विचार

के एमालेको चुनाव चिह्न बिक्रीमा राखिएको बजारको माल हो ?

संजिव कार्की |
बैशाख १५, २०७९ बिहीबार ९:५८ बजे

एमालेको चुनाव चिह्न सूर्य व्यापारिक, विज्ञापनीय र व्यावसायिक ट्रेड मार्क मात्रै हो । किनभने सूर्य चिह्नबाट चुनाव लड्ने मान्छे एमाले हुनुपर्दैन । एमालेको टिकट लिन कम्युनिस्ट बन्नु पर्दैन । जस्तो कि २०४८ सालमा पदमरत्न तुलाधर, २०७४ मा तमलोपाका हृदयेश त्रिपाठीहरू र अब राप्रपाका कमल थापा र परिवार दलका एकराज ढकालहरू । यसको जवाफ के दिन्छ एमालेले ?

कुनै पनि पार्टीको चिह्न, झण्डा, घोषणापत्रहरू पवित्र मानिन्छ । जस्तो कि हिन्दु धर्मावलम्बीको लागि गीता, बुद्धका लागि त्रिपिटक, मुस्लिमका लागि कुरान आदि । 
आजभोलि देशकै झण्डा र नक्साको भित्री वस्त्र बनाएर लगाउने र प्रदर्शन गर्ने गरिन्छ । राष्ट्रिय झण्डा जथाभावी प्रयोग भएको छ । देशकै नक्सालाई जन्म दिनको केक बनाएर काटिन्छ । तब पार्टीका झण्डा, चिह्न, नाम, तस्बिर र दस्तावेजको अवमूल्यन नहुने कुरै भएन । झन् पार्टीको महाधिवेशन र चुनावी सभा हुनुपर्छ त्यहाँ पार्टीका दस्तावेज, झण्डा, चिह्न र नेताहरूका तस्बिरलगायतको बिस्कुन सडकभरि देखिन्छ । 


झण्डा, चिह्न, नेताका तस्बिर र दस्तावेज कुल्चनु, तिनलाई थुक्नु सामान्य मानिन्छ । पार्टी सामग्री फोहोरको डुंगुर बन्छ । यसरी प्रचार प्रसारको नाममा पुष्पवृष्टि गरेझैँ प्रचार फ्याँक्दा तिनको गरिमा र ओज कम भएको छ । पवित्र र आफ्नो आस्थाको कुरा कुल्चनु सामान्य भएको छ । यही सामान्यीकरणले गर्दा कुनै पनि महत्वपूर्ण चिजको ‘वेट लस’ गराइएको छ । जसको फलस्वरूप हामीले गर्ने आस्था, मान्ने विश्वास र देखाउने श्रद्धा केवल सतही भएका छन् । भ्रमात्मक बनेका देखिन्छन् । भावनात्मक र आत्मिक हुन छोडेका छन् । 

कसले के प्रयोग गर्ने, कहाँ प्रयोग गर्ने, कहिले प्रयोग गर्ने निश्चित मापदण्ड भत्किएको छ । जहाँ जतिबेला र जसले पनि प्रयोग गर्न पाउने स्वतन्त्रताले मूल्यवान् सामग्रीहरू मूल्यहीन बन्दै गइरहेका छन् । त्यसको समष्टि हाम्रो दार्शनिक वैचारिक र नैतिक धरातल कमजोर भएको छ । हाम्रो सामाजिक मूल्यमा व्यापक गिरावट आएको छ । हामी सामाजिक र नैतिक मूल्यको क्षयीकरणमा जान अन्जान लागिरहेका छौँ । सामाजिक र नैतिक मूल्यको क्षति समग्र राष्ट्रिय विषय सन्दर्भको परिचयसँग गाँसिन्छ । 

आज राजनीतिक पार्टीहरू जुन नैतिक संकट वैचारिक स्खलन र आदर्शको विचलनमा छन् त्यसको एक मात्र कारण हो सामाजिक मूल्य र भावनात्मक मूल्यमा आएको ह्रास । स्वार्थ पूर्तिको प्रयोजनार्थ जे–जे गर्न दलहरू राजी भए त्यसले राष्ट्रलाई दृश्य अदृश्य क्षति पु¥याएको छ । क्षति नैतिक र भौतिक दुवै हुन्छ । यी दुवै क्षतिको असर वर्तमानमा कमै र भविष्यमा ज्यादा देखिन्छ, राष्ट्रको जीवनमा, पार्टीहरूको जीवनमा र समग्र मान्छेको जीवनमा । नैतिक मूल्यलाई विस्थापन गर्ने कुनै विशेष मूल्य हुँदैन । नैतिक मूल्य राष्ट्रको सम्पत्ति र गहना हो । यही नैतिक सम्पत्ति र मूल्य बिक्रीमा राखेपछि, व्यक्तिको पार्टीको र राष्ट्रको आफ्नोपन सकिन्छ ।

स्वत्वको अन्त्य हुन्छ । अनि सुरु हुन्छ निरन्तर विचलन । आस्थाको बिक्रीवितरण ।  एमालेको सूर्य चिह्नबाट राप्रपा नेपालका कार्यकर्ता चुनाव लड्न पाउने समझदारी र सम्झौता बारेको प्रसंग हेरौँ । पार्टी सत्तामा जानुपर्दा र कुनै पनि पार्टीको बहुमत नपुग्दा अर्को पार्टीको समर्थन र सहयोग अनिवार्य संवैधानिक सर्त हो । जसलाई मान्नुपर्छ । तर दुई वा दुईभन्दा अलग–अलग पार्टी चुनावमा पनि एक भएर लड्ने, पार्टीको चिह्न जसले पनि प्रयोग गर्न पाउने कुरा राजनीतिक रंगमञ्चमा देखिँदै गरेको भद्दा नाटक हो । जसलाई नाटकको मञ्चीय विषय बनाइरहेका छन् पार्टीहरूले । आफ्नो वैचारिक र दार्शनिक धरातल स्वार्थको जगमा उभिएको छ । एकातिर सत्तासीन पाँच दलीय मोर्चाको नाममा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी र जसपा अनि राष्ट्रिय जनमोर्चा स्थानीय चुनावमा तालमेल गठजोड गरेर लड्ने कसरतमा भिडेका छन् भने अर्कोतर्फ प्रमुख प्रतिपक्षी पार्टी संसद्को सबैभन्दा ठूलो पार्टी एमाले राप्रपा र परिवार दलको सहारामा चुनाव लड्ने र आफ्नो चुनाव चिह्न सूर्य अरु दलका लागि पनि दिन इच्छुक बनेको छ । 

किन यति लचक बन्यो एमाले ? ओली क्रेजले देशव्यापी चुनावी माहोल आफ्नो पक्षमा आएको दाबी गर्ने एमाले भर्खर पुनर्गठित कमल थापाको राप्रपा र देशमा कुनै प्रभाव नदेखिएको परिवार दलमा शरणागत हुनु अनौठो देखिएको छ । केही अघिसम्म सबै दल एकातिर, एमाले अर्कोतिर हुँदा पनि एमाले क्विन्टलको ढक अरु किलो र पाउ भनेर धमास दिने ओली, ‘सिंगल–सिंगल’ आऊ भनेर नारी सुर्कने ओली, कमल थापा र एकराज ढकालको ‘ब्याकफोर्स’मा गर्जिएका रहेछन् । कमल थापा र एकराजको सहारा भीरबाट खस्दै गर्दा सिस्नो समाए झैँ हुने त होइन एमालेका लागि ? त्यो आगामी चुनावी र राजनीतिक नतिजाले पुष्टि गर्ला । आज केवल प्रश्नात्मक बन्न मात्रै सकिन्छ, परिणाम नआएसम्म ? 

एमालेको चुनाव चिह्न सूर्य व्यापारिक, विज्ञापनीय र व्यावसायिक ट्रेड मार्क मात्रै हो । किनभने सूर्य चिह्नबाट चुनाव लड्ने मान्छे एमाले हुनुपर्दैन । एमालेको टिकट लिन कम्युनिस्ट बन्नु पर्दैन । जस्तो कि २०४८ सालमा पदमरत्न तुलाधर, २०७४ मा तमलोपाका हृदयेश त्रिपाठीहरू र अब राप्रपाका कमल थापा र परिवार दलका एकराज ढकालहरू । यसको जवाफ के दिन्छ एमालेले ? नेकपा एमालेका कार्यकर्ता सबै विवेकहीन र बेसरम पक्कै छैनन् । 

पार्टीमा यसबारे प्रश्न गर्लान् ? कमल थापा र एकराज ढकाललाई पार्टीमा नै रातो कार्पेट बिछ्याएर भित्र्याउनु सामान्य मान्न सकिन्छ । एमालेभित्र थुप्रै कमल थापा र एकराज ढकालहरू छन् । तर राप्रपा र परिवार दलकै नेता कार्यकर्ता बनेर एमालेको चुनाव चिह्नमा लड्नु भनेको अनैतिकता र बेसरम हुनु र बनाइनुको हद पार गरेको स्थिति हो । के एमालेको चुनाव चिह्न सूर्य बिक्रीमा राखिएको बजारको माल हो ? जसलाई जसले खरिद गरेर पनि आफ्नो बनाउन सक्छ ? कि यो एमाले जनको आस्था र पवित्र पार्टीगत वैचारिकी बोकेर जनताको बिचमा जाने स्वाभिमानको चिह्न हो सूर्य ? 

चिह्न सूर्य, रुख, चन्द्रमा, बादल, धर्ती, आकाश, मादल साइकल गिलास जे पनि बन्न सक्छ तर पार्टीले आफूले लिइसकेपछि त्यसको महत्व र महिमा पार्टीगत हुन्छ । त्यसको प्राकृतिक स्वरूप सबैका लागि हुन्छ । तर विधानत राजनीतिक प्रयोजन एक पार्टीका लागि भएपछि अर्को पार्टीको बन्न सक्दैन । पार्टीको वैचारिक अनुहारसँग चुनाव चिह्नले आफ्नो दार्शनिक मान्यता प्रकट गर्छ । सूर्य चिह्नमा बनेका अनेक गीत, साहित्य, दर्शन र विचार अलग पार्टीका कार्यकर्ताको आस्था र वैचारिकी होइन । त्यसैले सूर्य चिह्नमा हक एमालेको मात्रै लाग्छ, लाग्नुपर्छ । एमाले बनेर चुनाव लड्ने राजनीतिक स्वतन्त्रता सबैलाई । छ तर अर्को पार्टीको कार्यकर्ता नेता कसरी भिन्न पार्टीको चुनाव चिह्नमा लडन सक्छ ? 

कुन नैतिकताले स्वीकार गर्दछ यो कुरा ? यद्यपि एमाले जनले हाम्रो पार्टी हाम्रो चिह्न हाम्रो खुसी भनेर तर्क गर्न सक्छन् । त्यो तर्क मेरो शरीर मेरो खुसी भनेर बिक्री वितरणमा राख्ने कुनै नगर वधुको अवाञ्छित र अवैधानिक गतिविधि जस्तै हो । तर्कको कारण होला बन्ला तर सैद्धान्तिक धरातल हुँदैन संविधानमा यस्तो पाइँदैन भनेर कहाँ लेखिएको छ भन्ने तल्लोस्तरको तर्क पनि आउन सक्छ । एमालेजनले गर्न सक्छन् । नैतिकता र अनुशासन सामाजिक मर्यादा कायम गर्न बनाएका अलिखित सर्त र बन्देजहरू हुन् ? 

सामाजिक नियम देशको कानुन र लोकाचार ख्याल नगर्ने दुराचार प्रवृत्ति कसैले देखाउँछ भने त्यसको ओखती सम्भवतः आविष्कारक भएको छैन । 
चिह्नको महत्व कति शक्तिशाली र उद्देश्यपूर्ण हुन्छ भन्ने कुरा नेकपा एमाले हाम्रो र सूर्य चिह्न हाम्रो भन्दै तत्कालीन एमालेबाट ओलीलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेर पार्टीबाट गलहत्याएर निकाल्दै निर्वाचन आयोगमा सूर्य दाबी गर्न जाने माधव नेपाल, झलनाथ खनाल र प्रचण्डलाई थाहा छ । अझ पार्टीको आधिकारिक नाम चोर्ने र त्यसविरुद्ध रिट दिएर जित्ने तत्कालीन नेकपा ऋषि कट्टेल समूहलाई थाहा छ, आफ्नो पार्टीको नामको मर्यादा । ओली, प्रचण्ड र माधव नेपाललाई पनि आफ्नो निकट विगत याद होला । नामको मुद्दा अदालत प्रवेश कारण एमाले र माओवादी केन्द्रको एकीकरण बदर भयो । नाम, झण्डा, चिह्नको आफ्नै मर्यादा, पहिचान र गौरव हुन्छ । तसर्थ एमालेले सूर्य चिह्न बिक्रीमा राखेको कुरा नीति र न्यायसङ्गत देखिन्न । 

आफ्नो चिह्नलाई अवसरवादको निशानी बनाउने कुरामा स्वयं एमालेजनाले तीव्र असहमति जाहेर गर्दै विगतको त्रुटि सच्याउने हिम्मत गर्नुपर्छ । अन्यथा बजारको खरिद बिक्रीको माल सूर्य चिह्न र वैचारिक आस्था बन्ने खतरा सदैव जीवन्त रहन्छ । नैतिकता, दर्शन र वैचारिक स्वाभिमानको स्खलन रोक्न चिह्नमाथिको मनपरीतन्त्र अन्त्य हुनु जरुरी छ । कांग्रेसको रुखबाट माओवादी चुनाव लड्ने अनि माओवादीको गोलाकारभित्र हँसिया हथौडाबाट कांग्रेस चुनाव लड्ने कुरा कति न्यायोचित ? 
समष्टिमा के देखिन्छ भने पार्टीहरूले आफ्नो अवमल्यन आफैँ गरिरहेका छन् । झण्डा, नाम चिह्न र दस्तावेजको लिलामी गरेर । पार्टीहरूका लागि आफ्नो नाम झण्डा चुनाव चिह्न र पार्टीका दस्तावेज अमूल्य र पवित्र हुनुपर्ने थियो तर ...।


Author

थप समाचार
x