विचार

पाँचदलीय गठबन्धन : न यता, न उता

राजाराम बर्ताैला |
बैशाख २७, २०७९ मंगलबार १९:५६ बजे

राष्ट्रिय राजनीतिमा गठबन्धन संस्कृतिको विकास हुनु भनेको प्रकारान्तरले राजनीतिक स्थिरताका लागि दलगत सहिष्णुता र परिपक्वताको मानक हो । राजनीति सम्भावनाको खेल भएको हुँदा जनमत सधैँ एउटै पक्षको हुन्छ भन्ने हुँदैन । राजनीतिक दलहरूले बोलेका, प्रतिबद्धता जनाएका विकासका र जनसेवाका एजेन्डाहरू सत्तामा हुँदा भए गरेका कार्यसम्पादनको हिसाबले कुन कदसम्म सफल रहे र जनताको भावना र मन जित्न सफल रहे भन्ने कुराको परीक्षण आवधिक निर्वाचनका परिणामले देखाउने कुरा हो र त्यसको परीक्षण हुने नै छ ।  

नेपालमा भएको राजनीतिक परिवर्तनपछि संविधानबमोजिम २०७४ मा भएको स्थानीय, प्रान्तीय तथा संघीय निर्वाचनबाट निर्वाचित भएका प्रतिनिधिहरू र तिनीहरूले निर्माण गरेका सरकारहरूको कार्यकाल सकिने अवस्थामा रहेको छ र अर्को आवधिक निर्वाचनको चरणमा नेपाल प्रवेश गरेको छ । त्यसैले यो वर्ष २०७९ लाई निर्वाचन वर्षभन्दा हुने भएको छ । यसै प्रक्रियाको प्रथम चरणमा ७५३ स्थानीय तहका लागि यही वैशाख ३० गते निर्वाचन हुन गइरहेको छ । 


जति जति निर्वाचनको मिति नजिकिँदै गइरहेको छ त्यति त्यति चुनावी प्रचारप्रसारले गति लिँदै गइरहेको छ, साथै प्रचारप्रसारका नयाँ नयाँ शैली र तरिकाहरूको प्रयोग देखिँदै गएको पनि छ । पाँच वर्षसम्म गुट, उपगुट, तेरो र मेरोको झगडामा बिताएका राजनीतिक दलहरू चुनाव नजिकिँदै गर्दा अनेक राजनीतिक दाउपेच, हतकण्डा र रणनीतिहरूको प्रयोग गर्नमा व्यस्त देखिएका छन् । राजनीतिक दलहरू र त्यसका शीर्ष नेताहरूलाई दल तथा आफ्नो अस्तित्व रक्षा तथा आगामी भविष्यको आशंकाले ग्रस्त गर्दै लगेको कुरा तिनीहरूका बोली तथा व्यवहारहरूले देखाउँदै गएका छन् । चुनावी तालमेल र सम्भावित विजयका लागि गठबन्धन बनाउने क्रियामा बलिष्ठ भनिएका दलहरू अभ्यस्त देखिएका छन् । 

राजनीतिक रणनीतिकारहरू यो पाँचदलीय गठबन्धन मुलुकका लागि अधिनायकवादी शासन सत्ताको बर्खिलाप लोकतन्त्र रक्षार्थ अझै लामो समयसम्म आवश्यक रहेको कुरा दर्साउँछन् जुन कुरा आफँैमा विरोधाभाषी देखिन्छन् । त्यो किन पनि भने गठबन्धन निर्माण हुँदा विद्यमान राजनीतिक अवस्था र तत्वहरू प्रमुख कारकका रूपमा हेरिनु पर्दछ । 

२०७४ को स्थानीय निर्वाचनमा पनि नेपाली कांग्रेसले नेकपा माओवादीसँग चुनावी तालमेल गरेको थियो । तर संघीय र प्रान्तीय निर्वाचनमा नेकपा (माओवादी) एमालेसँग टाउको जोड्न पुग्यो र अन्ततः दुई दललाई एकीकरण गरेर संसद्मा झन्डै दुई तिहाइ बहुमत प्राप्त दल बन्न पुगेको थियो । गत निर्वाचनमा नेपाली काँग्रेस दुई साम्यवादी हलहरूलाई एउटै खेमामा जानबाट रोक्न असफल भएकै हो । 

बहुमतको घमण्डबाट फुर्किएको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा नेपाल सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीको शासन सत्तामा एकाधिकारसहित अधिनायकवादी शैलीमा अघि बढ्दा अन्य सहयात्री नेताहरूको शासकीय महत्वाकांक्षा तथा शासकीय लाभबाट वञ्चित हुन पुग्दा आन्तरिक बेमेल तथा विग्रह आएको हो । निजहरूको विद्रोह र दलको विखन्डन हुनुमा कुनै नैतिक, सैद्धान्तिक वा दार्शनिक आधार वा कारणहरू थिएनन् । यस किसिमको विद्रोही नेताहरूबाट बनाइएको सत्ता साझेदारीको गठबन्धन टिकाउ र भरपर्दो हुँदैन । कुनै पनि बेला भत्कन सक्छ । 

अहिलेको निर्वाचन माहौल हुँदा निर्वाचन पाँचदलीय गठबन्धन र नेकपा (एमाले) बीचको प्रतिस्पर्धा नै प्रमुख देखिन्छ । चुनाव प्रचारको सिलसिलामा नेकपा एमालेले आफूलाई जतिसुकै बलिष्ठ छु भनेर प्रचार गरे पनि यथार्थमा ऊ स्वयं पनि साना दलहरूको सहयोगमा गठबन्धन निर्माणमा निर्वाचन लडिरहेको छ । एमालेको गठबन्धनमा कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र परिवार दलसहित अन्य ससाना साम्यवादी दलहरू जोडिन पुगेका छन् । जीत उसैको हुन्छ भन्नेमा आश्वस्त हुन सकेको छैन र भयभीत अवस्थामा चुनावी रणनीतिहरू सिर्जना गर्नमा व्यस्त छ । यस्तो अवस्थामा स्थानीय निर्वाचनमा कुन दलको पल्ला भारी छ र अधिकांश सिटमा विजयी हुन्छ भनेर अहिले नै भनिहाल्न सकिने स्थिति छैन । तर यति चाहिँ भन्न सकिन्छ कि यो स्थानीय निर्वाचनपछि राष्ट्रिय राजनीतिमा तात्विक भिन्नता आउने छ र त्यो रणनीतिक रूपमा अहिलेको भन्दा फरक देखिनेछ । 

मुलुकमा व्याप्त अस्थिरताको राजनीतिलाई गठबन्धनको राजनीतिले केही हदसम्म सम्हालेको देखिए तापनि गठबन्धनभित्रको बाध्यकारी अवस्था र त्यसले सिर्जना गरेको अन्योल भविष्यको कल्पनाले मुलुकले अंगिकार गरेको राजनीतिक पद्धतिको स्थिरतामा आशंका गर्न पर्ने ठाउँहरू सिर्जना गर्दै गएको देखिन्छ । पाँचदलीय गठबन्धन आफैँभित्र पनि अनेक स्थानमा बेमेलमा तस्बिरहरू बाहिर आइरहेका छन् । गठबन्धनमा रहेका दलहरूको राष्ट्रिय राजनीतिक स्वार्थभन्दा आआफ्नै राजनीतिक स्वार्थले गर्दा क्षणिक लाभहानीको अंकगणितीय खेलमा व्यस्त दखिन्छन् । नेकपा एमालेभित्रको विरोधाभासमा खेलेर गठबन्धन सुदृढ गर्नुभन्दा गठबन्धनका सदस्यहरू बीचमा नै कसरी आफ्नो दललाई बढी लाभ लिने भन्ने नीतिमा रहँदा नेपाली कांग्रेसको चुनावी रणनीति कमजोर हुँदै गएको प्रतीत हुन्छ ।

रणनीतिक रूपमा एमाले सुरुका दिनहरूमा भन्दा चुनावी माहोल तात्दै गर्दा र प्रचारले गति लिँदै जाँदा बलियो बन्दै गएको अनुमान गर्न सकिन्छ । स्थानीय निर्वाचन भए पनि चुनावी रणनीति र आफूले विश्वास गरेको राजनीतिक दलको विजयका लागि आन्तरिक तथा बाह्य तत्वहरू पनि परोक्ष तथा अपरोक्षरूपमा आर्थिक तथा रणनीतिक सहयोग दिएर सलबलाएका नै होलान् भन्ने लाग्छ । यस्तो किन पनि भने यो निर्वाचनले प्रान्तीय तथा संघीय निर्वाचनका लागि बलियो आधारशिला निर्माण गर्ने भएको हुँदा शुभेच्छुक मित्रहरूको शुभेच्छा र सहयोगलाई नकार्न सकिँदैन । स्थानीय निर्वाचनमा पराजित दललाई संघीय निर्वाचनमा बहुमत सिर्जना गर्न कठिन यात्रा तय गर्नुपर्ने हुन्छ । त्यसकारण पनि अहिलेको गठबन्धन भत्कने र नयाँ निर्माण हुने प्रबल सम्भावना देखिन्छ । 

निर्वाचनको परिस्थिति र परिवेशको वस्तुस्थिति साथै राजनीतिक दलहरूका कार्यकताहरूबीचको वैमनस्य, बेमेल तथा केन्द्रीय नीति विरुद्धको विग्रह आदिलाई हेर्दा कतिपय स्थानमा अनपेक्षित परिणाम आउन सक्ने आँकलन गर्न थालिएको छ । 

अहिले सबैको ध्यान भरतपुर र काठमाडौँ महानगरपालिकाको निर्वाचनमा आकर्षित भएको देखिन्छ । त्यस्तो किन भइरहेको छ भने भरतपुरमा नेकपा (माओवादी) नेता प्रचण्डपुत्री रेनु दाहाल गठबन्धनको तर्फबाट मेयरको प्रत्यासी हुनुहुन्छ भने नेपाली कांग्रेसबाट विग्रह गरी प्रत्यासी बनेका उम्मेदवार पनि मैदान देखिएका छन् । जसरी नेकाको विद्रोही उम्मेदवारले चुनावी प्रचारमा मतदाताहरूबाट साथ र सहयोग पाइरहेको देखिँदा गठबन्धनको चुनावी रणनीति र प्रचार शैली कमजोर भएको देखिन्छ साथै केही प्रचारकहरूको असंगत भाषणबाजीले मतदाता आकर्षण गर्न बल पुगेको दखिँदैन । केन्द्रीय तहका नेताहरूबीच तालमेल देखिए पनि स्थानीय स्तरमा कार्यकताहरूबीच बेमेल, मनोमालिन्य र विकर्षण देखिन्छ । कार्यकर्ताहरूबीचमा गठबन्धनलाई प्राकृतिक रूपमा स्वीकार गर्न सकेको देखिँदैन । यो यथार्थलाई शीर्ष नेतृत्व तहले बुझेर रणनीतिक चाल चल्न सकेको पनि देखिँदैन ।

अर्कोतर्फ काठमाडौँ महानगरको निर्वाचन रोमाञ्चक अवस्थामा पुगेको देखिन्छ । यहाँको माहोलको पूर्वानुमान गर्दा मतदाताहरू परिवर्तनको पक्षमा उभिएको भान हुन्छ । एमालेले आफ्नो गढ नै मानेको काठमाडौँमा नेकाँकी नेतृ सिर्जना सिंहले विजय माला लगाउने सम्भावनाका तस्बिरहरू देखिँदै गएका छन् । उपमेयरमा एमालेकी युवा नेतृले विजय पाइन् भने महिलाको नेतृत्व क्षमतालाई नगरवासीले विश्वास गरेको देखिनेछ भने युवा नेत्रीको पक्षमा मतदान गरेर परिवर्तनको संकेतसहित ठूला भनिएका दुई राजनीतिक दलहरूबीच सन्तुलन गरेको समेत पनि देखिने सम्भावनाहरू देखिँदै गएका छन् । 

माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेससँग गठबन्धन निर्माण गर्नुलाई विभीषण प्रवृत्तिसँग जोडेर हेर्दा रहेछन् मतदाताहरू । रावणको हेपाइ, पेलाइ, अपमान र तिरस्कारले वाक्क र दिक्क भएपछि सहोदर भाइको विरुद्धस्वार्थ प्रेरित रामसँगको संगम । सम्भावनाको कुरा न हो । कुनै दीर्घ योजनाबेगर स्वार्थ पे्ररित बनेको गठबन्धन अर्को पक्षले धेरै लाभको प्रस्ताव ग¥यो भने वा धृतराष्ट्र चरित्रका प्रचण्डले कथम् रेनु दाहल पराजित भएको प्रतिक्रियास्वरूप साम्यवादीहरूको बृहत्तर र एकीकृत दल निर्माणको अभियानमा पुनः एकता नहोला भन्न सकिन्न । साम्यवादीहरूको यस किसिमको रणनीतिक सफलता प्राप्त भएको खण्डमा लोकतान्त्रिक शक्तिको क्षयीकरणको दोष नेपाली कांग्रेसको अक्षमतामा लाग्नेछ । 

चुनावी जोडघटाउ गर्दै गर्दा यसको यथार्थ परिणाम देखिन अब धेरै दिनको प्रतीक्षा गर्न पर्ने छैन । जे जस्तो परिणाम देखिए पनि संघीय निर्वाचनअघि राजनीतिक रणनीतिक परिदृश्यमा परिवर्तन र फरक तरङ्गहरू देखिनेछन् । निर्वाचनपश्चात् पुनः साम्यवादी दलहरूबीचको बृहत्तर एकता प्रयास गरिने छ, जसका लागि भित्री तथा बाहिरी स्वार्थ समूहहरूको जोड रहने नै छ । माधव नेपाल र प्रचण्डको व्यवस्थापन गर्न शक्तिशाली पदहरूको सिर्जना गरी शासकीय लाभहरूमा पहुँच दिएपछि आकर्षित नहुने सम्भावना नै छैन । सधैँ किङमेकरका रूपमा रहन रुचाउने प्रचण्डका लागि यस किसिमको राजनीतिक हेरफेर अर्को अवसर साबित हुनेछ । 
 


Author

थप समाचार
x