विचार

नोटमा भोट साट्ने हो !

विनोद ढुंगाना |
बैशाख २४, २०७९ शनिबार १२:१८ बजे

स्थानीय तहको निर्वाचन नजिकै छ । वैशाख लागेसँगै बढेको राजनीतिक सरगर्मी यतिबेला हपक्कै गर्माएको छ । एकातिर वैशाखको उखर्माउलो गर्मीको पारो दिनानुदिन चढ्दै छ अर्कोतिर निर्वाचनको सरगर्मीले झनै तताएको छ ।

पाँच वर्षको अन्तरालमा हुन लागेको स्थानीय निर्वाचन राजनीतिक दलका लागि पर्वजस्तै बनेको छ । उम्मेद्वार, नेता कार्यकर्ता र आसेपासे पर्व मनाउन मरिमेटी लाग्दै छन् । सायद यसपालिको पर्वमा पनि आम भुइँमान्छेहरू र तिनका सपनाहरू बलि चढ्नेछन् नेताहरूको भाकलमा ।


स्थानीय तहमा जनप्रतिनिधि बन्ने होडमा उम्मेद्वारी दिएकाहरू भोट माग्न जनताको घरदैलामा व्यस्त छन् । गाउँ सहर थर्काउने गरेर स्पिकरमा पार्टीका गीत र भोट मागेको जिंगल बजाउँदै गाडीहरू हुइँकिरहेका छन् मिनेट मिनेटमा । भोट अपिलको जिंगलले सहरी क्षेत्रमा ध्वनि प्रदूषण यतिसम्म बढाएको छ कि एक मिनेट पनि कोही कसैले चाहेर शान्त वातावरणमा बाँच्न पाउदैनन् । फेरि उनकै घोषणापत्रमा लेखिएको हुन्छ, ‘स्वच्छ र हराभरा सहर बनाइनेछ ।’

झिसमिसेमा आँखा खुलेसँगै मस्त निद्रामा नपरुन्जेलसम्म राजनीतिक दलका चुनावी गीत र भोट अपिलको जिंगल घन्किरहन्छन् । लाग्छ, निर्वाचन आचारसंहितामा गर्नुहुँदैन भनेका बुँदा जसै गर्नुपर्छ है भनेझैँ गरेर पालना भइरहेको छ  र आचारसंहिता उल्लंघन नगरे त भोट पाइँदैन जस्तो ।

उम्मेद्वारहरू गाउँ पसेका छन्, दलबलको साथमा । जति धेरै दलबल लिएर हिँड्यो उति धेरै भोट पाइन्छ झैँ लाग्छ उम्मेद्वारसँग हिँड्नेको लावालस्करले देख्दा । लाग्छ, स्थानीय निर्वाचन थिएटरमा ‘चुनावी’ नामक नाटक मञ्चन भइरहेको छ केही दिनदेखि देशैभर एकसाथ । जनताको घरदैलोलाई थिएटरमा परिणत गराएका छन् उम्मेद्वारहरूले ।  कपाल सेतै फुलेका बूढा बा आमा देख्यो कि लम्पसार परेर ढोग्ने र आशीर्वाद लिएको अभिनय गर्छन् कलाकारहरू उर्फ उम्मेद्वार । नाटकको दृश्यमा संवाद थपिन्छ, ‘आमा यसपालि हामीलाई जिताउनुस् है । हामी विकास के हो गरेर देखाउँछौँ ।’ यो नाटक अघिल्लो पाँच वर्ष अगाडि पनि तीन चरणमा देशभर मञ्चन भएको थियो । यो कुरा बिर्सिएका छन् कलाकार उर्फ उम्मेद्वारले ।

चुनाव जितेपछि तिनै बा आमाको नमस्कार फिर्ता गर्दैनन् र देखे पनि नदेखेझैँ गर्ने होलान् क्याारे । एक जना राजनीतिमा लागेकी बहिनीले मनोनयन दर्ताको अन्तिम दिन सुनाएकी थिइन्, ‘चुनाव अगाडि हो हामी झुक्ने । चुनाव सकिएपछि हामी को हो भनेर चिनाउँछौँ भन्दै हुनुहुन्थ्यो दाइ उहाँले ।’ ती बहिनीले सुनाएअनुसार एक जना बहालवाला जनप्रतिनिधिले टिकट पाउन सफल नेतालाई दिएको उपदेश रहेछ ।

घरमा मात्रै नभएर खेतबारीमा काम गरिरहेका किसानलाई पनि भेट्नलाई उम्मेद्वार पुगिरहेका छन् । बेलामा मल नपाउने किसानले नमस्कार पनि दिनकै पाएका छन् । केही बेर काम सघाएको नाटक गर्दैै तस्बिर खिचेर सामाजिक सञ्जालमा पोस्ट्याउँछन् उम्मेद्वार । 

बाटोमा भारी बोक्न लागेको भरिया भेटी उम्मेद्वारले भारी उचालदिएको दृश्य पनि सामाजिक सञ्जालतिर देख्न पाइन्छ । उम्मेद्वारहरूले घरदैलोमा पुगेर भोट माग्दै फ्याँकेको आश्वासनको पोको सुन्दा लाग्छ पाँच वर्षमा विकासको मूल फुट्छ बर्खामा पानीको मुल फुटे जसरी । र गएको पाँच वर्षलाई फर्किएर हेर्दा... ! काम नभएका पनि हैनन् तर घरदैलोमा भने जस्तो भएनन् कि ?

चोक, चौतारी चिया पसलमा गफिनेहरूको विषय पनि निर्वाचनकै छ । कसले जित्छ र कसले हार्छ अड्कलबाजी आ–आफ्नै हुन्छन् । भन्छन्, ‘यसपालि फलानोले जित्छ । पैसाले पेलेरै भए पनि उसले जित्छ । यति खर्च गर्न सक्छ । उति मान्छेको भोट किन्छ । फलानो उम्मेद्वारले त हार्छ । एक सुक्को खर्च गर्न डराउँछ ।’ यस्तै यस्तै गफहरू सुनिन्छन् । भोटको किनबेच नोटमा हुन्छ भन्ने यिनै संवादले स्पष्ट पार्छ । हुन त टिकटकै किनबेच पनि नोटमा भएको गाइँगुइँ नसुनिएको हैन । सत्य के हो, उनै जानून् ।

घरमा मात्रै नभएर खेतबारीमा काम गरिरहेका किसानलाई पनि भेट्नलाई उम्मेद्वार पुगिरहेका छन् । बेलामा मल नपाउने किसानले नमस्कार पनि दिनकै पाएका छन् । केही बेर काम सघाएको नाटक गर्दैै तस्बिर खिचेर सामाजिक सञ्जालमा पोस्ट्याउँछन् उम्मेद्वार ।

गएको पाँच वर्षमा जनप्रतिनिधिलाई गाली गर्दै बसेका युवाहरू यतिबेला नेताजीको भिजन भन्दा गोजीमा दाम कत्ति छ त्यसैको पछाडि लागेका छन् । कसले कति खर्च गर्न सक्छको पछाडि दौडिएका छन् भन्दा फरक नपर्ला । सबै उस्तै पनि छैनन् । पंक्तिकारले सबैलाई एउटै नाङ्लोमा राख्यो नभन्नुहोला प्रवृत्तिबारे मात्रै लेख्दै छु ।

जस्ले धेरै पेट्रोल दिन्छ, उसैको पक्षमा युवा, जस्ले टन्न मासु भात खुवाएर गोजीमा दाम पैसो राखिदिन्छ, उसैको पक्षमा जिन्दावादको नारा लगाउँदै हिँड्न पछाडि पर्दैनन्  । उम्मेद्वारको पछाडि लाग्दै नलाग्नुस् भन्ने हैन लाग्नुस् तर पेट्रोल र दाम पैसाको पछाडि हैन । किनकि तपाईंले लिएको नोटले हामीलाई पाँच वर्ष श्राप दिनेछ ।

अहिलेको निर्वाचन माहोल देख्दा सोच्छु, ‘वडाध्यक्षको चुनाव लड्दा पनि त कम्तीमा २०/२२ लाख रूपैयाँ खर्च लाग्छ ।’ जुन खर्च इमानदार र निष्ठावान् नेताले गर्न सक्दैन र चुनाव हार्छन् पनि । चुनाव जित्न गरेको त्यत्रो खर्च जनप्रतिनिधिले कसरी उठाउलान् त ? फेरि तिनै युवाको रोदन सम्झन्छु, ‘जनप्रतिनिधिले भ्रष्टाचार गरे । भनेअनुसार काम नै गरेनन् ।’ निर्वाचनको बेला गरेको खर्च उठाउनलाई भ्रष्टाचारको विकल्प अरु होला र ? सोच्नुस् त तपाईंले पनि, चुनावको बेला हामीलाई गरेको लगानी फेरि तपाईं हामीले तिरेको करबाट अदृश्य रूपमा असुल उपर हुन्छ होला पक्कै । 

‘अब चुनाव जित्नलाई पुँजीपति नेता हुनैपर्ने हो’, कहिलेकाहीँ आफैँले आफैँलाई सोध्छु । जवाफ वैशाख ३० पछि आउने निर्वाचनको परिणामले देला । मेरो एउटै आग्रह छ भोटलाई नोटमा रूपान्तरण कदापि नगर्नुस् है । उम्मेद्वारसँग लिएको एक एक पैसाको हिसाबकिताब पाँच वर्षमा चुक्ता हुनेछ । नेता पनि पक्कै पैसा उत्पादन गर्ने मेसिन त हैनन् । खर्च त उठाउनैपर्ने होला जसरी भए पनि ! अनि त्यति बेला तपाईं हामी नै हैन र यो देशमा सच्चा इमानदार नेता कोही भएनन् फलाक्ने, नेतालाई गालीगलौज गर्ने । हामीले अहिले गरेको भ्रष्टाचार बिर्सने । भ्रष्टाचारलाई प्रश्रय दिने हामी पनि यसको भागिदार हैन र ?

अब परिवर्तन ‘म’बाट सुरु गर्दै ‘हामी’सम्म पुर्‍याउन सक्छौँ नि हैन र ? एक रूपैयाँ खर्च नगरीकन चुनाव लड्ने अवस्थाको सिर्जना गर्न सम्भव छैन र ? जवाफ तपाईं हामीसँगै छ । मतदाता तपाईं हामी नै हौँ, तेस्रो ग्रहबाट  आएर कसैले मतदान गर्ने त पक्कै हैन । आफैँले आफैँलाई प्रश्न गर्नुहोस् । नोटसँग भोट साटेर विदेशी भूमिमा सधैँभर रगत र पसिनासँग रेमिट्यान्स साट्ने कि यहीँ देशमा स्वाभिमानका साथ बाँच्ने ? नोटसँग साटिने भोटलाई भिजनसँग साटौँ ।  हावादारी भिजनको पछाडि पनि नदौडौँ ।  हामीलाई प्रथमतः चाहिएको सार्वजनिक शौचालय हो । सडकको खाल्टा पुर्नुपरेको छ । निःशुल्क गुणस्तरीय शिक्षा र सीप चाहिएको छ । हर घरलाई उत्पादनसँग जोड्न आवश्यक छ । किसानले उत्पादन गरेका कृषि उपजको मूल्यको ग्यारेन्टीसँगै बजारको व्यवस्था हुनुपर्नेछ ।  त्यसपछि बल्ल मोनोरेल चढौँला, पानी जहाज चढौँला ।  


Author

थप समाचार
x