जनकपुर-जयनगर रेल
बढ्दै धार्मिक पर्यटक, भारतीय यात्रुहरू खुसी
फाइल तस्बिर
काठमाडौँ- जनकपुर–जयनगर रेल सञ्चालनमा आएसँगै नेपालमा तीर्थयात्रा गर्ने भारतीय यात्रुहरूलाई सहज भएको छ ।
नेपालको कुर्थादेखि भारतको जयनगरसम्म रेल नियमित सञ्चालन हुन थालेपछि नेपालमा धार्मिक पर्यटकका साथै अन्य पर्यटकहरूलाई पनि आवतजावतका लागि सहज बनेको हो ।
वि.सं २०७८ चैत्र १९ गते प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल रूपमा सीमापार रेल सेवाको शुभारम्भ गरेका थिए । सन् २०७१ देखि रेल मार्ग स्तरोन्नति हेतु भारतले रेल सेवा पूर्ण बन्द गरेको थियो । गत चैत्रबाट रेल सेवा पुनः सञ्चालनमा आएसँगै पशुपतिनाथको दर्शन गर्न आउने भारतीय पर्यटकहरूलाई सहज बनेको छ । साथै नेपालबाट भारत जाने र आउनका लागि पनि रेल मार्ग सहज बनेको यात्रुहरूको भनाइ छ ।
रेल सञ्चालनमा आएसँगै भारत र नेपालबीच जनकपुर हुँदै भारत जाने र आउनेहरूका लागि यातायातको सेवा व्यवस्थित बनेको उनीहरू बताउँछन् । त्यस्तै अर्की भारतीय पर्यटक सुमन भिवाले नेपालमा घुम्न आउँदा रमाइलो महसुस भएको बताइन् । उनले रेलको यात्रा पनि धेरै सहज र राम्रो रहेको प्रतिक्रिया दिइन् । पहिला धेरै समस्या हुने गरेपनि अहिले रेल सञ्चालनमा आएपछि भने धेरै सहज बनेको बताइन् ।
त्यस्तै भारतीय यात्रु सरिता कुमारीले नेपाल र भारत रेल्वे सेवा सञ्चालनका कारण धेरै सुविधा थपिएको सुनाइन् । उनले दिनमा दुईपटक मात्रै चल्ने भएकोले केही समस्या भएको र अब यो संख्यालाई बढाएर लैजानुपर्ने आवश्यक्ता रहेको जिकिर गरिन् । रेल चल्दा समयका साथसाथै पैसाको पनि वचत भएको बताइन् । रेलमा बसमा भन्दा धेरै सुविधा हुने र परिवारसहित यात्रा गर्दा रेल नै उपयुक्त हुने बताइन् ।
यात्रु रञ्जुकुमारी देवीले रेल सञ्चालन भएपछि यात्राका लागि राम्रो भएको बताइन् । त्यस्तै भारतको बिहारका रामकृष्णले रेल सञ्चालनपछि काठमाडौँको पशुपतिनाथ आउँदा सहज भएको र अन्य धार्मिक स्थलको भ्रमणका लागि यात्रा गर्न सहज बनेको बताइन् । रेल सञ्चालनपछि समयको वचत भएको र सेवा पनि राम्रो रहेको उल्लेख गरिन् । त्यस्तै भारतबाट घुम्नका लागि नेपाल आउनुभएका यात्रु विभाकर कुमारले नेपालमा रेलबाट आउँदा छिटो भएको र घुम्न पनि रमाइलो भएको सुनाए । त्यस्तै अर्का भारतीय यात्रु बलरामकुमारले रेलको यात्रा धेरै राम्रो भएको र समयको पनि बचत भएको बताए । उनले पशुपति घुम्न आउन रेल सञ्चालनले धेरै सहज बनाएको र पशुपतिनाथ मन्दिर धेरै राम्रो लागेको जिकिर गरे ।
त्यस्तै टिकट विक्रेता सन्तुकुमार यादवले यात्रुहरूको चाप बढीरहेको जानकारी दिए । उनले रेलहरू अझै थपेर दिनमा जतिसक्दो धेरैपटक रेल सञ्चालन गर्दा अहिलेको चापलाई धान्न सकिने बताए । उनले भारतबाट आउने यात्रु लगभग ४५ प्रतिशत हाराहारीमा रहेको र अन्य यात्रु भने स्थानीय रहेको बताए । उनले यात्रुहरूले पनि दिनमा तीनदेखि चार पटक रेल ओहोरदोहोर गरेमा सहज हुने प्रतिक्रिया दिइरहेको जिकिर गरे ।
रेल चलाउने गरी सरकारले ८ चैत २०७८ मा तेस्रोपटक रेल्वे अध्यादेश जारी गरेको थियो । भारतले नेपालतर्फको खण्डलाई ब्रोड गेजमा विस्तार गरेर स्पिड टेस्ट गरेपछि भारतले नेपाल रेल्वे कम्पनीलाई रेलमार्ग हस्तान्तरण गरेको थियो । ३४ किलोमिटरको जनकपुर–जयनगर रेलमार्गमा ब्रोड गेज विस्तारका लागि सिभिलतर्फका सबै काम २०७५ सालमा नै सकिएको थियो ।
सरकारले पुस २०७५ बाट नै जनकपुर–जयनगर रुटमा रेल चलाउने घोषणा गरेको थियो । तर, विविध कारण देखाएर रेल चलाउन अलमल हुँदै आएको थियो । तर गत वर्षको चैत्रबाट रेल पुनः सञ्चालनमा आएसँगै नेपाली र भारतीय नागरिकलाई आवतजावतमा सहज भएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया