पर्यटन

पर्यटकले भरिए लमजुङका होमस्टे

इकागज |
असोज २८, २०७९ शुक्रबार १०:२७ बजे

लमजुङ - लामो छुट्टीमा घुम्न जाने संस्कृति नेपालीहरूमा समेत बढ्न थालेको छ । दशैंमा हुने लामो बिदामा धेरै व्यक्तिहरू विभिन्न स्थानमा घुम्न निस्किन्छन् । लमजुङमा पछिल्लो समय होमस्टे घुम्न गएर दशैं मनाउने आन्तरिक पर्यटकहरूको संख्या पनि बढेको छ । दशै र तिहार बिदालाई धुमधामका साथ मनाउने प्रचलन बढ्न थालेपछि स्वदेशी पर्यटक पनि होमस्टे तिर लागेका छन् ।

सुखी गाउँ घलेगाउँ र नेपालकै नमुना गाउँ काउलेपानीमा यतिबेला दशै र तिहार बिदा मनाउन आएका पर्यटकले होमस्टे नै ‘हाउसफुल’ भएको छ । बिदा मनाउनका लागि समूह समूह बनेर आउने क्रम जारी छ, काउलेपानी पर्यटन ब्यवस्थापन समितिका अध्यक्ष देबबहादुर गुरुङले भने, ‘गाउँका सवै होमस्टे घरहरू पर्यटकले भरिएका छन् ।’ उनका अनुसार होमस्टेमा दशै मनाउनका लागि ५०/६० जना आन्तरिक पर्यटक आएका छन् ।


पर्यटकको आगमन बढेसँगै होमस्टे सञ्चालकहरूको व्यस्तता पनि बढ्न थालेको होमेस्टे सञ्चालक कबिन्द्र गुरुङले बताए । 'कुनै घर पनि खाली छैन हामीलाई भ्याई नभ्याई भएको छ, उनले भने, ‘राती बास बस्न नपाउनेहरू बिहान मात्रै आएका छन् ।

सुखी गाउँ घलेगाउँमा पनि डेढ सय भन्दा बढि पर्यटक घलेगाउँ आएको घलेगाउँ पर्यटन व्यावस्थापन समितीका अध्यक्ष प्रेम बहादुर घलेले बताए । उनले दशैँ र तिहार बिदा मनाउन आएका पर्यटकले होमस्टे प्याक भएको बताए ।

होमस्टे, प्राकृतिक दृश्यावलोकनका लागि पर्यटकीय गाउँहरूमा पर्यटकको ओईरो लागेको हो । घलेगाउँ, काउलेपानी सहित राइनासकोट होमस्टेमा पनि पर्यटक भरिएका छन् । घलेगाउँ, काउलेपानी ,राइनासकोट होमस्टे मात्र हैन बेसीशहरको खासुर, खुदीको सिउरुङ, ताघ्रिङको छापा, घेर्मुको रकगार्डेनमा पर्यटकको ओईरो लागेको स्थानियले बताएका छन् ।

गाउँमा पर्यटकको चाप बढेर भ्याई नभ्याई भएपनि गाउँलेहरू भने खुशी भएका छन् । पर्यटकीय गाउँहरूमा कृषिसँगै पर्यटन नै मुख्य पेशा रहेको छ । पर्यटकहरूको स्वागत सत्कार गरेरनै स्थानीयले मनग्ये आम्दानी गर्ने गरेका छन् ।


Author

थप समाचार
x