङ्गी पोसाक र श्रीपेच पह्रिबक्सिएको थियो । राजाको दर्शन पाउनेबित्तिकै के. बी. लाल र उनका साथीहरू साक्षात् पशुपतिनाथ भनेर मन्त्रमुग्ध भई हात जोडेको जोड्यै गरेर बसे । तिनीहरूको त्यस्तो चाला देखेर मैले एउटा सानो कागजको खोस्टामा 'भारतीय प्रतिनिधिहरू सरकारको व्यक्तित्वबाट साह्रै प्रभावित भएका छन्, एकपटक सरकारसँग दर्शनभेट गराउन पाए अति राम्रो हुने थियो' भन्ने लेखेर त्यो कागज परराष्ट्र-सचिवका हातमा पुर्‍याउने व्यवस्था गरेँ ।

परराष्ट्र-सचिवले सो कागत पढी मुसुक्क हाँसेर त्यसलाई प्रधानमन्त्रीका हातमा पुर्‍याउने व्यवस्था गरे । प्रधानमन्त्रीले त्यो कागत पढेर सरकारमा केही कुरा बिन्ती चढाएछन्, अनि मलाई ती भारतबाट आएका सज्जनहरूलाई ढोकाछेउ उभ्याई राख्नू भन्ने परराष्ट्र-सचिवका लेखोट आयो । सोबमोजिम मैले भारतीय सज्जनहरूलाई ढोकाछेउ उभ्याएर सरकारको फिर्ती सवारी भएपछि म अघि बढेर भारतका वाणिज्य सन्धिबारे वार्ता गर्न आएका सज्जनहरू यहाँ छन् भनेर बिन्ती चढाउँदा 'को-को हुन्, मलाई चिनाइदेऊ' हुकुम भयो ।

मैले प्रत्येकलाई दर्शन गराउँदा मौसुफ सरकारबाट सबैसित पालैसँग हात मिलाइबक्सियो । उनीहरूले पनि सरकारसित हात मिलाइसकेपछि मौसुफलाई भक्तिपूर्वक दण्डवत् गरे । पछि श्री ५ बाट के. बी. लालसित 'वार्ता कस्तो चलिरहेको छ' भनेर सोधनी गरिबक्सियो । के. बी. लालले हडबडाउँदै 'अति राम्रोसँग चलेको छ सरकार' भनेर बिन्ती गरे ।

के. बी. लालले आफ्नो बडेमानको भुँडी सुम्सुम्याउँदै भने, ‘अनि नेपालको राष्ट्रिय हित पनि खतम, हाम्रो राष्ट्रिय हित पनि खतम !’

सरकारको सवारी भइसकेपछि हामी पनि मोटरमा बस्यौँ । के. बी. लालले भने, 'मिल्न सक्छ भने भरे राति नै, नभए भोलि वार्ता चालु गर्नुपर्‍यो ।' मैले भनेँ, 'भोलि त शनिबारको बिदा भयो, पर्सि एघार बजेलाई मिलाउन सक्छु ।' पर्सिपल्ट फेरि वार्ता चल्यो । हामीले भनेबमोजिम सबै पारवहन सुविधा दिने भए । तर व्यापार पारवहनको छुट्टाछुट्टै दुई सन्धि-पत्र नगरी एकै सन्धि-पत्रमा पहिलो भागमा वाणिज्य र दोस्रो भागमा पारवहन राख्ने सुझाव मञ्जुर भयो । सन्धि-पत्रलाई आ-आफ्ना सरकारका तर्फबाट स्वीकृत गराउने गरी वार्ता अति मैत्रीपूर्ण वातावरणमा टुङ्गियो ।

नोभेम्बर महिनाको अन्त्यतिर श्री ५ को सरकारका तर्फबाट हाम्रा उद्योग-वाणिज्य मन्त्रीले र भारत सरकारका तर्फबाट काठामाडौँस्थित भारतीय राजदूतले हस्ताक्षर गर्ने निर्णय भएर आयो । सोहीबमोजिम सन् १९६० नोभेम्बर ३० तारिखका दिन एउटा सानो समारोहमा नयाँ वाणिज्य सन्धिमा हस्ताक्षर भयो । यसरी मोहन शमशेरले गरेको सन् १९५० को असन्तुलित वाणिज्य सन्धिलाई धुल्याइयो ।

त्यस दिन सिंहदरबार बेलायती बैठकमा ठूलो प्रीतिभोज लाग्यो । भोज सकिएपछि हाम्रा उद्योग-वाणिज्य मन्त्रीले भनेबमोमिज भोलिपल्ट बिहान उनलाई भेट्न म उनका निवासमा गएँ । उनीसँग भेट हुँदा उनले भने, 'दमनराजजी, हिजो जुन सन्धिमा हस्ताक्षर भयो, त्यसको मुख्य श्रेय तपाईंलाई नै छ । हामी तपाईंको बुद्धिमत्ता देखेर तपाईंदेखि अति प्रसन्न छौँ । अब विश्वेश्वर बाबुलाई इजरायलबाट फर्किन दिनोस्, तपाईंलाई हामी इजरायलमा नयाँ खोलिने दूतावासमा कार्यवाहक राजदूत बनाएर पठाउनेछौँ । इजरायलमा तपाईंलाई बढीमा वर्ष दिन-छ महिनामात्रै बस्नु पर्नेछ । अनि तपाईंलाई पूरा राजदूतको ओहोदा दिएर नयाँ दिल्ली पठाउनेछौँ । तपाईंले गर्नुभएको सन्धि तपाईं आफैँ कार्यान्वयन गर्नोस् ।'

१९६० नोभेम्बर ३० तारिखका दिन एउटा सानो समारोहमा नयाँ वाणिज्य सन्धिमा हस्ताक्षर भयो । यसरी मोहन शमशेरले गरेको सन् १९५० को असन्तुलित वाणिज्य सन्धिलाई धुल्याइयो । 

यत्तिकैमा २०१७ साल पौष १ गते आइहाल्यो । श्री ५ महाराजाधिराज सरकारबाट महान् ऐतिहासिक कदम चलाइबक्सियो । मन्त्रीमण्डल र संसद् पनि विघटन भयो । सोही पौष महिनाको १७-१८ गतेतिर सिंहदरबार सचिवालयको पुनर्गठन भयो । परराष्ट्र-सचिव नरप्रताप थापा रेखदेख दौडाहामा सरुवा भए । शिष्टाचार महापाल प्रकरमानले सरकारी सेवाबाट अवकाश पाए । नजरमान बर्माको राजदूत हुने भए । यदुनाथ खनाल परराष्ट्र-सचिवमा आए । प्रकाशचन्द्र ठाकुर शिष्टाचार महापाल भए ।

अब अंग्रेजीमा सबै लेखापढी अंग्रेजी भाषाका विद्वान्, नयाँ परराष्ट्र सचिव आफैँले गर्ने भए । परराष्ट्र मन्त्रालयमा मेरो कुनै महत्व रहेन । यहाँसम्म कि सचिवको कोठामा मलाई पाइलो हाल्नेसमेत आवश्यकता भएन । २०१८ साल वैशाख महिनाको आधाआधीमा म रेखदेख दौडाहामा सरुवा भएको पुर्जी पाउँदा पाथी भात खाएजस्तो भयो ।

परराष्ट्र मन्त्रालयका आफ्ना शाखाका सबै कर्मचारीहरूलाई 'अब राम्ररी काम गर्नू, तपाईंहरूको उत्तरोत्तर वृद्धि हुनेछ, मेरा विषयमा तपाईंहरूले चिन्ता लिनुपर्दैन, म जुनसुकै विभागमा सरे पनि आफ्नो पाखुरा बजाउन सक्छु भन्ने कुरामा विश्वस्त छु' भनी यसरी सबैसित स्नेहपूर्वक बिदाबादी भई आफ्नो कोठाबाट निस्किएँ । परराष्ट्र-सचिवसित बिदा हुन मलाई केही खाँचो परेको थिएन । 

(आइतबार प्रकाशन हुने दमनराज तुलाधरको आत्मकथा ‘दमनराज तुलाधर’को अंश । २०३९ सालमा ३६५ प्रति प्रकाशन भई प्रतिबन्धित भएको पुस्तक बुक-हिल पब्लिकेसनले पुनः प्रकाशन गरेको हो । यसमा व्यक्त विचार लेखकका निजी हुन् । ऐतिहासिक महत्वको पुस्तक भएको हुँदा यहाँ भाषाबाहेक धेरै सम्पादन गरिएको छैन । `धोती´ जस्ता शब्दमा इकागजको समर्थन छैन ।)
 


Author

थप समाचार
x