श्रमिकको अपमानले हद पार गर्यो, तर मनाइरहेछौँ दिवस
यस संसारमा देखिने सम्पूर्ण विकास र समृद्धिका वैभव आदि श्रमजीवी वर्गको अहोरात्रको पुरुषार्थबाट मात्र सम्भव भएको हुनाले श्रमजीवी वर्गको संघर्ष र योगदानलाई हामी सबैले सम्मान्न गर्नै पर्दछ । आफनै पौरखमा बाँच्न सक्ने शक्तिले आफू मेटाएर दुनियाँ सजाएका छन् । वस्तुतः मानवीय शक्तिद्वारा जुन काम गरिन्छ त्यसलाई श्रमिक या मजदुर भनिन्छ । चाहे त्यो काम शारीरिक या बौद्धिक प्रयासबाट काम गर्ने व्यक्तिलाई श्रमिकको रूपमा बुझ्ने गरिन्छ ।
हाम्रो समाजको एउटा ठूलो हिस्सा यस्तो छ ,जो अभावमा जन्मन्छ र जीवनभरी ज्याला मजदुरी गरेर आफ्नो भाग्य सँग लडिरहेको हुन्छ । खेतमा अन्न उत्पादन गर्छन् तर भोकभोकै सुत्छन् । सबैको घर बनाउँछन् तर आफू आकाशमुनि रात बिताउँछन् । कपडा फ्याक्ट्रीमा काम गर्छन् तर आङमा लुगा हुँदैन । सडकमा जन्मन्छ र सडकमै बित्छ, जिन्दगी । काम पायो भने खान पायो, नत्र भोकै । न त यिनका छोराछोरीले स्कुलको मुख देखेका हुन्छ्न्, न त औषधि उपचारका लागि अस्पताल नै धाउँछन् । यस्ता गरिखाने वर्गलाई मौसम परिवर्तनले पनि छेक्दैन । श्रममा आश्रित परिवारलाई चिसो, गर्मी या वर्षा आदिले कुनै असर पुर्याएको हुँदैन । उनीहरूलाई बाह्रै महिना, बाह्रै काल आफ्नो ज्याला मजदुरीमा निर्भर रहन्छन् । केवल आफ्नो ज्याला मजदुरीसँग मात्र सरोकार राख्छन् । यसै गरी विकास निर्माणहरूमा सडक भवन उद्योग कृषि तथा ठूलाठूला आयोजनाहरूमा अहोरात्र श्रम खर्चिरहेका हुन्छन् तर पनि सुख शान्तिले खान र बस्न पाउँदैनन् ।
अझ उल्टै यस्ता वर्गलाई अर्धसामन्ती तथा दलाल पूँजीपतिहरूले न्यून ज्यालामा हप्किदप्की लाएर ८ घण्टाको साटो १६ घण्टा काममा दलाएर श्रमको शोषण गर्छन् । शोषकहरू मालामाल हुने तर शोषितहरू आजको २१ औं शताब्दीमा पनि दासदासीझैं बाँच्नुपर्ने विडम्बनापूर्ण राजनीतिको अन्त हुन सकेको छैन । यस प्रकारका श्रमिकहरू प्रायः घरेलु कामदार, इँटाभट्टा, गलैंचा, साडी एम्ब्रोडिङ, छापाखाना, अटोमोबाइल, होटल, गिट्टी बालुवा ढुङ्गा तथा कृषि क्षेत्रमा काम गर्ने श्रमिकहरू हुने गर्दछन् । यस्ता क्षेत्रमा प्रायः दैनिक ज्यालादारी, बाल श्रमिक या बँधुवा मजदुरहरू असंगठित क्षेत्रमा रहेको हुनाले यिनीहरूको अवस्था डरलाग्दो र जोखिमयुक्त रहेको हुनाले अत्यधिक सास्ती भोग्न बाध्य छन् ।
यस्ता मजदुरहरूको न त बालापन हुन्छ, न त जवानी नै । श्रम गर्दागर्दै आफू बित्छन् तर पनि मुलुकको सर्वाङ्गीण विकासमा आर्थिक टेवा पुर्याइरहने सच्चा मजदुर विकास र समृद्धिको मेरुदण्ड मानिन्छ । आफ्नै पाखुरीको बलमा बाँच्न सक्ने जनशक्तिलाई राजनीतिको भाषामा सर्वहारा वर्ग मानिन्छ । जो अत्यन्तै धारिलो र निर्णायक भूमिकामा रहे पनि यो वर्ग न त वर्तमानमा हाँस्न सकेका छन् न त भविष्य नै सुरक्षित गर्न सकेका छन् ।
अर्का तप्का यस्तो छ, जसलाई आफ्नो खेतबारीको उत्पादनबाट मुस्किलले ६ महिना मात्र खान पुग्छ बाँकी ६ महिनाको जीवन गुजाराका लागि भारत र खाडी मुलुकहरूमा निर्भर रहनुपर्छ । यस्तै अर्काे तप्काका मजदुर पनि छन् । जसको स्थायी जागीर छ, सामान्य सेवा सुविधा पनि पाएका छन् तर पनि श्रम अनुसारको पाउनुपर्ने तलब सुविधा, सम्मान नपाएको गुनासो गर्नेहरू पनि उत्तिकै छन् । त्यसभन्दा माथिका ढुलमुले बौद्धिक श्रमिकहरूका पनि समस्या नभएका भने होइनन् । मूल कुरा प्राथमिकताको आधारमा श्रमजीवी वर्गको आवश्यकताको पहिचान र सोहीअनुसारको समाधानमा सरकारले गम्भीरतापूर्वक ध्यान नदिँदा समस्या सधैं तगारो बनेर उभिरह्यो, चर्किरह्यो ।
मे दिवसको सन्देश :
त्यसो त विश्व मजदुर आन्दोलनका विविध पाटा र घुम्तीहरू छन् । जसमा रुसको अक्टोबर क्रान्ति, फ्रान्सको पेरिस कम्युन, बेलायत जर्मन अस्ट्रेलिया लगायत थुप्रै मजदुर आन्दोलनहरूका गाथाहरूलाई उद्धृत गर्न असम्भव भए पनि अमेरिकाको सिकागो मजदुर आन्दोलनको विशिष्ट महत्व रहेको छ । ४ मे १८८६ का दिन अमेरिकाको सिकागो सहरको हे मार्केटमा विभिन्न कपडा कारखानाका झण्डै चार लाख मजदुरहरूले ८ घण्टा काम, ८ घण्टा आराम ८ घण्टा मनोरञ्जनको माग राखेर विशाल हड्तालको आयोजना भइरहँदा उक्त आन्दोलनमा बम विस्फोट हुन्छ, गोली चल्छ अनि थुप्रै मजदुरहरू घाइते भएर रगताम्मै हुन्छन् । जसमा केही प्रहरी र मजदुरहरूको समेत मृत्यु भएको थियो भने धेरैलाई गिरफ्तार गरिएको थियो ।
तत्कालीन शासकले आन्दोलनमा हिंसा भड्काएको आरोपमा अल्बर्ट पार्सन, अगस्त स्पिस, जर्ज एंगल्स, लुइस लिंगलाई फाँसीमा झुण्ड्याएका थिए भने एडल्फ फिस्चर प्रहरी यातनामा मारिएका थिए । तत्कालीन शासकले दमनको नीति लिए पनि अन्ततः मजदुरहरूले ती शासकहरूलाई घुँडा टेकाएर रातो झण्डा फहराएको एउटा उत्सव, एउटा प्रेरणाको रूपमा मे एकलाई लिने गरिएको हो ।
यस्ता मजदुरहरूको न त बालापन हुन्छ, न त जवानी नै । श्रम गर्दागर्दै आफू बित्छन् तर पनि मुलुकको सर्वाङ्गीण विकासमा आर्थिक टेवा पुर्याइरहने सच्चा मजदुर विकास र समृद्धिको मेरुदण्ड मानिन्छ ।
यसै सम्बन्धमा सन १८८९ मा फ्रान्सको पेरिसमा दोश्रो विश्व मजदुर संगठनका नेता एंगल्स नेतृत्वको बैठकले हरेक वर्षको मे एकमा अन्तर्राष्ट्रिय मजदुर दिवस भव्यताका साथ मनाउने निर्णय गरिएको हुनाले सन् १८९० देखि नियमित रुपमा अन्तर्राष्ट्रिय मजदुर दिवस मनाउन थालिएको हो । नेपालमा पनि पहिलो मजदुर दिवस सन १९४० मा नैनलाल बोहराको अध्यक्षतामा विराटनगरमा मनाइएको थियो । नैनलाल बोहरा उक्त जुट मिलका मजदुर भएको नाताले उनको चर्चा ओझेलमा पर्न गएको हो । त्यसपछि २००९ सालमा वीरगञ्जमा ६३ औं अन्तर्राष्ट्रिय मजदुर दिवस साहना प्रधानको अध्यक्षता मनाइएको थियो । राणा शासन र पञ्चायती व्यवस्थाको प्रतिबन्ध हुँदाहुँदै पनि मजदुर दिवस मनाउँदै आएको संघर्षपूर्ण इतिहास रहेका छन् । यस पटक पनि यही १८ वैशाख २०७९ मा १३३ औं अन्तर्राष्ट्रिय मजदुर दिवस विभिन्न दलका ट्रेड युनियन, स्वतन्त्र मजदुर संगठन, श्रमजीवी ट्रेड युनियन महासंघ नेपाल जस्ता अग्रपंक्तिमा रहेका संघ संगठनहरूले धुमधामका साथ मनाउने तयारीमा जुटेका छन् ।
नेपालको मजदुर आन्दोलन ः हाम्रो आर्थिक विकास र प्रगतिको श्रेय श्रमिक वर्गमा जाने निर्विवाद छ । आजको बढदो औद्योगिकरण र हाई टेक्नोलोजीको विश्व बजारमा श्रमिकहरूको आवश्यकता घटेको छैन । आजभन्दा ७५ वर्ष अघि नेपालमा उद्योग धन्दाहरू भर्खर बामे सर्दै थिए । विराटनगर वरिपरिका जुट मिल, राइस मिल, तेल मिल, केमिकल फ्याक्ट्री, सलाई फ्याक्ट्रीहरूमा काम गर्ने कामदारहरू ठूलो संख्यामा रहेका थिए ।
त्यहाँका उद्योगहरूमा बढ्दो श्रम शोषण, आवासको खराब स्थिति, खानेपानीको समस्या, बिमा बोनस आदि माग राखेर ४ मार्च १९४७ का दिन मजदुरहरूले आफ्नो हक अधिकार प्राप्त गर्नका लागि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा मनमोहन अधिकारी, युवराज अधिकारी, तारिणी कोइराला, गहेन्द्र शर्मालगायत नैनलाल बोहरा, नरबहादुर लिम्बू, पन्चादास र दार्जिलिङका रत्नलाल ब्राह्मण आदि नेताहरूको आह्वानमा बृहत सहभागिता रहेको थियो । ९ मार्च १९४७ का दिन विश्वेश्वरप्रसाद कोइरालाको उपस्थितिले उक्त आन्दोलनलाई थप उर्जावान बनाएर अघि बढेपछि सेनाद्वारा आन्दोलनमा दमन गर्न थालेपछि राष्ट्रिय काँग्रेसका प्रमुख नेताहरूलाई गिरफ्तार गरेर काठमाडौ ल्याइन्छ र केही भूमिगत भएर भारतको जोगबनीतिर लाग्छन् । त्यस दिनको दमनको विरुद्धमा दुई दिन पछि पुनः मजदुरहरूको विशाल विरोध सभामा गोली लागेर तुलाराम तामाङ सहिद हुन्छन् ।
विराटनगरको उक्त आन्दोलन सल्किँदै जनकपुर र वीरगञ्जमा सत्याग्रह आन्दोलनले आफ्नो आकार बढाउँदै लगेको थियो । काठमाडौ लगायत विभिन्न सहरहरूमा काँग्रेसको सत्याग्रह र मजदुर आन्दोलनको संयुक्त संघर्षले थप उचाइमा पुर्याएपछि मजदुर आन्दोलन आफैँमा सीमित नभई १०४ वर्षे राणा शासनको विरुद्धमा लम्किरह्यो र अन्ततः २००७ सालको प्रजातन्त्र ल्याउनमा मजदुरको अहम् भूमिकालाई कदापि बिर्सन सकिन्न । यसरी २०३६, २०४६ र २०६२-६३ सालको विशाल जनआन्दोलनमा शिक्षक वकिल डाक्टर इन्जिनियर पत्रकार व्यवसायी कर्मचारी नागरिक समाज किसान मजदुरहरूको उल्लेखनीय सहभागितामा भएको आन्दोलनबाट नेपाल गणतान्त्रिक युगमा प्रवेश गर्न पुग्दछ । नेपालको मजदुर आन्दोलनका आफ्ना छुट्टै विशिष्ट छाप र इतिहास रचेको कुरालाई हामी सबैले ढिलो चाँडो स्वीकार्नै पर्दछ ।
मजदुर संगठनको औचित्य ः ‘संघे शक्ति कलौ युगे’ केवल कलि युगमा मात्र होइन, हरेक देश ,काल ,समाज र परिस्थितिमा संगठन सहाराको सूचक मानिन्छ । सहारा तब पाइन्छ जब नेतृत्व जनहितमा हुन्छ, न्याय सबैमा समर्पित हुन्छ तथा संगठन अनुशासित हुन्छ । राज्यको विभेदका विरुद्ध लडेर आफ्नो हक अधिकार प्राप्त गर्नमा सहायक शक्ति संगठन हो । एउटा आदर्श संगठन त्यो हो जो सामान्य व्यक्तिको असमान्य कार्यमा तत्परता एवं सहयोग पुर्याउँछ ,त्यो सच्चा संगठन मानिन्छ । हुन त संगठन आफैँमा साध्य होइन, केवल साधन मात्र हुन । फेरि पनि संगठनको क्षमताको जाँच त्यसको संरचना विकास, अनुशासन, नीति,कार्यशैली आदिमा निर्भर गर्ने कुराले धेरै कुराहरूको निक्र्यौल गर्दछ ।
श्रमिक वर्गको यत्रो संघर्ष र योगदानको पश्चात् पनि श्रममैत्री संविधान बन्न सकेन, जो छ त्यो कार्यान्वयन हुँदैन् । मौलिक अधिकारको रूपमा रहेको गाँस बास कपास शिक्षा स्वास्थ्य न्याय र सहुलियत रासन कार्ड जस्ता आधारभूत विषयहरूलाई अझैसम्म श्रममुखी बनाउन सकेका छैनौं
मजदुर आन्दोलनको लामो इतिहासमा श्रमजीवी वर्गले के पाए र के गुमाए त्यसको हामी सबैले समीक्षा गर्ने बेला आएको छ । पटक पटकको व्यवस्था परिवर्तन, संविधान लेखन अनि नगरवधुले साडी फेरि झैँ क्षण क्षणमा फेरि रहने सत्ताले श्रमिक वर्गको जीवनमा कहिलै काँचुली फेर्न सकेन । मजदुर नेताहरूको जीवन दिनानुदिन समृद्धिले भरिने तर मजदुर सधैं दासदासीको रूपमा बाँच्नु पर्ने बिडम्बनापूर्ण स्थितिको अन्त्य अझै हुन सकेका छैन । विगतमा यही विभेद र असमानताको विरुद्ध लडेर प्राप्त गरेको व्यवस्थामा पनि श्रमजीवी वर्गको बाँच्न पाउने अधिकारलाई वर्तमान संविधानले गिज्याइ रहेको प्रतीत हुन्छ ।
राज्य सबैको अभिभावक भएपछि श्रमिक वर्गको आर्तनाद र पीडाहरू सुन्न र बुझ्न सक्ने ल्याकत राख्नु पर्दछ । देशको आधा जनसंख्याप्रति सरकारको सौतेला व्यवहार आफँैमा मौलिक अधिकार तथा श्रम ऐन विरुद्ध छ । सरकारले श्रम ऐन २०७४ र सामाजिक सुरक्षा ऐन २०७५ श्रमिक वर्गको हितमा रहेपनि त्यसको कार्यान्वयन नभएको, अनुगमन नगर्ने, कमी कमजोरी नसच्याउँदा श्रम ऐन आदि हात्तीको देखाउने दाँत र चपाउने दाँत जस्तै बेग्ला भएका छन् । श्रम ऐनले सबै प्रतिष्ठानहरूमा श्रम ऐन लागू गर्ने, एक लाखको स्वास्थ्य बिमा, सात लाखको दुर्घटना बिमा, स्थायी अस्थायी बीचको विभेद अन्त्य गर्ने, श्रम अदालतमा न्यायाधीशको व्यवस्था, काम थालेको दिन देखि संचय कोष तथा उपदानको व्यवस्था ,मजदुर र रोजगारदाता बीचको सुमधुर सम्बन्ध स्थापित गर्ने विषयहरू हेर्दा सुन्दर र आकर्षक रहे पनि व्यवहारमा लागू गर्न नसकिएका नियम कानुन जीवनपयोगी हुन सक्दैन ।
श्रमिक वर्गको यत्रो संघर्ष र योगदानको पश्चात् पनि श्रममैत्री संविधान बन्न सकेन, जो छ त्यो कार्यान्वयन हुँदैन् । मौलिक अधिकारको रूपमा रहेको गाँस बास कपास शिक्षा स्वास्थ्य न्याय र सहुलियत रासन कार्ड जस्ता आधारभूत विषयहरूलाई अझैसम्म श्रममुखी बनाउन सकेका छैनौं । सामाजिक सुरक्षाअन्तर्गत पेन्सन पाउने अधिकार धरापमा छ ।
नो वर्क –नो पे हायर एन्ड फायर जस्ता श्रम विरोधी प्रावधान अघि सारेर सरकारले पूँजीपति वर्गको ताबेदारी गरेको प्रष्ट झल्कन्छ । यसबाहेक यातायात, होटल, निर्माण, सिलाइ बुनाइ, चिया बगान,कृषि, रिक्सा ठेला, भरिया आदि क्षेत्रमा कार्यरत दैनिक ज्यालादारी श्रमिकहरूका न्यूनतम मागहरू पनि पूरा गराउन नसक्नु लज्जाका विषय हुन । वस्तुतः मजदुर आन्दोलन शिथिल बन्नुमा सरकार स्वयं दलाल पुँजीपति वर्गको पक्षपोषणमा लाग्नु, दलगत राजनीतिमा शक्ति विभाजित हुनु, मजदुर संगठनका नेताहरू आ–आफ्ना दलका नेताहरूको चाकडी र झोला बोक्ने प्रवृत्ति आदि हाबी हुँदा मजदुर आन्दोलन कमजोर बनेको कारण श्रमजीवी वर्गको जीवनस्तर कहिले माथि उक्लिन सकेन ।
सत्तामा बाह्रैमास रजाइँ गर्ने काँग्रेस एमाले र माओवादीका मजदुर संगठनहरूले मजदुरका सवालमा गम्भीरता देखाउन आवश्यक छ । कोरोना महामारीका कारण त्यसै पनि दुई वर्षको अवधिमा लाखौं लाखौं नेपाली श्रमिकहरूले स्वदेश तथा विदेशमा रोजगारी गुमाएर अहिले ऋणमा चुर्लम्म डुब्न पुगेका छन् । त्यसमा झन आकासिँदो महंगीको बखतमा सरकारी मौनता र ट्रेड युनियन भित्रको अनेकताले गरिखाने वर्गमा नैराश्यलाई उब्जाएको प्रष्टै देखिन्छ ।
यसरी एकातिर परिवार पाल्नैको लागि वैदेशिक रोजगारीमा जानु पर्ने बाध्यता छ भने अर्कोतिर स्वदेशमा रहेका श्रमिकहरूको न्यून ज्याला, रोजगारीको अभाव र असुरक्षाको कारण श्रमिक वर्गको काँधमा आएको जिम्मेवारीलाई संगठनले आफ्नो चुनौतीको रूपमा लिनु पर्दछ । श्रमजीवी वर्गको वकालत गर्दै हिंड्ने कम्युनिस्टहरू देशमा छ्यापछ्यप्ती छ्न । सिद्धान्तमा निकटता र एकरुपता छ । देश कम्युनिस्टमय छ । सरकारमा कम्युनिस्टहरूको हालिमुहाली हुँदासम्म पनि श्रमजीवी वर्गको हितमा दिगो निर्णय लिन नसक्नु दुर्भाग्यपूर्ण मानिन्छन् । यसले के प्रष्ट्याउँछ भने देशमा न त सच्चा कम्युनिस्ट रहे, नत सच्चा समाजवादी नै रहे !
अन्त्यमा ः जुन वर्गले विकास र समृद्धिमा आफ्नो श्रम खर्च्यो, सबैको हक अधिकारका लागि लड्यो आज त्यही वर्गको वर्तमान पीडादायक छ र भविष्य अन्धकारमय छ । अझै पनि यहाँ श्रम र पसिनाको कुनै मूल्य र सम्मान छैन । श्रमजीवी वर्गप्रति राज्यको दोश्रो दर्जाको व्यवहारले समस्याको समाधान भन्दा पनि द्वन्द्वलाई बढाउँदै लगेको छ । जबकि नेपाली मजदुर आन्दोलनले थुप्रै राष्ट्रियस्तरका नेताहरू जन्माए र सत्तामा पुर्याए तापनि श्रमजीवी वर्गका जल्दाबल्दा मुद्दाप्रति सदैव आँखा चिम्लिएको तीतो सत्यबाट पाठ सिकेर अघि बढनुको अर्को विकल्प देखिँदैन ।
अन्तर्राष्ट्रिय मजदुर दिवस एउटा अधिकार प्राप्तिको दिनमा सहिदप्रति सम्मान प्रकट गर्ने र श्रमजीवी वर्गका बाँकी अधुरा माग प्राप्तिका लागि प्रतिवद्धता व्यक्त गर्ने दिन पनि हो ।
अतः मजदुर दिवसमा गरिने सेमिनार गोष्ठी सभा या जलपान कार्यक्रमलाई केवल कर्मकाण्डीको रुपमा मात्र नभई ,एउटा सद्भाव र एकताको प्रतीक बनोस् । अन्तर्राष्ट्रिय मजदुर आन्दोलनको मर्म र भवनालाई आत्मसात् गरेर अघि बढाउने कार्यक्रमको रूपमा मे एकलाई चिन्हाउन सकियोस् । अनि सामाजिक जागरुकता बढाएर सशक्त ढंगले मजदुर एकतामा जोड दिन र प्रतिक्रियावादीका विरुद्धमा संघर्ष गर्दै काम र मामको दिगो आधार तैयार गर्न प्रण गरौं । जिते संसारमा सुख भोगौंला, हारे एउटा हथकडी मात्र ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया