विचार

परिवारवादको तातो पन्युले डामिएका नेता

संजिव कार्की |
बैशाख २६, २०७९ सोमबार १७:३१ बजे

नेताका छोराछोरी र आफन्त हुनु नै कसैको पनि अवसर पाउने-नपाउने कारण बन्नु हुँदैन । एक नागरिकको रूपमा नेताका छोराछोरी, आफन्त र ईष्टमित्र सबै स्वतन्त्र हुन्छन् । तसर्थ उनीहरूलाई नेताका नजिक भनेर कतै बन्देज कतै निषेध गर्नु जति अपराध हो । त्यति नै नाता सम्बन्ध र निकट भएको कारण अवसर दिनु राजनीतिक लाभ पुग्ने वातावरण सिर्जना गर्नु हो ।

क्षमता, योग्यता, योगदान र राजनीतिक सक्रियताका आधारमा नेताका आफन्तलाई तटस्थ भएर निर्णय गर्नुपर्ने हुन्छ । नातावाद, कृपावाद, फरियावाद र अपुतालीवाद दक्षिण एसियाको साझा रोग भएको छ । झन् २०६४ को संविधान सभा र त्यसपछिका राजनीतिक अवसर नियुक्ति र लाभको पदमा आफ्ना छोराछोरी, श्रीमती, प्रेमिका, सम्धी, ज्वाइँ, मामा–भन्जा र मितसम्मलाई लैजाने पार्टीहरूको गलत अभ्यास र परिपाटीले नातावादको विकराल र चरम रूप देखाएको थियो÷छ ।


नातावादको आरोपबाट बच्ने पूर्वप्रधानमन्त्रीहरूमा कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी, सुशील कोइरालाबाहेक अन्य नेता परिवारवादको तातो पन्युले डामिएका छन् । ओलीलाई नातावादको आरोप लागे पनि उनका नजिकका आफन्त कोही लाभको विशेष पदमा रहेको देखिन्न । तर आफूलाई मन परेको जोसुकै मान्छे पनि ओलीको खल्तीबाट निस्कने नाम हो भन्ने आधार भर्खरै एमालेबाट काठमाडौँ महानगरको उपमेयरको टिकट हात पारेकी सुनिता डंगोललाई लिन सकिन्छ ।

पार्टीभित्र र बाहिरबाट पद्धति र नियमविना टिपेर राजनीतिमा ओलीले स्थापित गरेका यथेष्ट पात्रहरू यत्रतत्र सर्वत्र छन् । ओलीले संरक्षणको छाता ओढाएका धेरै पात्र बदनाम बनेका देखिन्छन् । पुत्री मोहको आरोप स्वर्गीय गिरिजाप्रसादलाई समेत लागेको थियो। प्रचण्ड समेत रेणु र अन्य आफन्तलाई मात्रै अवसर र पटक पटक अवसर दिएको कारण धृतराष्ट्रको उपनाम पाउने नेतामा पर्छन ।

स्थानीय तहको चुनाव २०७४ र अहिले २०७९ मा पेचिलो बनेको मुद्दा भरतपुर नगरपालिका र उनकी छोरी रेणुको चुनावी प्रसंग हो । देशभर कतै र कुनै विशेष चर्चा र गठबन्धनको भाग्य र भविष्यलाई नयाँ मोड दिने स्थान विशेष कहीँ छ भने त्यो भरतपुर र रेणु हुन् । जहाँ प्रचण्डले प्रतिष्ठाको विषय बनाएका छन् र रेणुले नजिते देश दुर्घटनाग्रस्त हुने धम्की पनि दिएका छन् ।

रेणु प्रचण्ड पुत्री मात्र नभएर हिजो जनयुद्धमा होमिएकी संघर्षशील पात्र र क्षमता भएकी नारी हुन् भन्ने कुरा ४ वर्षे मेयरको कार्यकालले प्रमाणित गरेको छ । विपक्षी समेतले सिधै कम कार्यक्षमता भएकी भनेर नकार्न सकेका छैनन् । उनलाई प्रचण्ड पुत्रीको रूपमा धेरै र असफल मेयरको रूपमा थोरै आलोचना गरिन्छ । ज्ञानेन्द्र शाही नामक अराजकलाई आफ्ना कार्यकर्तामार्फत उनले पिट्न लगाएको कुरा सत्य हो भने त्यो अत्यन्तै खेदजनक छ । अन्य विरोध र लान्छना राजनीतिक फण्डा मात्रै लाग्छन् ।

खेद र तर्क गर्न सकिने ठाउँ के हो भने रेणु प्रचण्डपुत्री नभएको भए यो अवसर मिल्थ्यो ? दोहोरिन्थ्यो ? रेणु जस्तै अन्य नारी पात्रका हकमा प्रचण्ड र गठबन्धनको सक्रियता यस्तै रहन्थ्यो ? रेणुभन्दा बढी क्षमतावान् खारिएका र जनयुद्ध लडेका कति अरु सर्वसाधारणका छोराछोरीलाई यस्तो अवसर दियो माओवादीले ? के माओवादीले आफूले पाएको अवसर, राजनीतिक योगदान, क्षमता र सक्रियताका आधारमा सबैलाई समानुपातिक तवरले बाँडेको छ ?

विगतमा पनि मतपत्र च्यातेको र चपाएर पुनः निर्वाचनमार्फत रेणु एमालेका देवी ज्ञवालीभन्दा २०३ मतले मात्र विजय बनेको कुरालाई षड्यन्त्रको तानाबानाको परिणाम भनेर चर्चा गरिन्छ

आज अवसर नपाए पनि भोलि पाइन्छ, हामी जस्तै अरू थुप्रैले अवसर पाउँदै छन् हामी पनि पाउने लाइनमा छौँ भनेर माओवादी कार्यकर्ता आश्वस्त छन् ? या माओवादी आन्दोलनमा लागेर खिन्न छन ? यो राजनीतिको अहम् प्रश्न र सबैभन्दा गुचुल्टो परेको विषय हो । सबै पार्टी र तिनका नेताको लागि ।

आफ्ना कार्यकर्तालाई समताको अवसर दिन नसकेको गम्भीर आरोप र प्रमाण छन् । छिटफुट असन्तोष, आक्रोश, आग्रह र असफलता सबैमा हुन्छ तर माओवादी आज जहाँ र जुन अवस्थामा छ त्यसको समीक्षा उसले गरेनन् भने आगामी पाइलाहरू डेन्जर जोन उन्मुख छन् भन्न राजनीतिक पण्डित नै हुनुपर्दैन म जस्ता राजनीतिशास्त्रका सामान्य विद्यार्थीले पनि जान्दछन् ।

स्थानीय चुनावमा दुई महिला प्रकाशमान सिंहकी पत्नी काठमाडौँ महानगरको मेयर र प्रचण्ड पुत्री रेणु भरतपुर चितवन विशेष आकर्षण विरोध र चर्चामा छन् । सिर्जना सिंहलाई प्रकाशमानको पत्नी भएको कारण राजनीतिको दुनो सोझ्याउन आएको आरोपसहित उनको विगत राजनीतिक सक्रियता र निष्ठालाई हिलो छ्यापिएको छ । एक महिलाको त्याग र समर्पणलाई भालेवादी आँखाले जज गरिएको छ भने प्रचण्डपुत्री भएकै कारण उनले मात्रै अवसर कति पाउनु पर्ने भन्दै प्रचण्ड निर्णयले कांग्रेस चितवनमा आन्तरिक विग्रहमा छ । गठबन्धनको साझा उम्मेदवारविरुद्ध कांग्रेसका पुराना नेता, राष्ट्रियसभाका पूर्व सदस्य तथा पूर्व उपमेयर जगन्नाथ पौडेल कांग्रेस मेरो आस्था र विश्वास भन्दै बागी बनेर पार्टीको आधिकारिक निर्णयको खिलाफमा निष्ठा र आदर्शको लागि आफ्नो उमेद्वारी भन्दैछन् । तसर्थ चितवन आकर्षण बनिरहेको छ ।

विगतमा पनि मतपत्र च्यातेको र चपाएर पुनः निर्वाचनमार्फत रेणु एमालेका देवी ज्ञवालीभन्दा २०३ मतले मात्र विजय बनेको कुरालाई षड्यन्त्रको तानाबानाको परिणाम भनेर चर्चा गरिन्छ । जुन प्रसंगले प्रचण्ड र रेणु बारम्बार चिथोरिन्छ्न् । यस पटक पनि कांग्रेसको बागी र एमालेको अस्तित्व रक्षाको मुद्दामा चितवन केन्द्रीय विषय बनेको छ । त्यसैले चितवनको भिडन्त रोचक र पेचिलो देशकै आकर्षण बनेको हो । चितवनमा प्रचण्ड र कांग्रेस स्वयंले आफ्नो भविष्यलाई दाउमा राखेका छन् भने एमालेले लिने रणनीतिले चितवनको फैसला गर्ने पक्का छ ।

विगतमा रेणुको जीतको गणितीय आँकडा

कांग्रेससँगको गठबन्धनकी उम्मेदवार रेणु एमालेका देवी ज्ञवालीसँग कडा प्रतिष्पर्धाबीच ४३१२७ मत प्राप्त गरेर विजयी बनेकी हुन् भने देवीले ४२९२४ मत प्राप्त गरेर २०३ मतान्तरमा उपविजेता बनेका थिए ।

आज देवी प्रतिस्पर्धामा छैनन् तर एमालेले प्रदेश सभा सदस्यबाट राजीनामा गराएर विजय सुवेदीलाई रेणुसँग भिडाएको छ । कुल मतदाता संख्या १ लाख ५० हजार ४७८ रहेको बेला १ लाख १२ हजार ८९७ ले मताधिकार प्रयोग गरेका थिए । कांग्रेसले १२ वडामा आफ्नो उमेद्वार जिताएको थियो भने उप चुनावमा अर्को एक स्थान जितेको थियो । जहाँ एमालेले १४ स्थान सुरक्षित गरेको थियो । माओवादीले भने ३ स्थानमा मात्रै विजय प्राप्त गरेको थियो ।

एमाले कांग्रेस र माओबादी बाहेक अन्य दलको उपस्थिति विजयको लागि शुन्य भए पनि २९ वडामा पार्टीहरूले वडाध्यक्षको मतले भरतपुरमा पार्टीहरूको मतभार अनुसार प्रथम, द्वितीय र तृतीय क्रमशः कांग्रेस ३८१२७, एमाले ३७१९५, माओवादी, २१२१८ चौथो दलको रूपमा राप्रपाको मत संख्या ६७५३ रहेको छ । त्यतिबेला एमाले र राप्रपा गठबन्धन गरी चुनावमा होमिएका थिए भने कांग्रेस माओवादीको गठबन्धनले मेयरमा रेणु र उपमेयरमा कांग्रेस उमेद्वार पार्वती शाह विजयी गराएका थिए । त्यसबेला पनि कांग्रेसभित्र असन्तुष्टि प्रशस्तै थियो । त्यसको पुष्टि पार्वतीको मत रेणुको भन्दा ४७९० बढी हुनु र मेयरमा ७००० को हाराहारी मत रुख चिन्हमा पर्नुले बताउँछ । बागी नबने पनि मेयरमा रूख चिन्हले उमेद्वार फिर्ता गर्दा पनि तेस्रो भएको राप्रपाभन्दा बढी मत पाएको थियो ।

यस पटकको गठबन्धनको स्थिति

भरतपुरमा २०७४ मा कायम १ लाख ५० हजार ४७८ मत दातामा ३५ हजार ४७८ मतदाता थपिएर कुल १ लाख ८५ हजार ७५२ पुगेका छन् । अघिल्लोपटक स्थानीय निर्वाचनमा खसेको मतसंख्यालाई आधार मानेर हिसाब गर्दा यो पटक पनि १ लाख चालीस हजार हाराहारीमा मत खस्ने अनुमान गरिन्छ । राप्रपाले आफ्नो उमेद्वारी मेयरमा नदिएको कारण मेयरका प्रतिस्पर्धी तीन जना रेणु, विजय र जगन्नाथको त्रिपक्षीय भिडन्त परिणाम निष्कर्षका आधारविन्दु हुन् ।

एमाले फुटेर समाजवादी बनेको र कांग्रेस पनि आफँैभित्र विग्रह र विभाजनमा भएको कारण पुरानो शक्ति सन्तुलन भत्केर नयाँ शक्ति सन्तुलन बन्दा त्यतिधेरै ठूलो भिन्नता देखिन्न । एमालेका ५ वडाध्यक्ष नेकपा समाजवादीमा जानु र तत्कालीन माओवादी नेता रामबहादुर थापा एमालेमा जानु नेकपा एमाले र माओवादीको शक्ति सन्तुलन खासै यताउता नपर्ने कारण हुन् भने अर्कोतर्फ कांग्रेसका बागी जगन्नाथ र उनलाई साथ दिने तत्कालीन जिल्ला विकास समितिका सभापति कृष्णलाल सापकोटालगायत १४औ महाधिवेशनमा विकास कोइराला वर्तमान पार्टी सभापतिसँग पराजित खेमा छ ।

चुनावमा उठ्ने हरेक उमेदवार जित्नकै लागि उठ्छन भन्ने पनि हुँदैन । आफू नजिते पनि अरूलाई हराउने उदेश्य पनि रहेको हुन्छ ।

यद्धपि कांग्रेसले २० वडामा नेतृत्व लिएकोले कांग्रेसलाई बागीले पार्न सक्ने असर दमदार र धमाकेदार बन्न सक्ने स्थिति देखिन्न । अघिल्लोपटक पनि गठबन्धन गरिसकिएको कारण गठबन्धन संस्कृति नौलो नभएर स्वाभाविक लाग्ने छ कांग्रेस नेताकार्यकर्तालाई । कांग्रेस, एमाले र समाजवादी लगायतको संगठित मत ७० हजारमाथि अनुमान गर्न सकिन्छ । चार वर्ष चितवन बसेर काम गरेको उत्कृष्ट नै नभए पनि रेणुको कार्यसम्पादन समग्रतामा राम्रो उपमहानगरपालिका भित्र पर्ने विभिन्न सर्वेक्षण र मुल्यांकनले देखाएको छ । यही कारण रेणुको व्यक्तिगत प्रभाव पनि भोट बढोत्तरीका आधार बन्छन् । राप्रपाबाट मेयर उम्मेद्वार बनेर ६८४२ मत प्राप्त गरेका बद्रीप्रसाद तिमल्सेना आफू नेतृत्वको राप्रपा जिल्ला कार्यसमितिसहित माओवादीमा प्रवेश गरेको कारण पनि माओवादी बादललगायतका केही नेताको अभावले कम हुने मत क्षतिपूर्ति गर्ने अवस्थामा भएको जिकिर गर्छ ।

एमाले जगन्नाथको उमेद्वारीले हौसिए पनि स्वतन्त्र उमेदवार भुइँकहटरमा जाने मत १५ हजार कट्नु भनेको ठूलै मिराकल र हेविवेट व्यक्तित्वको कारण मात्र सम्भव हुने राजनीतिक विश्लेषकको बुझाइ रहेको छ । असंगठित उम्मेद्वारलाई जतिसुकै लोकप्रिय भए पनि दलीय व्यवस्थामा गाह्रो हुने थुप्रै उदाहरणले पुष्टि गरेको तथ्य हो । संगठनबिनाको भावनात्मक आवेगले सोचे जति मत प्राप्त गर्न असम्भव हुन्छ तसर्थ जगन्नाथ कांग्रेसको असन्तुष्ट सक्रिय सदस्यको मत काट्न सक्छन् तर आफँै जित्ने बुतामा देखिन्न । उनको उद्देश्य कांग्रेसलाई निष्ठा र नैतिकता देखाउने हो । आफ्नो सामाजिक र राजनीतिक मूल्य लेखाउने हो ।

उनले जुन उत्साहमा आफ्नो उम्मेदवारी कायम राखेका थिए सो मुताबिक मत आउने कुरामा अहिले शसंकित देखिएको कुरा उनी निकट मान्छेले अनुमान लगाउन थालेका छन् । रेणुलाई उनी हराउन लाग्छन् कि आफ्नो अस्तित्व प्रदर्शन गरेर देशभरका कांग्रेसको सहानुभूति लिन प्रयास गर्छन् ? पौडेलले जित्ने सम्भावना छैन । उनी भित्रदेखि नै जित्छु भनेर उठेका पनि होइनन् । चुनावमा उठ्ने हरेक उमेदवार जित्नकै लागि उठ्छन भन्ने पनि हुँदैन । आफू नजिते पनि अरूलाई हराउने उदेश्य पनि रहेको हुन्छ ।

पौडेल पनि कांग्रेसको स्वत्व बचाउन उठेका हुन् या रेणु हराउन, पार्टीसँग बदला लिन त्यो हेर्न अझै केही समय पर्खनुपर्ने हुन्छ । विश्वस्त स्रोत अनुसार एमालेबाट पौडेललाई कांग्रेसका बालकृष्ण खांड र प्रधानमन्त्री देउवाले भन्दा बढी आकर्षक अफर गएको छ । एमालेको आग्रह छ उनलाई प्राप्त हुने भोट सूर्य चिन्हको लागि मागिदिने परिस्थति निर्माण गर्नु र एमालेको विजय सुनिस्चित गर्नु । कथं कदाचित पौडेल कांग्रेस केन्द्रलाई देखाई दिने मनस्थितिमा पुगे भने उनको भोट एमालेमा पर्ने सम्भावना रहन्छ तर कांग्रेस कार्यकर्ता पार्टीको आस्था बचाइ राख्न जगन्नाथलाई सहयोग गर्न तयार भएका हुन् एमाले जिताएर गठबन्धन हराउन मात्रै होइन होला ?

सजिलो छैन पकेटको जस्तै गरेर कांग्रेसको प्रतिबद्ध मत यताउता गर्न जगन्ननाथलाई ? तसर्थ एमालेलाई पनि सहज छैन जगन्नाथ हात लिन बरु यथासम्भव कांग्रेसको भोट जगन्नाथले काटने वातावरण सिर्जना गर्दा एमाले फाइदामा जान्छ । आजसम्मको चुनावी रणनीतिमा कसैको पनि चमत्कारिक विजयको सम्भावना देखिन्न । २९ गते बेलुकीसम्म ओलीले अख्तियार गर्ने रणनीतिमा निर्भर छ भरतपुरको चुनावी परिणाम । एमालेले आफ्नो अवस्था कसरी आंकलन गरेको छ । यदि आफ्नो जित्ने सम्भावना देखेको छैन भने प्रचण्ड र देउवा लगायत देश भर झड्का दिने गरी ओलीले आफ्नो उम्मेद्वार विजयलाई तत्काल सहिद बनाएर एमालेको भोट जगन्नाथलाई खन्याउने सर्कुलर गरे भने भुइँ कटहरको विजय सुनिश्चित छ ।

भरतपुरमा फलामको चिउरा चपाउँदै छन् विजय, जगन्नाथ र रेणु तथापि कसले मुस्किलले चपाएर पनि जीत आफ्नो पोल्टामा पार्छ ? त्यो प्रतिक्षित विषय र समय हो । मुश्किल तिनै जनालाई छ भिडन्त दुई पक्षीय नै हो । गठबन्तधन र एमाले नै बलिया छन् । तथापि चुनाव हो । राष्ट्रिय राजनीतिलाई नयाँ मोडको संकेत दिन जित जगन्नाथले पनि निकाल्ने सम्भावना उत्तिकै छ । चुनावमा भोटले मात्र जित हार तय गर्दैन । कमरेड प्रचण्डको आक्रोशपूर्ण अभिव्यक्ति र धम्कीले रेणुको मत घटेको विश्लेषण गर्नेहरूको संख्या पनि उल्लेख्य छ ।


Author

थप समाचार
x