पर्यटन

रारा क्षेत्रमा मानवीय अतिक्रमण : रैथाने वनस्पति न जीवजन्तु

इकागज |
साउन ३, २०७९ मंगलबार १५:४२ बजे

मुगु- चारैतिर जंगल, मनोरम दृश्यले सधैँ झकिझकाउ । मनोरम दृश्यबीच डुबुल्की मार्दै बसेकी रारा पर्यटकका लागि सधै तैनाथ । रारालाई अझै मनोरम बनाउन यहाँ च्याउसरी उम्रिएका पुष्प अर्थात फूलको भूमिका पनि कम छैन । 

रारालाई सुन्दर बनाउने यी फूल पछिल्लो समय मुस्किलले देखिने गरेका छन् । केही वर्षसम्म सहजै देखिने कलिला मुना जस्तै फुलहरू पछिल्लो समय बिस्तारैबिस्तारै देखिन छाडेका छन् । यसरी फूलहरू हराउँदा राराको सौन्दर्य नै खस्किने पो हो की भनेर पर्यटकहरूले चिन्ता जताउन थालेका छन् । विभिन्न रंगीबिरंगी फूलले फूलबारी जस्तै बन्ने रारा परिसर दोस्रो तेस्रो पटक रारा पुग्नेहरूले अचेल केही कमी भएको अनुभव गर्न थालेका छन् । 


रारा राष्ट्रिय निकुञ्जअन्तर्गत राराताल वरिपरी फुल्ने २५ प्रकारका फूल, १२ प्रजातिका चरा र १६ प्रजातिका वन्यजन्तु लोप हुँदै गएका छन् । निकुञ्जले पाँच वर्ष अगाडि गरेको अध्ययनअनुसार रारा ताल आसपासमा एक सय ६५ किसिमका वन्यजन्तु, तीन सय दुई प्रजातिका चरा र एक सय ६३ प्रजातिका फूल पाइन्थे । 

तर अहिले रातो र सेतो गुराँस, भदुरी, चमौली, बुकी, डोइली, म्याकुरो, कटुकी, अत्तिसलगायत फूल देखिदैनन् । यस्तै, च्याखुरा, तित्रा, कालिज, ढुकुर, कोइली लगायत चरा र घोरल, झारल, बदेँल, चितुवा, भालु, मृग, रतुवा लगायत वन्यजन्तुहरू देखिनै छाडेका छन् । 

निकुञ्ज क्षेत्रका कार्कीबाडा, तलितुम, माथितुम, पिना, झ्यारी, मुर्मा, भामबाडालगायत बस्तीका करिब तीन हजार पशुचौपाया जथाभाबी छोड्दा फुलहरू लोप भएको हुनसक्ने पर्यटकहरूको अनुमान छ । 

अव्यवस्थित चरिचरन र मानवीय क्रियाकलापले फुलहरू नष्ट भइरहेको जानकारहरू बताउँछन् । फूलहरू मासिँदै गएपछि राराताल आसपासको क्षेत्र उजाड देखिन थालेको छ । पछिल्लो समय मानवीय क्रियाकलाप पनि बढ्दै गएको, पशु चौपाया, गाई , भँैसी, घोडा लगायतले वनस्पतिमा ठूलो असर पारिरहेको रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत बद्रिविनोद दाहालले बताए । रारामा पर्यटक बोक्ने घोडाहरूले गर्दा पनि जैविक विविधतामा ठूलो असर परिरहेको छ ।

गतवर्ष निकुञ्जमा ५० हेक्टर क्षेत्रमा आगलागी भएको थियो भने यो वर्ष दुई हेक्टरमा आगलागी भएको सल्लेरी पोष्टका कमल बुढाले बताए । 
 


Author

थप समाचार
x