प्याराग्लाइडिङको भविष्य खोज्दै पोखरेली व्यवसायी
पोखरा- नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले २०२२ जनवरीदेखि पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने तयारी थालेको छ । जहाज र प्याराग्लाइडिङको उडान एकै पटक र एउटै आकाशमा सम्भव नहुने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आगामी जनवरीदेखि पोखरामा प्याराग्लाइडिङ उडान अन्यत्रै सार्न निर्देशन दिई सकेको छ । तर पोखराका प्यारा पाइलटहरू यससँग सम्बन्धित संस्था र पर्यटन व्यवसायीहरु क्यानको निर्देशन मान्न तयार छैनन् । सकेसम्म पोखराकै आकाशमा उडान हुँदै आएको उडान अन्यत्र सार्न नहुने भन्दै लबिङमा छन् ।
पोखराको आकाशमा झण्डै अढाइ दशकदेखि भइरहेको प्याराग्लाइडिङ उडानलाई अन्यत्र सार्दा पर्यटन क्षेत्रमै धक्का पुग्ने यहाँका व्यवसायीहरुको भनाइ छ । उनीहरु पोखरा विमानस्थल संचालनमा आएपनि २४ सै घण्टा व्यस्त नहुने भएकाले समय तोकेरै प्याराग्लाइडिङ उडान गर्न दिनुपर्ने व्यवसायीहरुको माग छ । उनीहरुले अहिले दिनभर जसो उडान भइरहेकोमा अब समय तोकेर उडान गर्न दिन व्यवसायी र पाइलटको माग छ । विदेशमा पनि यस्तो अभ्यास रहेको नेपाल हवाई खेलकुद संस्था पोखराका पूर्व अध्यक्ष योगेश भट्टराई बताउँछन् ।
पोखरामा करिब ३५० जना व्यावसायिक पाइलट छन् भने ६० भन्दा बढी प्याराग्लाइडिङ कम्पनीहरु छन् । पोखराको आकाशमा भईरहेको प्याराग्लाइडिङ उडान विश्वमै उत्कृष्ट तीनमा पर्ने व्यवसायीहरुको भनाइ छ । पोखराका प्याराग्लाइडिङ व्यवसाय सुरु भएदेखि अहिलेसम्म करिब ४० लाख पर्यटकले उडान गरिसकेका छन् । पोखरामा सन् १९९६ देखि प्याराग्लाइडिङ उडान सुरु भएको हो भने सन् २००० देखि व्यावसायिक उडान थालिएको पोखराका पुराना प्यारा पाइलट राजेश बम्जन बताउँछन् । कास्कीको सराङकोट, तोरीपानी र मान्द्रेढुंगाबाट प्याराग्लाइडिङ उडान भरेर फेवाताल किनारमा अवतरण गर्दै आएका छन् । पोखराबाट विस्थापित भएको खण्डमा पर्यटकको बसाई अवधि कम हुने, पर्यटक आगमनमै आउने व्यवसायीको भनाइ छ ।
पोखराको सराङकोटबाट प्याराग्लाइडिङ उडान जस्तो अनुकूल मौसम नेपालको अन्य कुनै ठाउँमा नरहेको बम्जनले बताए । कोरोनाले थलिएको पर्यटन क्षेत्र ब्यूँताउन प्याराग्लाइडिङले निकै नै सघाएको उनको अनुभव छ । बमजनले मौसमको हिसाबले पनि सराङकोट वर्षभरिका लागि उड्न योग्य हुने बताउँछन् । ‘पोखरामा जत्तिको यो सहजता अन्यत्र कतै छैन । फेवाताल, बाटो, दृश्यावलोकनले पनि सराङकोट उपयुक्त हो,’ उनले भने । उनका अनुसार फेवातालका कारण प्याराग्लाइडिङ उडानको लागि आवश्यक वातावरणीय अवस्था सराङकोटमा बन्ने गरेको छ ।
पर्यटन क्षेत्रका लागि विमानस्थल आवश्यक हुँदाहुँदै पनि प्याराग्लाइडिङ उडानलाई पोखरामै राख्नुपर्ने नाका पूर्व अध्यक्ष योगेश भट्टराईले बताए । पोखराबाट प्याराग्लाइडिङ विस्थापित भए त्यसले राज्यको आम्दानी, व्यवसायीको लगानी र रोजगारीमा धक्का पुग्ने उनको भनाइ छ । ‘हाम्रो पहिलो उद्देश्य भनेको पोखरामा राख्नुपर्छ भन्ने हाम्रो चाहना हो,’ उनले भने, ‘कतिपय प्राविधिक कुराहरु पनि छन् तर पनि हामी के आशावादी छौं भने राज्यले यस्ता चिज राख्न सकेमा पोखराको पर्यटकको बसाइँ लम्ब्याउन सहयोग गर्छ ।’ पोखराभन्दा बाहिर गएमा यसको चार्मिङ चटेर जान सक्ने उनको आकलन थियो । ‘उड्ने बितिकै देखिने हिमाल र तालको दृष्य देखिने कारण नेपाल प्याराग्लाइडिङको हबरुपमा विश्वकै टप ५ भित्र पर्छ,’ उनले भने, ‘यसलाई स्थानान्तरण गरिएपछि प्यारा उड्न भनेर आउने पर्यटकहरु कम हुन सक्छन् ।’ विकाससँगै विनाश हुँदै जाने हो भने पोखराको पर्यटन बिग्रिँदै जाने उनले बताए । प्राविधिक विषय मिलाएर २/३ घण्टा उडाउन सकिने सम्भावना रहेको उनको भनाइ थियो ।
पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारीसँगै पर्यटन व्यवसायीमा चिन्ता थपिएको बताए । निकै ठूलो धनराशि खर्चेर धेरै व्यवसायी यस क्षेत्रमा लागेकोमा अहिले आएर विस्थापित भइने चिन्तामा व्यवसायी रहेको उनले बताए । उनले विमानस्थल निर्माण गरेर चीनको कम्पनी फिर्ता गइसकेको अवस्थामा अहिलेसम्म फोहोर व्यवस्थापन, नाला निर्माणको व्यवस्थापन र डाँडो काट्ने काम सम्पन्न हुन नसकेकोमा चिन्ता व्यक्त गरे । भट्टराईले पोखराको गहनाको रूपमा रहेको प्याराग्लाइडिङ व्यवसायलाई जोगाउन पहिले पर्यटन व्यवसायीहरू एकताबद्ध हुनुपर्नेमा जोड दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया