डढेलोको असर
रारामा पहिलो पटक बल्यो प्रदुषणको रातो बत्ती
‘ग्रीन’ कर्णाली ‘ब्ल्याक’ बन्दै
काठमाडौँ : कर्णालीको हिमाली जिल्ला मुगुको रारा ताल आसपासको हावा अति प्रदूषित बनेको छ । वन तथा वातावरण मन्त्रालयको वायु गुणस्तर निगरानी इकाईका अनुसार मुगुको रारा ताल क्षेत्रको हावा प्रदूषित बनेको हो ।
रारा क्षेत्रको हावाको गुणस्तर १५० देखि २०० पर क्युबिक मिटर छ । हावामा धुवाँ धुलोको कण १५० भन्दा माथि पुग्नु स्वास्थ्यका लागि हानिकारक मानिन्छ भने त्यस्तो ठाउँको हावामा श्वास फेर्न समस्या हुन्छ । गएको आइतबारदेखि राराको हावा प्रदूषित देखिएको छ । जुन शुक्रबारसम्म पनि त्यहाँको प्रदूषण घट्न सकेको छैन ।
रारा नेपालको सबैभन्दा ठूलो ताल हो । जहाँ अहिले पर्यटक भरीभराउ छन् । नयाँ वर्षको अवसरमा रारामा पर्यटक भरिए । पर्यटक भरिँदा त्यहाँको हावा श्वास फेर्न नमिल्ने गरी प्रदूषित बनेपछि पर्यटक चिन्तित बनेका छन् ।
प्रदूषणको समस्या काठमाडौँ, धनगढी, वीरगञ्जलगायत अरु सहरमा पनि छ । काठमाडौँ केही दिनयता विश्वकै प्रदूषित सहरमा गनिँदै आएको छ । स्वर्गको टुक्रा मानेर घुम्न निस्केका पर्यटक राराको हावा प्रदूषित भएको सुन्दा चिन्तित छन् । रारा पुगेर प्रकृतिमा रमाउने र स्वच्छ हावा लिने पर्यटकलाई प्रदूषणले खिन्न बनाएको छ ।
रारा मात्रै होइन, नेपालको हरेक ठाउँको हावा श्वास फेर्नका लागि योग्य नहुँदा वातावरण संरक्षण कसरी गर्ने भन्ने चुनौति पनि थपिएको छ ।
किन प्रदूषित भयो रारा ?
वातावरण विभागको वायु गुणस्तर निगरानी एकाईका अनुसार कर्णालीका अन्य जिल्ला र शहरमा हावा प्रदूषण भएको देखिँदैन् । तर एक्यु इन्डेक्समा राराको हावामा श्वास फेर्न नमिल्ने गरी अर्थात हानिकारक भएको रातो बत्ती बलेको छ ।
रातो बत्ती बल्नु भनेको श्वास फेर्न गाह्रो हुन्, मास्क बिना बस्दा धुँवा तथा धुलोको कणहरु सोझै मुखबाट शरीरमा पुगेर कालान्तरमा दीर्घकालिन रोग लाग्ने खालका हुन्छन् । रारा जस्तो निकुञ्जको बीच भागमा कसरी हावा प्रदूषित बन्यो ? यो प्रश्न पेचिलो छ ।
वातावरणविद् भुषण तुलाधारका अनुसार राराको हावा प्रदूषण देखिनुका पछाडि कर्णाली र भारतको उत्तर प्रदेशमा फैलिएको डढेलो प्रमुख कारण हो । कर्णालीका धेरैजसो जंगलमा डढेलो लाग्नु र भारतको उत्तराखण्डमा पनि डढेलो तीव्र रुपमा फैलिएकाले त्यसको असर रारासम्म पुगेको हो ।
पानी नपर्नु, तीव्र गतिमा हावा नचल्नु र डढेलो नियन्त्रणमा नआएकाले राराको हावासमेत श्वास फेर्न नमिल्ने गरी प्रदूषण भएको वातावरणविद् तुलाधार बताउँछन् । रारामा हावाको गुणस्तर मापन गर्ने ‘एयर क्वालिटी स्टेशन राखिएकाले पनि त्यसको तथ्यांक लिन सजिलो भएको उनको भनाई छ ।
‘भारतको उत्तराखण्ड र कर्णालीका विभिन्न जंगलमा लागेको डढेलोले गर्दा रारामा पनि प्रदूषणको मात्रा बढेको देखिएको हो’ उनले इकागजसँग भने, ‘कर्णालीमा रारामा मात्रै एयर क्वालिटी स्टेशन राखिएकाले त्यहाँको मात्रै देखाएको हुन सक्छ ।’
वायु गुणस्तर निगरानी एकाईका अनुसार कर्णाली प्रदेशमा राराको हावा मात्रै प्रदूषित देखाएको छ । हावाको गुणस्तर मापन गर्ने एयर स्टेशन महंगो पर्ने भएकाले रारामा मात्रै स्टेशन राखिएकाले त्यहाँको हावा मात्रै प्रदूषित देखाएको हुन सक्ने वातावरणविद् तुलाधारको भनाई छ ।
‘ग्रीन’ कर्णाली ‘ब्ल्याक’ बन्दै
कर्णाली प्रदेश सरकारले आफ्नो प्रदेशलाई हराभरा प्रदेश भन्ने गरेको छ । पर्याप्त वनजंगल र प्राकृतिक सुन्दरताले सधै ग्रीन कर्णाली भनेर प्रदेश सरकारले प्रचार गर्दा तथ्यांकले भने कर्णाली ‘ब्ल्याक’ हुँदै गएको देखिएको छ ।
प्रदेशका सबैजसो जिल्लाका वन जंगलमा लागेको डढेलो नियन्त्रण बाहिर छ । कालिकोटमा जंगलमा लागेको डढेलो बस्तीमा पस्दा दलित बस्तीका ६ घर जलेका थिए । जुम्लामा पनि केही दिनअघि वनकाे आागाे बस्तीमा सल्किदा दर्जनाै घरगाेठ जलेका थिए । सुर्खेत, दैलेख, कालिकोट, सल्यान लगायतका जिल्लामा पनि डढेलो लागेको छ ।
डढेलो लाग्नुका साथै प्रदूषण बढेपछि कर्णाली प्रदेश पहिले जस्तो पुरै हरियो हराभरा छैन । विस्तारै डाँडाकाँडा खुइँलिदै गएका छन् भने हावा प्रदूषण बनेर विषाक्त बन्दैछ । काठमाडौँ लगायत अन्य ठूला सहरको भन्दा कम प्रदूषण भए पनि कर्णालीको स्वच्छता जोगाउन मुश्किल छ ।
कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत डाक्टर नवराज केसीका अनुसार सुर्खेतलगायतका जिल्लामा निर्माण भइरहेका सडक, दैनिक बालिने प्लाष्टिक र बढ्दो गाडीकाे प्रदुषणले गर्दा कर्णालीको हावा प्रदूषित बन्दै गएको छ । वायु प्रदूषण बढ्दै गर्दा बालबालिकामा दम लगायत श्वासप्रश्वाससम्बन्धी रोग लाग्ने क्रम बढेको पनि उनले बताए ।
‘कर्णालीका सबै जिल्लामा प्लाष्टिक अति बाल्ने र वर्षौसम्म पनि निर्माणाधीन सडकको काम सम्पन्न नगर्ने प्रवृत्ति छ’ उनले थप अगाडि भने, ‘त्यसमाथि थपिएको डडेलो प्रदेश सरकारले टुलुटुलु हेरेर बस्ने हो भने कर्णाली प्रदेश ग्रीन होइन, ब्ल्याक बन्छ । यहाँको सुन्दरता नासिन सक्छ ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया