विचार

यो प्रदुषणलाई हल्का रूपमा नलिऔँ

भुषण तुलाधार |
चैत १३, २०७७ शुक्रबार १७:५० बजे

तस्बिर : सरोज बैजु

काठमाडौँमा आज वातावरण प्रदुषण देखिने गरी बढेको छ । मानिसहरूले आँखा पोल्ने, श्वास फेर्न गाह्रो हुने जस्ता अनुभव गरिरहेका छन् । तुवाँलोले उपत्यका ढाकिएको छ । देशका विभिन्‍न जिल्लाका जंगलमा डढेलोका घटना भइरहेका छन् । त्यही डढेलोको असरले उपत्यकामा वातावरण प्रदुषण बढेको देखिन्छ । काठमाडौँ उसै पनि प्रदुषित सहर हो । त्यसलाई मलजल गर्ने काम डढेलोले गरेको छ । केही समय पहिले पनि उपत्यकाको वातावरण प्रदुषण ह्वात्तै बढेको थियो । त्यसबेला पनि ढडेलोका घटना भएका थिए ।

वातावरणको यो अवस्था कति समयसम्म रहन्छ भन्‍न सक्ने अवस्था छैन । डढेलोको घटनाहरूलाई कम गर्न सके प्रदुषण बिस्तारै कम हुन्छ। होइन भने फेरि प्रकृतिमै भर पर्नु पर्ने हुन्छ । त्यसको लागि आकाशबाट पानी पर्नुपर्छ । प्रदुषण घटाउने गरी हावाको बहाव आउनुपर्छ । कोभिडको कारणले अहिले हामी सबैजनाको घर-घरमा मास्क छ ।


कोभिडबाट बच्‍न मात्र नभइ अब वातावरण प्रदुषणबाट बच्नको लागि पनि हामीले मास्क लगाउनुपर्छ । वायु प्रदुषण हुने समय र स्थानबारे थाहा पाउनुपर्छ । जुन स्थानमा बढी वायु प्रदुषण भइरहेको छ, त्यो स्थानमा काम नपरी जानु हुँदैन । जानै परे सावधानी अपनाएर मात्र जानुपर्छ । त्यस्तै, बिहानको समयमा प्रदुषणको मात्रा बढ्ने भएकाले मर्निङवाक नगएकै बेस । साथै श्वास्प्रश्वास सम्बन्धि समस्या भएका, दम रोगी, मुटु रोगी आदिले यस्तो अवस्थामा विशेष ख्याल राख्नुपर्छ । यो प्रदुषणलाई हामीले हल्का रूपमा लिनुहुुँदैन । यो क्रम बिस्तारै बढ्दै गयो भने हामी वातावरणिय दुर्घटना पर्न सक्छौँ । 

(वातावरणविद् तुलाधारसँग इकागजले गरेको कुराकानीमा आधारित ।)

 


Author

थप समाचार
x