विचार

यसपटक जिताउनुहोस्–टेकेको माटो र हिँडेको बाटो भुल्दिनँ

इकागज |
बैशाख २५, २०७९ आइतबार १८:१६ बजे

सीता थापा, सिन्धुपाल्चोकको राजनीतिक वृतमा कुनै नौलो नाम हैन । विभिन्न राजनीतिक परिवर्तनमा उनको नाम अग्रपंक्तिमा आउने गर्दछ । उनी राजनैतिक मात्रै नभइ सामाजिक व्यक्तित्वसमेत हुन् । सँधै जनता र समाजको पक्षमा उभिने उनी आउँदो वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा चौतारा साँगाचोकगढी नगरपालिकाको उपमेयरकी उम्मेदवार हुन् । नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीको गठबन्धनबाट चुनावी मैदानमा होमिएकी थापा कलम चिन्ह लिएर प्रतिष्पर्धामा छिन् । चौतारामा विकासको छलाङ मार्ने अनि सबै नागरिकलाई पहूँचमा पुर्या‍उनका लागि उम्मेदवारी दिएकी उनै सीता थापासँग इकागजले गरेको संक्षिप्त कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

यो निर्वाचनमा तपाईको उम्मेदवारी किन ? 


यो स्थानीय तहको निर्वाचन हो । यो निर्वाचनबाट विजयी बनेकाहरुले स्थानीय सरकार चलाउनुपर्ने हुन्छ । स्थानीय सरकार भनेकै स्थानीय जनताहरुको हो । र, सरकार चलाउने व्यक्ति पनि स्थानीयस्तरमा भिजेको व्यक्ति हुनुपर्छ ।

गाउँमै हुर्किएर राजनीतिमा सक्रिय भएकाले मेरा पाइतालाले चौतारा साँगाचोकगढी नगरपालिकाको सबै भूगोल टेकेको छ । भन्नै पर्दा कहाँको समुदाय कस्तो अनि कहाँ विकास आवश्यक छ मैले बुझेको छु । उम्मेदवारीको पहिलो कारण यही हो ।

अनि, विकासमा छलाङको आवश्यक देखेको छु । साँच्चै भन्नुपर्दा युग धेरै अगाडि बढिसक्दा पनि यहाँका जनता अझै पछाडि नै रहेको अनुभव मैले गरेको छु । देशकै राजधानी हामीभन्दा निक्कै नजिक छ तर पनि राजधानीको बाछिटासमेतले हामीलाई छुन सकेको अवस्था छैन । 

हामीले वर्षाैदेखि टेकिराखेको माटो अझै उस्तै छ, हिँडिरहेको बाटो अझै उस्तै छ । मैले भन्न खोजेको वर्षौदेखि देखिरहेको माटो जहाँ सुन फलाउन सकिन्छ, ती बाँझै देखिन्छ, कृषि क्रान्ति यहाँ सम्भव छ । बीसौ वर्ष अगाडि बनेका बाटो अझै कालोपत्रे हुन नसकेको अवस्था छ । हिँडिरहेको बाटोलाई स्तरोन्नति जरुरी छ । यही माटोमा जन्मिएँ । यही बाटोमै हिँडिरहँदा यहींकै जनतासँग अनुवाद भएको छु । यहींका जनताको जीवनस्तर उकास्न, अनि हरेक तर्फ, पहुँचमा पुर्याइनु मेरो जिम्मेवारी हो कर्तव्य हो । 

यो वाचा गर्छु कि म माटो भुल्दिन अनि बाटो पनि भुल्दिन तर यसको विकासका लागि उम्मेदवारी दिएको छु । जितपछि जनताको मनले छुने सेवा गर्ने भन्ने हो । 
 
तपाईंको जित कतिको सुनिश्चित छ ?

अब हारका दिन गए भन्ने लाग्छ । जीवनमा आइपरेका अनेकन घटनाक्रमसँग धेरै हारियो । अब जितेर नयाँ इतिहास लेख्नुछ । यो चुनावमा सीता थापा हार्दिनन्, कम मत आएर पराजित भएँ भने त्यो मेरो हैन जनताको हार हुनेछ । किनकि मैले हारेमा यहाँकै जनता विकासमा पछि पर्नेछन् ।

जनताप्रति मरो अगाध प्रेम छ, स्नेह छ । विश्वास छ अनि समर्पण छ । किनकि जनता नै मेरो सम्पति हुन् । उनीहरुको विश्वास मेरो पुँजी हो । हार र जितको सन्दर्भमा यत्ति बोलें ।


त्यस्तो के बलियो आधार छ तपाईंसँग, जिते सुनिश्चित को ?

धेरै छन्।  केही मैले भनि पनि सकें । म विद्यार्थी राजनीतिदेखि यही ठाउँमा समाजसेवा गरेर बसिरहेको छु । महिला वर्ग, पिछडिएका वर्ग, दलित, जनजाति, सीमान्तकृतलगायत समुदायमा रोजगारीको सिर्जना गर्न पहलकदमी लिएको छु । त्यस्ता वर्गलाई स्वरोजगार बन्नका लागि सीप तथा आयमूलक तालिमहरु सञ्चालन गरेर आफ्नै खुट्टामा उभिने वातावरण तयार गरेको छु । कृषिबाटै नगर समृद्ध बन्न सक्छ भन्ने उदाहरण म आफै स्थानीय सरकारमा नहुँदा पनि देखाउन सकेको छु ।

अनि अर्काे कुरा, देशमा मात्रै हैन हाम्रो यो नगरपालिकामा पनि परिवर्तनका लागि धेरै आन्दोलन भए । त्यसको अग्रंपक्तिमा खटिएर जनताका लागि समर्पित भएको एउटा महिला हुँ म । त्यो तपाईंले पनि देख्नुभएकै होला । विकास, समृद्ध नगरपालिकाका मुद्धा धेरै कोणबाट उठाएको छु । घोषणा पत्रमा पनि उल्लेख छ । अब भन्नुस, जित सुनिश्चिताका लागि अरु थप केही भन्नुपर्छ कि नाई ?

तपाईंको अजेण्डा, नीति अनि आत्मविश्वास मात्रै ले चुनाव जितिन्छ र ?

अजेन्डा, नीति एउटा प्रारम्भिक खाका हो । जसले विकासको मार्गनिर्देश गर्छ । विकासका लागि अजेन्डा एउटा बाटो हो । जुन हामीले ट्रयाक खोलिसकेका छौं ।
आत्मविश्वास बलियो हुनु नै एउटा जित हो । मैले लिएको आत्मविश्वास नै जनताका कारण हो । म ढुक्कसँग भन्छु भोट यसपालि विश्वास, भरोसा र जनताप्रतिको मेरो समर्पणले पाउँदैछु ।

मैले अघि पनि भनिसकें कि हामीले जनताको पक्षमा जुन कामहरु गर्दै आएका छौं त्यसले जनताको जीवनस्तर उकास्नका लागि ठूलो हिस्सा लिएको छ । त्यसैले पनि जनताले विश्वास लिइसकेको अवस्था छ । जनताकै आँखा, जनताकै मन हेरेर अजेन्डा, नीति बनेको छ । अनि आत्मविश्वास हुनु सामान्य हो ।

चुनाव जित्नु भयो भने के गर्नु हुन्छ ?

मैले यो वार्तामा भनेको कुरा अभिलेख राख्नुहोस, चुनाव जितेपछि काम लाग्छ कि चुनावी गफ दिएर जितेपछि केही काम भएन भन्न पाइन्छ । त्यसैले जे सकिन्छ त्यति मात्रै बोल्ने हो । सपना देख्नुपर्छ किनकि सपना देख्दा घाटा लाग्दैन, तर अनावश्यक सपना भने बाँड्नु हुँदैन ।

म यो गर्छु, त्यो गर्छु भन्दा पनि पहिले जनताले बोल्नुपर्छ कि हामीलाई यस्तो चाहियो । म त्यहीअनुसार चल्नेछु । 
र, पनि 

आधुनिक तथा दिगो कृषि : किसानको सम्बृद्धि, शिक्षा प्रणालीमा आमूल परिवर्तन : गुणस्तरीय शिक्षाको आधार, स्वास्थ्यमा आम नागरिकको पहुँच :  स्वस्थ समाज निर्माणको आधार, दिगो तथा वातावरणमैत्री पूर्वाधार : विकासको मूल आधार, आर्थिक, भौतिक र सामाजिक सुरक्षा :  नगर सुशासनको आधार,  बैज्ञानिक वन व्यवस्थापन : स्थानीय रोजगारी तथा आर्थिक समृद्धि, प्राकृतिक तथा शैक्षिक पर्यटन स्थलको विकास :  स्थानीय रोजगारीमा योगदान लगायत शिर्षक दिएर घोषणा पत्र तयार भएको छ । यिनै सूचकमाथि रहेर नगरलाई अर्थतन्त्रमा अब्बल बनाई समृद्ध नगर बनाउने अभियानमा होमिएकी हुँ । 

प्रत्येक वडा छुने गरि चक्रपथ निर्माण वर्ष दिनभित्रै सम्पन्न गराउने लक्ष्य छ । नगर बस सञ्चालन गरेर सबै नगरवासीलाई सहज यातायातको पहुँचमा लैजानेछु ।
एम्बुलेन्स, शववहान निशुल्क सञ्चालन गर्ने छौ । घरघरमा रोजगारको व्यवस्था र एक वडा एक उत्पादनलाई प्रोत्साहित गर्ने छौ । क्षण क्षणमा विद्युत आउने जाने जुन समस्या छ, त्यसको हल गर्ने छौ । हरेक विद्यालय र वडामा पुस्तकालय, इ–लाइब्रेरी, फ्रि वाइफाइको व्यवस्था गर्ने छौं । 

मतदाता फकाउनलाइ देखाएको ललिपप मात्र हो कि यो ?

हामीले गर्न सक्ने योजनाका अंश मात्र हो यो । खासगरी हामीले सार्वजनिक गरेको घोषणापत्रमा यी सबै योजनाहरु उल्लेख छन् । त्यो घोषणापत्रका योजनाहरु हामी पाँच वर्षभित्र पूरा गर्ने छौं । 

अनि ललिपपको कुरा जुन छ । हामी गर्न पाउने अधिकार भएको ठाउँमा भएपछि किन नगर्ने ? नगरपालिका राम्रो बनाउँछु, विकास गर्छु, गाउँमै रोजगारीको वातावरण सिर्जना गरेर नगरलाई आर्थिक समृद्धितर्फ धकेल्छु भनेर वाचा गरेको मान्छेले ललिपप मात्रै देखाउँछ भन्ने तपाईंलाई लाग्न सक्छ र ? अर्काे कुरा पहिले जिताएर पठाउनुस\ भन्छु मतदातालाई । त्यसपछि काम गरेर देखाउने पालो मेरो अनि हाम्रो ।

घरदैलोमा माहोल कस्तो देख्नुभएको छ ?

एकदम सकारात्मक । जनता आतुर छन् यो निर्वाचनमा सहभागी हुन । मतदाता सचेत देखेको छु ।  मतदाताको उत्साह, जोस छ । उहाँहरुमा उमंग भरिएको छ । गाउँ गाउँमा पुग्दा उम्मेदवारलाई हौस्याउनु, सहयोग गर्नु नै सफलताको संकेत देखेको छु ।

के भन्छन् ? के माग्छन् त जनता ? 

विकास, निर्माण, रोजगारी, जिविकोपार्जन, आवास । समग्रमा यही हो ।

अनि के आश्वासन दिएर आउनु भयो ?

अब यो निर्वाचन भनेकै विकास, निर्माणका लागि हो । यसमा ढुक्क हुनुस्, हामी यो अभिभारा पनि पूरा गर्नेछौ । हामीले भोट माग्दा यही भनेका छौं जे भनेका छौं फेरि पूरा गरेर देखाउने छौं ।
 


Author

थप समाचार
x