विचार

स्थापितलाई विस्थापित, सिंहलाई सिंहासन

तेजप्रसाद लामिछाने |
बैशाख २७, २०७९ मंगलबार ७:५७ बजे

काठमाडौं महानगरका लागि नेपाली कांग्रेसले सिर्जना सिंह र नेकपा एमालेले केशव स्थापितलाई मेयर पदको उम्मेदवार बनाएका छन् । विवेकशील साझा पार्टीबाट समीक्षा बाँस्कोटा र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मदनदास श्रेष्ठले उम्मेदवारी दिएका छन् । दलका उम्मेदवारभन्दा बाहिरबाट स्वतन्त्र उम्मेदवार बालेन शाह पनि अघि बढेका छन् ।

गत चैतको पहिलो हप्ता सामाजिक सञ्जालमार्फत ‘काठमाडौंको मुहार बदल्न अब सक्षम र सहरको दयनीय अवस्थाप्रति संवेदनशील महिला मेयर बनाऔँ ।’ र ‘काठमाडौं महानगरमा बाँकी रहेका सुधारका काम गर्न र व्यवस्थित सहर बनाउन महिला मेयरलाई एकपल्ट अवसर प्रदान गरौं ।’ कांग्रेस नेत्री सिर्जना सिंहले यसरी व्यक्तिगत धारणा सार्वजनिक गरेकी थिइन् ।


नेकपा एमालेको सिफारिसमा परेका अन्यलाई पछि पार्दै केशव स्थापित दोस्रोपटक मेयरको प्रतिस्पर्धामा छन् । २०५४ सालमा काठमाडौंमा मेयर बनेका उनी २५ वर्षपश्चात् उही पदमा दोहोरिन खोजेका छन् तर उनका लागि यसपटक भने त्यति सहज भने देखिँदैन ।

यसपटक उनले सर्वाधिक झेल्नुपर्ने प्रश्न आमसञ्चार माध्यमले लेखेअनुसार यौन दुव्र्यवहारसम्बन्धी विषय नै प्रमुख हुने देखिन्छ । तर केही उनीसँग सम्बन्धित गम्भीर आरोपहरू पनि आम जनसमुदायबीच चर्चा गरेको पाइन्छ । यौन दुव्र्यवहारसम्बन्धी आरोपमा काठमाडौं महानगरकी पूर्वकर्मचारी रश्मिला प्रजापति र पत्रकार उज्ज्वला महर्जनले जनता माझ खुलेर बोलेका छन् । यो विषय राजनीतिक वृत्तमा ताँती रहेको बेला स्थापितले महिला जनलाई चोट पुग्ने गरी अर्को अभिव्यक्ति दिएका छन् ।

सो अभिव्यक्ति दिन भ्याएका छन् धुम्बाराही अवस्थित नेसनल कलेजमा आयोजित एक अन्तक्रिया कार्यक्रममा उनले महिला प्रश्नकर्तालाई ‘तपाईंको थुतुनो ठीक छैन’ भनी जवाफ फर्काएका थिए । यो कुराहरूले गर्दा मेयर उम्मेदवार केशव स्थापितलाई ‘गाउँघरमा स्याललाई कुकुरले लखटे’ जस्तैको अवस्था रहेको छ ।

यसका अलवा, जुनसुकै विषय प्रसङ्गलाई नजरअन्दाज गर्ने, हरेक जस्तो कुरालाई जिम्मेवारीपूर्वक नलिने, उनको यही आचरणले गर्दा उनी प्रश्न र शंकाको घेरामा बलियोसँग बाँधिएका छन् । तथापि, उनी एउटा अटेरी राजनीतिज्ञ जस्तै ‘म जत्तिको व्यक्तिउपर इस्यु भएन भने केशव स्थापित नै भएन, विवादमा नआउने पनि पनि केशव स्थापित हुन्छ र ?’ भन्दै हिँडिरहेका छन् । तर उल्लिखित आरोपका अलावा केही अनुत्तरित र गम्भीर प्रश्न आम मतदाताबीच चर्चा हुने गरेको पाइन्छ । तीमध्ये स्थापितको वर्तमान संविधानप्रतिको निष्ठाप्रति पनि रहेको देखिन्छ किनकि उनी राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन गरेको बेलाको राजाबाट मनोनीत काठमाडौँका मेयर भइसकेका व्यक्ति हुन् ।

दोस्रो उनलाई राजनीतिमा अनैतिक व्यक्तिका रूपमा पनि लिने गरेको देखिन्छ । किनकि उनले स्वयं नेपालका केही टेलिभिजनमा भनेका रहेछन्, ‘विधवा विद्यादेवी भण्डारीको सेतो सारी भएको पोस्टरमा कालो रङ पोत्न स्वयं मैले लगाएको थिएँ र भोलिपल्ट काठमाडौँका धेरै स्थानमा गएर सो कार्य कांग्रेसले गरेको हो भनी प्रचार गराई कांग्रेसप्रति नै वितृष्णा जगाएर कांग्रेस उम्मेदवारलाई हराउन सफल भएको थिएँ ।’ यस्ता अनैतिक क्रियाकलापका कारण उनको चरित्रप्रति मतदाताबीच प्रश्नहरू रहने गरेको छ ।

अर्का प्रत्यासी सिर्जना सिंहले २०३४–३५ सालदेखि विद्यार्थीकालमै राजनीति सुरु गरेकी हुन् । २०३६ सालमा नेपाल महिला संघ गोरखा जिल्लाको अध्यक्ष बनेकी उनी ०३८ सालसम्मको अवधिमा महाबौद्ध क्याम्पसमा नेविसंघको इकाइ सभापति बन्न भ्याइन् । सोही वर्ष शंकरदेव क्याम्पसको स्ववियु निर्वाचनमा अहिलेका संघीय ऊर्जामन्त्री पम्फा भुसाललाई पराजित गर्दै स्ववियु निर्वाचनमा सिर्जना कोषाध्यक्ष बनिन् । गणेशमान सिंह र मङ्गलादेवी सिंहको परिवारमा बुहारीका रूपमा भित्रिएपछि उनले कुनै महत्वपूर्ण राजनीतिक स्थान लिइनने तत्पश्चात् सामाजिक स्वास्थ्यको क्षेत्रमा उल्लेख्य रूपमा एकातिर सक्रिय भइन् भने अर्कातिर उनी नेपाल महिला संघ काठमाडौं जिल्लाको प्रमुख सल्लाहकारमा आफ्नो राजनीतिक यात्रालाई निरन्तरता दिइन् ।

२०७४ को अंकगणित 
अघिल्लो स्थानीय निर्वाचनमा काठमाडौ महानगरको मेयरमा एमाले र उपमेयरमा कांग्रेसले बाजी मारेका थिए । मेयरमा एमालेका विद्यासुन्दर शाक्यले ६४ हजार ९ सय १३ मत ल्याउँदा कांग्रेसका राजुराज जोशीले ४५ हजार २ सय ६९ मत ल्याएका थिए । उपमेयरमा कांग्रेसकी हरिप्रभा खड्गीले ५८ हजार ९ सय ५२ मत ल्याएर विजयी हुँदा राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार ८ सय ५४ मत ल्याएका थिए । 

माओवादी उम्मेदवार सर्वोत्तम डंगोलले मेयरमा ७ हजार ९ सय ६ मत ल्याएका थिए । मेयरमा राप्रपाले एमालेलाई र उपमेयरमा एमालेले राप्रपालाई सघाएका थिए । तर यस पटक राप्रपाले एमालेलाई सघाउने पक्षमा छैन किनकि अब राप्रपा आफैँ एक्लै राष्ट्रिय पार्टी बन्ने दाउमा अग्रसर देखिँदै छ ।

२०७४ को चुनावमा कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरूले कुल ६३ हजार ४२८ मत प्राप्त गरेका थिए । यो मत चाहिँ एमाले तर्फबाट विजयी मेयर शाक्यको भन्दा जम्मा १ हजार ४८५ मत कम हो । अहिले मेयर उम्मेदवार सिर्जना सिंहलाई पाँच दलीय गठबन्धनको साथ रहनेछ । पुराना मतलाई जोगाउँदै सिंगो गठबन्धनको प्रयासरत थप मतको मनोविज्ञानले कांग्रेस उम्मेदवारलाई सपोर्ट नै गर्नेछ ।

यसपटक काठमाडौं महानगरमा ३ लाख २४२ मतदाता छन् । जसमध्ये २० हजार ९३३ नयाँ मतदाता हुन् । केशव स्थापित एमाले निकट पार्टीका मतदातामा मात्र निर्भर हुन पर्दा गणितीय हिसाबमा उनी कमजोर बन्दै गएको प्रस्ट देखिन्छ । वर्तमान मेयर शाक्यले गरेका प्रशासनिक गल्ती कमजोरी, महानगरभित्रका भष्टाचारका काण्ड, कोरोना महाव्याधिमा सामान्य नागरिकप्रति उनले देखाएको त्यो निर्दयी व्यवहारको आक्रोश र पीडाको क्षति अब एमाले उम्मेदवार स्थापितले व्यवहोर्नु पर्नेछ ।

२०७४ मा कांग्रेस नेतृत्व देउवाले न्यायमूर्ति सुशीला कार्कीमाथि महाभियोग लगाए । मुस्किलले ३,४ हजार मत ल्याउने हैसियतकी मेयर उम्मेदवार रन्जु दर्शनाले न्यायाधीश काण्डको चर्को विरोध गरेकै कारण महानगरका २३ हजार मतदाताले आफ्नो आक्रोश शान्त पार्न उनलाई भोट दिएका थिए । त्यसैको परिणाम स्वरूप कांग्रेस उम्मेदवार राजुराज जोशी राजनीतिक सिकार बने । त्यसै गरी गएको पाँच वर्षभित्र निर्वाचित मेयर शाक्यले महानगरबासीलाई जे जस्तो पीडा दिए, विकास र सुदृढीकरणको नाममा मतदाताको आशामाथि निराशाको बादलले ढाक्ने काम गरे, त्यसको मार पनि अहिलेका एमाले उम्मेदवार स्थापितले सहनु पर्नेछ ।

४२ वर्षअघि सक्रिय राजनीतिमा हुम्मिएकी मेयर उम्मेदवार कांग्रेस नेत्री सिंह, पहिलोपटक जिम्मेवारी तथा चुनौतीपूर्ण पदमा आकांक्षी बनेकी छिन् । उनी इतरपक्षका उम्मेदवारहरू उनीमाथि गम्भीर आरोप लगाउने ठाउँ पाएका छैनन् ।

कोरोना महामारीका बेला महानगरका भिन्नभिन्न दशाँै स्थानमा नेत्री सिर्जनाले उपलब्ध गराएको खाद्यान्नबाट स्थानीय क्लबहरूले विपन्न घर–परिवारलाई दैनिक सयौंको संख्यामा तयारी खाना खुवाउन सहयोग प्राप्त गरे । दैनिक ज्यालादारीमा बाँचेका बेरोजगारी श्रमिक परिवारलाई चामलका बोराहरू बाँड्ने सिंह निवास चाक्सीबारी खाद्यान्न वितरण गर्ने केन्द्र जस्तो देखिन्थ्यो त्यो बेला ।

केशव स्थपित आफ्नो गैरजिम्मेवारीपूर्ण व्यवहार र अभिव्यक्तिका लागी पनि प्रख्यात व्यक्ति हुन् ।  त्यसको ज्वलन्त उदाहरण उनी प्रदेशको भौतिक पूर्वाधार मन्त्री हुँदा मुख्यमन्त्री डोरमणि पौडेलसँग मन्त्रिपरिषद् बैठकमा गैरराजनीतिक आचरण गरेबापत उनी २०७६ कात्तिकमा प्रदेश मन्त्रीबाट बाहिरिनु परेको थियो ।

२०५४–५९ मा पाँच वर्ष महानगरको मेयर हुँदा स्थापितले काठमाडौँमा कामै नगरेको भने पक्कै होइन । उनकै कार्यकालमा माइतीघर मण्डलको निर्माण, अतिक्रमित बजार हटाउने तथा आकाशे पुल निर्माण गर्ने कार्य सम्पन्न भएको थियो । तर अर्कोतिर उनको कार्यकाल आर्थिक अनिमियताको विवादबाट अछुतो रहन भने सकेन ।

उनका कार्यकालमा सम्पन्न भएका कतिपय परियोजनाहरूमा व्यापक भ्रष्टाचार भएको कुरा मिडियामार्फत बाहिर आयो । तर उनी आफूलाई निष्कलंक देखाउँदै परियोजनामा भएका अनियमितताहरू कार्यरत इन्जिनियर र कर्मचारीबाट भएको हुन सक्छ भन्छन्  ।

‘नेपालको लोकतान्त्रिक आन्दोलनमा सिंह परिवारको योगदान चानचुने छैन ।’ नेपाली कांग्रेसका संस्थापक नेता गणेशमानको चाक्सीबारीस्थित निवासकै आँगनबाट २०४६ सालको जनआन्दोलन घोषणा गरिएको थियो । चाक्सीबारीमा बुहारीका रूपमा भित्रिएपछि सिंह परिवारको पहिचान उनलाई मिल्नु स्वाभाविक नै हो । विद्यार्थी राजनीतिदेखि नै आफूले प्रजातान्त्रिक आन्दोलनमा देखाएको सक्रियता र योगदानका आधारमा सिर्जनाले अहिले आफ्नो पहिचान खोजेकी छिन् ।

नेपाली काङ्ग्रेसको भित्रको राजनीतिलाई नजिक नियालेका परराष्ट्र विज्ञ तथा अमेरिका र बेलायतका पुर्व राजदुत डा. शुरेशचन्द्र चालिसे मेयर उम्मेदवार सिर्जना सिंहप्रति यस्तो धारणा छ-- 'नेपालको लोकतान्त्रिक आन्दोलनमा सिंह परिवारको योगदान चानचुने छैन। नेपाली कांग्रेसका संस्थापक नेता गणेशमानको चाक्सीबारीस्थित निवासकै आँगनबाट २०४६ सालको जनआन्दोलन घोषणा गरिएको थियो । चाक्सीबारीमा बुहारीका रूपमा l सिंह परिवारको पहिचान उनलाई मिल्नु स्वभाविक नै हो । विद्यार्थी राजनीतिदेखि नै आफूले प्रजातान्त्रिक आन्दोलनमा देखाएको सक्रियता र योगदानका  आधारमा सिर्जनाले अहिले आफ्नो पहिचान खोजेकी छिन् ।'

तराईबासी मधेसी समुदायका प्राध्यापक विपिन देव भन्छन्, ‘इतिहासको कालखण्डदेखि आजसम्म निष्ठावान् राजनीतिको प्रभाव, पार्टी प्रतिबन्धित अवस्थामा प्रजातन्त्र प्राप्तिकै निम्ति सिर्जनाले खेलेको सक्रिय राजनीतिका कारण उनी अहिले महानगर मेयर पदको उम्मेदवार बन्ने मौका पाउनुभयो, उहाँ सक्षम हुनुहुन्छ ।’ 

तराईबासी अर्का प्रोफेसर विनय झा भन्छन्, ‘निष्ठा, मूल्य मान्यताको राजनीतिमा खडेरी आएको बेला, लोकतन्त्रका लागि लामो गौरवमय इतिहास रच्ने सर्वमान्य नेता गणेशमान सिंह परिवारको महिला सदस्य जसले सामाजिक कार्यबाट समाज परिवर्तन गर्न खोज्ने सिर्जना सिंह काठमाडाँै महानगरको मेयर पदमा अब्बल उम्मेदवार हुन् ।’


Author

थप समाचार
x