नेपाल वायुसेवा निगममा बेथिति
निगमको १५ जना क्याबिन क्रू ले ३५ घण्टासम्म आराम गर्न नपाउने
काठमाडौं– नेपाल वायुसेवा निगमले क्याबिन क्रूको सुरक्षा र स्वास्थ्यलाई उपेक्षा गर्दै ३५ घण्टाको उडानभर आराम गर्न नदिने भएको छ ।
काठमाडौंबाट दोहा, दोहाबाट चाड र चाडबाट माली उड्ने जहाजमा न्यारोबडीका १५ जना क्याबिन क्रूले आराम गर्न नपाउने भएका हुन् । आज राति साढे ११ बजे पश्चिमी अफ्रिकी मुलुक मालीबाट नेपाली शान्ति सेनाका ८० जनालाई नेपाल ल्याउन संयुक्त राष्ट्रसंघले चार्टर्ड गरेको विमानमा निगमले भेदभाव गरेको हो ।
निगमले जहाज उडाउने र पालो दिने तीनजना पाइलटलाई दोहा लगेर राखेको छ भने क्याबिन क्रूहरु कतै आराम नगरी र जहाजभित्र आराम गर्न नपाउने गरी माली पुग्ने भएका छन् । काठमाडौंबाट दोहा, दोहाबाट चाड र त्यहाँबाट माली पुगी सोही रुट हुँदै फर्कदा ३५ घण्टा लाग्ने अनुमान छ । यो उडान ६ वटा टेक अफ र ल्याण्डिङ, ६ वटा सेक्टरमा उडान गरे सरह हो ।
क्याबिन क्रू तथा पाइलटहरुले ढाड सीधा गरेर विश्राम लिए मात्र नियम पालना हुन्छ । तर न्यारो बडीको जहाजमा ढाड सीधा गरी सुत्ने संरचना नै छैन । निगमको उडानसम्बन्धी आन्तरिक तथा अन्तर्राष्ट्रिय नियम तथा प्रोटोकलहरुमा ढाड सीधा रही विश्राम लिनुपर्ने व्यवस्था छ । दुई उडानको बीचको विश्राम दूरी हुनुपर्ने प्रावधानलाई पनि निगम व्यवस्थापनले जबर्जस्ती गरेको छ । सुरक्षाका दृष्टिले उडानका १२ वटा चरणमा सुरक्षा र सेवामा रहनुपर्ने नियमको उल्लंघन गरेको कर्मचारीहरु बताउँछन् ।
मासिक सय घण्टाभन्दा बढी उडान गर्न नमिल्ने नियम भए पनि एउटै उडान ३५ घण्टाको राख्दा पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएको छ । विगत लामो समयदेखि क्याबिन क्रूहरुले रातिको उडानमा पूर्ण विश्राम नलिई उडेको वर्षाैं भइसकेको जनाएका छन् । यसबाट उनीहरुमा सञ्चित थकान भई विभिन्न स्वास्थ्य समस्या देखिएको उनीहरुले बताएका छन् ।
यता निगमको फ्लाइट अपरेशन विभागका प्रमुख रविन्द शेरचनले विगतमा पनि यसैगरी प्राधिकरणको अनुमति लिई २४ घण्टाभन्दा बढीको उडान हुने गरेको बताए । विमानमा ८० जना मात्र यात्रु भएकाले क्याबिन क्रूहरुलाई आराम पुग्ने शेरचनको दाबी थियो ।
उडान थकान नतुल्याउन निगमले पाइलटहरुलाई भने दोहा लगेको छ । यसरी आराम गरेर पुनः फूर्तिलो भई न्यारोबडी जहाज उडाउने र दोहामा पुगेका पाइलटहरुमा सुरज भण्डारी, मुकेश गुप्ता, राकेश काफ्ले, एमबी शाह छन् ।
हामी उड्न सक्दैनौं : क्याबिन क्रू
यसैबीच आजकाे उक्त उडानका लागि निगम व्यवस्थापनले उडान सूचीमा राखेकाे क्याबिन क्रूहरुले आफूहरु बिरामी भएकाे निवेदन (सिक रिपाेर्ट) दिएर उड्न नसक्ने असमर्थता जनाएका छन् । उक्त उडान सूचीमा राखिएका वैकल्पिक (स्ट्यान्डबाइ) क्याबिन क्रूहरुले पनि बिरामी भएकाे निवेदन (सिक रिपाेर्ट) दिएका छन् ।
निगम व्यवस्थापनले आफूहरुलाई पटक-पटक लामाे उडान गराएकाे भन्दै त्यसकाे विराेध गरेका छन् । निगमका १२३ जना क्याबिन क्रूहरुले आज अध्यक्ष व्यवस्थापन लगायतलाई हस्तक्षरसहितकाे पत्र लेखेका छन् । उक्त पत्रकाे बाेधार्थ पर्यटन मन्त्रालयलाई बुझाएका छन् ।
यता निगम व्यवस्थापनले भने सूचीअनुसार उडान (अफ्रिकाकाे माली) नगर्ने क्याबिन क्रूहरुलाई जागिरबाट निकालिदिने धम्की दिएकाे छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया