विचार

राष्ट्रिय झगडालुहरूलाई अनुरोध

पूर्णबहादुर परियार |
बैशाख २८, २०७९ बुधबार ९:२३ बजे

शिक्षा र स्वास्थ्य पद्धति बिग्रेको देखियो, निजी संस्था विकल्प देखियो, यस्तै रोगहरू अन्य मन्त्रालयहरूमा पनि संक्रमित छ । सबै क्षेत्रमा लगभग ३ करोड जनसंख्यालाई व्यवस्थित गर्न सक्ने पद्धति बन्‍न नसक्नुले नै आजको भयावह स्थिति भएको हो । कुनै पनि ठूला रोग एकैपटक लाग्ने र थला पर्ने होइन, चाहे त्यो क्यान्सर होस् या ग्यास्ट्रिक हामीले पटकपटक गरेका लापरबाही र हेलचक्य्राइँका कारण शरीरले थेग्न नसकेपछि अल्सर र क्यान्सर हुने न हो । 

सिङ्गो राष्ट्रलाई शरीर मान्‍ने हो भने शरीर स्वस्थ रहन प्राकृतिक प्रणाली छ तर मुलुकलाई स्वस्थ राख्न प्रणाली बन्‍नुपर्ने कि नपर्ने ? युरोप, अमेरिका, अस्ट्रेलियामा दीक्षित शिक्षाको नामले किन हाम्रो छाती फुल्छ ? अबको हाम्रो उच्च शिक्षाको स्थायी मार्ग यही हो ? एकातर्फ राष्ट्रियताको महत्व बुझ्न बाँकी नयाँ पुस्ता विकल्प खोज्दै गर्दा मुलुककै विकल्प खोज्दैछन्, अर्कोतर्फ विदेशको विदेशी जीवनशैलीबाट वाक्कदिक्क भएकाहरू नेपाल बन्छ कि बन्यो कि फेसबुक र ट्‍वीटर जस्ता सामाजिक सन्जालरुपी छिद्रहरूमार्फत रोष र अपेक्षा दुवै देखिन्छ । के सबै जना उच्च शिक्षाकै लागि बाहिरिएका हुन् ? हामीबाट केही सम्भव छैन ?


कुनै पनि मुकुकको विकास, सभ्यता, जीवनशैली त्यो मुलुकको शिक्षाको ऐना हो । बच्चा जन्मन्छ, बोली स्पष्ट नहुँदै गह्रौं झोला बोकाएर विद्यालय पठाइन्छ, १८ वर्ष पुगेपछि नेपालमा भविष्य देख्दैन अनि पासपोर्ट बोक्छ र गच्छेअनुसारको मुलुक गन्तव्य बन्छ । अबको पुस्ता हामीले बलिदान नै गर्ने हो ? के हामीलाई हाम्रो आफ्नै पुस्ताले छाडोस् र अर्को मुलुकको नागरिक बनोस् । हामी के के निर्यात गर्ने ? के के आयात गर्ने ? कतै हामी ठीक उल्टो गरेका त छैनौँ ?

हाम्रो नाकै काट्ने आयातहरूको चर्चा गरौँ :
पानी पिएर मात्र लडेको वीरगाथाको चर्चा गरिन्छ । हिमाल र पहाडले भरिएको कञ्चन पानी पाइने नेपालमा अर्बौं रुपैयाँको पानी भित्रिन्छ भन्‍ने कमै व्यक्तिलाई थाहा होला । सुपरमार्केट, विशेष गरी पर्यटकीय क्षेत्र ठमेलमा गई पानीको विदेशी ब्रान्डका पानीको मूल्य ध्यानपूर्वक हेर्नुभयो भने होस हवास नै उड्छ । यो आयात बाध्यता हो । भारतबाट आउने ‘किन्ले’ ब्राण्डको पानी त छ्यापछ्याप्ती साधारण किराना पसल र रेस्टुरेन्टमा देख्न पाइन्छ । 

फिजीले अमेरिकालाई १९९५ देखि नै मिनरल पानी आपूर्ति गर्दै आइरहेको छ, ब्रान्डको नाम पनि ‘फिजी’ नै हो । यो मुलुकबाट अमेरिकासहित अरु ४० मुलुकमा पानी आपूर्ति गर्दछ । अदुवा नगदे बाली हो हाम्रो मुलुकबाट वर्षेनि निर्यात हुने गर्थ्यो । अब आफ्नो घरको भान्सामा गएर हरौँ, त्यो अदुवा आयातित हुनेछ । व्यावसायिक रुपले उत्पादन गर्न सकेमा अदुवा ठूलो परिमाणमा अमेरिका, जापान, नेदरल्याान्ड, पाकिस्तान, बङ्लादेश, जर्मनी, यूके, मलेसिया, यूएई, साउदी अरेबिया, क्यानडा, भारत, फ्रान्स, मोरोक्को, इटाली, स्पेन, सिङ्गापुर, यमन, पोल्यान्ड उच्च आयातनमा अदुवा आयात गर्ने राष्ट्रहरू हुन् । अहिले हामीले अदुवा चीन र भारत बाट आयात गर्दै उपभोग गर्दैछौँ ।

पानी नै पानी भएको मुलुकमा माछा आयात गरिन्छ । विशेष गुयोजना तयार गरी कृत्रिम तालतलैया निर्माण गरी व्यावसायिक माछापालन गर्ने सके ठूलो धनराशि मुलुक बाहिरिनबाट जोगिन्थ्यो र साथै पानीको संरक्षण हुन्थ्यो । अन्‍नबालीमा मकै खेती गुजरामुखी हुँदै बिस्तारै कम हुँदै गएको जगजागेर नै छ । तर कुखुराको दाना निर्माण गर्नका निमित्त मकै धमाधम भारतबाट आयात गरिन्छ । कोदोको कथा पनि त्यस्तै छ । तरकारी र फलफूल बारेमा त कुरै नगरौँ, भारतीय राजदूतावासले विषादीजन्य तरकारीको गुनासोमा ‘ब’ पनि उच्चारण गर्न नपाउँदै खाए खा नत्र घिच भन्‍ने आशयको चिट्ठी लेखेर जवाफ दिएको चिट्ठी सामाजिक सञ्जालमा व्यापक भएको धेरै पुरानो घटना होइन । 

इतिहासदेखि वर्तमानसम्म एउटै वाक्य घोकाइएको थुप्रै वाक्यहरूमा नेपाल कृषिप्रधान मुलुक हो– अन्‍न फलफूल, तरकारी आयात गरिएको छ, जलस्रोतमा धनी मुलुक हो– माछा तथा विद्युत् आयात गरिएको छ, हरियो वन नेपालको धन– काठ तथा फर्निचरहरू आयात गरिएका छन । हामी कहाँ छौँ ?

हिमाल र पहाडले भरिएको कञ्चन पानी पाइने नेपालमा अर्बौं रुपैयाँको पानी भित्रिन्छ भन्‍ने कमै व्यक्तिलाई थाहा होला । सुपरमार्केट, विशेष गरी पर्यटकीय क्षेत्र ठमेलमा गई पानीको विदेशी ब्रान्डका पानीको मूल्य ध्यानपूर्वक हेर्नुभयो भने होस हवास नै उड्छ । यो आयात बाध्यता हो । भारतबाट आउने ‘किन्ले’ ब्राण्डको पानी त छ्यापछ्याप्ती साधारण किराना पसल र रेस्टुरेन्टमा देख्न पाइन्छ ।

आजभन्दा ठीक ४० वर्ष अगाडि कुनै पनि घरको परिसर खुला हुन्थ्यो, एक गोठ धन्सार, करेसाबारी, दोपाया, चौपाया अनिवार्य हुने गर्थ्यो । आफ्नो ठाउँको चौपाया मासुका लागि वध गरिँदा बजारको भन्दा धेरै सस्तो मूल्य हुने गर्थ्यो । चौपाया गाई या भैंसी एक भए घरलाई ठीक्क, दुई हुन सके घरमा नगद सञ्चय हुन्थ्यो, खरिद गर्ने भन्‍नु नै नुन, मसलाजन्य पदार्थ, मट्टितेल, लत्ताकपडा हुन्थ्यो । प्लास्टिकका सामान अति कम प्रयोग हुन्थ्यो, तामाका भाँडाहरूको प्रयोग हुने गर्दथ्यो ।  डोको, डालो, नाङ्गलो, सोली, बाँस र निगालाबाट तयार हुन्थे । यो पारिवारिक धन्दा (फ्यामिली बिजनेस)को रुप थियो, एक बुद्धिमानी पुर्ख्यौली सुरुवात थियो ।

एकपटक घोत्लिएर सोचाँै, के हामी हाम्रो मुलुक जिउँदो राख्न मरिमेटेका छौँ, के हामी हाम्रो सन्तानलाई, वास्तवमा माया गर्छांै ? यो खुला आकाशमा स्वाभिमान पक्षीजस्तै आफूखुसी उडेको स्वाभिमानी देख्न चाहनुहुन्छ ? हो भने बालबच्चाको नैसर्गिक अधिकार भनेको शिक्षा र खेलकुद हो । शिक्षाले खेलकुदलाई निषेध गरेको छ । तपाईंले पढाउनुभएको विद्यालयको खेल मैदान कत्रो छ ? उसले पढाइबाहेक कुन कुन विषयमा रुचि राख्छ ? 

खेलकुद, गीत, संगीत, साहित्य, कलाकारिता, आविष्कार, अनुसन्धान, वक्तृत्वकला, घोडचढी इत्यादिमा लागि पहँुच, समय र स्थान छ ? यी सबै सुविधाहरू हरेक निजी विद्यालयले प्रदान गर्न सक्दैन तर सरकारीले सक्थ्यो तर सरकारी विद्यालयको अवस्था अहिले कस्तो छ ? कसले अनुगमन गर्ने विद्यालय ? निजीमा हामी हातपात गर्न पुग्छौँ, तर सरकारीमा आवाज किन उठाउने ? त्यो त गरिब र निःसहाय पढ्ने विद्यालयमा परिणत गर्नु छ, विभिन्‍न धारका नागरिक बनाउनु छ ।

आज हामी हाम्रा बालबच्चालाई अवसरबाट वञ्चित गराउँछौँ, भोलि त्यो बालक कुन न कुनै बेला अभिभावक बन्दा उसले बल्ल महसुस गर्छ, उसलाई के–के बाट वञ्चित गराइयो । हामी वास्तवमा सन्तानलाई मानव होइन यन्त्र (मेसिन) बनाइरहेका छौँ । आज तपाईं दंग हुनुहुन्छ, भोलि तपाईंलाई दंग बनाइदिन्छ । समय सर्वेसर्वा शक्ति हो, अदृश्य भगवान् हो । तपाईंको सन्तानलाई सुरक्षित भविष्यका लागि गैरनेपाली बनाउने दौडमा हुनुहुन्छ भने त्यो बच्चामा पढेको खरायो र कछुवाको कथालाई पुनःस्मरण गर्नुहोस् । अर्को पटक खरायोले नै जित्ला तर आयु कसको लामो हुन्छ ? खरायो कि कछुवाको ? दिगो विकासका लागि छोटो र छिटो बाटो नै हुँदैन ।  

पर्यटकका लागि प्राकृतिक सौन्दर्य भएको मुलुकमा निश्चित सुविधा दिन सकेमा शिक्षक र प्रोफेसरहरू स्वयंसेवकका रुपमा पाउन सकिन्छ । खर्बौं रुपैयाँ शिक्षाको नाउँमा धुवाँमा उडाउनुको सट्टामा नाम चलेका राम्रा विश्वविद्यालय नै नेपाल ल्याउन सकिँदैन ? कृषि विश्वविद्यालयलाई उच्च प्राथमिकता दिएर व्यावसायिक कृषकले उच्च कार्यसम्पादन गरी आधुनिक कृषिमा परिणाम प्रदर्शन गरेको खण्डमा सैनिक, प्रहरी, कर्मचारीलाई जस्तो तलब, भत्ता, नियमित विदेशमा तालिम र भ्रमण, पेन्सनको व्यवस्था गर्न सके मात्र कृषि क्षेत्रमा उल्लेख्य परिवर्तन आउन सक्छ । नत्र रगतका डल्लाहरूलाई दलाल प्रयोग गरी निर्यात गर्ने, डलर भित्र्याउने, पत्रु खाना खाने खुवाउने, नेपाली हुनुमा गर्व गर्ने । नत्र कृषि, ऊर्जा, पर्यटन कसले सुधार्छ ? ३० वर्ष अगाडि रु १ बराबर एक जापानी १० येन हाम्रो मुद्रा बलियो थियो, अहिले कति छ ? किन अवमूल्यन भयो ?  

नेपालभरिकै आशालाग्दा कर्णधारहरू १० या १२ पास गरेपछि काठमाडौँका लजमा भरिन्छन् र तर्क वितर्क गरिरहेका हुन्छन् खाडी, सेन्जेन भिसा, अमेरिका, माल्टा, रोमानिया जाने वैध र अवैध बाटोबाट कसरी जाने भन्‍ने छलफल हुने गर्छ । विदेशबाट सामान आयात गर्दा कर आइरहेकै थियो, अहिले आयातमा कडाइ गर्नुपर्‍यो । युवाहरू बेचेर रेमिट्यान्स आइरहेको थियो, एकदिन सबैले बुझ्नेछन्, यो पनि बन्द नै गर्नुपर्ने रहेछ । खर्बौं रुपैयाँ बजेट खर्च गरेर नागरिक दीक्षित गर्नुको तात्पर्य के हो ? युरोप, अमेरिका, अस्ट्रेलिया अब्बल, हामी किन पछाडि ?


Author

थप समाचार
x