निर्वाचन किन नौटंकी जस्तो मात्र हुँदै छ ?
स्थानीय तह सदस्यको निर्वाचन सम्पन्न हुन अब पाँच दिन मात्र बाँकी छ । यतिबेला राजनीतिक दलका नेता एवं कार्यकर्ताहरू निर्वाचनको प्रचारप्रसारमा संलग्न छन् । उनीहरू निर्वाचन प्रचारप्रसारका लागि विभिन्न स्थानहरूमा आमसभा र घरदैलो कार्यक्रम सञ्चालन गरिरहेका छन् । निश्चय पनि निर्वाचन प्रयोजनका लागि प्रचारप्रसार गर्नु आवश्यक कुरो हो । निर्वाचन प्रचार अभियानले दल र उम्मेदवारको कार्यक्रम सँगै ती दलको हैसियतलाई प्रकाश पार्दछ । यससँगै मतदाताहरूलाई प्रतिस्पर्धामा रहेका उम्मेदवारहरूमध्ये को मतदान गर्न योग्य छ ? भन्ने कुरा पत्ता लगाउने अवसरसमेत प्रदान गर्दछ ।
विडम्बनाको कुरा के छ भने विगत पाँच वर्षसम्म एकपटक मात्र पनि जनताको पीर व्यथा बुझ्न घरदैलो त छाडौं, टोलमासम्म नपुगी लूटमै मात्र व्यस्त रहेका दलका कार्यकर्ता र उम्मेदवार भनाउँदा पात्रहरू बाजागाजा र नाचगानसहित जनताको घरघरमा पुग्ने गरेका छन् । लोकतन्त्रको सुन्दर पक्ष नै यही हो र दुर्बल पक्ष पनि यही ।
दुर्बल पक्ष कोट्याउँदा यो प्रक्रियाको निर्वाचन नौटंकी मात्र त होइन ? भन्ने कुरा सोच्न बाध्य तुल्याउँछ । तर के कुरा पनि बिर्सनु हुँदैन भने प्रत्येक पाँच वर्षमा गरिने निर्वाचनमा मतदान गर्ने कुरा एउटा प्रक्रिया मात्र होइन, यो देशको राजनीतिक व्यवस्थालाई कस्तो स्वरूप दिने ? र आफ्नो भविष्यलाई कतातिर डोर्याउने भन्ने कुरालाई निर्धारण गर्ने आधार पनि हो । तर हामीकहाँ न त दलीय नेतृत्व र उम्मेदवार न मतदाता कसैलाई पनि यस कुरोप्रति चासो रहेको पाइँदैन ।
यस कुराको प्रमाणका रूपमा दलीय नेतृत्व र उम्मेदवारहरूले मतदातालाई प्रभावित गर्ने हेतुले दिने प्रलोभनसँगै छुद्र अभिव्यक्ति अनि मतदाताहरूले मतदान गर्ने क्रममा देखाउने अपरिपक्वता र उनीहरूले निर्वाचनपश्चात् छानिएका पदाधिकारीको कार्यकालभरि व्यक्त गर्ने पश्चात्तापलाई लिन सकिन्छ ।
उल्लिखित कुरालाई प्रमाणित गर्ने प्रशस्त र दह्रा आधार छन् । यसको पहिलो प्रमाण, दलहरूद्वारा जारी घोषणा र प्रतिबद्धता पत्रहरू उल्लिखित छन् । दलहरूले ती लिखतहरूमा एकले अर्कोलाई आरोप–प्रत्यारोप र गालीगलौजहरू गर्ने अनि जनतालाई झुट्ठा आश्वासनहरूमा रुमल्याउने बाहेक अन्य महत्वपूर्ण कुरा समावेश गरेको पाइँदैन । यसो गरिरहँदा उनीहरूलाई घोषणापत्र/प्रतिबद्धता पढ्नेहरूले तिनमा उल्लिखित कुराहरूको आधारमा आफूहरूप्रतिको धारणा बनाउने छन् र त्यसबाट आफ्नो हैसियत निर्धारण हुनेछ भन्ने कुराको सम्म हेक्का रहेको पाइँदैन । उनीहरूमा अर्कोलाई आरोप लगाउँदा आफ्ना कमी–कमजोरी छोपिन पुग्छन् र जनताहरू भ्रमको जालोमा बेरिन्छन् भन्ने सोच रहेको प्रस्ट हुन्छ ।
दोस्रोमा माथि उल्लिखित किसिमकै कुरा ती दलहरूले निर्वाचनको सिलसिलामा गर्ने आमसभा, प्रचारप्रसार कार्यक्रम र सो सिलसिलामा सञ्चार माध्यमहरूमार्फत दिने मन्तव्यमा समेत व्यक्त गर्ने गरेको पाइन्छ । उदाहरणका लागि एकजना नेताले आफ्नो दलको उम्मेदवार (त्यो पनि नातेदार) लाई मतदान गरिएन भने देश दुर्घटनामा जान्छ भन्ने धम्की दिएको देखिन्छ भने अर्को एकजना राष्ट्रकै फस्ट लेडी बराबरकी नेत्रीले आफ्नो दलको उम्मेदवारले नजितेको ठाउँमा सरकारले बजेट नपठाउने भन्ने धम्कीसँगै यदि आफ्नो उम्मेदवारलाई जिताएमा त्यस्तो स्थानीय निकायको प्रत्येक वडाबाट ५/६ जनालाई वैदेशिक रोजगारमा पठाइदिने प्रलोभन दिएको समाचार सुन्न पाइयो ।
त्यसैगरी देशको प्रधानमन्त्रीले काठमाडौँ र भरतपुर महानगरपालिकाको निर्वाचन जित्नैपर्ने सत्तापक्षको स्वार्थ रहेको भन्ने अभिव्यक्ति दिएको पाइन्छ । यी अभिव्यक्तिहरूले सत्ता हातमा लिनेहरूको ध्येय आफ्ना नातेदार र विश्वस्तहरूलाई निर्वाचनमा जिताउनैपर्ने, सोबाहेक देश विकास र नागरिक हितसँग चासो नै नरहेको, देशको बजेट तिनका निजी स्वार्थपूर्तिका लागि मात्र खर्च गरिने, तिनीहरूलाई देशभित्र रोजगारी सृजना गर्ने कुरोसँग कुनै चासो नरहेको र केही निकायको निर्वाचन जित्न सरकार जुनसुकै हत्कण्ठा अपनाउन तयार रहेको भन्नेसम्म रहेछ भन्ने कुरालाई राम्ररी प्रस्टयाउँछन् ।
तेस्रोमा नेपालको संविधान (धारा २) ले नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहित गरेको छ । निर्वाचनमार्फत मतदाताहरूले आफ्ना प्रतिनिधिहरूलाई सो अधिकार प्रयोग गर्ने जिम्मेवारी हस्तान्तरण गर्दछन् । तर देशमा एकातिर कतिपय मतदाताले मतदानको अधिकार प्रयोग गर्नसम्म पाएका छैनन् भन्ने देखिन्छ । यस कुराको प्रमाण बाजुरा जिल्लाको दुर्गम भेगको एउटा समुदायका सदस्यहरूले दलीय दलालहरूले वर्षौंदेखि आफूहरूलाई मतदान गर्न नदिई आफ्नो नाममा उनीहरूले नै मतदान गर्ने गरेका छन् भनी दिएको अभिव्यक्तिलाई लिन सकिन्छ ।
विडम्बनाको कुरा के छ भने विगत पाँच वर्षसम्म एकपटक मात्र पनि जनताको पीर व्यथा बुझ्न घरदैलो त छाडौं, टोलमासम्म नपुगी लूटमै मात्र व्यस्त रहेका दलका कार्यकर्ता र उम्मेदवार भनाउँदा पात्रहरू बाजागाजा र नाचगानसहित जनताको घरघरमा पुग्ने गरेका छन् ।
यससँगै शासकीय अधिकारलाई व्यापक दुरुपयोग गर्नेहरूको समूहका कसैले आफ्नो उम्मेदवारलाई मतदान नगर्नेको क्षेत्रमा बजेट पठाउँदैनौं त कसैले आफ्नो उम्मेदवार/नातेदारलाई मतदान नगरे देश दुर्घटनामा जान्छ (देशमा संकट सृजना गर्दछौं) भनी तर्साउने गरेको कुरालाई मान्नुपर्ने हुन्छ । यसरी जनतालाई खुला रूपमा तर्साउनेहरूले आफूलाई प्रतिगमन विरोधी र विकासवादी एवं परिवर्तनकारी भनी दाबी गर्ने कुरोलाई के भन्ने ? के यी कुपात्रहरू पञ्चायत र राणाकालीन शासकहरूभन्दा बढी निरंकुश, उद्दण्ड र गैरजिम्मेवार रहेको देखा पर्दैन र ? यदि अब पनि जनताले आफ्नो मत प्रयोगको माध्यमबाट यी कुतत्वहरूलाई पराजित गर्नेतर्फ नसोच्ने हो भने उनीहरूले यिनीहरूद्वारा गरिने विभेद र लुटेरा व्यवहारलाई सहन गरी बस्नुपर्ने कुरा सुनिश्चित छ । त्यसैले जनता राजनीतिक लुटेराहरूले दिने भ्रम, प्रलोभन र धम्कीबाट मुक्त भई आफ्नो मतको महत्वलाई बुझेर कदम चाल्नुपर्ने कुरोमा सजग हुनु जरुरी छ ।
चौथोमा स्थानीय तहको निर्वाचनमा उम्मेदवार बनेर लुट मच्चाउने चाहनाको पूर्तिका लागि राजनीतिक पार्टीका कयौं सदस्यहरूले दल त्याग गरेको पाइन्छ भने दलहरूले आफ्ना प्रतिबद्ध र त्यागी सदस्यहरूको सट्टा त्यस्ता दलबदलु पात्रहरूलाई उम्मेदवार बनाएको देखिन्छ । यसले एकातर्फ राजनीतिक निष्ठा होइन, अवसरवाद उम्मेदवारीका लागि योग्यता हुने गरेको देखाउँछ भने अर्कातिर अवसरवादीहरूलाई टिकट दिने कार्य आर्थिक लेनदेनबाट हुने गरेको छ भन्ने पनि देखिन्छ । त्यसैले निष्ठा त्यागेका अवसरवादीहरूलाई आफ्नो मत दिँदा मतदाताले समेत पक्कै सोच्नुपर्ने देखिन्छ ।
यसै प्रसंगमा अनौठो कुरा के छ भने साम्राज्यवादीहरूको योजनामा तयार भएको गठबन्धनमा सामेल दलहरूले विभिन्न स्थानीय निकायहरूमा पदीय भागबण्डा गर्दा एउटा दलको सदस्य/समर्थकले अर्को दलको उम्मेदवारलाई मतदान गर्नुपर्ने भएकाले सो कुरालाई विरोध गरी कयौं व्यक्तिहरूले विद्रोही उम्मेदवारका रूपमा आफूलाई प्रस्तुत गरेको पाइन्छ । यस किसिमको अवस्थाबाट गठबन्धनको नेतृत्व बेचैन हुनपुगेको छ । त्यसैले तीमध्येका केहीले आफ्नो हैसियतलाई बिर्सिएर निम्न स्तरका अभिव्यक्तिहरू दिइरहेका छन् ।
यस्तो कार्यले राजनीति फोहोरी खेलमा परिणत भएको कुरालाई त प्रमाणित गर्दछ नै । यसबाट सृजना हुने दुर्घटनाले सबैभन्दा बढी क्षति उनीहरू आफैँलाई हुने कुरा निश्चित छ । अवसरवाद कुनै टिकाउ विचार नभएर क्षणिक स्वार्थ सिद्ध गर्ने माध्यम मात्र हो भन्ने कुरा बुझ्नु अवसरवादीहरूकै लागि समेत फाइदाजनक कुरा हुनेछ । अझ मतदाताहरूले त झन् यो कुरालाई राम्रोसँग बुझ्नु आवश्यक छ । किनभने मतदान अधिकार नागरिकको अधिकार हो ।
नागरिक देश र जनताको हितप्रति पूर्ण प्रतिबद्ध हुनुपर्दछ । नागरिकतालाई सस्तो राजनीतिक एजेन्डा बनाउनेहरूले त झन् यो कुरालाई गम्भीरतापूर्वक लिने कुरै भएन । त्यसैले आफ्नो मतको प्रयोग गर्नुअघि मतदाताहरूले आफूले प्रदान गरेको मतको दुरुपयोग गरेर आफूलाई राष्ट्र र जनताको दुस्मन र विदेशीको दलालका रूपमा प्रस्तुत गर्न लाज नमान्ने पात्रका योजनाहरूलाई धराशयी तुल्याउने शक्तिका रूपमा प्रस्तुत गर्ने अठोट गर्नुपर्दछ ।
यहीँनेर स्वाभाविक रूपमा प्रश्न उभिन्छ,आफूहरूलाई निरंकुशता बिरोधी प्रजातान्त्रिक/वामपन्थी बताउने दलका यी पात्रहरू किन यो हदसम्म उत्रने गर्दछन् ? यसको लागि यिनीहरूको बर्तमान संगै बिगतलाई समेत नियाल्नु जरुरी छ । देशमा कहिले प्रजातन्त्र पुनःस्थापनाका लागि भनी सशस्त्र संघर्ष, कहिले वर्गशत्रु खत्तम पार्ने भनी व्यक्ति हत्या त कहिले जनवादी सत्ताको स्थापना गर्ने भनी सशस्त्र युद्ध (जनयुद्ध) गर्नेहरूमध्येका यी तत्वहरू मध्येको एउटा पक्षले दलीय व्यवस्थाको पुनर्स्थापना पछि निजीकरण र उदारवादको नाउँमा देशका उद्योग धन्दाहरूलाई समाप्त पारी देशको अर्थतन्त्रलाई नै परनिर्भर तुल्याइदियो । अब उसका लागि राजनीति बिदेशीको दलाली गरेर आर्थिक लाभ लिने बाहेक अन्य कुनै कुरोसंग सम्बन्धित बिषय रहेन ।
दोश्रो पक्षमा एनजीओ/आईएनजीओको माध्यमबाट नेपाललाई इसाईकरण र नवऔपनिवेशीकरण गर्ने पश्चिमाहरूको अभियानको भरपर्दो सारथी रह्यो । उसलाई पनि आर्थिक लाभ लिने बाहेक देश र जनताको हितको कुरासँग कुनै वास्ता छैन । तेस्रो पक्ष, कथित जनयुद्धको नाममा देशका पुरातात्विक सांस्कृतिक एवं राष्ट्रिय सम्पदाहरूलाई ध्वस्त गर्ने कार्यसँगै हजारौँ नागरिकको हत्या र युवा एवं उद्यमीहरूलाई डर, धाक–धम्की र प्रलोभनको माध्यमले गाउँबाट विस्थापित तुल्याई देशको कृषि व्यवसायलाई धराशयी तुल्याउन लागि पर्यो । यो कार्यसमेत पश्चिमा साम्राज्यवादीहरूको उक्साहटमा नेपाललाई इसाईकरण र नव औपनिवेशीकरण गर्ने हेतुले गरिएको रहेछ भन्ने कुरा तिनका क्रियाकलापहरूले प्रष्ट्याउँदै लगेका छन् ।
यस क्रममा अझ प्रस्ट हुनुपर्ने कुरा, अब साम्राज्यवादीका दलाल यी तिनै पक्ष संगै अरु अवसरवादी घटकहरूलाई समेत मिलाएर देशमा प्रतिगमनको बिरोधको नाउँमा नयाँ गठबन्धनको निर्माण भएको छ । सो गठबन्धनका घटकहरूले साम्राज्यवादीको अर्को छद्मभेषी दलाललाई प्रतिगमनको नायक बताएर आफ्नो लुटको क्रमलाई गति दिइरहेका छन् ।
यसको लागि टाढा जानुपर्दैन । नेपाली कांग्रेस सरकारले ०४६ सालको परिवर्तन लगत्तै निजीकरणको नाउँमा देशलाई उद्योगविहीन तुल्याएको कुकर्मसँगै एकीकृत महाकाली सन्धिदेखि बाह्र बुँदे राजनीतिक समझदारी हुँदै होलिवाइन कार्यक्रम अनि एमसीसी पारित गर्ने नग्न/छद्म खेलसम्मका राष्ट्रघाती, जनजाति, साम्राज्यवाद परस्त कुकर्महरू र तिनको अवलम्बनपश्चात् ती दलको नेतृत्वको जीवनशैली र व्यवहारमा आएको परिवर्तन अनि देशले लिएको पतनोन्मुख गतिको गम्भीरतापूर्वक मनन गरे मात्र सबै कुरा प्रस्ट हुन जान्छ ।
त्यसो भए के छ त उल्लिखित समस्याको समाधानको उपाय ? निश्चय पनि, देशमा कायम विकृत अवस्था सृजना गर्ने कारण, पात्र एवं तिनका कर्तुतहरू अब अबोध्य छैनन् । पात्रहरूले खुलेरै आफ्ना कुर्तुतहरू सार्वजनिक गरिरहेका छन् । खाँचो मात्र जनसजगताको छ । त्यसैले अब जनताले नांगिइसकेका साम्राज्यवादका खुल्ला र छद्म दलालहरूलाई निर्वाचन प्रयोजनका लागि मात्र नभएर सधैँका लागि अस्वीकार गर्नुपर्दछ । यसक्रममा थप प्रस्ट हुनुपर्ने कुरा, तिनको विकल्प भनेका साम्राज्यवादीहरूका एजेन्डा बोकेका अन्य छद्मभेषी दलीय दलालहरू पनि होइनन् ।
त्यस्तो दल/समूह र पात्र जो नवउपनिवेशवाद र सामन्तवाद विरोधी छ । जो समाजलाई विभाजन गरेर राजनीतिक वा अन्य फाइदा लिन चाहँदैन । जो कसै गरे पनि राष्ट्र र जनताको हितप्रति घात गर्दैन । जो उत्पादनका साधनहरूलाई ध्वंश गर्ने कुरोमा नभई उत्पादनशील कर्ममा विश्वास गर्दछ, त्यस्तो दल/समूह र पात्रलाई मात्र मतदान गर्ने गर्नुपर्दछ । त्यसो गर्न सके मात्र राष्ट्र र जनताको हित प्रति गद्दारी गर्ने साम्राज्यवादका दलालहरूसँगै तिनका मालिकहरूको योजनासमेत परास्त हुनेछ । देश दुर्घटनामा जानबाट जोगिनेछ । अन्यथा निर्वाचन प्रजातन्त्रको आधारभूत मान्यता नभएर नौटंकी मात्र हुनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया