पर्यटन

हुम्लाको लिमी उत्कृष्ट पर्यटकीय गन्तव्यस्थल, कसरी पुग्ने ?

इकागज |
भदौ ७, २०७९ मंगलबार १८:३७ बजे

फाइल फोटो

सिमकोट - कैलाश मानसरोवर दर्शन गर्ने एक नयाँ एवं उत्कृष्ट गन्तव्यस्थलका रूपमा हुम्लाको लिमी लाप्चा बनेको छ । चीनले मानसरोवर कैलाश जाने हिल्सा नाकामा रोक लगाएपछि विकल्पको रुपमा रहेको नेपालकै लिमी लाप्चाबाट पनि मानसरोवर कैलाश दर्शन गर्न जान सकिन्छ । अहिले लिमी लाप्चा आन्तरिक तथा बाह्य पर्यटकका लागि उत्कृष्ठ गन्तव्यस्थल बनेको छ । 

पछिल्लो समयमा लिमी उपत्यका मानसरोवरको दर्शन गर्न जाने नेपालको एकमात्र भूमि बनेको छ । लिमीको लोलुङबाट कैलाश मानसरोवसर प्रस्ट देख्न सकिन्छ । यो क्षेत्र हुम्ला सदरमुकाम सिमकोटदेखि एक सय पाँच किलोमिटरको दूरीमा पर्छ । सडकको स्तरोन्नति हुने हो भने यो मार्गबाट हिल्साभन्दा अझ सहज रुपमा आवतजावत गर्न सकिने छ। लिमीको लोलुङबाट कैलाशको दर्शन गर्न पैदलै जानेहरु पनि निकै बढ्न थालेका छन् । 


कसरी पुग्ने लिमी लाप्चा ?

हुम्लाको सदरमुकाम सिमकोटबाट चार दिनको पैदल यात्रापछि लिमी भ्यालीको लाप्चा पुगिन्छ । सिमकोटबाट दुई दिन जति गाउँमा बास बस्दै जान सकिन्छ तर दुई दिनका लागि आफूसँग टेन्ट, खानेकुरालगायत सामान हुनुपर्छ ।

दुई दिनमा रमणीय दृश्य अवलोकन गर्दै गोठालासँगै रात बिताउन पाइन्छ । सहजै लाप्चाबाट मानसरोवर जान  सकिने नाम्खाका छेपाल लामाले बताए । लिमी उपत्यका जानेले खानेकुरा, टेन्ट, वाटरफ्रुप ज्याकेट, झोला, न्यानो कपडा, ट्रेकिङ सुज, लौरो, औषधि अनिवार्य रूपमा बोक्नुपर्छ । उनले भने, ‘`हामीमा सुनको सिरानी हालेर नूनको खोजी गर्ने संस्कार भएकाले यो लिमी लाप्चा ओझेल परेको हो ।` नेपाली भूमिबाटै कैलाश मानसरोवर दर्शन गर्ने एक मात्रै जिल्ला हुम्लाको लिमी भए पनि यसको प्रचार प्रसार नहुँदा ओझेलमा परेको छ । 

कैलाश दर्शनको धार्मिक विश्वास

धार्मिक तीर्थस्थल कैलाश मानसरोवरको दर्शन गर्दा स्वर्ग गइन्छ भन्ने हुम्लीमा  विश्वास रहेको छ । हिन्दू तथा बौद्ध दुवै धर्मावलम्बीका लागि यो क्षेत्र पवित्रस्थल मानिन्छ । पर्यटकीय आकर्षक गन्तव्य रहेको मानसरोवरमा तीर्थयात्रीहरु वर्षैभरीे यात्राका लागि निस्किने गर्छन् तर  त्यहाँ जाने सहज याम भने असारदेखि भदौसम्म हो । 


Author

थप समाचार
x