'राजनीति दुई ध्रुवमा विभक्त भयो, प्रचण्ड अब खेलाडी रहँदैनन्'
नेपालमा बलियो राष्ट्रीय शक्तिलाई पटक–पटक विभाजित गर्ने प्रयास हुँदै आएका छन् । २०५१ मा जबर्दस्त उदाएको नेपाल कम्युनिष्ट पार्टी (एमाले)लाई २०५४ सालमा विभाजन गरियो । त्यस्तै, निकट विगतको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पनि विभाजन भयो । यद्यपि नेकपा (एमाले)ले नेकपाको विरासत बोकेर अगाडि बढेको छ । नेकपा विभाजन हुँदा बनेका एमाले, माओवादी केन्द्र र एमाले विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) हेर्ने हो भने नेकपा एमालेमा मात्र पूर्व एमाले र माओवादी केन्द्र दुवै पार्टीका नेता तथा कार्यकर्ताहरू हुनुहुन्छ । न माओवादी केन्द्र न एमालेबाट विभाजन भएर बनेको एकीकृत समाजवादीले नै नेकपाको विरासत धान्न सक्छ ।
अर्को सत्य के हो भने, अब माओवादी केन्द्र अब नेपाली राजनीतिको निर्णायक शक्ति रहेन । अब उसले सधैं केन्द्रमा रहेर राजनीतिलाई प्रभावित पारिरहने सामर्थ्य गुमाएको छ । शायद, पुष्कमल दाहालको अहिलेको छटपटी पनि त्यही हो । अहिलेको निर्वाचन एमाले भर्सेस गठबन्धन भएको छ । गठबन्धन भर्सेस एमाले होइन ।
यसले केपी ओलीमाथि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले जे आरोप लगाएर पार्टीभित्र विद्रोह सुरु गर्नुभयो । त्यो गलत थियो, यथार्थ र वास्तविकता नभएर त्यो उहाँहरूको आग्रह र पूर्वाग्रह थियो भन्ने प्रष्ट हुन्छ । जुन कुरा मैले बारम्बार उहाँहरूलाई सम्झाउने प्रयास गरेको थिएँ । माधवकुमार नेपालसँग त हामीले पछिसम्म सुलहको प्रयास गरेकै हो । १० बुँदे सहमतिमा चित्त नबुझाएर उहाँ निस्कनुभयो । जेसुकै भएपनि उहाँहरूले नेकपाभित्र जे आधारमा विद्रोह गर्नुभएको थियो, ती आरोप स्थापित हुन सकेनन् । लोकतन्त्रमा आफूलाई परीक्षण गर्ने सबैभन्दा सशक्त माध्यम भनेको निर्वाचन नै हो र निर्वाचनमा एमालेको सशक्त उपस्थितिले सत्तारुढ पाँच दलको गठबन्धन निकै डराएको अवस्था छ ।
संसद विघटन हुने दिन विहान ८ बजेसम्म म पुष्पकमल दाहालकै निवासमा थिएँ । मैले उहाँलाई भनेँ, ‘पार्टीका समस्याहरू समाधान गरेर जाऊँ । सरकारमा केपी शर्मा ओलीको नेतृत्वमा समस्या हो भने संसदीय दलमा बहुमत पुर्याएर हटाउनुपर्छ । पार्टीमा उहाँको नेतृत्वको समस्या हो भने चाँडै महाधिवेशनमा जाऔं ।’
हामीले एउटा स्थापित विधि अनुसरण गरेर मात्र पार्टी र सरकारको नेतृत्व बदल्नुपर्छ भन्ने मेरो मत थियो । उहाँहरूले केपी शर्मा ओलीलाई सरकारबाट हटाउन भनेर सांसदहरूको हस्ताक्षर समेत संकलन गरेको भन्ने सूचनाहरू प्राप्त भएका थिए । विधि र प्रक्रिया बाहिर गएर भद्रगोल नगरौं भनेर उहाँलाई सम्झाउने हाम्रो प्रयास सफल भएन ।
उहाँले भन्नुभयो, ‘अब पनि केपीलाई बोकेर निर्वाचनमा जाने स्थिति भयो भने हामी पत्तासाफ हुन्छौं ।’ वास्तवमा उहाँहरूको त्यो वास्तविकता र तथ्यमा आधारित थिएन, उहाँहरू आग्रह र पूर्वाग्रहमा चल्नुभएको थियो भन्ने प्रमाणित भैरहेको छ ।
अहिले पनि कांग्रेसका कतिपय साथीहरूलाई लाग्छ कि कम्युनिष्टहरू मिल्ने हुन् कि ! उहाँहरूले जिज्ञासा पनि राख्नुहुन्छ । जसले हिजो जनताले दिएको झन्डै दुई तिहाईको बहुमत टुक्र्याएर सरकार गिरायो, त्यो जनमत खण्डित गर्यो; तिनीहरूसँग पुनः मिलेर निर्वाचनमा जाने भन्ने सम्भव नै छैन । अहिले पनि कतिपयले संघ र प्रदेशको निर्वाचनमा यिनीहरू मिल्छन् कि भनेर शंका राखेको पाइन्छ । कांग्रेसकै साथीहरू भन्नुहुन्छ, ‘तपाईंहरू साँच्चै नमिल्ने हो त ?’
हामी प्रष्ट छौं– पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई लिएर हिंड्दा त हाम्रो मत घट्छ । हामी उहाँहरूले जनमत खण्डित गर्नुभयो । काम गर्न दिनुभएन भनेर जनताकहाँ गैरहेका छौं भने उहाँहरूलाई साथै लिएर जाने भन्ने त सवाल नै रहँदैन । फेरि यसो भनेर माओवादी केन्द्र र एकीकृत समाजवादीमा रहनुभएका अन्य साथीहरूलाई नल्याउने भन्ने होइन ।
बलियो राष्ट्रिय शक्ति बन्ने क्रममा रहेकाले एमालेले त्यहाँका राम्रा साथीहरूलाई एमालेमा स्वागत गर्छ र बृहद् कम्युनिष्ट पार्टी निर्माण गर्ने अभियानमा सधैं क्रियाशील हुन्छ । किनकी हामीजस्तो प्रगतिशील शक्ति संगठन गर्नबाट निष्क्रिय हुनु भनेको नेपाली कांग्रेसको आधार वृद्धि हुनु हो । त्यसकारण हामी बढीभन्दा बढी संगठीत र सक्रिय रहन्छौं ।
हामी प्रष्ट छौं– पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई लिएर हिंड्दा त हाम्रो मत घट्छ ।
अब नेपालको राजनीति चाहेर पनि नचाहेर पनि दुई ध्रुवमा गयो । एउटा ध्रुवको शक्ति एमाले हो भने अर्को ध्रुवको शक्ति कांग्रेस हो । हामी श्रमजीवि वर्गको प्रतिनिधित्व गर्छौं, कांग्रेसले बुर्जुवा पुँजीपतिको प्रतिनिधित्व गर्छ । बाँकी शक्तिहरू भनेका कांग्रेस र एमालेका सहायक शक्तिहरू हुन् । जुन तपाईंहरू निर्वाचनका क्रममा देखिरहनुभएकै छ । दुई ध्रुवमा राजनीति विभाजन भएको छ, कानुनी वैधताका हिसाबले अन्य दलहरू अस्तित्वमा छन्, तर जन अनुमोदनका लागि अभ्यासका हिसाबले कि कांग्रेस कि त एमालेको कित्तामा नउभिई अब सुख छैन । हाम्रो मुलुकको राजनीतिमा यसखालको ध्रुवीकरण जरुरी थियो, जुन भएको छ ।
त्यसकारण माओवादी केन्द्र वा एकीकृत समाजवादी जस्ता कम्युनिष्ट पार्टीले स्वतन्त्र ध्रुव (पोल) निर्माण गर्न सक्दैनन् । राजनीतिमा यसखालको ध्रुवीकरण र एमालेको सशक्त उपस्थितिले हिजो केपी शर्मा ओलीले जनतामा गएर आफूलाई परीक्षण गरौं भनेर राखेको प्रस्ताव सहि थियो भन्ने प्रमाणित गरेको छ भने सँगसँगै पुष्पकमल दाहाल र माधवकुमार नेपालका आरोप निराधार थिए भन्ने पनि पुष्टी गरेको छ ।
उहाँहरूले मूलतः पाँचओटा आरोप केपी शर्मा ओलीमाथि लगाएर संघर्ष शुरु गर्नुभएको थियो ।
पहिलो, नेकपाको निरन्तरता केपी ओली चाहाँदैनन् । मैले अगाडि पनि भने आज नेकपाको विरासत बोकेको कुनै पार्टी छ भने त्यो नेकपा एमाले हो । पूर्व एमाले र पूर्व माओवादी केन्द्रका नेताहरू सहभागी भएको एकमात्र पार्टी एमाले हो, त्यसकारण एमालेले नै नेकपाको निरन्तरताको नेतृत्व गरेको छ ।
दोस्रो, एक व्यक्ति एक पद हुनुपर्छ भन्ने उहाँहरूको माग थियो । पहिले त पृथ्वी सुब्बा गुरुङ र शंकर पोखरेल मुख्यमन्त्री रहेको कुरासँग यसलाई जोडिएको हो कि भन्ने थियो । पछि पार्टी अध्यक्षको हकमा पनि उहाँहरूले त्यही कुरा उठाउनुभयो । मुख्यमन्त्री राजनीतिक जिम्मेवारीबाट अलग हुने भन्ने हुँदैन, राजनीतिक जिम्मेवारीले सिर्जना गरेको पद हो, मुख्यमन्त्री । अब, अहिले बनेका उहाँहरूको दलमा एक व्यक्ति, एक पद छ त ? पुष्पकमल दाहाल र माधवकुमार नेपाल नै संसदीय दलको नेता र अध्यक्ष पनि हुनुहुन्छ । एकीकृत समाजवादीमा त अझै लामो योगदान गरेको नेता पूर्व प्रधानमन्त्री झलनाथ खनाल पनि हुनुहुन्छ, उहाँलाई संसदीय दलको नेता वा अध्यक्ष किन नबनाएको ? त्यसकारण उहाँहरूको एक व्यक्ति, एक पद भन्ने माग पनि नितान्त केपी शर्मा ओलीप्रति लक्षित थियो ।
तेश्रो, अध्यादेशको विरोध । केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि २२ जना स्थायी समिति सदस्यले लिखित रूपमा नै बैठक माग गर्नुभयो । अध्यादेश जारी गर्न हुन्न भनेर कांग्रेसले पनि साथ दिएपछि उहाँहरूको मत बलियो भयो र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई फिर्ता लिनुभएको थियो । अहिले उहाँहरू नै धमाधम अध्यादेश जारी गरिरहनुभएको छ ।
चौथो, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सहायता सम्झौता । एमसीसी सम्झौता सरकारबाटै अस्वीकृत गरौं भन्नेमा पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल लगायतको मत थियो । केपी शर्मा ओलीले नै अघिल्लो सरकारले सम्झौता गरेको भएपनि सरकार अविछिन्न उत्तराधिकारी हुन्छ । अर्को देशसँग सम्झौता भैसकेपछि त्यसलाई सरकारले अस्वीकृत गर्न मिल्दैन । यसलाई संसदमा लैजाऔं र संसदबाट नै यसको छिनोफानो होस् भनेर भन्नुभएको हो । पछि त्यसमा उहाँहरूको नाटकीय विरोध र समर्थनका श्रृंखला देखिए । यसमा पनि केपी शर्मा ओलीले जे भन्नुभएको थियो, त्यो ठीक थियो भन्ने प्रमाणित भएको छ ।
पाँचौ, संसद विघटन । जनताले एमाले र माओवादी केन्द्र मिलेर निर्वाचनमा जाँदा दिएको जनमत खण्डित भैसकेकाले जनतामा गएर परीक्षण गरौं भन्ने केपी शर्मा ओलीको चाहना थियो । उहाँहरूलाई त अहिले पनि निर्वाचनमा जान आँट थिएन । अहिलेको निर्वाचन सत्ता पक्षले नचाहेको तर मूलतः संविधान र कानुनले सिर्जना गरेको बाध्यता र प्रतिपक्षको दबाबका कारण हुन लागेको हो । निर्वाचनमा एमाले उत्साही र सत्तापक्षको गठबन्धन प्रतिरक्षात्मक भएर आइरहेका छन् ।
उहाँहरूले यी सबै काम गरेर एमालेको महत्व अझै बढाइदिनुभएको छ र केपी शर्मा ओली ठीक हुनुहुन्थ्यो भनेर प्रमाणित गरिदिनुभएको छ । अहिलेको परिस्थितिमा एमाले अब महत्वपूर्ण राष्ट्रिय शक्तिका रूपमा स्थापित हुने आधार एमालेले उठाएका एजेन्डा हुन् ।
एकातिर हामी समृद्ध मुलुकको कुरा गर्छौं भने त्यसलाई नेतृत्व गर्ने शक्तिशाली नेता चाहिन्छ । गठबन्धनमा नीतिगत नेतृत्व प्रभावकारी हुनसक्दैन । गठबन्धनमा नीतिगत विचलन र चलखेल मात्र हुन्छ । निर्णय गर्न दश जनाको मुख ताक्नुपर्छ । यस्तो निर्णय प्रक्रियामा विचलन र शक्ति राष्ट्रको चलखेल समेत बढ्ने हुन्छ । त्यसको फेहरिस्त अहिले देख्न सकिन्छ, अहिले न सरकार सरकारजस्तो छ, न संसदको भूमिका प्रभावकारी छ । एमालेलाई सत्ताबाट विस्थापित गर्न पुष्पकमल दाहाल र माधवकुमार नेपालहरूले अदालतमा राजनीति प्रवेश गराउनुभयो, अब न अदालत नै अदालतजस्तो छ । अदालतप्रति आम जनताको आशा र भरोसा टुटेर गएको छ ।
विश्वका अन्य क्रान्तिहरूको तुलनामा नेपालको क्रान्ति फरक छ । युरोपेली क्रान्तिले पुँजीपतिलाई स्थापित गरेजस्तो, नयाँ अक्टुबर क्रान्तिले साम्यवादी शक्तिलाई र नयाँ जनवादी क्रान्तिले जनताको शासन स्थापित गरेजस्तो भन्दा नेपालको राजनीतिक क्रान्ति भिन्न छ । नेपालको राजनीतिक क्रान्तिले जनताको शासन स्थापित गर्ने दिशामा एउटा फ्रेमवर्क दिएको छ, त्यहाँभित्र धेरै काम गर्न नै बाँकी छ । मुलुकलाई सबल, सम्पन्न र बलियो बनाउने दिशामा क्रान्तिले पूर्ण रूपमा काम गरिनसकेको र एउटा फ्रेमवर्क मात्र प्राप्त भएकाले त्यहाँभित्रका अस्तव्यस्तता ठीक गर्नेगरी मिहीन ढंगले काम गर्नुपर्नेछ ।
राजतन्त्रकालीन समयमा दलहरू राज्यका विपक्षीजस्ता बनाइएका थिए । वास्तवमा दलहरू राज्यका विपक्षी होइनन् । हिजो राजतन्त्र एउटा शक्ति थियो, त्यसलाई हामीले विदा गर्यौं । दलहरूलाई पनि राज्यका विपक्षी ठान्ने हो भने राष्ट्रिय शक्ति निर्माण हुन सक्दैन । त्यसकारण दलहरू राज्यका विपक्षी होइनन्, राष्ट्रिय शक्ति हुन् र एमाले राष्ट्रिय शक्ति बन्ने दिशामा छ । एमाले कम्युनिष्टमात्र पार्टी मात्र होइन, यो सबैभन्दा लोकतान्त्रिक शक्ति हो ।
समृद्ध मुलुक निर्माणलाई नेतृत्व गर्ने नेता पनि सशक्त हुनुपर्छ । हिजो सिंगापुर निर्माण गर्दा ली क्वान यु र मलेसिया निर्माण गर्दा महाथिर मोहम्मदले पनि आन्तरिक पार्टी जीवनमा हिजो केपी शर्मा ओलीले जे भोग्नुपर्यो, त्यस्तै समस्या भोग्नुपरेको थियो । त्यो अन्तरविरोध र गञ्जागोलबाट आफूलाई मुक्त गरेर ली क्वान यु र महाथिर सफल भएजस्तै एमाले पनि अब मुलुक निर्माण गर्ने अभियानतर्फ सफलताको नजिक छ ।
(एमालेका महासचिव पोखरेलले बिहीबार साँझ पत्रकार भेटघाटमा व्यक्त गरेका विचार)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया