विचार

‘पल्पसा क्याफे’को सुन्दर नाट्यावतार

विमल आचार्य |
बैशाख १५, २०७९ बिहीबार ७:२२ बजे

तस्बिर : अनुज बज्रचार्य/इकागज

अध्येता प्रत्यूष वन्तले ‘पल्पसा क्याफे’लाई लिएर भनेका थिए, ‘बीस वर्षपछि यसलाई ऐतिहासिक उपन्यास भनियो भने मलाई आश्चर्य हुनेछैन ।’ वन्तले १९ वर्षमा टिनएज पार गरेपछि किताब ऐतिहासिक हुन्छ भनेको भए पनि यो बालखैमा ऐतिहासिक बनिदियो । वन्तकै भाकामा म नि भनिदिऊँ- ऐतिहासिक उपन्यास अब ऐतिहासिक नाटक बनेको छ, दृश्यभाषाको यति सशक्त प्रयोग मैले कमै नाटकमा देखेको छु ।

कथा पहिल्यै थाहा पाइयो भने पाना पल्टाउन वा पर्दामा आँखा गाडिरहन मज्जा आउँदैन । यसो भन्‍ने मेरा साथीहरू धेरै छन् । तर म भने यसमा आफूलाई उल्टो पाउँछु । बस्ताकोटीको गाइड पढेर साहित्य बुझ्ने बानी लागेको म सकेसम्म रिभ्यु पढ्छु, हेर्छु । अनेक खाले रिभ्युले मलाई डिस्टर्ब नगरे जस्तै लाग्छ । (आँखामा चस्मा लाइरहन थालेको पनि एक दशक भएछ, मैले ।) 


‘पल्पसा क्याफे’ कथा त पहिल्यै थाहा थियो । तर, हेर्नुमा उत्सुकता उस्तै । पछिल्लोपटक लकडाउनको सुरुवाती सातामा उपन्यास फेरि पढेथेँ । मसँग यसका दुई कपी रहेछन् । दुइटै किताबमा अन्डरलाइन, हाइलाइट, केरमेट त गरेको रहेछु । तर, फरक–फरक पंक्ति र प्रसंगमा । पहिला प्रेम, अहिले माया । (माया भनेको लभ मात्र होइन, मायाजाल अर्थात् राजनीति अर्थात् नारायण ढकालको ‘इन्द्रजाल’) । कला मर्मज्ञ शेखर खरेलले भनेजस्तो ‘पल्पसा क्याफेका अध्यायहरूलाई तासझैँ फिटेर पढ्ने हो भने पनि कुनै असजिलो पर्नेछैन ।’ 

वाग्लेले कान्तिपुरमा लेख्ने कफीगफ मैले पढेको छैन । सल्यानमा कान्तिपुर पढ्ने वातावरण थिएन । म काठमाडौँ नआउँदै उनले मदन पुरस्कार पाइसकेका थिए । किताबबाटै उनीसित परिचय भयो । परिचय यसरी भयो कि त्यो प्रेममा परिणत भयो । प्रेममा परेपछि ‘मयूर टाइम्स’ पनि तु किनियो । मार्टिन चौतारीमा काम गर्दा म ‘मयूर टाइम्स’बारेको छलफलमा वक्ता बनेँ । नारायण वाग्लेका अघिल्तिर मैले उपन्यास कमजोर लाग्यो भनेर भन्‍नु नभन्‍नु भनेँ । त्यतिले नभएर ‘मिडिया अध्ययन’ जर्नलमा ‘मयूर टाइम्स’बारे लेखेको पनि छु । 

तर, पल्पसासँगको प्रेम म बिर्सिन सक्दिनँ । भर्खर साहित्य पठन सुरु गरेका बेला झुर पनि सुपर लागेको हो कि ? होइन रहेछ । लकडाउनताका पढ्दा झनै पो माया बस्यो । उपन्यासका छोटाछोटा, मीठा, रमाइला संवादले मुहुनी लगाइरह्यो । उपन्यासमा मीठोमसिनो ख्यालठट्टाको भाषा छ । तर, ख्याल गर्नुपर्ने कुरै यही छ– यो उपन्यास भने ख्यालठट्टा होइन । यो राजनीतिक उपन्यास हो । राजनीति जटिल छ तर उपन्यास सरल । उपन्यास तरल पनि छ । र, तरलको स्वयंमा कुनै आकार हुँदैन ।

‘पल्पसा क्याफे’ यत्रो उपन्यास । यति सफल उपन्यास । नाटकका रूपमा कस्तो आउला, कसरी आउला, मनमा कौतूहल बाक्लो थियो । हेर्न म धेरै उत्सुक थिएँ । साढे चार वर्षे छोरोलाई स्कुटरको अगाडि बसालेर म मण्डला थियटरको नयाँ मुकाम थापागाउँतिर सोझिएँ । छोरो पहिलो चोटि थियटर छिर्‍यो । रमायो । मैले सम्झेँ- छोराकी आमासँग आरोहण गुरुकुलको थियटर मेरो डेटिङ स्पट हुने गर्थ्यो । छेउको सिटमा उनी हुन्थिन्, आज छोरो छ । जीवनको यो नाटक !

नाटक मन पर्‍यो । मैले यो सारा गन्थनमा व्यक्त गर्न खोजेको यत्ति दुई शब्द हो- मन पर्‍यो ।

पाठक ! तपाईं अब यहाँभन्दा अघि नबढी सिधै नाटकको दर्शक हुनतिर लाग्नुभयो भने तलका पंक्तिको खास सार्थकता त्यसमै हुनेछ ।

नाटकमा के–के मन पर्‍यो ? किन मन पर्‍यो ? यस्तो भन्‍न मलाई जहिल्यै पनि सकस हुन्छ । अनुभूतिलाई व्यक्त गर्ने अक्षर पाइरहेको हुन्‍न । कलाको केस्राकेस्रा केलाउन सक्दिनँ, म । फेरि मलाई यस्तो पनि लाग्छ- गुलाब मन पर्‍यो । यो फूल किन मन पर्‍यो, यो फूलभित्र केके होला भनेर म अब त्यसलाई टपक्क टिपेर त्यसका पत्रपत्र किन केलाऊँ वा च्यातूँ ? पत्रपत्र च्यात्नुमा त त्यति आनन्द छैन, जति हेरिरहनुमा आनन्द छ । पत्रपत्र प्याज खोतलेर हेर्दैमा त्यहाँ कहाँनेर सुवास वा सौन्दर्य अंकित छ भनेर देखिने पनि होइन । ‘पल्पसा क्याफे’ गुलाब भइदियो मेरा लागि । जुन गुलाब एकपटक पनि घडी नहेरी लगातार दुई घन्टासम्म हेरिरहिन्छ, डुबान अनुभूति कसरी अभिव्यक्त गर्ने ? मेलोमेसै बिराइन्छ ।

साहित्य होस् वा सिनेमा वा नाटक वा पेन्टिङ, स्वयं पिउनुमा जुन तृप्ति छ, त्यो तिनको वर्णन पढेर तिर्खालाई तृप्तिमा परिणत गर्न सकिँदैन । कलाको वर्णनले कलाको तृष्णा बढाउँछ, यहाँनेर यो सही छ । उसो त कलासँगको सहवास तृप्त हुनतिर हैन, झन्झन् तृषित बन्‍न रहेछ । पल्पसा नै सृष्टि हुन् भन्‍ने जानेको भए वाग्ले दृश्यको पर्याय खोजेर दृष्टि बनाउँदा हुन् । यो सृष्टिको दृश्य हेर्नलायक छ । अदृश्य सृष्टि झनै हेर्नलायक छ । नाटक दृश्य छ किनकि नाटकमा दृश्य छ ।

पल्पसा र दृश्य, मेरा यी निराकार प्रिय पात्र अब साकार चरित्र बनेका छन् । करोडौँ पल्पसाहरू खुम्चेर अब सृष्टि श्रेष्ठमा थुप्रिएका छन् । मेरा लाखौँ दृश्यहरू अब विमल सुवेदीमा ओसारिएका छन् । हर पाठकको हृदयमा बेग्लै बेग्लै आकृतिमा बाँचेका पात्र अब अठार लागेपछि आफ्नो प्रिय जन्मघरबाट निस्किएका छन् । ती त अब स्वयं बोल्न पनि थालेका छन् । 

कृतिमा बाँचेका पात्रको आकृति आकारमा देखेपछि मैले बालुवाटारमा सार्वजनिक भएका प्रचण्ड सम्झिएँ । रातो–पिरो आकृतिमा बाँचेका प्रचण्ड सेतो वा कालो रङमा पनि हैन, ग्रे कलरमा पो देखापरे । भूमिगत ‘दृश्य’ अब सार्वजनिक भएको छ, प्रचण्ड जस्तै बनेर । ऊ आन्दोलनको ग्रे जोनमा छ । प्रचण्डपथका पथिक पहिले नारायण वाग्लेलाई युद्धविरोधी भन्थे । समयले प्रचण्ड–पथिकहरुलाई सत्तासीनो बनायो । वाग्ले चाहिँ शान्तिपूर्ण युद्धमा छन् । वाग्ले अचेल पूर्वलेखक जस्ता भए । प्रचण्ड पूर्वनेता कहिले हुन्छन्, कसैले भन्‍न सक्दैन । बरु प्रचण्डका संकलित रचना भागभागमा आइसके । वाग्लेका कफीगफ किताबमा कहिले आउँछन्, थाहा छैन ।

समयको यो चक्र स्वयंमा रुमानी रुपक हो । ‘पल्पसा क्याफे’ रूपक युद्धकै हो । जनयुद्ध नाटकका लेखक प्रचण्डको याद दर्शकलाई नआउने कुरै भएन । फेरि अर्को याद पनि आयो । 

नाटक सकियो त ? दर्शकहरू मुखामुख गर्छन् । कुर्सीबाट उठ्ने हो कि नाटक अझै जारी छ ? अलमल भो । जसरी पुष्पकमल दाहाललाई आफ्नो युुद्ध सकिएको हो कि अझै जारी छ, कन्फ्युजन छ, उसरी नै दर्शकलाई पनि नाटक सकिए–नसकिएकामा कन्फ्युजन छ । भावक आसनभर उज्यालो त बल्छ तर यो नाटकविराम पनि त हुन सक्छ, दर्शक उठ्दैनन् धेरैबेर । युद्धविरामपछिका बिरामहरू ताजै जो छन् ।

आफू सल्यानमा युद्ध सँगसँगै हुर्केको पुस्ता भएको हुँदा यस्ता विषय प्रिय पनि छन् र अप्रिय पनि । यद्ध जस्तो अप्रिय विषयलाई नाटकमा जसरी देखाइएको छ, त्यो स्वयंमा प्रिय छ । ओठको अभिनयमा रमाइरहेका वा थाकेका दुवै खाले दर्शकलाई यसले रमाइलो बनाउँछ । वैशाखको गर्मी छल्दै कलाको शीतल रहमा पौडिन मन छ भने पल्पसाको क्याफेमा कुनो छ । नारावादी नाटक, झण्डा नाटक, झुण्ड नाटक, रेडियो नाटक, चिप कमेडीयुक्त नाटकबाट पनि मुक्ति मिल्छ । लाउड नाटक हेर्दाहेर्दा (सरी, सुन्दासुन्दा) जमेका दर्शकलाई यसले पगाल्छ । नाटक कुल छ । (मण्डलाको नयाँ नाटकघर पनि वातानुकुलित रहेछ । दर्शकलाई आराम मिल्छ ।)

‘पल्पसा क्याफे’ संकेतहरूमा खुल्छ । प्रतीकहरूमा पाइला चाल्छ । रङहरूमा पोखिन्छ । अँध्यारो प्रकाशहरूमा प्रकाशित हुन्छ । मौनतामा धेर बोल्छ । रातो–सेतो धागोमा बाँधिन्छ । पाश्र्वस्वर र पाश्र्वध्वनिको संगीतमा गुञ्जिन्छ, नाटक । अभिनयविनाको अभिनयमै आदिअन्त्य हुन्छ, नाटक । श्रीगणेश र इतिश्री दुवैमा नौल्याइँको श्रीवृद्धि गर्छ, नाटक ।  

उसो त नाटकका सबै अर्थ मैले पनि बुुझिनँ तर बुझाइका अर्थहरू अनन्त छन् । अस्पष्ट भएँ भन्‍न सक्नु पनि एक प्रकारले स्पष्टै हुनु  त होला । म चित्त बुझाउँछु- प्रचण्ड र बाबुराम स्वयंले स्वयुद्ध चिन्‍न नसकिरहेका बेला म सो युद्धोपन्यास कसरी बुझ्नु ? म जस्ता नाट्यनिरक्षर विमलहरूलाई नाटक हेर्ने तरिका पनि विमल सुवेदीहरूद्वारा सिकाइयोस् । 

विमल सुवेदीले नाटकको खास पहिचान र सामथ्र्य जे हो त्यसलाई बलियो बनाएका छन् । मतलब नाटक सुन्‍नेभन्दा बढी हेर्ने विधा हो । हेर्नेभन्दा बढी महसुस गर्ने विधा हो । वाग्लेको जीवन्त पात्र दृश्यलाई साँचो अर्थमा दृश्यात्मक बनाउने काम विमलले गरेका छन् । 

अहिले ‘इन्द्रेणी’ कार्यक्रम हिट छ । त्यस्ता दर्शकका लागि पनि दोहोरीमा युद्ध छ । तर, दोहोरी दीर्घ भयो कि भन्‍ने पनि लाग्छ । हेरुन्जेल त मलाई पनि दीर्घ लागेको हैन, अहिले लेख्दा आलोचना गर्न केही नपाएपछि यो लेखिदिएँ । 

विमल र सृष्टि मात्र हैन, सबै पात्रको अभिनय स्वादको लाग्यो । हजुरआमा (संगीता थापा), सानी नानीद्वय (जेनी सुनुवार, पूर्णिमा आचार्य), सिद्धार्थ (दीपेश राई), बा (बच्चु हिमांशु), दुवै तर्फका सेनाको रुपमा भूमिका गर्ने सबै पात्रको भूमिका स्वाभाविक छ । दृश्यलाई बूढा भन्‍ने सानी नानीको सानो भूमिका, कति सुन्दर !  

अभिनय नगर्नु नै सबैभन्दा राम्रो अभिनय रहेछ । मूल पात्र पनि आफैँ र निर्देशक पनि आफैँ भएर पनि नाटक राम्रो बनाउन सकिने रहेछ । नाटक हेरिसकेपछि एउटा छाप बस्दो हो, तर दृश्य र पल्पसाको भूमिकामा अरु सुहाउँथेनन्, सुहाउँदैनन् जस्तो लागिरहेछ । सृष्टिलाई पहिला पर्दामा, भर्खरै ‘चिसो एष्ट्रे’मा समेत हेरेको भए पनि सृष्टिको पल्पसावतारले मलाई आश्चर्यमा पार्‍यो । 

नेपथ्यमा गुञ्जिने पाश्र्वसंगीत र पात्रहरूको मन बोल्ने पाश्र्वस्वरमा प्राण छ । नढाँटी भन्दा (उसो त यहाँसम्म केही ढाँटेर लेखेको छैन, तर पनि यहाँनेर नढाँटी भन्दा फुस्किहाल्यो) मलाई विमल र सृष्टिको नेपथ्यको स्वर त्यसको आरोह–अवरोह स्वीट लाग्यो । यो नाटक त म स्वरकै लागि पनि रेडियो नाटकै भए पनि सुनिरहँदो हुँ ।

नाटकमा स्वर (भ्वाइस) मात्र हैन, आवाज (साउन्ड) पनि युनिक छ । बलुनबाट निकालेको आवाज, थालबाट निकालेको आवाज । यी सुन्दर प्रयोग लाग्यो । बनिबनाउ साउन्ड इफेक्टविना पनि घरभित्रकै वस्तुहरूको आवाजले रस–उत्पादनमा राम्ररी काम चलाउन सकिने रहेछ । 

कमरेडहरूले सानी छोरीका अघिल्तिर पालैपालो गर्ने भाषण र छोरीले छिटोछिटो थाल धोइरहेको दृश्य र छोरीलाई बिदा गर्दाको दृश्यमा मेरा आँखा भरिए । धेरै भरिएर ती रसाए पनि । मेरो समीपमा थिए, सामीप्य दाइ । नाटकमा चारपटक ‘सामीप्यता सामीप्यता सामीप्यता सामीप्यता’ भनेपछि हामी मुखामुख गर्यौँ । सामीप्यमा तिमल्सेना जोडिन्छ, ‘ता’ जोडिँदैन है । 

उपन्यासबाटै स्थापित चरित्रलाई नाटकमा उभ्याउनु आफैँमा दुस्साहस हो, एक निर्देशकका निम्ति । निर्देशक लेखकको छायाँ होइन । यसमा निर्देशकले मनग्य मेहनत गरेका छन् । उपन्यासबाट आफूखुसी कथा छनौट गर्न निर्देशक स्वतन्त्र छ । दर्शकले झ्वाट्ट हेर्दा प्लटहरु र्यान्डम्ली उडाएको–छोडिएको देखिएला तर तिनको भविता र शून्यतामा प्रशस्त तर्क–वितर्क भएका हुन्छन् । पुस्तकको आत्मामा अमरत्व थप्दै कायान्तरण गरेको मलाई मन पर्‍यो । यसमा नाट्यसमीक्षक सुरज सुवेदी बधाइका पात्र छन् । 

विमल सुवेदी नाटककै लागि जन्मेका हुन् । उनी आफ्नो काममा चुर्लुम्म डुब्छन् अनि दर्शकलाई डुबाउँछन् । नाटक सकिएपछि मात्र थाहा भयो, दुई घण्टा बितेछ तर २० मिनेट जस्तो मात्र लाग्यो ।

साहित्य र रंगमञ्च कुुनै बेग्लाबेग्लै तत्व होइनन् । चाहे सोरठी–घाटु होस्, चाहे रामायण–कृष्णचरित्र । नेपाल उहिल्यैदेखि नाटकमय देश हो । यहाँ ट्रकट्रकमा समेत नाटक हुन्छ– संसार नाटक हो, भगवान् निर्देशक हुन्, हामी सबै पात्र हौँ । यहाँ राजनीतिक नाटक पनि धेरै नै चल्छ । (नाटकलाई अपमान गरेकामा मैले हैन, आफूहरूको छलकपट ढाँटलाई ‘नाटकै हो’ भन्‍नेले क्षमा मागून् ।) 

बालकृष्ण समका कति नाटक पहिला मञ्चमा, पछि कृतिका रूपमा आएका हुन् । पहिला मञ्चमा आऊन् वा कृतिमा । नाटककार विदेशी होऊन वा स्वदेशी । नाटक कवितामा बनून् वा उपन्यासमा । यी बहसका विषय होइनन् । नाटक पानामा कस्ता छन्, पर्दामा कस्ता छन्, मञ्चमा कस्ता छन्, डबलीमा कस्ता छन्, तिनको स्तर कस्तो छ, छलफल गर्नुपर्ने विषय बरु यी होलान् । कस्ता छन् । र, कसरी छन् ।

आफ्नो साथी जिस्किँदा ‘नाटक नगर्’ भन्‍ने निर्देशक–कलाकारले नाटकलाई जिस्काइ ठानेर तल पुर्याउँदै मा...थि पुर्याउँदै पनि हुन सक्छन् । सौगात मल्ल, दयाहाङ राई, विपिन कार्कीहरु थियटरबाट फिल्ममा आएको हुँदा नाटकप्रतिको आकर्षणलाई हामीले नाटकप्रतिको प्रेमका रुपमा पनि बुझिरहेका होऔँला । काठमाडौँमा नाटक त मञ्चन भइरहेकै हुन्छन्, थियटर पनि आधी दर्जनै छन् तर तिनले ‘वाह’ भन्‍ने अवसर कमै दिएका छन् । (कौसी थियटर, टेकुमा मञ्चन भइरहेको ‘उलार’ नाटकको रिहर्सल हेर्ने मौका पाएको थिएँ । नयनराज पाण्डेको सर्वोत्कृष्ट कृति ‘उलार’लाई प्रतिभाशाली निर्देशक चे शंकरले अन्ततः कस्तो बनाएका होलान्, म जिज्ञासु छु ।) 

‘पल्पसा क्याफे’को विचार पक्षबारे धेरै नै छलफल भइसकेको हुँदा त्यतातिर नलाग्ने विचार गरियो । जसरी उपन्यास विचारभन्दा शैलीले, कथाभन्दा कथानकले, भाष्यभन्दा भाषाले पठनीय लाग्छ, उसरी नै यो नाटक पनि दर्शनीय छ । नेपालमा कति सुन्दर तरिकाले नाटक देखाइन्छ भनेर हेर्नुपर्ने नाटक हो । नाटक हाहा र हुहु मात्र होइन, सोचिबस्नलाई होमवर्क पनि हो । 

र अन्त्यमा, 
दुई महिनाको बच्चासहित मेरा एक नातेदार जोडी हाम्रो डेरामा आउनुभएको थियो । स्कुलबाट आउनेबित्तिकै आफ्नो कोठामा सानो भाइ देखेपछि चार वर्षको छोरो दंग पर्‍यो । एकछिन भाइको अनुहार हेरेपछि उसले जे भन्यो, त्यसले मलाई छक्क पार्‍यो । घरी भाइलाई र घरी भाइको बाबाआमालाई हेरेर चार वर्षको छोरोले भन्यो- कस्तो आफ्नो बाबाजस्तै रहेछ भाइ । ‘संस्कृत त बाबा जस्तै, दुरुस्तै, ठ्याक्कै, बाबा गोत आको’ भनेर सुन्दै हुर्केको छोरोले जे भन्यो त्यो हाम्रो हुर्काइको हिस्सा हो । हामी यस्तै त छौँ ।  

म भन्छु, नाटक ठ्याक्कै उपन्यास जस्तै छ । 
फेरि आफैँ भन्छु, नाटक ठ्याम्मै उपन्यास जस्तै छैन । 
यो नाटक निर्देशक सुवेदीको शिशु हो । अनुहारमा सबथोक सुवेदी छ, सिवाय आँखा । आँखा लेखक वाग्लेको । अदृश्य आत्मा सुवेदीको कि वाग्लेको ? प्रचण्डझैँ अलमलमा छु म ।


Author

विमल आचार्य

सामाजिक विषयमा कलम चलाउने आचार्य अप-एड तथा फिचर ब्यूरो चिफ हुन्।


थप समाचार
x