राजनीतिमा सिर्जना : शालीन, सरल र परिपक्व
यसै साता शुक्रबार स्थानीय तह निर्वाचन हुँदैछ । बैशाख ३० गतेको निर्वाचनका लागि देश सम्पूर्ण रुपमा होमिएको छ । चुनावकै बेला भएपनि दलहरू जनताका गुनासा सुन्न घरदैलो अभियानमा छन् । गाउँ शहर सबैतिरको वातावरण चुनावमय छ । नेपालमा संघीय संरचना कार्यान्वयनमा आइसकेपछि यो दोस्रो स्थानीय तह निर्वाचन हो । तीन तहका सरकारमध्ये बलियो र प्रभावकारी सरकार हो, स्थानीय सरकार ।
जनताको नजिकको सरकार हुनुका साथै जनतामा तत्कालीन आवश्यकताहरू सम्बोधन गर्ने भएकाले धेरैले घरदैलोको सरकारका रुपमा पनि लिन्छन्, स्थानीय तहलाई । स्थानीय सरकारको नेतृत्व जति प्रभावशाली हुन्छ, उति नै विकास हुनुका साथै जनताले पनि प्रत्यक्ष सरकारको अनुभूति गर्न पाउँछन् । त्यसैले पनि मतदाताहरू स्थानीय सरकारको नेतृत्व चयनप्रति सचेत र गम्भीर हुन जरुरी छ ।
७५३ स्थानीय तहमध्ये सबैभन्दा बढि चर्चा र चासो काठमाडौँ महानगरको नेतृत्वलाई लिएर भएको छ, जुन स्वभाविक नै हो । संघीय राजधानी भएकाले पनि काठमाडौँ महानगरको मेयर को बन्छ भन्ने कुरा देशव्यापी चासोका विषय बनेको हो ।
६ महानगर र ११ उपमहानगरमा सत्तारुढ पाँच दलबीच चुनावी तालमेल भएको छ । जसमध्ये काठमाडौंको नेतृत्व कांग्रेसको भागमा परेको हो । कांग्रेसले सिर्जना सिंहलाई काठमाडौंको मेयरको उम्मेदवार बनाएको छ ।
विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय सिर्जना सिंह नयाँ नाम होइन । पञ्चायतकालमा राजनीतिक दलमाथि प्रतिवन्ध लागेका बेला विद्यार्थी संगठनमार्फत् प्रजातन्त्रका पक्षमा भएको आन्दोलनको अग्रमोर्चा रहेको नाम हो, सिर्जना सिंह । कतिपयले काठमाडौँको मेयरमा सिर्जना उम्मेदवार भएपछि उनको राजनीतिक क्रियाशीलतामाथि प्रश्न उठाएका छन् । पारिवारिक विरासतका रुपमा सिर्जनाको उम्मेदवारीलाई जोडिएको पनि चर्चा सुनिने गरेको छ तर उनीहरूलाई थाहा हुनुपर्छ, जति बेला नेपाल विद्यार्थी संघको नेतृत्वमा अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवा थिए, उनी महाबौद्ध क्याम्पसको इकाई अध्यक्ष थिइन् । कांग्रेसका अहिलेका पहिलो र दोस्रो पुस्ताका नेताहरूसँगै सिर्जना सिंह पनि विद्यार्थी आन्दोलनमा सक्रिय थिइन् ।
पञ्चायतविरुद्धको आन्दोलनमा सक्रिय उनी नेविसंघको संगठन विस्तारमा पनि देशव्यापी दौडधुपमा गएको विगत हामीले विर्सनुहुन्न । यति मात्रै नभई २०३७ सालको स्ववियू निर्वाचनमा शंकरदेव क्याम्पसमा नेकपा माओवादी केन्द्रकी नेतृ एवं उर्जामन्त्री पम्फा भुषाललाई कोषाध्यक्ष पदमा पराजित गरेकी थिइन्, सिर्जना सिंहले । यसले पनि प्रष्ट पार्छ कि सिर्जना सिंह एक सशक्त नेतृ थिइन् ।
२०३७ सालको जनमत संग्रहमा बहुदलका पक्षमा जनमत बनाउन गोरखामा उनको योगदान महत्वपूर्ण थियो । उनी सानै उमेरमा गोरखामा नेपाल महिला संघको जिल्ला अध्यक्षसमेत भइन् । सक्रिय राजनीतिमा रहेकै बेला प्रकाशमान सिंहसँगको बिहेपछि उनले पदको राजनीति गरिनन् तर राजनीतिक जीवनबाटै विश्राम लिएको भने पक्कै होइन ।
पछिल्ला केही दशक पदीय राजनीति नगरेपनि नेपालमा भएका हरेक लोकतान्त्रिक आन्दोलनमा सिर्जना सिंहले खेलेको भूमिकालाई हामीले नजरअन्दाज गर्न हुँदैन । उनको विगतको राजनीतिक सक्रियता र नेतृत्व क्षमतालाई नजिकबाट बुझेका कांग्रेस सभापति देउवाले पार्टीबाट काठमाडौंको मेयरमा नाम प्रस्ताव गरे, जुन नाममा कसैको असहमति रहेन । उनी गठबन्धनबाट निर्विवाद मेयरको उम्मेदवार हुन् ।
काठमाडौंको मेयरमा यति बेला तीन नाम चर्चामा छन् । सिर्जना सिंहसँगै नेकपा एमालेबाट मेयर पदका उम्मेदवार केशव स्थापित र स्वतन्त्र उम्मेदवार बालेन शाह प्रतिस्पर्धामा छन् । सामाजिक सञ्जालमा स्वतन्त्र उम्मेदवार बालेनको पनि चर्चा छ । चुनावी प्रतिस्पर्धा त्रिपक्षीय हुने आँकलन छ । मेयर छान्दा मतदाताले धेरै कुरा ध्यान दिन जरुरी छ ।
दुई पटक काठमाडौंको मेयर भइसकेका व्यक्ति हुन्, स्थापित । तर उनी कामले भन्दा पनि कुराले बढी चर्चामा आउने गरेका छन् । उनी गफमा होस समेत गुमाउँछन् । ‘आर्यघाट पनि यस्तो डिजाइन गर्छु, घाटमा जाँदा पनि आफैंलाई त्यही मरुँ–मरुँ जस्तो लाग्ने हुन्छ ।’ भनेर स्थापितले दिएको अभिव्यक्ति विवादित छ । अझै बालेन शाहक विरुद्धमा उनले अराजनीतिक मात्र होइन, अत्यन्त तुच्छ जातीय अभिव्यक्ति दिएका छन् ।
त्यस्तै, जनतालाई असम्भवप्राय: सपना बाँडेर भ्रममा पार्न माहिर एक विवादित व्यक्ति पनि हुन् स्थापित । संघीय राजधानी भएकाले पनि विश्वको ध्यान काठमाडौंको मेयर को बन्छ भन्ने हुनु स्वभाविक हो । तर काठमाडौं महानगरका मतदाताले आफ्नो जनप्रतिनिधि चयन गर्दा लज्जित हुनुपर्ने अवस्था कदापी आउन दिनुहुन्न ।
जातीय द्वेष फैलाउने, साम्प्रदायिक अभिव्यक्ति दिने र सपनाका व्यापारीलाई मेयर बनाउने कुरा काठमाडौं महानगरको प्रतिष्ठासँग पनि जोडिने विषय हो । बागमती प्रदेश सरकारमा मन्त्री भएकाबेला आफ्नै पार्टीका मुख्यमन्त्रीले बर्खास्त गरेका स्थापितलाई मेयरको जिम्मेवारी दिनुले हाम्रो चेतनाको स्तर पनि मापन हुन्छ ।
काठमाडौं महानगरका मतदाता अन्य क्षेत्र र भूगोलका नागरिक भन्दा बढि शिक्षित र सचेत भएको आमविश्वास हो । त्यसैले हामीले आफ्नो जनप्रतिनिधि चयन गर्दै गर्दा गर्व गर्न लायक हुनुपर्छ । जनप्रतिनिधिको छवि र स्वभावलाई हामीले नजरअन्दाज गर्न मिल्दैन । स्थापितका पछिल्ला एक महिनाका अभिव्यक्तिले उनको व्यक्तित्व छर्लङ्ग हुन्छ । काठमाडौँ उपत्यकामा सय दिनमै चमत्कार गरिदिने घोषणा पत्र बनाएर एमालेबाटै काठमाडौँको मेयर बनेका विद्यासुन्दर शाक्यको पाँच वर्षे कार्यकाल हामी सबैले भोगिसकेका छौं । त्यहि पार्टीबाट मेयरको उम्मेदवार बनेका स्थापितबाट थप अपेक्षा गर्ने ठाउँ छैन ।
कांग्रेस नेतृ सिर्जना, जो पाँच दलीय गठबन्धनको उम्मेदवार हुन्, उनले धेरै ठूला सपना बाँडेकी छैनन् । उनका कार्यक्रम र योजना सामान्य छन् । गर्न सकिने र गर्नैपर्ने कामबाहेक असम्भव र हावादारी घोषणा नगर्ने उनको घोषणापत्र निकै सन्तुलित र व्यवहारिक छ । स्वच्छ, सफा, सुरक्षित र सुन्दर काठमाडौं शहर निर्माण गर्ने प्रतिवद्धता छ, सिर्जना सिंहको । काठमाडौं महानगरलाई ७७ वटै जिल्लाका नागरिकले आफ्नो महसुष गर्ने शहर बनाउने सपना छ, सिर्जनाको ।
काठमाडौँमा ठूलो समस्याका रुपमा रहेको फोहोर व्यवस्थापनलाई पनि सिर्जना सिंहले महत्वपूर्ण एजेण्डा बनाएकी छिन् । उनले उत्सर्जन भएको शतप्रतिशत फोहोर पूरै व्यवस्थापन गरी दीगो विकासको लक्षसहित काम गर्ने प्रतिवद्धता जनाएकी छिन् । सुशासित, सुसंस्कृत र समृद्ध महानगरको निर्माण गर्ने घोषणा आफैमा प्रशंसनीय छ । काठमाडौं महानगरसँग सदियौं पुरानो सभ्यता छ । त्यहि मानवीय सभ्यतालाई जोगाउँदै महानगरलाई सबैको गर्व गर्न लायक ‘महान घर’ बनाउने सिर्जना सिंहको अभियानलाई सार्थकता दिनुपर्ने बेला आएको छ । शालिन स्वभाव, निष्कंलक छवि अनि प्रतिस्पर्धीलाई पनि सम्मान गर्ने सिर्जनाको संस्कारको तुलना अरु मेयरका उम्मेदवारसँग हुनैसक्दैन ।
तीन दशक अघिकी जुझारु विद्यार्थी नेतृ सिर्जना आफैले संघर्षबाट कोरेको राजनीतिक जगमाथि उभिएर यतिबेला फेरि राजनीतिको मैदानमा होमिएकी छन् । नेपाली राजनीतिमा सम्मानित नाम गणेशमान सिंह र मंगलादेवी सिंहका साथै कांग्रेस नेता प्रकाशमान सिंहको विरासतले थोरबहुत प्रभाव त पार्ला तर सिर्जनाको यो उम्मेदवारी उनको आफ्नै राजनीतिक विरासतको परिणाम हो । जुझारु महिला नेतृ एवं उच्च सामाजिक चेत भएकी सिर्जनाको उम्मेदवारी सिंगो नेपाली समाजका लागि पनि परीक्षा हो । प्रधानमन्त्री शेरबहादुर देउवाले भनेजस्तै एक सक्षम र जुझारु महिलालाई काठमाडौंको मेयरमा जिताएर विश्वलाई नै सन्देश दिनसक्नुपर्छ । अब यो समय मतदाताको हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया